site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ह्‍वेर इज माइ बाबा ?
Sarbottam CementSarbottam Cement

शुक्रबार भाद्र कृष्ण आमावश्या तिथि परेको थियो । पितृतर्पण अर्थात् बाबुको मुख हेर्ने दिन ।

त्यसको भोलिपल्ट माओवादी आन्दोलनको मूलबाटो छाडेर सामाजवादी आन्दोलनको बाटोमा अलमलिन पुगेका डा. बाबुराम भट्टराईले माइक्रो ब्लगिङ साइट ट्विटरमा फोटोसहित ट्विट गरे– “हिजो बुबाको मुख हेर्ने दिन, आज खोज्दै जाँदा यो फोटो भेटेँ । छोरी मानुषी र म । छोरीहरूको जय होस् ।”

माओवादी आन्दोलन क्रान्तिको बाटो त थियो, तर त्यो हजारौँ नागरिकको फाल्साका फाल्सा रगत जमेको बाटो पनि थियो । लासहरूको उरूङ्ग लागेको, आँसुले गलेको धाप पनि थियो त्यो । गणतन्त्र खोज्न गएका सयौँ योद्धा अझै बेखवर छन् । युद्धसँग साइनोसम्बन्धै नभएका कत्तिलाई युद्धले नै वेपत्ता बनायो ।

Prabhu Bank
Agni Group
NIC Asia

तसर्थ ट्विटमुनि सयौँको सङ्ख्यामा आक्रोश र क्रोध भरिएका प्रतिक्रिया आउनु स्वाभाविकै थियो ।

ट्विटरमा ११ लाख फलोअर रहेका डा. बाबुरामलाई नग्माले पनि नियमित पछ्याउँछिन् । डा. बाबुरामलाई नबिराई पढ्छिन् । कहिले उनका विचार पढेर खुसीको सास छाड्छिन्, कहिले अनायास उच्छ्वास उम्कन्छ ।

Global Ime bank

टाइमलाइनमा जुत्ता धुँदै गरेका डा. बाबुराम र स्टिलको डेक्चीबाट पानी खन्याउँदै गरेकी छोरी मानुषीको धूमिल र समयको कुइनेटोमा कस जमिसकेको फोटो देख्नेबित्तिकै नग्माको दिमाग विदीर्ण भयो । हृदय उद्विग्न भयो ।

हिजो बुुबाको मुख हेर्ने दिन, आज खोज्दै जाँदा यो फोटो भेटें । छोरी मानुुषी र म । छोरीहरुको जय होस् । pic.twitter.com/gXouLYz3xf

— Baburam Bhattarai (@brb1954) August 31, 2019

भोलिपल्टबाट स्नाकोत्तर तहको परीक्षा शुरू हुँदै थियो । बत्तीको धमिलो प्रकाशमा पुस्तकमा आँखा दौँडाउँदै गरेकी नग्माको मन अमिलो भयो ।

वर्षौअघि हृदयले सहेको खाटा बस्नुको सट्टा सइन पल्टिएको घाउ एकाएक चहर्‍याउन थाल्यो । अश्रु–धाराले शमन भएन । उद्वेलित मनले तुरुन्तै डा. बाबुरामको ट्विटमुनि चार शब्दको प्रतिक्रिया जनाइन्– “ह्वेर इज माइ बाबा ?”

त्यो केवल प्रश्न थिएन, वर्षौंदेखि अनुत्तरित प्रश्न थियो  । उत्तर अपहरित भएको प्रश्न थियो । छातीको चहर्‍याइ थियो । पीडाको अपरिमेय गहिराइ थियो ।

where is my baba ?

— नग्मा नज्जु (@nagma_nazzu) August 31, 2019

प्रतिक्रियाभित्र गुम्सिएको पीडा

२०६१ साल, जेठको प्रचण्ड ताप । त्योभन्दा चर्को थियो– माओवादी जनयुद्ध । चैत–वैशाखमा खरपाखामा लागेको डढेलोझैँ फैलिएको थियो, द्वन्द्वको आगो । 

आगो फैलन बाँकी कुनै भू–खण्ड बाँकी थिएन । लाल र श्वेत बन्दुकको आतङ्कले बाजको छायामुनि परेझैँ सन्त्रस्त थियो, पश्चिम–दक्षिणी ललितपुरको ठेँचो (थेँचो) क्षेत्र पनि ।

नग्माका बाबु नन्दगोपाल माली सिद्धहस्त प्रस्तर शिल्पकार थिए । कुशल कारिगर । ढुङ्गामा घनछिनो चलाउँथे । चित्ताकर्षक मूर्तिमा बदल्थे ढुङ्गालाई । गृहस्थ जीवनको रथ त्यसैले धकेलेको थियो ।

पाषाणलाई ‘परमेश्वर’मा बदले पनि जीवन मूर्तिजस्तो बान्किलो थिएन । पसिनाको कुलेसो बगे पनि जीवन पसिनाजस्तो उर्वर पनि थिएन ।

खेतीपातीको आयस्ता र साँझ–बिहानको प्रस्तर कर्मले पेट पाल्न कष्टसाध्य हुन थालेपछि बाबुले सहरतिर गोडा लम्काउन थालेका थिए ।

“कालजमाना राम्रो छैन, बचेर हिँड् बाबु !,” हजुरआमा मिश्री मालीले बेलाबखत सम्झाउँथिन् पनि ।

पसिना र प्रस्तर कर्म दुवैको मोल खोज्दै हिँडेका नग्माका बाबु त्यसबाट अनभिज्ञ थिएनन् ।

तिनताका नग्माका बाबु ताहाचलमा साहुकहाँ प्रस्तर कर्म गर्न जान्थे । साहु सहरका गिनेचुनेका नामुद प्रस्तर–मूर्ति व्यापारी थिए । ठूलो रूखको ओत लागे जीवनका हिँउद–बर्खा झेलिएला भन्ने बाबुलाई लागेको हुँदो हो ।

दैव सधैँ दाहिना कहाँ हुन्छन् र !

जेठको शुरूआतकै दिन हुनुपर्छ । नग्मालाई खासै स्मृति छैन । सात वर्षे कोमल दिमागले संग्रहित गर्ने कुरा पनि भएन । बाबु गोधूलितिर घर आएका थिए । फर्कंदा बाबुको दुवै बाहुमा प्लास्टिकका स–साना पोका पन्तुरा झुण्डिएका थिए । बाबुको साथमा साहु पनि आएका थिए ।

“अहिले ताहाचल जान लागेको । ठूलो बुद्धको मूर्ति अर्डर आएको छ, दुई–चारदिन उतै बसेर काम सक्नुपर्ला, त्यतिञ्जेल घर आउन पाउँदिन होला, राम्रोसँग बस्नु !,” बाबुले त्यसदिन साँझ भनेको नग्मालाई धूमिल–धूमिल याद छ । 

त्यसपछि बाबु कहिल्यै घर फिरेनन् । 

साहुकहाँ प्रस्तर कर्म गर्न जान्छु भनेर ताहाचलको बाटो तताएका बाबु साता दिनपछि अखबारमा समाचार बनेर आए– “काठमाडौंको ताहाचलबाट आतङ्ककारी नन्दगोपाल पक्राउ !”

मूर्ति कर्मको मोल खोज्दै हिँडेको छोरो कहिलेदेखि आतङ्ककारी भयो, मिश्रीले केही भेउ पाउन सकिनन् । गाउँलेसँग हारगुहार गरिन् । गाउँलेले सहयोग गर्न जरुरत ठानेनन् । बरु वचन लगाए– “तेरो छोरो माओवादीमा हिँडेको थियो । रातिराति मिटिङ बस्थ्यो । सरकारको श्रीपेच ताकेपछि पक्राउ नगरेर पूजा गर्छन् त !”

