site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बिदाको मौका छोपेर नेपाल छिरेका थिए चिनियाँ ह्याकर 
Ghorahi CementGhorahi Cement

काठमाडौं (रासस) । शनिबार अपराह्न पटक–पटक गरी शङ्कास्पदरूपमा ठूलो रकम दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट निकालियो । यसअघि एटिएम बुथबाट पटक–पटक व्यक्तिको पैसा निकालिएको घटनाका कारण नबिल बैंक उच्च सतर्कतामै थियो । प्रभु बैंकको रकम अस्वाभाविक रुपमा आफ्नो बुथबाट निकालिएपछि उसले प्रभु बैंक र प्रहरीलाई खबर ग¥यो ।

सूचना पाएलगत्तै महानगरीय प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा खटिएको प्रहरी टोली दरबारमार्ग पुग्दा एक चिनियाँ नागरिक झू लियाङयाङ पैसा निकाल्दै गर्दा फेला परे । खानतलासी गर्दा उनीसँग २० थान नक्कली एटिएम कार्ड र भर्खरै निकालिएको रु ४५ हजार फेला परेपछि एटिएम बुथ नै ह्याक गरेर करोडौँ रकम लैजान लागेको रहश्य खुल्यो ।

यो काम एक्लैले गर्न सक्दैन भन्ने लागेर प्रहरीले खोजी थाल्यो । उनीसँग भएको साँचोको आधारमा प्रहरीले होटल पत्ता लगाएको थियो । नेपाली र अङ्ग्रेजी नबुझ्ने भएकाले ट्रान्सलेटर मगाएर प्रहरी होटलमा पुगेको थियो । घटनाबारे प्रहरी नायब उपरीक्षक बोगटीले भने, “साँचोको आधारमा हात्तीसारस्थित माया–मनोहर बुटिक होटलमा पुगेर एक्सन नलिएको भए ह्याकरको ठूलो गिरोह करोडौँ रुपैयाँ लिएर फरार हुनसक्थ्यो ।”

Agni Group

उनको बयानको आधारमा अन्य चार जनालाई प्रहरीले होटलबाटै पक्राउ गर्न सफल भयो । हात्तीसारस्थित माया–मनोहर बुटिक होटलको कोठा नं २०१, ६०२ र ६०४ मा खानतलासी गर्ने क्रममा अन्य ह्याकर भाग्दै गर्दा पक्राउ परेका थिए । होटलको लिफ्टमा फेला परेका उनीहरुको साथबाट उक्त सामान बरामद भएको थियो । 
“हामी जुन लिफ्टबाट छ तलामाथि चढ्यौँ, उनीहरु त्यही लिफ्ट कुरेर झर्न लाग्दै रहेछन्, उनीहरु हतासमा थिए, झोला बोकेर भाग्न खोजेको जस्तो देखियो, अनि लिफ्टमा चढ्नलाग्दा रोक्यौँ, जाँच गर्दा सबै गिरोह एकैठाउँमा भेटियो”, प्रहरी नायब उपरीक्षक बोगटीले भने । 

केही सेकेण्ड मात्रै ढिला भएको भए चार जना फरार हुने प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा राहदानी नम्बर १९३७५५८ का झू लियाङ्याङ, राहदानी नं ०९५५२६३७४ का लुओ जियालेइ, राहदानी नं ३२३७७७१३ का लिन जियानमेङ, राहदानी नं ०२७७६५० किऊ युनकिङ र राहदानी नं ८९०५६८२५ का चेन विनविन रहेका छन् ।
“सबै काम समयमै हुँदा गिरोहबाट ठूलो क्षति बचाइयो”, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले रासससँग भने ।

Global Ime bank

नक्कली भिषाकार्ड प्रयोगबाट विभिन्न बैंकहरुको डाटा ह्याक गरेर एटिएम बुथबाट एकै दिनमा करोडौँ रकम निकाल्ने गिरोह यसरी नेपाल प्रवेश गरेको थिएन । यस्तो प्रकृतिको घटना नभएकोसमेत परिसरले जनाएको छ । 
“यसअघि सामान्य खालको एटिएमबाट पैसा चोरी भएको थियो, यस्तो गम्भीर प्रकृतिको घटना पहिलोपटक देखियो”, सुवेदीले भने ।

उनका अनुसार ह्याकरले व्यक्तिको पैसाभन्दा बैंकको पैसा निकाल्नुले पनि उनीहरुको योजना धेरै रकम निकाल्नु रहेको देखिएको छ । 

उनीहरुले नबिल बैंकको बुथ प्रयोग गरेर प्रभुसँगै एनआइसी एशिया, जनता, इन्भेष्टमेन्ट, कुमारी, ग्लोबललगायत बैंकको रकम निकालेको प्रहरीले जनाएको छ । धेरै नबिल बैंक प्रयोग गरेको देखिएको भन्दै प्रहरीले अन्य बैंकसमेत प्रयोग गरेको हुनसक्ने बताएको छ । प्रहरीले उनीहरुबाट रु एक करोड २६ लाख २९ हजार ४५, नौ हजार १०८ अमेरिकी डलर, एक हजार १९१ युआन, २५० युरो, पाँच हजार क्याम्बोडियन मुद्रा, ८० हङकङ डलर, १३२ थान नक्कली भिसाकार्ड, १७ थान सक्कली भिसाकार्ड, एक थान कार्ड प्रिन्टर मेसिन, छ मोबाइल तथा ल्यापटप, डाटा कार्डलगायत बरामद गरिएको छ ।

उनीहरुलाई बैंकिङ्कसुरअन्तर्गत आजै अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । उक्त कसुरअन्तर्गत तीन वर्ष कैद, बिगोबराबरको जरिवाना र क्षतिपूर्तिको व्यवस्था रहेको छ । 

ह्याकरहरु भदौ १३ गते चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेका थिए । सोमबार गते फर्कने योजनामा रहेका ह्याकरले नेपालमा बिदाको दिन पारेर एटिएम बुथ ह्याक गर्ने योजना बनाएका थिए ।  उनीहरुले विदेशमै बसेर योजना बनाउने गरेको खुलेको छ । यसअघि उनीहरु कम्वोडिया गएकोसमेत खुल्न आएको छ । 
अनुसन्धानका क्रममा उनीहरुले बिदाको दिनलाई उपयोग गर्ने गरेको पाइएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताए ।

प्रारम्भिक बयानमा उनीहरुले  होटलको बारमा काम गर्ने जानकारी दिएको बताउँदै प्रहरीले विस्तृत कुरा भने अनुसन्धानपछि मात्रै थाहा हुने बताएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC