site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दीनदुःखीको उपचार गर्न तलब-भत्ता खर्चिने पत्रकार
Sarbottam CementSarbottam Cement

२०६६ को एउटा अनिदो बिहान । पश्चिमोत्तर सुदूरको पहाडमा घामले राम्ररी पखेँटा फिँजाइसकेको थिएन । बासिविदो बसेजस्तो आकाशमा टम्म बादल बास बसेको थियो ।

एकजना दीनहीन बालिका, आफूजस्तै दुब्लो, भोक, रोगग्रस्त र शोकमग्न अनुहारको बालक पिठ्युँमा बोकेर घाम नझुल्कँदै प्रकाश सिंहको औषधि पसलमा आइन् । अहेव सिंह बाजुराको देवलसिङ स्वास्थ्यचौकीमा काम गर्थे । रोगले गाँजेका र स्वास्थ्य–संस्था पुग्न नभ्याउनेलाई लाभ पुगोस् भनेर घरमै ओखतीमूलो बेचबिखन पनि गर्थे । मुस्किलले ११ वर्षमा पैताला राखेकी ती बालिका बिहान घामले आँखा नउघार्दै उनको दैलामा आइपुगेकी थिइन् ।

साबिक बाह्रबीस गाविस, तिमाडा, हाल बूढीगङ्गा नगरपालिकाकी ती बालिका ‘टुहरी’ रहिछन् । वर्षेनी बच्चा जन्माउँदाजन्माउँदा गलितम् शरीरले पुन: बच्चा जन्माउन खोज्दा डेढ–दुई वर्षअघि आमाको सुत्केरी अवस्थामै प्राण निमोठिएको रहेछ ! आमाको प्राणपखेरू उडेको केही समयपछि हृदयघातले बाबुको पनि जीवनको दौडधूप टुङ्गिएपछि दुई भाइ (एकजना आठवर्ष र अर्को डेढ दुईवर्षका) र आफ्नैसमेतको अभिभावक बनेकी रहिछन्– सञ्जा धामी !

Prabhu Bank
Agni Group
NIC Asia

पिठ्युँमा बोकिएका बालकको अवस्था नाजुक थियो । कलेटी परेका ओठ बगरतुल्य सुख्खा थियो । शरीरमा हाडछालामात्र बाँकी हुँदो हो ।

पिँठ्युबाट ओह्रालेर प्रकाशले ती बालकको अवस्था नियाले । आउँले शरीर क्षीण तुल्याइसकेकाले बालक उभिनसक्ने हालतमा थिएनन् ।

Global Ime bank

प्रकाशले जाँचपड्ताल पश्चात् औषधि दिए । १६० रुपैयाँ भएको थियो । तर पैसा तिर्नेबेलामा अभावग्रस्त उनका आँखाबाट आँसु हाम फालुँलाझैँ गरे । ती बालिकालाई उपचार गरेपछि मूल्य भुक्तान गर्नुपर्छ भन्नेसमेत थाहा रहेनछ !

औषधोपचारको मूल्य सुन्नेबित्तिकै उनको अनुहार सोहोरियो । प्रकाशले ती बालिकाको अनुहारको सङ्गकटासन्न भाव बुझे ।

औषधिको पैसा त लिएनन् नै । आफूसँग भएको लुगाफाटोसमेत दिइपठाए । दुई भाइ च्यापेकी ती बालिकाको अभावग्रस्त अनुहारले प्रकाशलाई दिनभर पिरोलिरह्यो । राति निद्रामा पनि भयानक ऐँठन भयो ।

बालिकाको दीनहीन अवस्थाले भन्दा सुदूरको भू–खण्डको पीडाले उनको चित्त फाट्नुसम्म फाट्यो ।

भाइहरू च्यापेकी ती बालिकाको तस्बिर प्रकाशले कैद गरेका थिए । दीनहीन अवस्थाले मन थामिएन । उनले समाचारको रूप दिएर बाजुराबाटै प्रकाशित हुने ‘मालिका टाइम्स’ साप्ताहिकलाई दिए ।

लगत्तै अर्को हप्ता समाचार प्रकाशित भयो । प्रकाशले समाचारको ‘तागत’ अनुमान गरेका थिएनन् । चित्तशान्ति गर्न समाचारको सहारा लिएका थिए । तर परिणाम सुखद् रह्यो । बाह्रबीस गाविसले करिब १० हजार रुपैयाँ सहयोग गर्‍यो ।

बालिकाको गरिबी केही दिनका लागि ओझेल पर्‍यो । कयौँ छाक तात्न नपाएको चुह्लोमा सामलतुमलको जुगाड भयो । दुई–चारदिनकै लागि सही, ती टुहुरा लालाबालाको पेटमा तातो पर्‍यो ।

यो घटनाले स्टेथेस्कोप समाइरहेका प्रकाशको दिमागमा जादुयी तरङ्ग ल्यायो । 

“स्टेथेस्कोप (अहेव)को प्रभाव विरामीलाई परेथ्यो, कलमको प्रभाव त समाजलाई पर्दोरहेछ ! सुदूरको भू–खण्डमा फणा उठाइरहेको गरिबी पन्छाउने तागत कलमसँग पो रहेछ भनेर म तुरुन्तै आकर्षित भइहालेँ,” स्टेथेस्कोपबाट कलमतिर फड्को मार्दाको घटना स्मरण गर्छन् ।

बालिकाको दयनीय अवस्थाले उद्विग्न मन समाचारले शमन भयो नै, पत्रकारितातिर पनि डोहोर्‍यायो ।

प्रकाशलाई पत्रकारितासँग साइनो जोडाउने अर्को घटना पनि छ–

प्रकाशकै टोल समीप दुधिर प्रावि थियो । स्कुलको हालत रुग्ण । विद्यार्थी नियमित विद्यालय आउँथे तर शिक्षक नहुने । एक पटक त यस्तो भयो, दसैँ बिदामा घर गएका शिक्षक तीन महिनासम्म विद्यालय फर्किएनन् । स्कुलको होइन विद्यार्थीको भविष्यमा भोटेताल्चा लाग्यो !

प्रकाशले दुधिर प्राविको दूरावस्था समेटेर सामाचार तयार पारेर । पुनः ‘मालिका टाइम्स’लाई दिए । ‘बाइनेम’मै खबर छापियो । समाचार आउनेबित्तिकै जिल्ला शिक्षा कार्यालयले तदारुकता देखायो । शिक्षक छानबिनको दायरामा आए ।

यो घटना पनि प्रकाशलाई सञ्चारकर्मतिर डोहोर्‍याउने सहायक कारण बन्यो ।

“मलाई सञ्चारकर्ममा समाहित गराउने ‘मालिका टाइम्स’का दयाराम पण्डित हुन्,” उनको अनुहारमा कृतज्ञ भाव सञ्चार हुन्छ ।

समाचारको आलोकमा सुदूरको दुःख निस्तेज बनाउने हुटहुटी जागेपछि उनी धनगढीको ‘समाचार सारांश’मा पनि गाँसिए ।

‘समाचार सारांश’लेमात्रै उनको समाचारको तिर्खा मेटाएन ।

काठमाडौंबाट कोशौँ टाढा पर्ने सुदूरको अभावमा खासै बदलाव आएन । मूलप्रवाहमै सुदूरका दुःखका ‘सवाई’ कहन मन लाग्यो । तिनताक अन्नपूर्ण पोष्टले बाजुराको रिपोर्टर खोजी गरेका थियो । प्रकाश जोडिन आइपुगे ।

० ० ०

अन्नपूर्ण पोष्टमा पाइला राखेपछि उनलाई आफूलाई पत्रकारितामा मोड्ने ती तीन बालबालिकाको सम्झना भयो । उनीहरूको यादले एक किसिमले पिरोल्यो । एक त किशोरवयमा समेत नटेकेकी जेठी बालिका आफ्नै स्याहार गर्न सक्दिनथिन् । अर्को, उनलाई गरिबीले निर्मम दपेटिरहेको थियो ।

सुदूरको पीडाका प्रतिनिधि पात्र बनिरहेका ती बालिकाको पीडालाई पुनः उजागर गरे ।

‘अन्नपूर्ण पोष्ट’ र ‘दि हिमालयन टाइम्स’को मुख्य समाचार बन्यो । आश्वासनका पोकापन्तुरा नै सही, ओइरो लाग्यो । उत्तम सञ्जेल संस्थापक रहेको समता शिक्षा निकेतनले पढाउने वचन दियो । झण्डै पाँच महिना उनले ताकेता गरे । तर पढाउने ‘समाजसेवी’ कोही निस्किएनन् । अन्ततः बुढानीलकण्ठको ‘नेप्लिज होम’ले आश्रय दिने भयो ।

प्रकाशकै पहलमा ती टुहुरा नानीहरू ‘नेप्लिज होम’मा बसेर जीवनका सु–स्वादू सपना बुनिरहेका छन् । 

“महिनैपिच्छे चाडबाड आउँछ । बाजुराबाट हुर्रिंदै काठमाडौँ आउँछु, ती बालबालिकाको आर्शीवचन लिएर फर्कन्छु,” भावुक देखिन्छन् प्रकाश ।

प्रकाशले पत्रकारिताको दशक लामो सङ्घर्षमा ४८ बालबालिकाको ‘अभिभावकत्व’ लिए । गरिबीले छिमलेका ३० दीनहीनलाई उपचारको जोहो गरिदिए ।

सुदूरपश्चिमका गाउँपाखा चहार्दा प्रकाश थुप्रै चहर्‍याइरहेका घाउहरूसँग ठोक्किन पुगेका छन् । ती घाउहरू उनको जीवनको दर्शन बनेका छन् र पत्रकारिता पेशामा निर्भीक अघि बढ्न प्रेरित गरिरहेका छन् । पत्रकारिता लिनका लागि होइन, दिनका लागि हो भन्ने निजत्व स्थापित भएको छ ।

त्यसको आडमा सुदूरको कुना-कन्दारमा प्रकाशका अलग्गै छवि स्थापित भएको छ ।

एउटा घटनाले उनको मनमा अझै पनि रिँगटा चलाउँछ ।

गत सालतिरको कुरा हो । उनी घरबाट सदरमुकाम मार्तडी जाँदै थिए । बडीमालिका–६, बूढीगङ्गा पुगेपछि एउटा विदारक दृष्य-घटनासँग जम्काभेट भयो । एकजना निःसहाय महिला बाटामा अलपत्र थिइनन् ।

उनका सहारा बनेका बैसाखी बाटामा लापरवाहीसँग फालिएका थिए । खुट्टामा (थेग्लो) टालो बाँधिएको थियो । र, हल न चलको अवस्था थिइन् । घाउले खुट्टा कुँजिएका थिए ।

बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म सडकमा चारहातपाउ पसारेर गुहार माग्दा पनि कुनै गाडीले नरोकेपछि उनी इन्तु न चिन्तुको अवस्थामा थिइन् । माइती पानीनाउला पुग्ने एकपित्को तागत पनि उनीसँग थिएन ।

प्रकाशले मोटरसाइकल रोकेर दायाँबायाँ हेरे । उद्धार गर्ने हेतु मोटरसाइकल त अड्याए तर कोही मानिस बाटामा आवतजावत गरिरहेका थिएनन् । निर्जन अवस्था थियो ।

जसोतसो मोटरसाइकलमा राखेर माइतीछेउ ल्याए तर झार्न उस्तै कठिन । १० मिनेट पर्खिएपछि एकजना महिला भेटिइन् । उसैको सहायतामा ओह्राले ।

मोटरसाइकलबाट ओह्रालेपछि दीनहीन ती महिलाले आफ्नो कथा सुरू गरिन् ।

बडुवालको पहिलो विवाह गावैँ छेउमा भएको थियो । दुर्भाग्य भनौँ उनको पहिलो विवाह सफल भएन । श्रीमानले अर्की च्यापेर हिँडे उनले माइतीकै शरण पर्नुपर्‍यो ।

माइतीमा रूखोपीठो खाँदै थिइन् । केही वर्षमै बाबु र भाइको बाटोमा मृत्यु तगारो बन्यो । केही समय माइतीमा बसेर भाइका बच्चा स्याहारिन् ।

केही सीप नचलेपछि उनले पनि माइती नजिकै दोस्रो बिहे गरिन् ।

पहिलो र दोस्रो श्रीमानबाट १२ सन्तान जन्माएकी रहिछन् । एउटा छोरीबाहेक बचेनन् । ती छोरी पनि बाटो लागिन् । 

श्रीमान वनजङ्गल चहारेर जडिबुटी खोजमेल गरेर ल्याउँथे । बेचबिखन गरे गुजारा चलाउँथे ।  अफसोस ! भीरबाट लडेर मृत्यु भयो । श्रीमान्को देहलिला समाप्तीपछि उनको भन्नु कोही थिएन । माइतीका गोरु चराएर दुःख काट्दै थिइन् । पहराबाट बल्ड्याङ खाँदै आएको ढुङ्गा उनको खुट्टामा बज्रियो । जीवनले अर्को भयानक दुःखतिर धकेल्यो ।