पसिनाको मोल खोज्न भौँतारिनुलाई नै राजाको गद्दि ताकेको भन्दा होलान् ! उनको सोझो मनले यही चितायो ।

हजुरआमाले भररात जाग्राम बसेर दस दिनसम्म बाटो हेरिन् । छोरो हिँड्ने बाटोमा एकटकले दृष्टि बिछ्याइरहिन्, अश्रुपच्छे भएर । तर बाबु फिरेनन् । बाबुका दुःखी पदचिह्न पहिले धूलोले छोप्यो । त्यसपछि हिलोले ढाक्यो । त्यसमाथि झ्याउ पलाउन थाले । घरको मियो नै एकाएक वेपत्ता भएपछि अभागी घर नियास्रिन थाल्यो ।
० ० ०

दैव कति निर्दयी हुन्छ, नग्मा त्यसकी उदाहरण हुन् । जसको भाग्यबाट पहिले आमा (शोभा माली) खोसियो त्यसपछि बाबु !

आमाको त अनुहारसम्म पनि याद छैन उनलाई । कहिलकाहीँ तन्द्रामा ऐँठन खस्छ । झल्याँस्स ब्युँझन्छिन् र आमाको अनुहारको कल्पना गर्न थाल्छिन् । अहँ ! उनको दिमागमा कुनै प्रतिविम्ब परेड खेल्न आइपुग्दैन ।

उनी पाँच वर्षकी हुँदिहुन् । एकदिन उनको घरमा गाउँभरिका मान्छे भेला भए । तर त्यत्तिका धेरै मान्छे किन धुइरिए ? उनको दिमागमा प्रश्न बनेन । न त कूतुहलताकै रूप नै धारण गर्‍यो ।

मान्छे थुप्रिएको केही बेरमा नवजात शिशुको आवाज उनको कानमा ठोक्कियो– च्याहाँ...! च्याहाँ...!

नूतन आवाज पैदा भएको केही क्षण वातावरण सामसून्न भयो । त्यसपछि शुरू भयो कोलाहल । एम्बुलेन्स आएपछि कोलाहल पनि केही साम्य भयो । आमालाई लिएर अस्पतालतिरै लाग्यो ।

प्रसूति व्यथाबाट त्राण पाउन अस्पताल लगिएकी आमा फर्किएर घर आइनन् । बल्दाबल्दैको दियो झ्याप्पै निभेझैँ दृष्यबाट एकाएक अलप भइन् ।

त्यसपछि न आमाको आवाज कहिल्यै सुनियो, न आकृतिसँग जम्काभेट नै भयो । र त, नग्माको नजरमा आमा एक सुन्दर छल बनिरहिन् । एक सुन्दर भ्रम बनिरहिन् । एक सुन्दर मिथ बनिरहिन् ।

त्यसैले त, भाग्यसँग नग्मालाई चित्तदुखाइ छ– “जानु त छँदै थियो । तर जान्छु नि है भनेर एक वचन सोध्नु पनि भएन !”

दुई वर्षपछि आमाको नियति बाबुको पोल्टामा पर्‍यो । जन्मिएकै दिन मातृवात्सल्य गुमाएकी छोरीको तोते बोलीसमेत सुन्न पाएनन् । राज्यको बन्दुक उनको बाटाको तगारो बन्यो ।

सरकारको बन्दुकले डोहोर्‍याएर कहाँ लगेर अलप बनायो, सुइँको समेत पाउन सकेननन् ।बाबु एकाएक दृष्यबाट अलप भएपछि हजुरआमालाई पर्नुसम्म पीर पर्‍यो । कैयौँ रात आँखाबाट घैला भरिभरि आँसु बगाइरहिन् । बुढेसकालको लठ्ठि भाँचिएको चिन्ता छँदै थियो । दुई छोरीको भाग्यमाथि भीषण असिना बर्सियो ।

बुहारीलाई कालले लगेकाले फर्कंदैनथिन् । छोरो त राज्यले लगेको थियो । बुझ्दैनबुझी बन्दुकको मोहोरी सोझ्याउला भनेर उनको पाको हृदयले कसरी सोच्नू ? उनले जाने–बुझेसम्म छोराले राजद्रोहको अपराध–कर्म गरेको पनि थिएन । गाथगादी ताक्ने ल्याकत कहाँ हुनु !

छोरा बेकसुर ठहरिएर फिर्ता आउने आशामा एक महिना बिताइन् । आँखा टट्टाउन थालेपछि आफैं खोजीमा पैताला फटाउन थालिन् ।

सेनाले पक्रिएको भन्ने सुनेर उनी शुरूमै छाउनी पुगिन् । “तेरो छोरो ल्याएको छैन, आतङ्ककारीसँग हिँड्यो होला ! अचेल त्यतातिरका मान्छे ज्यादा आतङ्ककारीमा लाग्न थालेका छन्,” शुरूमै रुखो वचनको सामना गर्नुपर्‍यो ।

त्यसपछि उनी भैरवनाथ गणतिर सोझिइन् ।

तिनताका भैरवनाथ गण मृत्युशालामा बदलिएको समाचार अखबारमा छ्याछ्याप्ती थियो । आतङ्ककारीको आरोपमा पक्राउ परेका गणभित्र पुर्‍याइन्थे । सबैको छातीमा बन्दुकको नाल सोझ्याइन्थ्यो र मृत्यु इनाम दिइन्थ्यो । समाचारको बेहोरा यस्तै हुन्थे ।

“कतै छोराले पनि मृत्यु ‘बक्सिस’ त पाएन ?,” नग्माकी हजुरआमाका गोडा लल्याकलुलुक भए । नौनाडी गल्यो । दोछाया परेर आँखा देख्नै मुस्किल हुन्थ्यो । झन् दृष्टि कमजोर होलाजस्तो पो भयो ।

एक मनले सोचिन्– दौर्हृदयी थिएनन् छोरा । कहिलेकाहीँ गाउँको समूहमा जान्थे, अनियमितताबारे मुख फोरेर भन्थे । भ्रष्टाचारविरुद्ध आवाज उठाउँथे । महिलालाई घरभित्रै नखुम्चन सुझाउँथे । पुरुषसरह धिमे बाजा बजाउन हौस्याउँथे । प्रौढ कक्षा पढाउँथे । महिलाले पनि पढ्नुपर्छ चुल्होचौकाको चारघेरामा रमाउने होइन भनेर सुझाउँथे ।

यस्तो पनि प्राणदण्ड दिनुपर्ने गल्ती हो र !

अर्को मनले सोच्थ्यो– बन्दुकको कहाँ विवेक हुन्छ र !

भैरवनाथ गणको गेटमा पुग्नेबित्तिकै आमैले अनुनय गरिन्– “बाबु मेरो छोरो ह्याँ ल्याएको छ ?”

“को छोरो ? कस्तो छोरो ? सेनाको गण हो, आतङ्ककारी ल्याउने ठाम हो र !,” उही रूखो, कर्कश आवाज जवाफ मिल्यो ।
 
यसरी हजुरआमाले सेनाका गण, गुल्म, चारचौरास चहारिन् । मुख्यालय गएर तहाँका अधिकारीसमक्ष पुत्र वियोगका आँसु बगाउनुसम्म बगाइन् ।

बन्दुकको बलमिच्याइँमा क्रूरताको साँध–सीमा मिचिरहेको राज्य ती अभागी आमाका लागि झनै क्रूर भइदियो । न सास रहेको ठेगाना दियो । न लास यहाँ छ भनेर भनिदियो ।

सेनाले सोझो मुखले जवाफ नदिएपछि मुद्दा दर्ता गरिन् । अड्डा–अदालत, वकिलको दैलो चहारिन् ।

बनिबुतो गरेर खाएको निमुखा परिवारले कहाँ न्याय पाउँथ्यो सजिलै । छोरा खोज्ने सारा यत्न निरर्थक, निस्काम, निस्फल हुँदै गयो ।

आफ्नो भाग्यलाई धिक्कार्दै हजुरआमा निराश मुद्रामा घरमा बसिरहेकी थिइन् । उनको मनमा पुनः पुत्र वियोगको हुण्डरी मच्चियो । उनले धैर्य गुमाइन् र छोराको खोजी गर्न निस्किइन् ।

घरबाट निस्किएकी हजुरआमा सरासर छाउनी गइन् । संयोगले सेनाका मझौला तहका हाकिम फेला परे । ती अधिकारी अरूजस्तो कर्कश थिएनन् । उनले भने– “यो हुलियाको तपाईंको छोरा सेनाले पक्रिएको साँचो हो । बालाजु ब्यारेकमा मैले ६ महिना सँगै बिताएको छु । अहिले त्यहीँ छन् कि अन्तै पुर्‍याइसके, गएर बुझ्नूस् ।”

ती सेनाधिकारीको अमूर्त जवाफ अँध्यारोमा चम्किएको जुनकीरीजस्तो भयो । उनी तुरुन्तै बालाजु ब्यारेकतिर हान्निइन् । तर, हात लाग्यो उही निराशा ।

यसरी छोरा खोज्दाखोज्दै हजुरआमाको जुत्ता फाट्यो । पैताला फाट्यो । अन्ततः जीवन नै फाट्यो ।

बाबुको खबर न हुलाकीले ल्यायो, न हल्काराले सुनायो । न अखबारले छाप्यो । न रेडियोले फुक्यो । पितृ वियोगमा आँसुका धारा चुहाउँदाचुहाउँदै दुवै छोरीको गह सुक्यो ।छुटाइको कथा लामो छ नग्माको र थपिने क्रम अद्यापि जारी छ ।

सबैभन्दा पहिले जीवनबाट मातृवात्सल्य छुट्यो । त्यसपछि पितृवात्सल्य छुट्यो । राम्रो स्कुलको पढाइ छुट्यो । पुत्र वियोगले थला बसेका हजुरबा बाटो लागे । हुँदाहुँदा जीवनदेखि हारमान्नु भएर हजुरआमा पनि संसारदेखि विरक्तिइन् ।

हजुरआमा जिउँदो छँदा नग्माको मनभित्र बाबु फर्कने आश पनि जीवितै थियो । हजुरआमा आफैँ खोज्न हिँड्नुहुन्छ, कसो भेट्टाएर नल्याउनुहोला लाग्थ्यो । छोराको सास, लास खोज्दाखोज्दै हजुरआमा आफैँ स्वर्गबास भएपछि साँच्चै निराश छिन् नग्मा ।

भावना र कल्पनाको महासागर न हो मन । बेलाबखत बाबुको सम्झनाको स्याँठ चलिरहन्छ । सम्झनाका तरेली भरिएर परेलीबाट आँसु तप्कन थाल्छन् । सम्झनाको बलेसीमा आँसुका कति बलेनी चुहिए भनिसाध्य छैन ।

नग्मालाई कहिलेकाहीँ बाबु पनि विभ्रमजस्तै लाग्छन् । जीवनको मञ्चमा कहिलेकाहीँ भ्रमको पर्दा खस्छ । नेपथ्यमा बाबुको प्रतिविम्ब देखापर्छ ।

एकपटक त्यस्तै भयो ।

नग्माले निम्न माध्यमिक तह (कक्षा आठ)मा पाइला राखेकी थिइन् । त्यसदिन स्कुल पुग्न अलि ढिलै भएको हुँदो हो, उनी हतारहतार कक्षाकोठातिर अघि पढिन् । अचानक प्रधानाध्यापकको कोठामा आँखा पुग्यो ।

अचम्म !  हेडसरको कोठामा बाबु पो छन् !

बाबु देख्नेबित्तिकै उनको दिमाग छड्कियो । मनभित्र प्रश्न बर्खे च्याउझैँ एकैपटक उम्रिए । बाहिर निस्कन तँछाडमछाड गरे ।

सबैभन्दा पहिला बाहिर आउन तम्तयार प्रश्न थियो– “बाबा ! तपाईं माओवादी किन हुनुपरेको ? तपाईं माओवादी भएर हजुरआमाले कम्ता दुःख पाउनुभो ! तपाईंले घर छाडेर गएदेखि  हजुरआमा एकरात निदाउनुभएको छैन । एक गाँस मुखमा हाल्नुभएको छैन । झ्याउँकीरी कराउँदा पनि छोरा आयो भन्ठान्नुहुन्छ । कुकुर बेस्मारी भुक्दा हत्त न पत्त ढोका खोल्नु हुन्छ ।”

ती प्रश्नहरू पनि अभागी सावित भए । 

नग्माका वेपत्ता बाबु नन्दगोपाल 

प्रधानअध्यापकको कोठामा उनका बाबु थिएनन् । त्यही दिनदेखि पढाउन थाल्नेगरी नयाँ विज्ञान शिक्षक श्याम लामा नियुक्त भएका रहेछन् । तिनै नयाँ शिक्षकले नग्मालाई बाबुको उद्भ्रम सिर्जना गरेको थियो । आँखामा बाबुको आकृति थमाएको थियो ।

“श्याम सर आउनुपूर्व हेडसरले पोखराको सर आउँदै हुनुहुन्छ भन्नुभएको थियो । मेरो बालख दिमागले सोच्यो– बाबा लुकिछिपी पोखरा बसेर पढ्नुभएछ क्यारे ! तर केको हुन्थ्यो ?,” उनी आफैँ आश्चर्यमा पर्छिन् ।

जीवनको डोरेटोमा हरेक क्षण बाबुको अभाव खट्किन्छ । जीवनका हरेक प्रमाणपत्रमा बाबुको छाया सलबलाइरहन्छ ।

बाबुको काखमा लुटपुटिने उमेरमै बाबुको थान्कामा पुग्नुपर्दाको पीडा किस्ताकिस्तामा बेहोर्दै आएकी छिन् नग्माले ।

कोठामा बाबुको तस्बिर पनि टाँगेकी छैनन् । बाबुले छाडेर गएका पदचिह्न, चिनो आँखा वरपर छैनन् । घाउ खाटा बसोस्, उकुच नपल्टियोस् भनेर होइन । जीवनका अप्ठ्यारा रातहरूमा बाबुको सम्झनाको स्याँठ नचलोस् भनेर ।

तर, बहिनी किशोरवयमै छिन् । 

बाबु वेपत्ता भएको १६ वर्ष पूरा भयो । उनी १७ वर्षमा हिँडिरहेकी छन् । बाबुको अनुहारसमेत चिन्न नपाएकी अबोध बहिनी कहिलेकहिले प्रश्न गर्छिन्, “दिदी हाम्रो बाबा कस्तो हुनुहुन्थ्यो ?”

सम्हाल्न खोज्दाखोज्दै आँसु फुत्त हाम फालिहाल्छन् ।

यस्ता थिए भनेर सुनाउन नग्माको दिमागमा पनि त बाबुको चित्र हुनुपर्‍यो ! पीडाहरू खातमाथि खात लागेपछि मस्तिष्कलाई चित्र उधिन्न पनि गाह्रो हुँदो रहेछ !

दिदीले पनि बाबुको अनुहार खुट्याउन नसकेपछि बहिनीले घरको मूल पर्खालमा बाबुको भनाइ चहकिला अक्षरमा कोरेकी छिन्– “बाबा भन्नुहुन्थ्यो, तिमीले आज अप्ठ्यारो मान्दै सिकेका कुराले भोलि सजिलो बनाउँछ ।”

बाबुले हत्केलामा ठेलाको अक्षर उतारेर मूर्तिका जीवनको खोजी गर्थे । दुवै छोरी वेपत्ता बाबुले छाडेर गएको जीवनको सुबोध्य दर्शनमा सुन्दर भविष्यको सिला खोजिरहेछन् ।

शयनकक्षको भित्तामा सेतोपाटीमा ठूलो अक्षरमा ‘ह्‍वेर इज माइ बाबा’ लेखिएको छ । ठीक माथिपट्टि बायाँतर्फ नग्माको औँठाछाप छ । बायाँतर्फ रित्ता कोठा । 

यसले बाबुको वियोगको प्रतिकात्मक अर्थ बोकेको छ । सँगै बाबुको नियास्रोलाई ओझेल पर्न पनि दिएको छैन । वेपत्ता परिवार कस्तो मानसिक अवसाद र विषादको अवस्थामा बाँचेका छन् भनेर बुझ्न पर्याप्त पनि हुन्छ चित्र ।

बाबुरामलाई नै किन प्रश्न ?

बाबुलाई तत्कालीन राज्य पक्षले वेपत्ता बनायो तर तत्कालीन विद्रोही पक्षलाई प्रश्न किन ? त्यो पनि मूल नेतृत्वलाई छाडेर डा. बाबुरामकै ट्विटमुनि किन प्रतिक्रिया व्यक्त गर्नुपर्‍यो ?

आममानिसको मनमा झैँ उनी स्वयम्को मनमा पनि यो प्रश्नले परेड नखेलेको होइन ।

तर डा. बाबुराम भट्टराईको ट्विटमुनि प्रश्न टाँस्नुको अर्थ छ । नग्माका बाबुको प्रेरणाको मूल स्रोत नै डा. बाबुराम थिए । नग्मालाई त सम्झना छैन । तर बाबुका साथी–सहेली नग्मालाई सुनाउँछन् ।

डा. बाबुरामका लेख नछुटाई पढ्थे । मार्क्सवादसँग गाँसिएर डा. बाबुरामका कुनै लेख छापिए भने नग्माका बाबु पढ्न बिर्संदैनथे । मार्क्सवादको महिमामण्डन गरेर डा. बाबुरामले लेखेका लेखहरू नग्मा घरका अन्तरकुन्तरमा अझै भेटिन्छन् ।

विडम्बना ! डा. बाबुराम आफैँ मार्क्सवादमा अडिएनन् । कर्कलाको पातबाट शीतको थोपा गुडेझैँ साम्यवादी आदर्शबाट लाखापाखा त लागे नै माओवादी आन्दोलनबाट पनि विमुख भए ।

“यति चाँडै सिद्धान्तच्यूत हुनुथियो भने हाम्रो बालाई मार्क्सवाद किन पढाएको ? माओवादी आन्दोलनमा लाग्न किन प्रेरित गरेको ? किन हाम्रो जीवनको गोरेटोबाट बाबु मेटाइदिएको ? माओवादी जनयुद्धले कहाँ पुर्‍यायो हाम्रो बाबा ? मानुषीले तपाईंको मुख हेर्दा हामीले चाहिँ वेपत्ता बाबुको धमिलो फोटो हेर्नुपर्ने ? हाम्रो भाग्यमा पीडा थोपरेर तपाईंले चैनको जिन्दगी कसरी बाँच्न सक्नुभयो ?,” डा. बाबुराम भट्टराईलाई नग्माको प्रश्न यत्ति हो ।

वेपत्ताविरुद्धको अन्तर्राष्ट्रिय दिवस, ३० अगस्ट आउनु केही दिनपूर्व डा. बाबुरामपुत्री मानुषीसँग पनि नग्माले यो प्रश्न गरेकी थिइन् ।

तर, चित्तबुझ्दो जवाफ पाइनन् ।

“मन शमन नभएपछि डा. बाबुरामलाई नै यो प्रश्न सोधेकी हुँ,” नग्मालाई प्रश्नप्रति गर्व छ ।

ट्विटमुनि लामो प्रतिक्रिया कोरेकी थिइन् । प्रतिक्रियाका विकल्प छनोट गर्नुपूर्व उनको मनमा अनेक कुरा पाक्यो ।

‘डा. बाबुरामलाई सुनाएपछि मेरा बाबा फर्कन्छन् त ? उनको ठेगाना हराएको ठेगाना पत्ता लाग्छ त ?’ मनभित्रै प्रश्न पेचिलो नबनेको होइन । 

तर, मन मसक्क कसेर उनले चार शब्दमा प्रतिक्रिया छोट्याइन् ।

ट्विटले तरङ्ग सिर्जना गर्‍यो ।

सायद डा. बाबुराम भट्टराईलाई पनि ।

“बाबुरामसँग यसको उत्तर हुनुपर्छ,” जवाफको पर्खाइमा छिन् उनी ।

माओवादी जनयुद्धको डढेलो निभेको १४ वर्ष भइसक्यो । तर समाजमा यसका आला घाउ बाँकी नै छन् । न सरकारले मल्हमपट्टि गर्न सकेको छ । न तत्कालीन विद्रोही पक्षले नै यसमा ताकेता गरेको छ ।

चरचरी चिरिएका छाती लिए पीडितहरू सरकारी अड्डा धाउन अभिशप्त छन् । बन्दुकले लगाएको घाउ बन्दुककै मल्हमले निको पार्ने सपना पनि देख्छन् । 

शान्ति सम्झौतामा हस्ताक्षर भएको १४ वर्षसम्म बाबुको सास र लास पत्ता नलाग्दा नग्माका दिदीबहिनी भग्न जीवन बाँचिरहेका छन् । समाजको द्वन्द्वको भुतभुते निभे पनि छातीभित्रको भुङ्ग्रो बाँकी नै छ ।

शान्ति प्रक्रियाका थाती रहेका काम टुङ्ग्याउन गठित दुवै (सत्य निरूपण तथा मेलमिलाप र वेपत्ता छानबिन) आयोग निस्क्रिय छन् । विधेयक पनि संसदमा विचारधीन छ ।

विगतमा गठन भएका आयोगले ‘प्राधिकार नभएको’ भन्दै पीडितको घाउमा मल्हम लगाउन सकेनन् । राहतका लागि भनेर दिएको रकमले उल्टै आहत तुल्यायो । परिपूरणको अभावमा कति परिवार आँसुको झोलमा छाक टार्न विवश छन् । 

पहिलोपल्ट वेपत्ता नागरिकको सूची प्रकाशित हुँदा नग्माको बाबुको नाम नै थिएन । हजुरआमाले रोइकराइ गरेपछि बल्लबल्ल सरकारले दोस्रोपटकमा सूची सच्याएर समावेश गर्‍यो । त्यसपछि पाएको राहतले जीवन भरणपोषण भएको छैन ।

नग्मा अहिले ‘भ्वाइसेस अफ वुमन मिडिया’मा अनुबन्धित छन् । तर, जीवनका हरक्षण ठुग्न आइपुग्ने चुनौती पन्छाउन यसको वेतन पर्याप्त छैन । बाबुको बाटो हेर्दाहेर्दै घरमा नग्मा र बहिनीमात्रै बचेका छन् ।

बाबुको वियोगको वेदनामा तड्पिरहेको अभागी घर स्याहार्ने जिम्मा पनि एक्लो नग्माको काँधमा छ ।

त्यसैले होला, जीवनबाट कतिबेला बाल्यकाल उछिट्टिएर गयो, नग्माले पत्तो पाइनन् । किशोरी कतिबेला भइन् त्यो पनि उनलाई थाहा छैन । कक्षाकोठामा कहिलेकाहीँ बाल्यकालको बारेमा निबन्ध लेख्न आइपर्छ ।

साथीहरू मनमौजी कलम दौडाउँछन् । बाबुसँग बिताएका मीठा पलहरू अक्षरमा उन्छन् । हरफ, अनुच्छेद हुँदै पानाका पाना निबन्ध लेख्छन् ।

तर नग्माको बाल्यकालको निबन्ध एक वाक्यमै टुङ्गिन्छ । “बाल्यकाल भोग्न पाएको भए पो निबन्धमा कलम सर्नु, वामे सर्न नपाई बाबुको थान्कामा पुग्नुपर्‍यो,” उनको अनुहारमा आश्चर्य विम्बित हुन्छ ।

वर्षेनी दसैं–तिहार आउँछ । बाबुको मुख हेर्ने तिथि आउँछ । तर नग्माका बाबा कहिल्यै आउँदैनन् । उच्चाटयुक्त अनुहार लिएर फर्कन्छन् चाडबाड ।

बाबु वेपत्ताको सघन पीडामा छिन् नग्मा । कहिलेकाहीँ सुर बेसुर बनिदिन्छ । ढोका उघारै हुन्छ । बाबु आउनुभयो कि भन्दै हतारहतार चोटामा पुग्छिन् । उही चर्को सन्नाटा हात लाग्छ ।

किशोरवय बाबुको सास र लासको ठेगाना खोज्दै बित्यो । यौवनावस्थाको नियति पनि त्यस्तै छ । उमेरको यो बिसौनीमा आइपुग्दा नग्मा अब यो खोजीको दौडधूप टुङ्ग्याउन चाहन्छिन् ।

अन्तिममा बाक्लो निःस्वास छाड्दै भन्छिन्– “सरकार ! मेरो बाबुको सास अथवा लास रहेको ठेगाना दिएस् । मृत्युको घाउभन्दा कोशौँ गहिरो हुँदो रहेछ व्यक्ति वेपत्ताको घाउ !”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC