एजेन्सी । स्पेनिस ला लिगामा साविकको विजेता बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलका स्टार खेलाडी एन्टोनी ग्रिजम्यानले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन ग्रिजम्यानले दुई गोल गरे । त्यस्तै कार्लेस पेरेज, जोर्डी आल्वा र अथुरो भिडालले समान एक–एक गोल गरे । खेलमा सुरुवाती अग्रता बेटिसले लिएको थियो । उसका लागि नाविल फेकिरले खेलको १५ औँ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
यता बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले खेलको ४१ मिनेटमा खेल बाराबरीमा ल्याए । ग्रिजम्यानले नै खेलको ५० औँ मिनेटमा व्यत्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । यो सिजन मात्र बार्सिलोनामा आएका ग्रिजम्यानका लागि म्याम्प नउमा पहिलो खेल हो । बार्सिलोनाका लागि खेलको ५६ औँ मिनेटमा पेरेजले गोल गर्दै बार्सिलोनाको अग्रता ३–१ मा ल्याए । त्यसको चार मिनेट पछि आल्बाले बार्सिलोनाका लागि चौथो गोल गर्दै घरेलु क्लबलाई जिततर्फ लिए ।
७७ औँ मिनेटमा घरेलु क्लबका लागि भिडालले पाँचौ गोल गर्दै क्लबको गोल अन्तर फराकिलो पारे । उता बेटिसका लागि लोरेन्जो ग्रेकियाले ७९ मिनेटमा पाहुना टोलीका लागि दोस्रो गोल गरेपनि क्लबको हारलाई भने टार्न सकेनन् । जितसँगै बार्सिलोनाले लिगमा दुई खेलबाट ३ अंक जोडेको छ । यता पराजित बेटिसले भने दुई खेलबाट अंक जोड्न सेकेको छैन ।