नरेश फुयाँल
२०२२ सालमा पहिलोपटक जुम्ला (अहिले कालिकोट)मा एसएलसीको परीक्षा केन्द्र हुने भयो । एक जना पनि विद्यार्थी पास नभए केन्द्रै खारेज हुन्थ्यो । केन्द्र खारेज हुने अनुमान गरेर शान्ति विद्यागृह माध्यमिक विद्यालय काठमाडौंमा पढ्दै गरेका प्रेम कैदीलाई जुम्लीले बोलाए ।
गृह जिल्लाको कल्याण गर्नै पर्यो । काठमाडौंबाट नेपालगञ्ज त पुगे, तर जुम्ला पुग्न अहिलेजस्तो सहज थिएन । कार्गो हवाईजहाजमा चढेर उनी जुम्ला लागे । विडम्बना ! जहाज कर्णालीको तिरैतिर हुम्लातिर लागेछ । प्रेमले गाउँको छहरा देखेपछि पाइलटलाई भने, “हामी हुम्लातिर आयौं ।”
जहाज तिला नदी हुँदै फर्किएर जुम्लातिर लाग्यो । माघको महिना थियो । चारैतिर हिमपात । काठमाडौंमा बसेर पढ्न थालेकाले उताको चिसो उनको शरीरले थेग्न छोडिसकेको थियो । हात कठ्याङग्रिएर जानेको पनि लेख्न सकेनन् । तै, तेस्रो श्रेणीमा पास भए । “काठमाडौंका मेरा सबै साथीहरुले फस्र्ट डिभिजनमा पास गरे मैले भने सेकेन्ड डिभिजन पनि ल्याउन सकिनँ,” प्रेम चुक्चुकाउँछन्, “बीएससी एजीमा छात्रवृत्तिमा पढ्ने सपना मेरो अधुरै रह्यो । तर जुम्लामा एसएलसी नदिएको भए म यतिबेला कुनै कृषिको हाकिम भएर भ्रष्टाचार गरेर बसिरहेको हुने थिएँ । जुम्लाको एसएलसीले जे गर्यो, ठीक गर्यो । हैन भने म बर्बाद हुन्थेँ ।”
जुम्लाको एलएलसीपछि प्रेम त्रिचन्द्र कलेजमा विज्ञान पढ्न भर्ना भए । पञ्चायतको समय, कलेजमा पढाइ कम र राजनीति ज्यादा हुन्थ्यो । त्यही वर्ष खोर्सानी काण्ड (२०२६) भयो । पढाइ बन्द भयो । प्रेमका बुवा काङ्ग्रेसको मुखपत्र ‘तरुण’ गाउँमा वितरण गरेको आरोपमा वारेन्ट पाएर बर्दियामा मिल चलाएर बसिरहेका थिए । त्यहाँबाट पनि निर्वासित भएर उनी भारत पसे ।
कलेजमा पढाइ नभएपछि उनी बुवा भएको ठाउँमा पुगे । छोरो प्रेमलाई इन्जिनियर बनाउने रहर थियो उनको । भारतमै भएका बेला उनले एक वर्षे रेडियो इन्जिनियरको कोर्स गर्न प्रेमलाई पञ्जाव पठाए । प्रेमले भने आफ्नो कोर्सभन्दा बढी माक्र्सवादी कम्युनिस्टको दर्शनसँगै इतिवृत्तान्त समेटिएको स्टालिनको पुस्तक पढे, पूरै नौ महिना लगाएर । त्यसले उनलाई दर्शन शास्त्रबारे गहिरो ज्ञान दियो ।
पहिलेदेखि नै लेख्ने बानी थियो उनको । चलचित्रको पटकथामा उनको रुचि थियो । त्यो लेख्थे । जासुसी उपन्यास पनि लेख्थे । आईएस्सी पढ्दापढ्दै उनका केही पुस्तक प्रकाशित भएका थिए ।
आईएस्सी छोडेर इलेक्ट्रिकल इन्जिनियरिङको एक वर्षे कोर्स गरेर फर्किएपछि उनले प्राइभेट आईए पूरा गरे । त्रिचन्द्रमा बीएमा भर्ना भए ।
त्यहीबेला भारतले सिक्किम विलय गरायो । पत्रपत्रिकामा लेख लेख्ने, जासुसी उपन्यास प्रकाशन भइसकेका । हरेक मञ्चमा कविता पाठ गर्ने । उपनाम पनि कैदी । उनी चर्चित थिए ।
सिक्किम भारतमा विलय भएपछि त्यसको विरोधमा उनले त्रिचन्द्रमा कार्यक्रम नै आयोजना गरे । कुनै पनि स्वतन्त्र मुलुकललाई हडप्ने कार्यको उनी घोर विरोधी थिए । त्यही कार्यक्रममा अखिल र नेविसङ्घको झडप भयो । दुवै पक्षलाई मिलाउने काममा संयोजनकारी भूमिका उनैले निर्वाह गरे । उनी मान्छेलाई कसरी सम्झाइबुझाइ थामथुम पार्ने भन्ने कुरामा जानकार थिए ।
काठमाडौंका २६ वटा कलेजमा प्रतिनिधि पठाएर भोलिपल्ट हजारौंको जुलुस लिएर भारतीय दूतावास घेर्न गए । “त्यो जुलुसमा सबैभन्दा पहिला मलाई नै प्रहरीले गिरफ्तार गर्यो,” प्रेम सुनाउँछन्, “त्यो बेला नेविसङ्घ र अखिलबीचको सम्बन्ध राम्रो नभएकाले मैले स्वतन्त्र व्यक्तिको रुपमा त्यो जुलुसको व्यवस्थापन गर्ने काम गरेको थिएँ ।” प्रहरीले उनलाई चिल्ड्रेन पार्कमा लगेर राखेको थियो । प्रहरीलाई देखेर कुकुरले झम्टियो । प्रहरीहरु कुकुर धपाउनतिर लागेको मौका छोपेर प्रेम भागे ।
आन्दोलन तितरवितर पार्न प्रहरीले लठ्ठी प्रहार गर्यो । अश्रुग्यास हान्यो । प्रहरी निरीक्षक अच्युतकृष्ण खरेल (पछि प्रहरी महानिरीक्षक बनेका) नेतृत्वको टोलीले शान्तिपूर्ण आन्दोलनमा बाधा पुर्याइरहेको थियो ।
प्रेम कुनै राजनीतिक दल र विद्यार्थी सङ्गठनमा नबसे पनि अखिलनिटक थिए ।
राजनीतिक सङ्गठनमाथि चर्को सरकारी दमन थियो । तर प्रेम खुलेर कुनै सङ्गठनमा थिएनन्, त्यसैले पनि उनलाई प्रदर्शन गर्दै हिँड्न सहज भएको थियो । उनी साथीहरु लिएर प्रत्येक कलेजमा आम हड्ताल गर्ने भन्दै हिँडे ।
“कलेज बन्द गराउँदै हिँड्दा शङ्करदेव कलेजमा पढाइ भइरहेको थियो । हामीले आफ्नो अभियानमा साथ दिन आग्रह गर्यौं । तर केही व्यापारीका छोराहरुले हामीलाई सुनेनन्,” प्रेम सुनाउँछन्, “हामीसँगै एक युवती थिइन्, उनले भनिन्– तपाईंहरुले लगाएको पाइन्ट–सर्ट फुकालेर मलाई दिनुस् म लगाउँछु । मैले लगाएको यो लुगा म दिन्छु, तपाईंहरु लगाउनुस् । त्यसरी बेइज्जत गरेपछि उनीहरुले पनि हामीलाई साथ दिए ।”
कलेज बन्द गराउँदै हिडेका उनीहरु रत्नपार्क पुगेपछि भ्याली एसपी डीबी लामा नेतृत्वको प्रहरीले प्रेमलगायतलाई गिरफ्तार गरेर अञ्चलाधीश कार्यालय पुर्यायो । त्यहाँ प्रेमले भेटे– नारायण ढकाल, कमानसिंह लामा, बलराम बाँस्कोटा, सुबास नेम्बाङ, गङ्गाधर लम्साल, देवराज देवकोटालगायत ।
भारतीय विस्तारवादविरुद्ध र साना देशहरुको स्वाधीनताको पक्षमा भएको आन्दोलनलाई सरकारले ‘ट्याकल’ गर्न जानेन । भारतमा सिक्किम विलयविरुद्धको आन्दोलनले नेपालको पञ्चायतविरुद्धको जनमत आन्दोलनका रुप लियो । त्यही आन्दोलनपछि सबैभन्दा लामो विद्यार्थी आन्दोलन (६ महिना) हुन पुग्यो । सरकारले सेना लगाएर दबाउनुपर्यो ।
० ० ०
दमनको सीमा नाघिसकेको थियो । विद्यार्थीलाई साहित्यिक कार्यक्रम गर्नसमेत बन्देज लगाइदिएको थियो । २०३४ सालतिर फर्किन्छन् प्रेम । पञ्चायतनिकट विद्यार्थीहरुले कवि गोष्ठी पनि हुन दिँदैनथे ।
साहित्यिक पत्रकार सङ्घको तर्फबाट बासु शशि र हरिभक्त कटुवाललगायतले रत्न राज्यलक्ष्मी क्याम्पसमा सहिद दिवसको अवसर पारेर साहित्यिक कार्यक्रम आयोजना गरे । राजनीतिक निरङ्कुशता व्यक्तिव्यक्तिको कलमसम्म पुगेको थियो ।
परिणामः सबैले त्यहाँ सुनाए कविता । त्यहीँ सुनाए प्रेमले–
सहिदहरु जो मूर्तिवत् छन् उनीहरुको सम्मान हुन्छ
सहिदहरु जो सशरीर छन् उनीहरुको हत्या हुन्छ
यो सहिदहरुको हत्या हुने समय
यो सिर्जनाको विध्वंश हुने समय... ।
प्रेमले सहिदबारे लेखिएको राजनीतिक कविता सुनाएपछि, वासु शशिले भने– कविता भनेको यस्तो हुनुपर्छ । उनले खुलेर प्रशंसा गरे ।
भारतमा सिक्मिको विलयविरुद्ध सुरु भएको आन्दोलन पञ्चायतविरुद्ध केन्द्रित भइरहेको थियो । आन्दोलनमा सक्रिय थिए प्रेम । दिनभर आन्दोलनमा हिँड्थे । साँझ समाचार लेखेर लिथो गर्थे । त्यही एउटै समाचार सबै सञ्चार गृहमा पुर्याउँथे ।
आन्दोलनको समाचार प्रकाशन गर्ने पत्रिकालाई समाचार चाहिएकै हुन्थ्यो । दुरुस्तै त्यही समाचार अधिकांश पत्रिकामा छापिन्थ्यो ।
त्यसअघि, पहिलो पटक २०२३ सालदेखि सम्पादकलाई चिठ्ठीमार्फत् प्रेमका विचारहरु पत्रपत्रिकामा छापिन थालिसकेका थिए । ‘नयाँ समाज’मा पहिलोपटक उनले लेखेको सम्पादकलाई चिठ्ठी छापिएको थियो । त्यसले उनमा लेखनप्रति आत्मविश्वास जगायो । आशाको दियो बल्यो । २०२७ सालदेखि कथा र लेखहरु छपाउन थाले ।
‘मातृभूमि’ पत्रिकामा उनको पहिलो कथा छापियो । ‘नलेखिएको कथा’ शीर्षकको प्रेमको कथाले पाठकको अन जित्यो । उनको विद्रोही सोचले उठान गरेको सीमान्तकृत समुदायको कथा थियो त्यो । २७ देखि २९ सम्मको समयलाई उनी आफ्नो साहित्य लेखनको ऊर्बर कालखण्ड भन्न रुचाउँछन् । प्रेम भन्छन्, “ती वर्ष अधिकांश पत्रिकामा मेरा कथा–कविता छापिन्थे । मेरा सिर्जना नछापिएका पत्रिका पाउनै गाह्रो थियो ।” यसो भनिरहँदा उनको अनुहारमा प्रशन्नताका रेखाहरु दौडिन्छन् ।
० ० ०
२०२७ मा समाचार लेख्न प्रेमले आफ्नै घटनाबाट सुरु गरे । नेपालगञ्जका विद्यार्थीले भारतीय प्रहरीलाई कुटपिट गरेका रहेछन् । आफ्नो भूमिमा भारतीय प्रहरीले नेपाली विद्यार्थीलाई देख्नै नहुने कुटिहाल्ने । काठमाडौंबाट गएका प्रेमलाई त्यो घटना थाहा थिएन । नानपारा पुगेका उनलाई भारतीय प्रहरीले लम्कीझम्की गर्यो । झोला खानतलास गरियो । चाइनिज टुथपेस्ट भेटे । ‘यो विदेशी टुथपेस्ट किन बोकेको’ भन्दै निहुँ पारेर डण्डा उठाए । प्रेमले भारतीय प्रहरीलाई सोधे, “म काठमाडौंबाट आएको मलाई केही थाहा छैन । मबाट के गल्ती भयो ?”
उनले कारण सोधे । थाहा पाए । त्यसपछि अनुनय–विनय गरे । ठीक त्यहीबेला पुलिस अफिसर आइपुगे । उसले कुरा बुझ्यो । धन्न बचे !
त्यो घटनाले उनलाई रिस उठ्यो । नानपाराको रेलवे स्टेसनमा बसेर समाचार लेखे । हुलाकमार्फत् ‘मातृभूमि’ साप्ताहिकलाई पठाए । ‘मातृभूमि’ले पहिलो पृष्ठमा महत्वका साथ त्यो छाप्यो । समाचारमा भारतीय प्रहरीले नेपालीमाथि गर्ने ज्यादतिलाई बाहिर ल्याइएको थियो ।
० ० ०
त्यहाँबाट प्रेम पुगे कालिकोट । कालिकोटमा चरम् भोकमरी थियो । दुई किलो चामलका लागि जनता लामो लाइन बस्थे । त्यहाँ उनले देखे– प्रहरीको ज्यादति । प्रहरी अधिकृत त्यहाँ घर बनाउँदै थिए । स्थानीय जनतालाई हावाकावा पार्ने, कुट्ने र चामल आफू लिने प्रहरीको व्यवहार देखेका प्रेमले त्यसलाई पनि समाचारमा उतारे ।
‘मातृभूमि’ले त्यसलाई ठूलो महत्वका साथ छापिदियो । त्यो समाचारको प्रभाव कालिकोटमात्रै होइन पूरै कर्णाली अञ्चलमा पर्यो । एउटा गाउँको समाचार राष्ट्रिय मुद्दा बन्यो । जनता प्रहरी प्रशासनविरुद्ध विद्रोह गर्ने अवस्थामा पुगे । गृह सहायक मन्त्री हरिश्चन्द्र महत सोही विषयलाई लिएर कालिकोट भ्रमणमा गए ।
० ० ०
२०३२ सालमा फर्किन्छन् प्रेम । आन्दोलन गरेको आरोपमा रानजनीतिक बन्दीका रुपमा उनी जेल परेका थिए । जेल मुक्त भएपछि उनले थाहा पाए– जुम्लाबाट हवाईजहाजमा चरेस र मूर्तिहरु ल्याइन्छ ।
नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री थिए । उनका साला कर्णाली अञ्चलाधीश थिए । अञ्चलाधीशकै मिलेमतोमा तस्करी हुन्छ भन्ने प्रेमले थाहा पाए ।
जुम्लामा रहेका आफ्ना साथीहरुलाई यसबारे बुझ्न लगाए । अञ्चलाधीशले पठाएको बन्द सामग्रीमा हीराको आँखा भएको शिवको मूर्ति छ भन्ने उनले जानकारी पाए । ‘‘तिब्बतीबाट अञ्चलाधीशले किनेको भन्ने सूचना थियो । त्यो सामग्री रोक्न युवाहरु विमानस्थल पुगे । ‘गाउँ फर्क’ अभियानका अध्यक्ष नीरविक्रम शाहको सहयोग मागे । नीरविक्रमले जनप्रतिनिधि हरिश्चन्द्रलाई भन्नु भने । हरिश्चन्द्र पनि डराए । आर्मीको मेजरले भ्रष्टाचारविरुद्ध साथ दिन सेना तयार छ भनेपछि हरिश्चन्द्र महत त्यो सामग्रीमाथि बसे । र, खोल्न आग्रह गरे । खोल्दा ७५ केजी चरेस भेटियो,” उनले सुनाए ।
समाचारका लागि त त्यो ठूलो सूचना थियो । तर काठमाडौंका अखबारले छाप्न मानेनन् । सरकारको कामकारबाहीको खबरदारी गर्ने आधा दर्जन पत्रपत्रिका सरकारले बन्द गरिदिएको थियो । सरकारी गुण्डाहरु प्रेमको पछाडि लागिरहेका थिए ।
“म समाज पत्रिकाका सम्पादक मणिराज उपाध्यायको कार्यालयमा गएँ । उहाँले मलाई देख्नासाथ भन्नुभयो, ‘‘यो राजनीति गर्ने ठाउँ हैन । पार्टीको झण्डा बोक्ने मेरोमा नआए हुन्छ ।” बाटै बन्द भयो । गर्ने के ?
समाचार नछापिने भयो भनेर तनावमा क्षेत्रपाटीतिर घुमिरहेका बेला उनले शक्ति लम्साल (स्तम्भकार) र नारायण गजुरेल (सम्पादक) लाई बाटैमा भेटे । उनलाई प्रेमले चिया खान लगे र एउटा सानो समाचार छ यो छापिदिनुहुन्छ कि दाइ भन्दै नारायणलाई दिए । शक्तिले भने, ‘कैदी भाइले एकदम राम्रो लेख्छ । कैदीभाइजस्तो राम्रो पत्रकार कोही छैन । कहिल्यै असत्य कुरा लेख्दैन । छाप्नैपर्छ ।’
नारायणले हेरे, ‘झण्डाको छत्रछायाँमा अवैध व्यापार, जुम्लामा ७५ केजी चरेस बरामद’ समाचारको शीर्षक थियो । ‘‘जुम्लामा चरेस बरामद भएको भन्ने त मैले पनि सुनेको थिएँ । तर यस्तो समाचार हामीकहाँ आएको थिएन । मिलाएर हेर्नुपर्छ,’’ नारायणले भने ।
उनीहरु ‘समाज’तिर गए । प्रेमले आफ्नै बाटो समाए ।
मणिराज उपाध्यायले थाहै नपाई प्रेमको समाचार छापियो । समाचार बजारमा आएपछि प्रहरीले मणिराजलाई गिरफ्तार ग¥यो । अञ्चलाधीश कार्यालयमा गएर मणिराजले भने– ‘तीन करोड रुपैयाँ गुप्तचर विभागमा तपाईंले खर्च गर्ने, मलाई गिरफ्तार गर्ने ?’
समाचारको स्रोत सरकारले सोध्यो । मणिराजले प्रेम कैदीलाई पोलेनन् । भने, ‘‘मैले छापेको हो । समाचार सत्य हैन भने मलाई कारवाही गरे हुन्छ ।’’
झण्डाले राजतन्त्रलाई सङ्केत गरेको थियो । राजतन्त्रको मानमर्दन गरेको आरोप लगाएर राजकाज मुद्दा लगाई मणिराजलाई थुन्ने तयारीमा सरकार लाग्यो । तर राजा वीरेन्द्र उदार स्वाभावका भएकाले मणिराजलाई कैद नगर्न हुकुम दिए । मणि छुटे ।
“मणिराजका मान्छेहरु कैदीले फसायो भनेर मलाई खोजिरहेका थिए । मैले के गर्ने ?” प्रेम नोस्टाल्जिक हुन्छन्, “योगी नरहरीनाथकोमा गएँ । कीर्तिनिधि विष्टलाई फोन गरेँ । पृथ्वीमान सिंहलाई फोन गरेँ । सबैले भने– राजाका मुख्य सचिव रञ्जनराज खनालकोमा जाऊ ।”
योगी नरहरिनाथलाई लिएर प्रेम रञ्जनराजकोमा गए । रञ्जनराजले योगी नरहरिनाथलाई ढोगे र प्रेमलाई सोधे, ‘किन आएको ?’
प्रेम: जुम्लाको ७५ केजी चरेसको सन्दर्भमा आएको ।
रञ्जनराज: कहाँ पढ्छौ ?
प्रेम: त्रिचन्द्र कलेज ?
रञ्जनराज: विद्यार्थी भएर पढ्ने कि राजनीति गर्ने ? नचाहिने नचाहिने काम गर्ने ?
योगी नरहरि मुसुमुसु हाँसिरकेका थिए । उनले रञ्जनराजलाई भने– ‘तपाईंले उसको नाम नै सुन्नुभएको छैन ।’
रञ्जनराजले सोधे तिम्रो नाम के हो बाबु ?
“म भर्खर जेलबाट छुटेर आएको । २०३२ को आन्दोलन चलाउने म पनि एक हुँ । मेरो नाम प्रेम कैदी हो ।”
‘ओ हो, के छ मैले गर्नुपर्ने ? निवेदन छ ?’
छ ।
रञ्जनराज: महाराजलाई भेट्ने हो ? मयलपोस–सुरुवाल लगाएर महाराजलाई भेट्न सकिन्छ ?
प्रेम: मसँग छैन । कसैसँग मागेर लगाउँदिन पनि । राजासँग मलाई नभेटाउनूस् । तपाईंले नै जे गर्ने हो, गरिदिनू ।
प्रेमले निवेदन दिए । निवेदनमा थियो, ‘जुम्लामा ७५ केजी चरेस तस्करी गर्ने प्रशासक र संलग्नलाई कारबाही गरिपाऊँ ।’
राजाले छानविन आयोग बनाए । आयोगको छानविनले समाचार सत्य रहेको ठहर गर्यो ।
अञ्चलाधीश तानिए । प्रधानमन्त्रीले उक्त आयोगको प्रतिवेदन आएपछि त्यसलाई दबाउन सकेनन् । कहिल्यै नढल्ने घामजस्ता प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालले राजिनामा दिनुको कारणमध्ये एक त्यो समाचार पनि रहेको प्रेम दाबी गर्छन् । राजाले अपदस्थ गर्ने अवस्थामा पुगेपछि उनले राजिनामा बुझाएका थिए ।
“त्यो बेलाको प्रशासनले समाचारप्रति विश्वास गथ्र्यो । अहिलेको सरकार पत्रकारलाई दुश्मन ठान्छ । पत्रकारिताप्रति त्यो बेला भरोसा थियो, अहिले अतिरञ्जित समाचार भनेर सरकार पन्छिन्छ,” उनी विगत र वर्तमान छुट्ट्याउँछन् ।
० ० ०
नेपालभूषण न्यौपाने सम्पादक रहेको पत्रिका ‘चर्चा’ साप्ताहिकमा जनजाति, महिला तथा सीमान्तकृतको आवाज उनले मुखरित गरे ।
०३२ सालमा पद्मसिंह कार्कीको पत्रिका ‘पर्यवेक्षक’ साप्ताहिकमा प्रेमले सम्पादक भएर काम गरे । यो नेपालगञ्जबाटै प्रकाशन हुन्थ्यो ।
०३८ सालमा लियाकत अली प्रकाशक रहेको ‘सङ्कल्प’ पत्रिका सम्पादन गरे । त्यो पनि नेपालगञ्जबाटै प्रकाशन हुन्थ्यो । पत्रिका प्रकाशनकै दौडमा उनीसँग अर्को पनि अनुभव छ । उनले ‘मालिका’ पाक्षिक दर्ता गरे । जनमत सङ्ग्रहको अवधिमा त उनले पत्रिका प्रकाशन गरे, तर जनमत सङ्ग्रह सकिनेबित्तिकै अञ्चलाधीशले दर्ता खारेज गरिदिए ।
‘कर्णाली’को जुम्लाबाट प्रकाशन गर्ने भनेर प्रेमले ‘कर्णाली’ साप्ताहिक दर्ता गरेका थिए । तर अञ्चलाधीशले जुम्लामा छाप्न दिएनन् । ‘मालिका’जस्तै यो पनि गर्भमै तुहियो । त्यसपछि आएर प्रेमले ‘चर्चा’मा काम गरेका थिए ।
काठमाडौंमा दर्ता नदिएपछि प्रेम नेपालगञ्ज गएर ‘बाँकेको युगधारा’ प्रकाशन सुरु गरे । ६ अङ्क प्रकाशन गरेपछि उनले त्यही पत्रिकालाई काठमाडौं सारे ।
“यो पत्रिकाले नेपाली समाजका भ्रष्टाचार, विकृति र विसङ्गतिविरुद्ध थुप्रै काम गर्यो,” प्रेम आफूले प्रकाशन गरेका पत्रिका सम्झिन्छन्, “त्यसपछि मैले युगान्तर साप्ताहिक दर्ता गरेँ । दुवै पत्रिका एकैपटक पनि प्रकाशन गरेँ ।”
०४५ ‘बाँकेको युगधारा’ र ‘युगान्तर’ सरकारले दुवै पत्रिकाको दर्ता खारेज गरिदियो । उनले अदालतमा मुद्दा दायर गरे । ०४६ को आन्दोलनमा पनि उनी मुद्दा लडिरहेका थिए । आन्दोलनले पञ्चायतको घुँडा टेकाएपछि पत्रिका दर्ता र प्रकाशनमा लाग्दै आएको अङ्कुश हट्यो । पत्रकारिताका लागि स्वतन्त्र वातावरण तयार भयो । उनी पुनः पत्रिका प्रकाशनको यात्रामा लाग्न थाले ।
डलर काण्डको समाचार उनले आफ्नो पत्रिका ‘युगधारा’मा सार्वजनिक गरे । अफ्रिकाबाट ठूलो रकम नेपाल भित्राइदिने भन्दै भारतीयले नेपाल राष्ट्र बैङ्कसँग करोडौं रकम अग्रिम मागेको थियो । रकम दिने तयारी पनि भएको थियो । दरबारकै सदस्य त्यसमा संलग्न भएकाले प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नाइँ भन्न सकेका थिएनन् । तर उनकै परराष्ट्रमन्त्रीले शङ्का व्यक्त गरेका थिए । खोज्दै जाँदा ठग भएको पत्ता लाग्यो । यदु भट्ट र अर्जुननरसिंह केसीले प्रेमलाई साथ दिए । प्रेमले समाचार लेखे । राष्ट्रिय पञ्चायतमा यो विषयले प्रवेश पायो । अन्तरराष्ट्रिय समाचार संस्थाहरुले पनि यसलाई ठाउँ दिए । राज्यको ढुकुटीको करोडौं रुपैयाँ जोगियो ।
० ० ०
०४८ सालमा पत्रिका बन्द गरेर उनी संसद्को चुनाव लड्न कालिकोट गए ।
उनी भन्छन्, “त्यहाँ मैले गल्ती गरेँ ।”
कस्तो गल्ती ?
गणतन्त्रको पक्षमा लड्छु भनेर अन्तरवार्ता दिएँ । दरबार रिसायो । “मलाई चुनावमा हराउन दरबार पक्षका व्यक्तिलाई पैसा दिएर खटाइयो । त्यतिमात्रै होइन सेना लगाएर मेरो जमानत जफत नै गरिदियो,” प्रेम एउटा अन्तरवार्ताको परिणाम सम्झिन्छन् । त्यसपछि उनले कहिल्यै चुनाव लडेनन् ।
प्रतिपक्षीको जस्तो कलम चलाइरहे ।
“म माओवादीनिकट पुगिसकेको थिएँ । उनीहरुको पक्षमा पत्रिकामा लेख लेख्ने पहिलो व्यक्ति मै हुँ,” प्रेम दाबी गर्छन्, “महिमा साप्ताहिकमा छापिएको लेख नै माओवादीको पक्षमा छापिएको पहिलो लेख हो । र, त्यो मैले नै लेखेको थिएँ । ०५२ फागुन ४ गते त्यो लेख छापिएको थियो । कसैले लेख्ने आँट नगरेका बेला मैले लेखेको थिएँ ।”
तर जब अन्तरराष्ट्रिय शक्तिले माओवादीभित्र खेल्न थालेको उनले महसुस गरे, त्यसपछि माओवादीबाट आफू अलग भएको प्रेम बताउँछन् ।