अन्वेश राई थुलुङ
भाग एक: अपहरण
केही समययता म एउटा कथा लेखिरहेको थिएँ । एउटा काल्पनिक कथा, जसको पात्रका रुपमा मैले हाम्रो घर आइरहने एक कालो बिरालोलाई बनाएको थिएँ । घरका कसैले पनि त्यो बिरालो मन पराउँदैनथे । मलाईचाहिँ यही कारणले उसको किन हो, ज्यादै नै माया लाग्थ्यो । आफूले देख्दासम्म उसलाई झट्टी हान्नबाट जोगाउँथें । कहिलेकाहीँ दूधभात पनि राखिदिने गर्थें । यसबीच धेरै पटक मैले उसका आँखामा हेरेको थिएँ । उसका आँखाको गहिराइ यति धेरै थियो कि, उसको सानो शरीर हुँदाहुँदै पनि मभित्रको डरका लागि त्यो हेराइ पर्याप्त थियो ।
मेरो कथामा मैले उसैलाई प्रमुख पात्र चयन गरेको थिएँ । केही समययता मेरो काम भनेको उसको बानीव्यवहार, हिँडाइ, खुवाइको अनुसन्धान गर्नुमात्र हुन्थ्यो । भरसक उसले चाल नपाओस् भन्ने तवरले म उसलाई नियालिरहेको हुन्थें । तर केही समययता भने लाग्थ्यो, ऊ पनि मेरो सामीप्यले अप्ठ्यारो मान्न छाडेको छ । धेरै पटक भने ऊ नजिकैको रुखमा बसेको हुन्थ्यो । लाग्थ्यो, ऊ त्यहीँबाट मलाई नै धेरै समयदेखि हेरिरहेको छ । किनभने हरेक पटक मैले ऊतिर नजर घुमाउँदा ऊ मलाई पहिल्यैबाट हेरिरहेको हुन्थ्यो । तर सधैंजसरी गाईजात्राको दिन भने ऊ आएको थिएन । दिनहुँ देखिरहने बानी परेकाले होला, उसलाई नदेखेपछि मैले उसको सानोतिनो खोजी गरेँ । बार्दली, घुरेन, धुरी, छिमेकीको छत, रुख ऊ कहीँ थिएन । बजारमा जानुअघि देखिहाल्छु कि भनेर पर्खिएँ पनि । तर ऊ त्यस दिन कतै देखिएन ।
गाईजात्रापछि इलाम बजारबाट जनस्वास्थ्यको भवनछेवैको बाटोबाट ओरालो झर्दै गर्दा भने मैले फेरि त्यही कालो बिरालोलाई उत्तिसको रुखमा देखें । ऊ मलाई सधैंजसरी हेरिरहेको थियो । मलाई देखेपछि ऊ खोल्सातिर लाग्यो । पाश्र्वमा गाईजात्राको भीडको हल्का हल्ला सुनिरहेको थियो । ऊ ‘स्मल इज ब्युटिफुल’ लेखिएको बोर्डमुनिको पुलको रेलिङमा बसिरहेको थियो, उस्तरी नै मतिर हेर्दै । लाग्थ्यो, ती आँखाले मलाई बोलाइरहेका छन् । अचानक मैले उसको मुहारमा मुस्कान देखें । हो, ऊ मुस्कुराइरहेको थियो । म छक्क परें, नजिक पुग्दासम्म पनि ऊ कतै गएन । तर नजिक पुगेसँगै उसको आँखामा एक अनौठो भाव देखिन थाल्यो । त्यो धेरै नै कुटिल लाग्थ्यो । सडकतिर झर्दै गर्दाका मेरा गति तिनै कारणले धिमा भए र आँखाहरु एकोहोरो उसलाई हेर्न थाले । ऊ भने खोल्सातिर हाम्फाल्यो । मैले नजरलाई सडकतिर पु¥याएको मात्र के थिएँ, सडकको देब्रेपट्टिबाट तीखो सिङ भएको गोरू र दाहिनेपट्टिबाट गधा आफ्नै गतिमा बिस्तारै आइरहेका थिए । इलाममा यस्तरी गधा र गोरूलाई खुला देख्न कठिन थियो । तर अचानक उनीहरुले आफ्नो गतिलाई दौडाइमा बदले । कसैले मलाई खोल्साबाट हामफाल्ने आवाज दियो । म आत्तिएर हाम्फालें । धन्न मेरा गोडा पत्करमा परेका थिए । तर अचानक टाउकोको पछाडिपट्टि जोडले कडा वस्तु बजारिएपछि मलाई याद भएको भनेको मेरो ढाडमा चिसो वस्तुको डमाइजस्तो थियो । होस आएजस्तो भएपछि यसो आँखा नउघारी छोएँ, ढुङ्गा जस्तो कडा थियो । बिस्तारै उठेर हेरें, एक ठूलो ढुङ्गामाझ म थिएँ । टाउको अझै पनि बेस्कन दुखिरहेको थियो । वरिपरि आँखा लगाएँ । हैट् ।
तपाईंले कहिलेकाहीँ ब्यूँझिँदा पनि सपनाजस्तो महसुस गर्नुभएको छ ? छ भने मलाई त्यो दिन त्यस्तै महसुस भइरहेको थियो । कल्पना गर्नुस्, ब्यूँझिँदा जानेसम्मका जनावर, चराचुरूङ्गी सबैले घेरेर राखेका छन् । देखेमध्ये अगाडि उभिएका गधा र गोरूलाई भने मलाई चिन्न बेर लागेन । हेरें आकाश नीलो थियो । परपरसम्म नागी आफ्नै खैरो रङमा फैलिएको थियो । म तन्द्रामा थिएँ वा तन्द्राको पात्र थिएँ, आफैंलाई नचिमोटेसम्म धर थिएन । चिमोटें, दुख्यो । यसकारण लाग्यो यो सपना थिएन । दिमाग रूघा लागेको बिरामीजस्तो भयो । आँखा तिरमिर भए । घुच्चुकबाट शरीरमा झड्का सरेजस्तो भयो । सु आउला जस्तो भयो । बस् सुचाहिँ वास्तवमा आएको भन्ने भएपछि मैले सपना–विपना जेसुकै होस्, जाँच्नका लागि कान्छी औंला उठाएँ ।
“लु यो औंलाधारीले, हामी खुरधारी जनावरलाई प्राकृतिक विभेद ग¥यो,” गधा हिन्हिनाउँदै अगाडि आयो । मेरो होस हरायो । गधा बोलिरहेको थियो । उसको कुरा म स्पष्ट बुझिरहेको थिएँ । ...मुहान फुट्यो । आँखा उँधो पारेर हेरें, कान्छी औंला उठाउन जरूरत रहेन । जनावरहरु सबै कराउन थाले । तर ती आवाज उनीहरुको हाँसोजस्तो लाग्थ्यो । मेरा आँखा भने अचानक कुनामा बसेको ढेडुको हाँसोतिर गयो ।
“साथीहरु, यसले आफ्नो मानवता देखायो,” गधा बोलिरहेको थियो । अलि पर ढेडुले जस्तै मैले आफ्नो कान्छी औंला देखाएको मात्र के थिएँ, गधाले उग्र स्वरमा थर्कायो । “ढेडु तँ जनावर भएर मान्छेजस्तो व्यवहार गर्छस् ? जनावर जस्तो जङ्गली व्यवहार गर् । मान्छे जस्तो सभ्य व्यवहार गर्छस् ?’’ सपना–विपना जे भए नि मलाई अचानक आइपरेको यो घटना विश्वास गर्न धेरै गाह्रो परेको थियो । तर मानव भएकै कारण म गाली खाइरहेछु भन्नेचाहिँ बुझ्न गाह्रो परेन । जमिनमा एउटा कालो गोब्रे कीरा सुल्टिन खोजिरहेको थियो ।
“हैन हौ गधाजी, कुरामा जाऊँ न, के मान्छे जस्तो कुरा गरिरा, यो घुमाउने पारा भनेको यिनीहरुको हो क्या ? अझ कुरा घुमाउने मात्र हो र । मूर्ख पनि... । यो मान्छेजस्तो मूर्खचाहिँ कोही नहुनू है ।” गोरूले रिसको नजर मतिर दौडाउँदै डुक्रियो । यो त्यही गोरू थियो, जसका कारण मैले सिंहवाहिनी खोल्सामा जबर्जस्ती हाम्फाल्न पुगेको थिएँ । तर क्षणभरमै मेरो मनोदशालाई भत्काउँदै कुकुरपछाडि रहेको घोडा हिनहिनायो ।
“चुरो कुरामा जाऊँ... मेरो पनि कुरा त्यही हो ।”
वातावरणले फेरि मलाई पिसाब आउला जस्तो भयो । मनमा आश्चर्य, प्रश्न, शङ्का आदिका ज्वारले आफैं भने मनभित्र आन्दोलित भए पनि चुपचाप थिएँ । तर पिसाब आएपछि आफू बसेको स्थानबाट म एक पटक जुरूक्कै उठें । गोरू पछाडि स¥यो । अलि छेउमा अर्को कुकुर रहेछ । भुक्न थालिहाल्यो ।
“आफ्नो ठाउँमा बस्,” ऊ भुक्यो । यस पटक भने बोल्ने नै विचार गरें । “पिसाब...,” ज्यादै बल लगाएर मैले यो एक शब्द बोलें, जो म आफैंलाई सुन्न मुस्किल थियो । “ठूलो बोल् । के बोलेको ?” कालो बिरालो छेउको रुखबाट ढुङ्गामा फुत्त ओर्लियो । के यो मैले देख्ने गरेको कालो बिरालो नै हो ? विश्वासै लागेन । दिमागका ढाडको मेरूदण्डबाट चिसो तलबाट माथिसम्म स¥यो । के भइरहेछ भन्ने कुरा मेरो कल्पनाभन्दा पनि बाहिर थियो । फेरि बाँध भत्कियो । यस पटक भने तातो तरल मैले मेरा दुवै तिघ्रा, छेपारी, खुट्टाका छालाहरुमा सलबलाएर पैतालासम्म पुगिरहेको महसुस गरिरहेको थिएँ । जनावरहरु फेरि कराएर हाँस्न थालिहाले ।
“कति डरले मुतिरहेको होला ? यसले आज मुतेरै बगाउला जस्तो छ । अब सीधा कुरा नभनी भएन । सुन्,” गधा अगाडि आयो । “तँलाईं हामीले अपहरण गरेर जङ्गलमा ल्याएका हौं,” मैले अविश्वासमा एक पटक सबै जनावरको आँखामा हेरें । गधा बोलिरहेको थियो, “तँ अपहरणमा परेको छस् । हाम्रो प्रत्येक महिना हुने गरेको सार्वजनिक सुनुवाइमा तिमीहरु मानव जातिविरूद्ध उजुरी पर्ने गरेको छ । यस पटक श्रीमती गिद्धज्यूको उजुरी थियो । उहाँको उजुरीपछि योजना बनाइयो मान्छे छान्ने काम, जसमा तँ परिस् । सिफारिस उहाँ बिरालोज्यूको थियो । अनि त्यसपछि तेरो अपहरण भयो । अहिलेलाई तँ मानवजातिको प्रतिनिधि होस् । योजनाअनुरुप पहिले तँलाई अपहरणमात्र गर्नुपर्ने हुँदा एक अनुभवी जनावरबाट अपहरण गर्नु थियो । चितवनको बाघबहादुरलाई आग्रह गर्ने कि भन्ने कुरा आएको थियो । तर बाघ हो सहर छिर्नेबित्तिकै तँलाई अपहरण गर्न भन्दा उहाँलाई गाह्रो पर्ने जस्तो लाग्यो ।”
“कि...कि... किन गाह्रो नि फेरि ? त्यसमाथि... त्यसमाथि म नै चैं...,” गधाको कुरा काट्दै म बोलें । मलाई चिसो–गर्मी एकसाथ भइरहेको थियो ।
“तिमीहरुको नियत के थाहा ? बाघजीको छाला काढेर बेचिदियौ भने ?” गधा मेरो वरिपरि घुम्दै बोलिरहेको थियो, “कन्ट्र्याक्ट किलरमा हामीसँग सोलुका हाम्रा हिमचितुवादेखि लिएर बर्दियाका गैंडा महाराजसम्म हुनुहुन्थ्यो । तर तिमीहरुको बस्तीमा उहाँहरुकै ज्यान खतरामा हुन्छ । अनि तिमीहरुको भर हुन्न भन्ने सोचिसकेपछि... फेरि गिद्धज्यूले ल्याउनुभएको प्रस्ताव... ।”
“गिद्धलाई चैं... ।”
“त्यहाँ ज्यू लगा । साला मनुखे (मान्छेको संसारमा गधा भने जस्तै गाली ।) । तेरो गिद्धमात्र होइन,” गधाले तत्काल कुरा काट्यो, “मान्छेको बेहोरा देखाइहाल्छ साला ।”
“अँ उहाँलाई के समस्या छ हँ, मसँग ?” म पनि जङ्गिएँ । अब मलाई डरभन्दा रिस उठ्न थालिसकेको थियो ।
“उहाँ आएपछि आफैं भन्नुहुनेछ । अहिलेलाई चुप लाग । पूरा कुरा सुन । अँ कहाँ पो थिएँ म ?” गधा फेरि बोल्न थाल्यो ।
“तपाईं गिद्धज्यूको प्रस्तावमा हुनुहुन्थ्यो नेताज्यू,” गोरू बोल्यो ।
“अँ हो त नि । त्यसपछि मान्छेलाई यहाँ नेपालमा केही समस्या नहुने गोरूज्यूको कुरा आयो । चलिरहेका गतिवान् गाडी पनि गोरूजी सामुन्ने आए रोकिने, जता हिँडे पनि डनजस्तो भएर सहर पनि थर्काएर बस्नुभएको गोरूजीलाई नेपालभरिका ठुल्ठूला सहर सबैतिर देख्नुभएको रहेछ गिद्ध मेडमले, तब काठमाडौंबाट हाम्रो हेन्डसम गोरूजीलाई बोलाइयो ।” गोरू आफ्नो बसिरहेको स्थानभन्दा अलिकति वर सरेर आफ्नो घाँटी आकाशतिर तन्कायो । गधाले बाँकी कुरा थप्न थाल्यो, “त्यसपछि आए, अरु योजना । तँलाई गाईजात्राको दिन अपहरण गर्ने योजनाअनुरुप घरभित्र बिरालोजी अनि घरबाहिर कुकुरजीले सख्त निगरानी राखेपछि गोरूजीले तँलाई खोल्साबाट खसाएपछि ढेडुले घुच्चुकमा हानेर बेहोस बनाएको थियो ।”
म आफ्नो अपहरणको कथा सुनेर तीनछक थिएँ । त्यसो त यहाँ विश्वासयोग्य के पो थियो र ? यद्यपि अपहरणमा परिसकेको हुँदा यति कुरा विश्वास गर्दा पनि मेरो अपहरणको योजना जायज नै लाग्थ्यो । तर मैले मेरो अपहरणको कारण अझ स्पष्ट बुझिरहेको थिइनँ ।
“अनि कसले बोकेर तँलाई यहाँसम्म ल्यायो सोधिनस् त, सोध् सोध्,” छेवैको रुखको हाँगा समातेर ढेडु झुन्डिइरहेको थियो ।
“कसले ?”
“हाम्रो मुसा जिग्रीले,” ढेडुको इशारामा छेउमा हेरें, त्यहाँ मेरो बूढी औंला जत्रो डुरे मुसा थियो । मेरो हाँसो छुट्यो ।
“विभेद त यसको रगरगमा छ कि क्या हो ?” डुरे मुसा करायो, “तँ मुलाहरु नै सुकेको जीउमा लुकेको बल हुन्छ भन्ने हैन ।”
“अनि सुकेको जीउको पनि एउटा हद हुन्छ होला नि त,” मैले बूढी औंला उठाएँ ।
“साले ढोंगीहरु मेरो पुर्खाले तेरो हात्तीजस्तो भगवान् बोकेको फोटो राखेर पूजा त गर्छौ त । तिमीहरुको आँखामै विभेद छ ।”
“म त सिधासिधी विज्ञानमा विश्वास गर्ने मान्छे । प्रकृृतिमा विश्वास गर्ने मान्छे । विभेदभन्दा पनि तपाईंको प्राकृतिक क्षमताप्रति अविश्वास गरेको मात्र हो ।”
“लु यो त भावुक पो हुन थाल्यो त । बोकेको पनि हाम्रो गोरूज्यूले नै हो,” सबै जनावर फेरि कराएर हाँस्न थाले ।
मलाई डरमात्र लागेको थिएन त्यस दिन, डरसँगै आश्चर्य अनि विभिन्न मिश्रित अनुभूति पनि भएको थियो । तर त्यस दिन एक कुराको भने आत्मज्ञान भयो । त्यो दिन मेरो होस बढ्ता गुमेको थियो । र घरिघरि विश्वास नै गर्न नमिल्ने गरी अचम्ममा परेको थिएँ । यसो हुँदा पिसाब आउँदो रहेछ । मलाई अब यो तत्कालको असामान्य वातावरण सामान्य लाग्दै जान थालेको थियो । जनावरहरु मानिसजस्तै बोलिरहेकोमा कुनै आपत्ति थिएन । अँ, कुरा घुमेछ फेरि । कथामा जाम्, मेरो मतलब मेरो अपहरणको घटनामा जाम् । मैले बल लगाएर अब भने सोधें ।
“किन गरेको त मलाई अपहरण ?”
“तैंले हामी जनावरलाई आफ्नो बुझाइमा गलत धारणा बनाउन प्रयोग गरेको छस् । त्यो सुधार् भन्नलाई ।”
“मैले कुरा बुझिनँ । सीधा भन्नू न ।”
“एकछिन पर्खी गिद्धज्यू आउँदै हुनुहुन्छ ।”
सानो रुखको पोथ्रामुनि बिरालो मतिर ढाड फर्काएर बसेको थियो । म उसलाई लगातार हेरिरहेको थिएँ । तर एकचोटि पनि उसले फर्किएर हेरेन ।
०००
भाग दुई: गिद्धहरुको आगमन
आवाज आयो, आकाशबाट । सुरूमा जमिनमा बनेको छाया एकदमै सानो थियो । आकाशतिर हेर्दा एक हुल गिद्ध घुमिरहेका थिए । तिनीहरु जमिनतिर आउनुअघि एउटा चिल मेरो सामुन्ने आएर बस्यो । र लगातार आँखा जुधाएर हेरिरह्यो । मलाई भने यसले मेरो आँखा निकाल्छ कि क्या हो भन्ने डर लाग्न थाल्यो । डर लागेसँगै मेरा हात जमिनतिर सलबलाउन थाले । हातमा एक लौरोजस्तो वस्तु फेला परेपछि मैले जोडले त्यसलाई के समातेको थिएँ, गोरू बोलिहाल्यो, “थुइक्क डरछेरूवा ।”
सब जनावर फेरि हाँस्न लागे, “फेरि मुत्लास् नि ।”
पहिलो पटक प्रतिनिधि हुनुको एक्लो डर लागिरहेको थियो । त्यस दिन मलाई एक कुराको आत्मज्ञान भयो । मैले मानवजातिले लोपोन्मुख बनाएका जनावरहरुलाई सम्झिएँ । र घुम्दैघुम्दै छाया ठूलो भयो । एकदमै फिँजिएको, जसको छायामुनि हामी सबै थियौं । मैले वातावरणलाई एक पटक नियाल्ने प्रयत्न गरें । इलाम वरिपरि यत्तिको ठूलो जङ्गलबारे मलाई थाहा थिएन । यद्यपि आफूलाई राखिएको जङ्गलबीचको सानो चौर र केही लेकाली पोथ्राहरु देख्दा यो पक्का इलामकै अग्ला भूभागहरुतिर हुनुपर्छ भन्ने लाग्यो । मैले फेरि आकाशतिर हेरें । मेरा निम्ति अब डरभन्दा पनि म किन अपहरणमा परें जान्नु नै मुख्य कुरा थियो ।
एक हुल गिद्ध बस्दा एउटा सानोतिनो हुरी नै चल्यो । एउटा गिद्धको नाङ्गो घाँटी, घुम्रौलो चुच्चो, काला पखेटा अनि त्यो बडेमानको शरीर । केटाकेटीमा साना बच्चाहरुलाई गिद्धले लैजाला भनेर देखाएको डर अहिले वयस्क हुँदा पनि उस्तै थियो । त्यो गिद्धको हुलले म एक सानो मनुवालाई सलाईको काँटीजसरी उठाउन सक्थ्यो । सबैभन्दा ठूलो गिद्ध मेरो सामुन्ने आएर उभिएको थियो । केटाकेटीमा रामायणको कथा ज्यादै मनपथ्र्यो मलाई । बोल्ने बाँदर, भालु मन्त्री, बोल्ने गिद्ध, सुनको मृग । केटाकेटी मनोविज्ञान नै यस्तै हुनुपर्छ, एकदमै फरक संसारमा रमाउने । त्यस दिन मैले सायद साक्षात् जटायुलाई देखिरहेको थिएँ । उसको बडेमानको शरीर देख्दा रावणसँग युद्ध लड्ने उसको पुर्खाको अविश्वास हुँदैनथ्यो । केही दिनअघि हेरेको अनुराग कश्यप र विक्रमादित्य मोत्वाने निर्देशित सेक्रेट गेम्सका पात्र गणेश गाइटोन्डे भन्छन्, “जब सबा बानोको मुद्दा सुप्रिम कोर्टमा पुग्यो र पार नलाग्ने भयो, तब राजीव गान्धीले सबा बानोलाई फेरि मुसलमानहरुको जिम्मा लगाए । यसको विरोधमा नारीवादी महिला अनि भारतका ठूलो जनसङ्ख्या सवा बानोको पक्षमा कुरा गर्न थाले । र त्यही बेला राजीव गान्धीले रामायण देखाएर जनताको त्यो आन्दोलनलाई थुमथुमाए । म भने यो कथाभन्दा बाहिरको मान्छे थिएँ, जसले नेपाल टेलिभिजनबाट प्रसारित रामायण हेरेको थियो । र सोही रामायणको सन्दर्भ यहाँ जोडिएको थियो । रिफ्रेन्स भनौं न । उसले पनि मलाई हेरिरह्यो, आँखामा निरन्तर । तर यस पटक मैले डरलाई पूर्ण रुपमा जित्ने प्रयत्न गरें ।
“लु त अब कुरा सुरू गरुम् क्यार,” गधाको आवाज आयो । उसको आवाज आएसँगै गिद्धमय वातावरण अलिकति खुल्यो । गिद्धले आफ्नो समूहलाई पछाडि जान इशारा ग¥यो । फेरि सानोतिनो हुरी चलाउँदै उनीहरु छेवैको डालोमा गएर बसे । म बोल्ने जनावरहरुको बीचमा थिएँ । कुनै एक जङ्गलबीचको चौरमा । एक्लो । र छेउछाउका रुखका डालाहरुमा गिद्ध बसेका थिए । वातावरण अझ चिसो हुँदै जाँदै थियो । साँझ पर्दै जाँदै थियो । मैले फेरि छेउछाउका अन्य जनावर हेरें । उनीहरु पनि केही पछाडि सरिसकेका थिए । गधा अगाडि बढ्यो ।
“गिद्धज्यू सुरू गरुम् अब ?” गिद्ध उसै मेरो आँखामा अडिएको थियो । र यही कारणले म असहज भइरहेको थिएँ । उसको मौनताले मेरो संयमताको बाँध टुट्यो । मेरो अपहरणको ग्रान्ड डिजाइनरप्रति मलाई रिस पनि उठिरहेको थियो । त्यसैले मैले उसलाई नहेरी झर्किएको आवाजमा बोलें ।
“कुरा के हो चाँडोचाँडो सकूम् । मान्छे हुनुको एकमात्र प्रतिनिधि ममात्र थिइनँ । गुनासो के हो तपाईंको ?” कुरा सकेसँगै मैले गिद्धसँग नजर जुधाएँ । उसका आँखामा म क्रोधभन्दा नि दम्भयुक्त हेराइ देख्न सक्थें । उसले आफ्नो नङ्ग्रायुक्त खुट्टा उचाल्यो । अनि औंला, घुम्रिला चुच्चाले नङ्ग्रा सफा ग¥यो । गधा केही बोल्न लागेको थियो । गिद्धले आफ्नो मुन्टो आधा ऊतिर फर्कायो । गधा चुप लागिदियो ।
“आरोप आएकै आधारमा तपार्इंलाई हामीले छानेका हैनौं । न तपाईंलाई केही गर्ने उद्देश्य हो,” भित्रबाट भासिएको गहिरो आवाजमा गिद्ध बोल्यो । मैले तत्काल उसको आँखामा आँखा जुधाएँ । मैले ‘तपाईं’ को अर्थ बुझ्न सकेको थिइनँ । यो ‘तपाईं’ के थियो ? व्यङ्ग्य कि वास्तविक तपाईं ? ती आँखा अझ रहस्यमयी थिए । तर यो तपाईं यति साधारण शब्द थिएन । आफू एक जनामात्र तँ अनि आफूले भन्नुपर्ने तपाईंहरु धेरै रहेको समाजमा सिर्फ एउटा तपाईंको सम्बोधनले म आफैंलाई भावुक हुनबाट रोकिरहेको थिएँ । आत्मसम्मानको अनुभूति आफैंमा न्यानो कुरा रहेछ । कताकता उसका आँखा मलाई सौम्य पनि लाग्न थाल्दै थिए ।
“तपाईं एक लेखक हुनुहुन्छ भनेर सुनेको थिएँ । हामीलाई लेख्न आउँदैन । तर हामीलाई हेर्ने दृष्टिकोण तपाईंहरुले आफ्नै सोचाइको आधारमा बनाउनुभएको रहेछ ।”
म अपहरणमा पर्नुको कारण बुझे पनि उसको कुरा बुझ्न सकेको थिइनँ । “सिंहलाई हिंस्रक, सर्पलाई विषालु, बिरालोलाई चोर, गोरु र गधालाई मुर्ख कसले बनायो ?”
“हामीले ?” मैले यसको उत्तर, प्रश्न केही राख्न मिल्ने गरी कुरा बुझिरहेको थिइनँ ।
“प्रकृतिले जति दियो र बनायो, त्योभन्दा हिंस्रक, विषालु तपाईंहरुले बनाइदिनुभयो । जमिन खेत भयो, प्लट भयो, बारी भयो । ऐलानी र नम्बरी भयो । पानी बिजुली भयो, सिँचाइ भयो, खानेपानी अनि नखाने पानी भयो । जनावरहरु पाल्तु अनि जङ्गली भए । सबै कुराको वर्ग बन्यो, बाँडफाँट भयो । र फेरि पनि हिंस्रकको पर्याय हामी नै ? विषालुको पर्याय हामी नै ?”
“सर्पज्यू त विषालु नै हुनुहुन्छ,” मैले थोरै प्राकृतिक गुणलाई समेटेर बोल्ने साहस गरें । अरु जनावरले तत्काल गिद्धको मुहारमा हेरे । गिद्ध मुस्कुरायो ।
“उहाँ विषालु हुनुको कारण के हो त ? हरेक कुरा पेटसँग जोडिन्छ भन्ने कुरा मान्छेलाई भन्दा बढ्ता कल्लाई थाहा होला । तर पनि यहाँ सर्पको आवश्यकतालाई नै विषालु देखाइएको छ नि ।”
“यसको मतलब के सर्प विषालु हुन्न भन्न खोज्नुभा हो ?” गिद्धसँगै ढेडुको असन्तोषमा अचानक उठेको हात म देख्न सक्थें ।
“कुराबाट पर पुग्दै हुनुहुन्छ तपाईं । सर्प आफ्नो पेटका लागि विषालु छ । उसले आफ्नो जीवनका लागि विषमा निर्वाह गर्नुपर्ने हुन्छ । तर यति कुरा जान्नुस्, सर्पले मान्छेको हत्या गर्दैन । मान्छे उसको विषकै कारणले मरे पनि सर्पले मान्छेको हत्या गर्दैन,” उसको कुराको गाम्भीर्य सुनेपछि म पनि सोचमग्न भएँ । हाम्रा विचारहरुको संयन्त्रमा अनाहक उनीहरुको उपस्थितिलाई गलत अर्थ लगाइएको छ भन्ने कुरा म बुझ्दै गएको थिएँ ।
“ल भन्नुस् त हाम्रो नजरमा कहाँ हुन्छ त्यो कुदृष्टि ? र भन्नुहुन्छ गिद्धजस्तो नजर ? नेपालमा बलात्कार बढिरहेको छ, थाहा छ । तर हाम्रो प्रजातिको बिम्ब किन त्यहाँ उपस्थित छ ?”
“सिनो...” मैले कुरा सिद्ध्याउनुअघि नै उसले कुरा काटेर बोल्यो ।
“तपाईं कुरा बुझिरहनुभएको छैन । प्रकृतिले हरेकलाई एक जिम्मेवारी दिएको छ । हाम्रो जिम्मेवारी हो प्रकृतिको फोहोर सफा गर्ने । हाम्रो आवश्यकता सिनो हो । हाम्रो पनि सङ्घर्ष हो पेटका लागि । तर हामी कुनै निरीहको सिकार गर्दैनौं । बस्, दुर्गन्ध सफा गर्छौं । बुझिरहनुभएको छ नि ?” मैले कुरा बुझ्न थाल्दै थिएँ ।
“बलात्कारका लागि हाम्रा यौन आवश्यकता प्रजनन्सँग मात्र सम्बन्ध राख्छन् । तपाईंले कहिल्यै कुकुर महिनावारी भएको सुन्नुभएको छ ? गाई वा अन्य जनावर ?” मैले कुकुरतिर आँखा पु¥याएँ ।
“यता नहेरे पनि हुन्छ मनुखे । सम्झी, त्यो तेरो घरअगाडिको सडक हाम्रो रेड लाइट एरिया हो । तर माकसम बलात्कार भन्ने कुराचैं यो कुकुर बाँचेर यत्रो भएँ, अहिलेसम्म गरेको छैन,” कुकुरले मतिर हेरेर भुक्यो ।
“मानिसहरुका लागि यौनको स्थान जति त हाम्रो यौनको स्थान कहिल्यै पुग्नेवाला छैन । मानिस मानिस भएकै कारण बलात्कार गर्छ । तर मानिस आफ्नै कमजोरीलाई पनि बङ्ग्याउन माहिर छ । पहिले बङ्ग्यायो अनि शासन ग¥यो । क्लासिफाइ ग¥यो अनि शासन ग¥यो । दानव, मानव र देव बनायो अनि निकाल्यो अनेक विचार,” त्यसपछि ऊ चुप भयो । साँझको अँध्यारो बढ्दै गएको महसुस गर्न थालेपछि मैले उसलाई अन्तिम प्रश्न सोधें ।
“अनि मबाट के अपेक्षा गर्नुभएको छ ?”
“भलै यी सोचाइ हुन् । तर यी सोचाइहरुले हामी जनावरप्रति तपाईं मानिसहरुको एक पूर्वनिर्धारित पूर्वाग्राही विचार बनिरहेको छ । भन्नुस् त कति सर्प यिनै पूर्वनिर्धारित विषालु हुनुको कारणले आफ्नो वासस्थानमै मारिए ? कति गोरू र गधाले चुटाइ खाए ? कति कुकुर दिनहुँ लात खाइरहेका छन् ? यो पृथ्वीमा तपाईंहरु सबैभन्दा ठूलो पक्ष हुनुहुन्छ । कृपया तपार्इंले यी सोचाइका आधारलाई अलि गहिरिदिन आह्वान गरिदिनुप¥यो ।” मैले सहमतिमा टाउको हल्लाएँ । पाश्र्वमा अघिसम्म मलाई गिज्याइरहेको ढेडु मेरो आँखाअगाडि थिएन । मैले मुसालाई मुस्कुराएको देखेपछि अनौठो मात्र के मानिरहेको थिएँ; मेरो टाउको पछाडिबाट कसैले हान्यो ।
ब्यूँझिँदा फेरि पनि चिसोमा लडिरहेको थिएँ, मैले आफ्नो वातावरण अन्दाज गर्न हातले स्पर्श गरें । प्वाल परेका समानान्तर चिसा चेप्टा वस्तुहरु । यी फलाम हुन् भन्ने शङ्कामा मैले आँखा खोलें । रातको अँध्यारो अचानक छरिएजस्तो भयो । मेरो टाउको अझै दुखिरहेको थियो । धिमा प्रकाशमा म पर आँखाअगाडिको सडकलाई चिन्न सक्थें । र आँखाअगाडिकै केही गरामास्तिरका भवन पनि चिन्न सक्थें । छेवैको रेलिङ समातेर म उभिएँ । वरिपरि हेरिरहन मलाई उति आवश्यक लागेन । र अगाडि बढें । स्मल इज ब्युटिफुल लेखिएको बोर्ड, सडक बत्ती अनि मास्तिरका हस्पिटलका भवन मेरा पछाडि थिए । हिँड्न सुरू गरेदेखि नै केही कुरा मेरो जीउमा सकसकाइरहेको थियो । मैले भेस्ट उचालेर हेरें । कालो, लामो अनि ठूलो प्वाँख सडकबत्तीको मुनि अझ चहकिलो हुने गरी टल्किरहेको थियो ।