site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अप्रत्यक्ष (भर्चुअल) संसारमा हराउँदै यथार्थ

उमेरले  पचास  काटिसकेकी काकीको घरमा चार वर्षअघि सम्म घर वरपरको बारीमा मौसमअनुसार तरकारी फल्ने करेसाबारी र  रंगीविरंगी फूलबारीले सबैलाई लोभ्याउँथ्यो । तर, अचेल, त्यो करेसाबारी र बगैचाको अवस्था खुरीखन्डे डाँडोजस्तो बेजान भएको छ । त्यसो हुनुको एउटा मुख्य कारण काकी पहिलेकी ‘होलटाइमर गृहिणी’बाट अचेल ‘फुलटाइमर’ फेसबुक प्रयोगकर्ता हुनु हो ।  विभिन्न कोणबाट खिचिएका थरीथरीका ब्लाउज र सारी पहिरिएका फोटा फेसबुकलगायत सामाजिक संजाजमा पोस्ट गर्न र अरुका पोस्टमा ‘कमेन्ट’ र ‘लाइक’को गोडमेलमै उनी अधिकांश समय बिताउँने गर्छिन्  । एकाबिहानै नित्यकर्मपछि उनका घरायसी काममा पनि सोहीअनुरुप परिवर्तन आएको छ । त्यसको कारण अघिल्लो दिन पोस्ट गरेको फोटाहरुको लाइक र कमेन्ट गन्नमै बिहान एक घन्टा खर्चिनु पर्दा भान्सामा पाक्ने खानाको स्वाद र स्तरमा समेत असर पर्न थालेको छ । तर, कसैको गुनासोले उनको कानमा केही असर गर्दैन । बरु बेलाबेलामा “नोटिफिकेसनको” “ट्याङ” बज्ने  आवाज सुन्न उनलाई बढी मनपर्न थालेको छ । केही महिना अघिमात्र उनको गर्धनमा समस्या देखिएकोले डाक्टरले उनलाई छ महिनासम्म गर्धन नझुकाउन सुझाव दिएका छन् । परन्तुु, उनी गर्धन उठाएरै भए पनि फेसबुकसँग गाँसिएको नातालाई तोड्न चाहन्नन् ।   

सरकारी कार्यालयका अधिकृत तहका एक कर्मचारीको आफ्नै दुखेसो छ ।  उनले केही समययता पत्नीको पहिरन र शृंगार सामग्रीका लागि तलबको लगभग  पन्ध्र प्रतिशत रकम छुट्याउनु पर्छ रे ! त्यसको प्रमुख कारण पनि फेसबुकमा टल्कनयोग्य व्यक्तित्व विकासका लागि बेलाबेलामा लुगा, सौन्दर्य सामग्रीको किनमेलमा गर्नुपर्ने खर्च रहेछ । सामाजिक संजालमा गतिलो उपस्थिति जमाइराख्न एउटा अवसरमा लगाएको पहिरनलाई उनले  अर्को अवसरमा लगाउन मान्दिनन् रे – पूरै ‘सेलिब्रेटी पारा‘ ।

मानव सभ्यताको यस कालखण्डमा सामाजिक संजालको जालो कसरी फैलिसकेको छ भने अब सन्चोबेसन्चोको खबर पनि धेरैजसो यसैका माध्यमबाट आउनजान थालेका छन् । ‘रेडिमेड इमोजी’ले यस कार्यलाई अझ सजिलो बनाइदिएका छन् । औँलाले थिच्नमात्रै पर्छ रोदन, हाँसो, चिन्ता, मायाजस्ता सबै भावना तुरुन्तै प्रकट हुन्छन् । महसुसमात्र गर्न सकिने मान्छेका भावना, संवेगहरु सबै ‘ डिजिटलीकरण’ भएका छन् । जसबाट सबैका मायालु मुटु फेसबुकका फोटा र स्ट्याटसमा  झुन्डिरहेको मज्जाले देख्न सकिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सामाजिक संजालमा व्यक्त अवस्थिति र तस्बिरले देखाइरहेको चमकको धेरैपटक वास्तविकतासँग भने टाढाटाढासम्म पनि नाता हुदैन । दिनभर सासुबुहारीको झगडाले कारगिलको मैदानमा परिणत भएको घरबाट साँझपख भने दुवैजना सँगै बसेको ‘ह्याप्पी मदर्स डे’को आकर्षक फोटो सामाजिक संजालमा ‘अपलोड’  भइरहेकोे  देख्दा  ‘टिन्डर एप’बाट अर्की केटीसँग डेटिङ जान ठिक्क परेको पति भने भारत र पाकिस्तानबीच सुलहको तुक बुझिरहेको हुँदैन । झन् त्यसमाथि आमाछोरीजस्तो मायाप्रेम बनिरहोस् भन्ने कमेन्टहरुको वर्षात देख्दा त खंग्रंगै परिरहेको हुन्छ । 