उपचारका लागि बयलपाटा अस्पताल लगिएको पनि थियो तर पैसा नभएपछि उपचार कहाँ हुन्थ्यो फर्काएर घर पुर्‍याउँदा खुट्टामा कीरा परिसकेको थियो ।

प्रकाश भगवान सावित भए ।

उनले ‘डब्लुएचओ’को चिकित्सकको सहायतामा ‘एक्स–रे’ गरे । तत्काल प्राथमिक उपचार गरे । 

थप उपचार गर्न लाग्ने रुपैयाँ प्रकाशसँग पनि थिएन । विकल्प थियो– सामाजिक सञ्जाल, फेसबुक ।

तत्कालै उनले सामाजिक सञ्जालमा राखे । दुई–चार दिनको अन्तरालमा ८० हजार रुपैयाँको जुगाड भयो । धनाको मृत्युउन्मुख जीवनले पुनर्जीवनको श्वास फेर्‍यो ।

“बयलपाटा अस्पतालका चिकित्सक एवम् प्रमुख विकास गौचनले औषधि सहायता दिनुभयो, झण्डै दुई महिना शैय्या दिनुभयो,” उनी सुदूरका पीडा ओकल्छन् ।

० ० ०

बडीमालिका-५ मा पनि मन उद्वेलित गराउने अर्को घटना छ । बडीमालिका–५ मनागाउँमा पाँचजना बालबालिका अभिभावकविहीन बनेका थिए ।

बाबुको क्यान्सर लागेर निधन भएपछि एकमहिनाजति आमाले हेरविचार गरिछन् । एकदिन आमा आफ्नो भाग्यदेखि हरेश खाइन् । छोराछोरी छाडेर वेपत्ता भइन् ।

चाउचाउ किनिदिएर अस्पताल जान्छु भनेर हिँडेकी आमा कहिल्यै घर फर्किइनन् । गाउँलेले सोधीखोजी गर्दा थाहा लाग्यो– उनी त कैलालीमा अर्कैसँग घरजम गरिछन् ।

गाउँलेहरू चुकचुकाउन लागे, “बाबुलाई आउने काल यिनीहरूलाई पनि आइदिएको भए हामीले दुःख त देख्नुपर्दैनथ्यो !”

आमा ‘पोइल’ हिँडेपछि फुपू नाता पर्नेले केही समय ती अनाथको हेरविचार गरेकी थिइन् । माइत बस्दा ‘देउता’ लाग्यो भनेर उनले पनि सह्यार गर्न छाडिन् ।

खबर प्रकाशकै कानमा ठोक्किन आइपुग्यो ।

समाचार थाहा पाएलगत्तै प्रकाश हानिएर मनागाउँ पुगे । कुपोषणले डसेको बालबालिको अवस्था देखेर उनको छाती चरचरी चिरियो । जेठी छोरी ११ वर्षकी थिइन् । स्कुल जानुपर्ने बालिका पीठो पैँचो मागेर भाइबहिनीको पेट उकास्न अभिशप्त थिइन् ।

प्रकाशलाई देख्नेबित्तिकै ‘विधाता’ आएझैँ गरेर बालिका धरधरी रोइन्– “कयौँ छाक भोकै बस्यौँ । बासी ढिँढो पनि कसैले पत्याएनन् । तल.. गाउँमा गएर पीठो पैँचो ल्याएर रोटी पकाउँदैछु ।”

घरमा आउनेबित्तिकै प्रकाशले बालिकाको त्यो आँसु सामाजिक सञ्जालमार्फत् फिँजाए । १२ लाख बढीको भिडियोमा दृष्टि पर्‍यो । चार-पाँच दिनमा छ लाख जुगाड भयो । ‘एसओएस’जस्ता आधा दर्जन कहलाएका संस्थाले शिक्षा–दीक्षाको वचन दिए ।

अहिले ती बालबालिका ‘एसओएस’को छहारीमुनि जीवनको भाग्य कुँदीरहेका छन् ।

बाजुराकी कोल्टीका दलित वयोवृद्धको पनि प्रकाशले उद्धार गरेका छन् ।

समाजले पिँधमा पारेको दलित । त्यसमाथि वयोवृद्ध । विरामीले गल्तै गएपछि ती वयोवृद्धलाई उपचारको सट्टा घाटको बन्दोबस्त मिलाउन थालेछन् गाउँले ।

केही वर्षअघि भदौ १४ गतेका दिन संयोगले प्रकाश त्यो गाउँमा पुगेका थिए । अभागी झुप्रोमा मसानघाटको सन्नाटा थियो । वयोवृद्धको एकजना छोरा थिए, दुर्भाग्य भीरबाट लडेर उनी अघि लागे । बुहारीले अन्तै घरजम गरिन् । तीनजना नातिनातिना स्याहार्ने जिम्मा तिनै वयोवृद्धको काँधमा थियो ।

वृद्धकी श्रीमतीले काखमा राखेर पङ्खा हम्किँदै थिइन् । घरको छानोको अवस्था तिनै नातिनातिनीकोजस्तै थियो ! शीताम्य ! एकझर पानी नओत्ने !

विदारक अवस्था देखेर प्रकाशको मन पनि सीमासार क्षेत्रजस्तै भयो ।

वृद्धाले कोल्टीको मेडिकलबाट आठ सय रुपैयाँ उधारोमा ओखतीमूलो लिएकी रहिछन् । रोगको निदान नै नभएकाले के निको हुन्थ्यो !

प्रकाशले दुःख नियालिरहन सकेनन् । पाँच सय रुपैयाँ वृद्धाको हातमा थमाएर घर फर्किए । राति अबेरसम्म निद्रा परेन । राति नै फेसबुकमार्फत सहयोगको अपिल गरे । भोलिपल्ट पत्रिकामा पीडालाई समाचारको रूप दिए ।

डा. सुन्दरमणि दीक्षितले तत्काल ३० हजार उपलब्ध गराए र दुई लाखको वचनवद्धता गरे । बसुधा गुरूङ, अनिता बिन्दुलगायतले सहयोग गरेर झण्डै साढे तीन लाख जुगाड भयो ।

बाजुराको सीडीओमार्फत् परिवारलाई हस्तान्तरण गरे ।

जिल्ला अस्पताल, बयलपाटा हुँदै सेती अञ्चल अस्पतालमा तीन महिना उपचार गरेपछि वृद्ध तङ्ग्रिए । ७० हजार उपचार खर्च लाग्यो । 

“दुई लाखजति बैंकमा जम्मा गरिदिएका छौँ । अहिले उहाँ भैँसी पालेर दूध पो बेच्न थाल्नुभयको छ,” मृत्युको मुखमा पुगिसकेको बिरामीलाई उपचार गरे जीवनको लयमा फर्काउन सकेका पुलकित देखिन्छन् प्रकाश ।

प्रकाश ‘द हिमालयन टाइम्स’का बाजुरा सम्वाददाता र पत्रकार महासंघ जिल्ला शाखाका सभापति छन् । समाचारमार्फत् ‘परहित’, परोपकारमा जुटेका प्रकाश सुदूरको पीडामा मल्हमपट्टी लगाउन उद्यत छन् ।

त्यसका लागि सहयोगी बनेको छ– सामाजिक सञ्जाल र आफ्नै पत्रकारिता पेशा ।

आफू आवाजविहीनको आवाज बन्ने तर आफैँ दीनदुःखी, असहायको हातमा पैसा दिँदैनन् । जिल्ला प्रशासन कार्यालयमार्फत् हस्तान्तरण गर्छन् । दुरुपयोग नहोस् र पत्रकारिता पेशामा प्रश्नचिह्न खडा नहोस् भनेर उत्तिकै सचेत पनि छन् ।

अरुको पैसामा समाजसेवा गर्ने पत्रकार भनेर वचनवाणको सामना नगरेका होइनन् ।

उनीहरूलाई यसको जवाफ छ । पत्रकार महासंघको जिल्ला सभापतिको पदीय हैसियतका आधारमा जिल्लास्थित सङ्घ–संस्थाले बैठकमा बोलाउँछन् । बैठक–भत्ता पनि दिन्छन् । भत्तावापत हात परेको सबै रकम तीनै दीन–दुःखीको सेवामा खर्चन्छन् ।

पत्रकारिता पेसाले उनको स्वास्थ्य सेवा पेसा ओझेलमा परेका छ । समाजसेवा झनझन् तिखारिँदो छ । “मेरो जीवन पत्रकारिता र समाजसेवाको दुई भँगाला हुन्,” आफ्नै जिन्दगीलाई सङ्क्षेपमा परिभाषित गर्छन् उनी ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC