काठमाडौं । अभिनेता विपिन कार्कीले दर्जनभन्दा धेरै चलचित्रमा अभिनय गरे– ‘लुट’, ‘छड्के’, पशुपतिप्रसाद’, ‘नाका’ ‘जात्रा’, ‘प्रसाद’, ‘जात्रैजात्रा’, ‘गोपी’, ‘हरि’ आदि । गत वर्ष प्रदर्शनमा आएको ‘हरि’ विपिनकै शब्दमा उनको फिल्मी करिअरकै सबैभन्दा राम्रो चलचित्र हो । तर यो चलचित्र कहिले आयो र कहिले गयो भन्ने दर्शकले पत्तै पाएनन् । दर्शकले त ‘हरि’ मन पराएनन् नै, राष्ट्रिय अवार्डमा पनि यसले ठाउँ पाएन ।
गत असार २७ गते बाँडिएको राष्ट्रिय चलचित्र अवार्डमा विपिनले उत्कृष्ट अभिनेताको अवार्ड त पाए तर ‘हरि’बाट होइन, ‘प्रसाद’बाट । जब ‘प्रसाद’बाट विपिनले अवार्ड पाएको उद्घोषकले घोषणा गर्दै अवार्ड ग्रहण गर्न बोलाए, विपिन जिल परे । ‘हरि’ हुँदाहुँदै ‘प्रसाद’बाट अवार्ड ! उनलाई अवार्ड लिन जाउँ कि नजाउँ भयो । हलमा पुगिसकेकाले बहिष्कार गर्नु राज्यकै अपमान होला कि भन्ने भयो । त्यसैले उनी अवार्ड लिन त गए, तर मन खुम्च्याएर । त्यसपछि उनले सोच बनाए, अब अवार्ड लिन कुनै पनि कार्यक्रममा जान्न ।
एक जना निर्देशक बाह्रखरीसँग भन्छन्, “बलिउड सूत्रमा बनिरहेका नेपाली चलचित्र हेर्न बानी परेका जुरीले कहाँ सररियालिजम (अतियथाथवाद)लाई आत्मसात् गरेको ‘हरि’ बुझ्छन् । ‘हरि’ नेपाली चलचित्रको परम्परागत कथ्य संरचना भत्काएको चलचित्र थियो । परम्परागत कथ्य संरचना अंगालेका चलचित्र हेर्न बानी परेका दर्शकले ‘हरि’लाई मन पराएनन् । तर जतिले मन पराए, उनीहरुले खुलेर प्रशंसा गरे ।”
परम्परागत प्रस्तुतिभन्दा फरक कथ्य संरचना बोकेका चलचित्र हेर्न बानी पर्न नेपाली दर्शकलाई केही समय लाग्ने चलचित्र निर्देशक प्रदीप भट्टराई बताउँछन् । “जुन वर्ष मेरो ‘जात्रा’ आयो, त्यही वर्ष ‘सेतो सूर्य’, ‘कालो पोथी’ पनि रिलिज भए । यी तीनवटै चलचित्रलाई दर्शकले मन पराइदिनुभयो,” प्रदीप भन्छन्, “मलाई लागेको थियो । आम रुपमा चलेकाभन्दा फरक कथ्य संरचना भएका चलचित्र यसरी नै वर्षमा कम्तिमा चार–पाँचवटा आउन थाले भने आर्टमुभी हेर्न दर्शकको संख्या बढ्दै जानेछ, जसले नेपाली चलचित्रको स्तर माथि उकास्न सहयोग गर्नेछ ।”
हिन्दी सिनेमा हेर्न बानी बसेको र त्यही सूत्रमा बन्ने नेपाली चलचित्रमात्रै वास्तविक चलचित्र हुन् भन्ने धारणा नेपाली दर्शकमा बसेको निर्देशक विनोद पौडेल बताउँछन् । फास्ट कट चलचित्र हेरेर चलचित्र भनेकै त्यस्तै हुनुपर्छ भन्ने बानी बसिसकेको भन्दै उनी भन्छन्, “वास्तवमा चलचित्र चलुन् या नचलुन् । तर अबको केही वर्ष लगातार नेपाली चलचित्र उद्योगमा आर्ट मुभी बन्नुपर्छ । दर्शकलाई कमर्सियल बाहेक जीवनको वास्तविक कथा भन्ने चलचित्र पनि हुँदारहेछन् । र त्यस्ता चलचित्र हेर्नुपर्छ भन्ने बानी बसाउन आर्ट मुभी बनाउन जरुरी छ ।”
नेपालमा चलचित्रलाई बिजनेसमात्रै सम्झिने तर आर्ट हो भन्ने बुझाइ नभएकाले यस्ता चलचित्रमा निकै कम लगानी हुने र त्यसको बक्सअफिस कलेक्सन पनि कम हुने गरेको निर्देशक पौडेल बताउँछन् ।
आर्ट मुभीको संख्यामा वृद्धि भएपछि यस्ता चलचित्र पनि नेपालमा बनिरहेका छन् । खास चलचित्र भनेका यी हुन् भनेर दर्शकलाई जानकारी दिँदै हेर्ने बानी बसाउन आवश्यक रहेको चलचित्र निर्देशक दीपेन्द्र के खनाल बताउँछन् ।
“कमर्सियल सिनेमामात्रै धेरै बन्ने भएकाले वास्तविक चलचित्र ओझेलमा परिरहेका छन्,” निर्देशक खनाल भन्छन्, । आर्ट मुभीमा रेगुलर निर्माताले मात्रै लगानी गर्ने खनालको भनाइ छ । नेपालमा अहिलेको सन्दर्भमा कमर्सियल मुभीको तुलनामा आर्ट मुभी नचल्ने तर देशको कला, संस्कृति यसमै हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा जाने यस्ता चलचित्रलाई राज्यले विशेष सुविधा दिनुपर्ने उनी बताउँछन् ।
“आर्ट मुभीलाई राज्यले निर्माणदेखि प्रदर्शनसम्म सहयोग गर्नुपर्छ । प्रदर्शनमा यस्ता चलचित्र रिलिज भएको दुई हप्तासम्म अरु चलचित्र रिलिज गर्न नपाइने नियम बनाउन चलचित्र विकास बोर्डलाई मेरो आग्रह छ,” निर्देशक खनाल भन्छन्, “दर्शकलाई आर्ट मुभी हेर्ने बानी नपरेसम्म यो नियम बनाउन सकिन्छ ।”
स्थायी (चलिआएका परम्परागत) सिनेमाको विकल्पका रुपमा आएका चलचित्रलाई निर्देशक मनोज पण्डित अस्थायी सिनेमा भन्छन्, जुन बन्दै आएका मूलधारका चलचित्रभन्दा फरक हुन्छन् । यस्ता चलचित्रलाई उनी वैकल्पिक चलचित्र भन्न रुचाउँछन् । “स्थायी चलचित्रभन्दा वैकल्पिक चलचित्र राम्रा हुन् भन्ने अवधारणा बन्दै गएको छ । तर, यस्ता चलचित्र चल्नुपर्छ भन्ने कुरा आफैँमा अव्यवहारिक हो,” निर्देशक पण्डित भन्छन्, “भइरहेको समाज र परिस्थितिलाई प्रश्न गर्दै नयाँ अवधारणाको विकास गर्न सजिलो छैन । त्यसैले यस्ता चलचित्र तत्काल चल्छन् भन्ने छैन ।”
समाज हिँडिरहेको बाटोभन्दा उल्टो बाटो हिँड्नु चुनौतीपूर्ण रहेको बताउँदै उनी भन्छन्, “समाजमा विद्रोही बनेर विद्रोह गर्ने अनि त्यसलाई सहजै अरुले आत्मसात् गरेनन् भन्नु नै मनोगत भ्रम हो ।”
पण्डितले ‘दासढुङ्गा’, वधशाला’, ‘खाग’ बनाए । “म विद्रोही चलचित्र बनाउने अनि चलेन भन्दै हिँड्नु मेरो भ्रम हो,” उनी अगाडि थप्छन्, “यथास्थितिसँग सहमत हुन नसकेपछि विद्रोह गरेर फरक खालका चलचित्र बनाउने हो । संसारभर विद्रोही भनिएको चलचित्र मेनस्ट्रिम जस्तो चल्दैनन् ।”
आम मान्छेले यस्ता चलचित्र स्वीकार्न समय लाग्ने बताउने उनी आम दर्शकको चेतनाले अस्वीकार गरेको कुरा भनेपछि त्यसलाई बुझाउन समय लाग्ने बताउँछन् । “मासले जे सोचिरहेको छ, त्यो गलत हो भनेर भन्ने अनि त्यसलाई नै जनताले स्वीकार गरेनन् भन्नु आफैँमा विरोधाभासपूर्ण कुरा हो,” निर्देशक पण्डित भन्छन्, “विद्रोह नै मेरो उद्देश्य हो भनेर हिँड्ने हो भने मैले व्यावसायिकताको लोभमा नपरी यही बाटो हिँड्नुपर्छ हैन भने सबैले स्वीकार गर्ने चलचित्र बनाउनुपर्छ ।”
‘बुलबुल’, ‘डाइङ क्यान्डल’, ‘खाग’ समाजले स्वीकार गरिरहेको विचारलाई चुनौती दिन बनाइएका चलचित्र भएकाले यी चलचित्र चलेनन् भन्नु भ्रममात्रै भएको उनी बताउँछन् ।