सामाजिक संजालले मानिसको कुन चाँहि व्यवहारलाई अछुतो राखेको छ ? पत्ता लाउन  फोरेन्सिक टेस्टले पनि सक्तैन होला । माथिल्लो फ्ल्याटमा बस्ने भाडावालाले फेसबुकमा सपरिवार ‘ट्राभलिङ टु पोखरा’ भनेर भर्खर अपलोड गरेको स्टेट्सबाट तल्लो तलामा बस्ने भाडावालालाई उनीहरु घरमा रहेनछन् भन्ने कुरा थाहा लाग्छ । यता छेवैमा छोरो ‘चौतारी कल्चर’ निबन्धको महत्त्व घरै थर्किने गरी घोकिरहेको हुन्छ ।

Global Ime bank

यो संस्कृति महिला, पुरुष, बच्चा, पाका सबै उमेर र वर्गबीच विचित्रै पाराले मौलाइरहेकोे छ  । कुनै जमानामा महिलासँग बोल्न लाज मान्ने मधेसी महिलाका पति अचेल  सामाजिक संजाल र म्यासेन्जरमा चलिरहने च्याटिङका कारण निकै फरासिला भएका छन् । फेसबुकमा महिला साथीहरुलाई ‘लुकिड ब्युटिफुल’ र ‘यु आर गरजिअस’ भन्न बेलाबेलामा भ्याइरहन्छन् । भलै ती घुम्टो परम्परा अझै नछाडेकी भाइकी पत्नीका फोटानै किन नहुन् !  

सबैजना सामाजिक संजालमा व्यस्त हुँदा अलिअलि लेखपढ गर्नजान्ने सत्तरी वर्षका हजुरबुबालाई समय बिताउन सहज होस् र अरुलाई गनगन गरेर डिस्टर्ब नगरुन् भनेर छोराले स्मार्ट फोन ल्याइदिन्छन् । केही दिनको सिकाइपछि उनी समाजिक संजाल चलाउन अलिअलि भए पनि स्मार्ट हुनथालेका छन् । कसैलाई शुभकामना सन्देश कसरी पोस्ट गर्ने, अनि दिनभर ती कमेन्टलाई कसरी पढ्ने र समय बिताउने छोराले सिकाइसकेपछि एक दिन छोराको जन्मदिनको अवसरमा गुगलबाट कपी पेस्ट गर्दा छोराको फोटोमा ‘हार्दिक श्रद्धाञ्जली’को क्याप्सन राख्न पुगेछन् । अपलोड गरेको आधाघन्टा पछि सो कुरा छोराले थाहा पाएर फोटो हटाउन भनुन्जेलसम्म पचास जनाले फोटामा समवेदना व्यक्त गरिसकेको थिए । 

सामाजिक संजालको हाईहाई असीमित छ । समय काट्न खोज्ने र बिताउने खोज्ने सबैको भरपर्दो माध्यम बनेको छ । अल्छी र देखावटीपन मिडिया चलाएबापत प्राप्त हुने लाभांश हुन् । केही दिन अघिमात्र एकजना साथीले हामी केही साथीलाई खानाका लागि आग्रह गरेको निम्तालाई स्वीकार गर्दै उनको घर पुग्दा टेबलमा आठ दसथरीका परिकार आकर्षक ढंगले राखेको देख्दा मुखै रसाइरहेको थियो । एकैछिन पछि त त्यो खानाको वरपर पोजदिन लगााइसकेपछि नजिकैको रेस्टुराँबाट बिल लिएर एकजना ढोकामा टुप्लुक्क पुग्छ । थाहा भयो त्यसमध्येका पचास प्रतिशत खाना त साथीले रेष्टुराँबाट मगाएकी रहिछन् । अझ घर नपुग्दै उनको ‘सेल्फ मेड डिसेज’ का फोटाहरु समाजिक संजालमा छरपस्ट भइसकेका थिए । 

अचेल फेसबुकमा कसैका फोटालाई लाइक र कमेन्टकै आधारमा सम्बन्धहरु काँचुली फेरिरहेको यो ट्रेन्ड वास्तविक जीवनमा भइरलनै भइरहेको देख्दा सामाजिक संजालको जंजालबाट बाहिर निस्कनै मुस्किल छ भन्नेमा दुईमत नहोला । मेरी बहिनीलाई सारै मन पर्ने एकजना दिदी आजकल मनपर्न छाडिछन् । ती दिदी मेरी बहिनीका फोटाहरुमा लाइक र कमेन्ट  अचेल त्यति सारो गर्दिनन् रे ! आफ्ना स्टाट्स र फोटामा लाइक र कमेन्ट गर्ने नै शुभचिन्तक हुन् भन्ने ठम्याइ रहेछ । 

बिरामी भएको, मृत्यु भएको स्थानमा पुग्दा सबैभन्दा पहिलो काम मोबाइलमा फोटो खिच्ने अनि फेसबुकमा टाँग्ने ।  प्रत्यक्ष सहनुभूति प्रकट गर्ने पालो बल्ल त्यसपछि आउँछ । अचेल पति अन्य युवती र पत्नी अन्य युवकसँग अनलाइनमा रमाइलो गफगाफमा मस्त हुँदा दुईबीचको सम्बन्ध अफलाइन हुने दोसाँधमा पुगिसकेको पत्तै हुँदैन । 
नातिदेखि हजुरबा पुस्ता यिनै कारण बेर्फुसदिला बनेका छन् । नातिनातिनालाई बाल कथा भन्न हजुरबा हजुरआमाले भ्याउँदैनन् । टाउकोमा तेल मालिस गर्दे आमाका हातहरु छोरीका कपाल सुम्सुम्याउने मन गर्दैनन् । छोराछोरी एकअर्कासँग ठट्टा गरेको गुंजन घरमा नसुनिने सुनसान संस्कृतिको निर्माण भइरहेको छ । किताबका अक्षरहरुसँग रमाउँदै कल्पनामा डुब्ने दिन कता हराउँदै छन् थाहा छैन ! यी सबै आत्मीय व्यवहारलाई विस्थापन गर्न इन्टरनेट, मोबाइलको प्रमुख भूमिका छ ।  

सामाजिक संजाल एक प्रकारको लत बन्न पुगेको छ जसलाई छुटाउन निकट भविष्यमै सुधार केन्द्रजस्ता पुनःस्थापना गृह स्थापना गर्नुपर्ने हुनसक्छ । यसको प्रयोग सकारात्मक र नकारात्मक दुवै किसिमको हुन्छ । तर, प्रयोग कसरी गर्ने भन्ने पूर्ण जिम्मेवारी प्रयोगकर्ताकै हातमा हुने हो । सामाजिक संजाल र बढी मोबाइलको प्रयोगका कारण डिप्रेसन, विभिन्न प्रकारका मानसिक विकृति, एकांकीपना आदिको जोखिममा पर्न सकिने तथ्यलाई विभिन्न अनुसन्धानले देखाइरहेका हुन्छन् । यसको चपेटामा युवावर्ग र बालबालिका पर्नु थप संवेदनशील विषय हो । कुनै पनि नयाँ कुराले गुण दोष आफूसँगै बोकेर ल्याउँछ ।

सम्पूर्ण समाजलाई एकै स्थानमा जोड्ने सामाजिक सञ्जालको प्रयोग गर्दा आफनो वरपरको संसार र दायित्वबाट बिमुख त भइरहिएका छैनौ ? यस्ता संजालका कारण समाज र व्यक्तिमा नराम्रा प्रभाव पार्ने साइबर अपराधका  कैयौं घटना बाहिरिइरहेका हुन्छन् । महिलाहरु त यसको उच्च जोखिममा छन् । यसको व्यवस्थापन र सही उपयोग गर्न सबै सम्बन्धित पक्ष र हामी प्रयोगकर्ताले ध्यान पुर्‍याउनुपर्छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC