site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कर्णालीदेखि काठमाडौंसम्म
Ghorahi CementGhorahi Cement

काठमाडौं । कर्णालीमा पनि खेलकुद छ ? सुन्दा अचम्म लाग्छ यो एउटा राष्ट्रिय खेलाडीको प्रश्न हो । भौगोलिक विकटता र अभावले भरिएको कर्णाली खेलकुद क्षेत्रमा पनि निकै पछि छ ।  त्यसको गतिलो उदाहरण हो प्रदेश पाँचमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णविहीन हुनु । यसको मतलब खेलकुदको सम्भावना नभएको भन्ने होइन । थोरैमात्र लगानी गर्ने र नतिजा खोज्ने प्रवृत्तिमा खेलाडी पिल्सिरहेका बेला कर्णालीलाई पनि त्यसैको असर छ । 

सरकारको लगानी न्यून रहे पनि कर्णालीले राष्ट्रिय खेलाडी उत्पादनमा भने कुनै कसुर बाँकी राखेको छैन । देश विदेशमा नेपालको झण्डा फहराएका धावक हरि रोकाया, विश्वरुपा बुढा र फुटबलका रोहित चन्दलगायतका धेरै खेलाडी कर्णालीले जन्माएको छ । 

जसमध्ये गीता राना पनि एक हुन् । महिला फुटबलतर्फ प्रतिनिधित्व गर्ने खेलाडी गीता पनि कर्णालीकै चेली हुन् । विसं २०५३ सालमा दूर कर्णालीमा जन्मिएकी गीताले विभिन्न बाधा र अवरोधकाबीच फुटबल यात्रा सुरु गरिन् । र, छोटो समयमै राष्ट्रियस्तरमा आफूलाई अब्बल प्रमाणित गरिसकेकी छन् ।

Agni Group

गीता हाल नेपाली राष्ट्रिय महिला फुटबलको प्रतिनिधित्व गर्ने कर्णालीकी एकमात्र खेलाडी हुन् । २०१६ मा भारतमा सम्पन्न चौंथो साफ च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी उनी त्यसपछि निरन्तर टोलीमा छन् ।

सुर्खेतमा जन्मिएकी गीतालाई सुरुवाती चरणमा फुटबल खेल्दा देशको लागि केही गर्न सकिन्छ भन्ने लागेको थिएन । त्यसो त सुर्खेतमा जिल्लास्तरीय लिग भएपछि विद्यालयस्तरीय र अन्य जिल्लामा फुटबल खेल्नेमा मात्र सीमित हुन्थे खेलाडी । न त राष्ट्रिय टोलीमा छानिन्थे न त राष्ट्रियस्तरमा प्रदर्शन गर्ने अवसर नै पाउँथे । 
“सुरुवातमा बल लिन्थेँ, खेल्थेँ, कोही नभएपछि एक्लै बाटोमा या सानो ठाँउमा खेल्थेँ । फुटबलमा सानैदेखि सोख थियो । देशका लागि पनि खेल्न पाउँछु भन्ने थिएन । सुर्खेतमा ठूलो प्रतियोगिता पनि हुँदैनथ्यो,” गीताले सुरुआती दिन सम्झँदै भनिन् । 

Global Ime bank

उनी अहिले विभागीय क्लब एपीएफमा आबद्ध छन् । उनको प्रदर्शनलाई देखेर एपीएफका प्रशिक्षक प्रेम श्रेष्ठले क्लबमा बोलाएका थिए । एसएलसीपछि काठमाडौंको यात्रा तय गरेकी गीतालाई राष्ट्रिय जर्सी लगाउने औधी रहर थियो । 

उनले भनिन्,“काठमाडौं आउँदा ठाँउको बारेमा अन्जान थिएँ । फुटबलको बारेमा पनि धेरै ज्ञान थिएन । एकमनले सोच्यो यो भीडमा टिक्न सकिन्छ होला ? अर्काे मनले भनिरहेको थियो आफ्नो क्षमतालाई सहि सदुपयोग गर्न सकेँ भने के नै असम्भव छ र ? सुरुआतमा नै मनलाई कमजोर बनाउने काम गरिनँ ।”

इलाममा भएको एक प्रतियोगिताले २०७० मा एपीएफ यात्रा तय गरेकी गीता फुटबल करिअरको सुरुआतमा गोलकिपर बस्थिन् । “कुन पोजिसनबाट आफूलाई खेल्दा उपयुक्त हुन्छ भन्ने सबै जानकारी थिएन । किपर बसेँ । पछि एपीएफमा आइसकेपछि स्ट्राइकरको पोजिसनमा खेलेँ । विङ्गर हुँदै अहिले डिफेन्डरको रुपमा खेल्छु,” उनले भनिन् । 

अहिले जुन पोजिसनमा खेल्दा पनि फिट हुने गीताले बताइन् । “मलाई जुन पोजिसनबाट खेलाउँदा पनि हुन्छ । मैले जुनसुकै भूमिका पनि निभाउन सक्छु । मलाई दिएको अवसर सदुपयोग गर्ने कुरामा मेरो विशेष ध्यान हुन्छ । मैले जहिले पनि चाहनालाई त्यागेर अवसरलाई सदुपयोग गर्ने प्रयास गर्छु । त्यहीकारण आज अवस्थामा छु,” गीताले भनिन् । 

चौथौं साफ च्याम्पियन्सिपपछि उनले राष्ट्रिय टोलीबाट बाहिर रहनु परेको छैन । त्यति मात्र होइन, उनले हालसम्म राष्ट्रिय महिला फुटबल टोलीबाट सहभागिता जनाएका हरेक खेलहरुमा ९० मिनेट नै समय मैदानमा बिताएकी छन् । वैकल्पिक खेलाडीको रुपमा पनि बस्नु परेको छैन । 

तर गीता आफूलाई टोलीमा राखिरहनका लागि भने सचेत छन् । “राष्ट्रिय टोलीमा रहिरहन सहज भने छैन । तर, आफ्नो प्रदर्शनमा सुधार गर्दै लैजाने हो भने टिममा पर्न असहज पनि छैन । जबसम्म देशका लागि खेल्नेछु आफ्नो ज्यान दिएर नै खेल्नेछु । मेरो लक्ष्य भनेको नै उत्कृष्ट प्रदर्शन गर्नु हो । जो खेल जीवनको अन्तिम समयसम्म टुट्ने छैन,” उनले भनिन् । 

सातवर्ष फुटबलमा जीवन बिताएकी गीताको सुरुआती दिन भने संघर्षमा बित्यो । 

एपीएफबाट पाएको पाँच हजार पारिश्रमिकले काठमाडौंमा जम्न दुःख खपिन् । “मैले खेल जीवनको सुरुआत गर्दा धेरै संघर्ष गर्नु परेको थियो । लाग्छ खेल जीवन पछिका बाँकी दिनहरु पनि त्यसरी नै बित्नेछन् । मैले खेलुन्जेलसम्म सरकारले गुजाराका लागि केही व्यवस्था गर्ने आशा गरेकी छु । खेल्न छोडेपछि भने अन्य खेलाडीजस्तै मेरो जीवन पनि संघर्षमै बित्नेछ,” उनले दुखेसो पोखिन् । 

उनको अबको लक्ष्य भनेको देशलाई १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक दिलाउनु हो । जसका लागि उनी हाल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् । उनले आफनो दोस्रो साफको रुपमा गत चैतमा सम्पन्न पाँचौ साफ च्याम्पियन्सिप खेलेकी थिइन् । 

“साफभन्दा हामीले प्रदर्शनमा धेरै सुधार गरेका छौँ । अब आउने सागमा साफ च्याम्पियन्सिप जस्तो खल्लो नतिजा भने खेप्नु पर्नेछैन । अझ प्रतियोगिता घरेलु मैदानमा नै हुने भएकाले यो हाम्रो लागि दोस्रो ठूलो अवसर हो,” गीताले भनिन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC