site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रवीण खतिवडाः भिक्षुको रोल र आमाको आँशु 
Ghorahi CementGhorahi Cement

बेलाबेला घरमाथिको आकाशमा कर्कश ध्वनिसहित चरासरी हवाईजहाज र हेलिकप्टर बत्तिँदै आउँथे र उसैगरी जान्थे । आवाज कर्कश लागे पनि उड्ने शिल्पले प्रवीणलाई लोभ्याउँथ्यो ।  कसरी उड्छ ? त्यो पनि मान्छे बोकेर ? आफैँ पनि गह्रुँगो होला ? यस्ता अनगिन्ती प्रश्नहरुले उनको दिमागमा झटारो हान्थे । जिज्ञासासँगै रहर जागेर आउँथ्यो । रहरसँगै निर्णय हुन्थ्यो, म पनि यस्तै जहाज उडाउने मान्छे बन्छु । अर्थात् पाइलट । 

के थाहा त्यो बाल मष्तिकलाई पाइलट बन्न के गर्नुपर्छ ? भोक न भकारी, शोक न सूर्ता । न गरिबीको प्रताडनाको भय न त्यसको जानकारी नै । फगत देखिदिए उनले सपना पाइलट हुने । जहाज उडाउने । बालपन, आखिर उमेर नै त्यस्तै थियो । 

विराटनगरबाट ट्विनअटर विमान चढेर ताप्लेजुङ गए । भाग्य ! ककपिट छेउको सिट । ओहो ! पाइलटको पर्सनालिटी । उसले पाएको इज्जत ! त्यसले पनि प्रवीणलाई आकर्षित गरेको थियो । 

Agni Group

उमेरसँगै कति सपनाहरु छोडिँदै जान्छन् । कति सपनाहरु बदलिँदै जान्छन् । कति बुझाइले कति बाध्यताले । प्रवीणको सपनाले पनि बाटो मोड्यो ।

प्रवीण फड्को मार्छन् । गुरुकुलमा तालिम दिन आएका यानरिकले प्रवीणको बाल्यकालीन चाहना बुझेछन् । आफ्नै एभिएसन स्कुल रहेका यानरिकले भने, “आएर सिक न थिएटर नै गरे पनि पढिराखे, जानीराखे फाइदै हुन्छ ।” 

Global Ime bank

‘एरेन्ज’ गरिदिने आश्वासन पाए पनि समयले फड्को मारिसकेको थियो । मोरङले देखाएको सपना काठमाडौंले निलिसकेको थियो । प्रवीणले यानरिकलाई भने, “नो, थ्याङ्क्स ।”

स्कुलमा पढाइमा ठिकठाक भए पनि एक्स्ट्रा एक्टिभिटिजमा उम्दा थिए, प्रवीण । उनले स्कुल पढ्दा नै केही नाटक गरे, कर्फ्यू, बहुलाकाजीको सपना आदि । आठ कक्षामा पढ्दा सोलो नाटक गरेका उनलाई नाटकमा खुब दिलचस्पी थियो । एसएलसीको मुखैमा उनले नाटक गरे, गुरुप्रसाद मैनालीको ‘विधा’ कथालाई नाटकमा ढालेर ।

साइन्स छोेडेर पत्रकारिता 

एसएलसीले अगाडिको ढोका खोलिदियो । दाइले साइन्स पढेका । मामाहरुले आत्मबल भरे, ‘भान्जा सक्छौ, साइन्स पढ । प्रवीण पुगे आईएससी पढ्न धरानको हात्तिसार । 

कलेजमा वक्तृत्वकला होस् या अरु कुनै प्रतियोगिता । उनी तानिहाल्थे । तर विडम्बना ! पढाइमा भने मार खाए । 

उनलाई लाग्यो, मेरा लागि साइन्स होइन र साइन्स मेरा लागि होइन । के खोजिरहेका उनले ? प्रवीण नै अलमलिरहेका थिए ।

काठमाडौंमा कान्तिपुर एफएममा दाइ काम गर्थे नवीन खतिवडा । उनलाई फोन गरे भने, “पत्रकारिता पढ्न म काठमाडौं आउँछु ।”

“आईएसी सकेर अर्को वर्ष आइज ।”

दाइले भनेको मान्नैपर्‍यो । एक वर्ष कुरेर आईएसी सके । 

काठमाडौं आए । रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता पढ्न सुरु गरे । दाइ (नवीन) ले रिपोर्टिङका लागि गुरुकुल जानुपर्ने भएछ । भने, “हिँड् आज नाटक हेर्न ।

पत्रकारिता छोडेर नाटक

आईए सुरु गरेकै वर्ष ०६० साल थियो त्यो । गुरुकुल पनि सुरु भएको वर्ष थियो । सुरु वर्ष मात्रै होइन । गुरुकुलको पहिलो नाटक थियो त्यो, ‘अग्नीको कथा’ । 

सुनील पोखरेलको नाटक थियो । सौगात मल्ल, राजन खतिवडा, राजकुमार पुडासैनी, सरिता गिरी, अरुण कार्की, सुवास थापालगायत त्यसमा अभिनेता थिए । 

सुनील पोखरेल, सौगात मल्ल लगायतसँग प्रवीणले भेटे । थिएटरको माहोलले उनलाई तान्यो । हरेक नाटक हेर्न जान थाले । नाटकले तानेन मात्रै, उनलाई मोहनी नै लगायो । अभिनय पढ्ने सुर कसे । 

तर कहाँ पढ्ने ?

खोज्न थाले । काठमाडौं प्लाजामा जी सिनेमाको कन्सल्टेन्ट जीमा इन्स्टिच्युट भेटियो । 

६ महिनाको कोर्ष, ८० हजार फि । 

पैसा कहाँबाट ल्याउने ? उपाय छैन । त्यही पनि स्कुलको डकुमेन्ट माग्यो । सिभी बुझाए । ५० प्रतिशत छुटमा ४० हजार आईसी माग्यो ।

साइन्स छोडेर पत्रकारिता पढ्न थालेको । घरमा फेरि अभिनय पढ्छु पैसा चाहियो भन्ने उनको ह्याउ थिएन । दाइलाई भने सुनाए । दाइले भने, “अहिले पर्दैन । पहिला आईए क्लियर गर । पछि सोचांैला ।”

मनमा चैन थिएन । साँझ भौतारिँदै प्रवीण पुगे गुरुकुलको डाँडोमा नाटक ‘जात सोध्नु जोगीको’ हेर्न ।

नाटक सकियो । कालो चिया गुरुकुलले नै खुवाउँथ्यो । चिया खाँदै थिए प्रवीण । सुनीलले बोलाएर भने, “रेगुलर आइरहेको देख्छु । वर्कशपमा भाग पनि लिएको देखेँ । नाटकमा इन्ट्रेस्ट हो ?” 

“छ ।”

“हामीले सेकेन्ड क्लास सुरु गर्ने भनेर तयारी गरिरहेका छौं । तीन जना जति मान्छे चाहिएको छ । इन्ट्रेस्ट छ भने फर्म भर ।”

“के गर्नुपर्छ ?”

“एउटा निवेदन लेखेर, सिभी पनि छोड न ।”

‘के खोज्छस् कानो आँखो !’

त्यहीँ बसेर निवेदन लेखे । फोटो वालेटमै थियो, छोडेर आए । 

हप्ता दिनपछि गुरुकुलबाट फोन आयो, “तिम्रो भोलि इन्टरभ्यू छ, आउनू ।”

गए । 

तीन–चार सय मान्छे छन्, गुरुकुल बाहिर । कतै नै कतै थिएटरमा देखिएका अनुहार पनि बाक्लै देखे । ओहो छनोट भैएला र ? 

शंकाको ढ्याङ्ग्रो बज्यो मनमा । 

पहिलो दिनको अन्तर्वार्तामा नौ जना छनोट भए । दोस्रो दिनको अन्तर्वार्ताबाट छाँटिएर छ जना । बाँकी रहे तीन जना, रामहरि ढकाल, समुना केसी र प्रवीण । 
१२ बजे छनोट भएको खबर गरे । भने, “मिल्छ भने आजबाटै यतै बस्न आऊ ।”

खाजेकै त्यही । किन नजानू ? 

मैतीदेवीस्थित कोठा आए । दाइको परीक्षा चलिरहेको थियो । भने, “म त एक्टिङको कोर्ष गर्ने भएँ, गुरुकुलमा । अन्तर्वार्तामा छनोट भएँ । आजबाट उतै बस्दै जाने हो ।” 

दाइ सरप्राइज !

भएको लुगाकपडा झोलामा हालेर मैतीदेवीबाट प्रवीणको थातथलो सर्यो गुरुकुलतिर । 

आठ जना थिए ब्याची । रामहरि ढकाल, ओमप्रकाश कर्ण, समुना केसी, प्रमिला कटुवाल, सरस्वती चौधरी, पशुपति राई लगायत । तीन वर्ष कक्षा नै भयो । हरेक दिन कक्षासँगै प्राक्टिकल पनि भइरहन्थ्यो । गुरुकुलले नाटक गरिहन्थ्यो । कोरसमै भए पनि उभिनुपथ्र्यो ।    

भाग्यको साथ, गुरूको आशिर्वाद

संयोग ! 

कस्तो ?

गुरुकुल गएर प्रवीणले हेरेको पनि ‘अग्नीको कथा’ । गुरुकुलमा अभिनय गरेको पहिलो नाटक पनि ‘अग्नीको कथा’ । 

‘अग्नीको कथा’ ओपनिङ नाटक बनेको थियो गुरुकुलको । पहिलो ओपनिङमा सुवास थापाले मेन रोल गरे । सुवासले गुरुकुल छोडेपछि फेष्टिबलमा सुवासको रोल अनुप बरालले गरे । 

सुनील पोखरेल बीचमै नर्वे जाने भए । सौगात मल्लले मोभमेन्ट र स्पिच प्रवीणलाई प्राक्टिस गराए । २० दिनपछि सुनील फर्किए । “म नयाँ मान्छेबाट सुनील थापाले सुवास थापा र अनुप बराल लेभलको अपेक्षा गर्नुभएको थियो । तर मैले उहाँको अपेक्षा पूरा गर्न सकिन । पछि झगडै पर्यो,” प्रवीण सम्झिन्छन्, “तिमीले बोलेको बनावटी भयो । बनावटीपन देखियो भन्नुभयो । मैले भने मेरो बोली नै यस्तो छ त म के गरुँ ? अब यसलाई चलायो भने झन् काम लिन सकिँदैन भन्ने भयो क्यारे, छोड्दिन भन्नुभयो ।”

अभि सुवेदी नाटकका लेखक थिए । उनले भने, “राम्रो गर्यौ त म भन्दिन । तर इज्जत चाहिँ धान्यौ । यो नै ठूलो कुरा हो ।” 

प्रवीणका लागि त्यही नै सगरमाथा थियो । 

त्यसैले गुरुकुल भित्रैका साथीहरुले प्रवीणलाई ‘लक्की’ भन्छन् । अग्रजहरुले नै लिड रोल नपाइरहेका बेला उनले लिड रोलको जिम्मेवारी पाए । साँच्चै त्यो प्रवीणका लागि अवसर थियो । 

मुख्य अभिनयमा उत्रिएर रङ्गमञ्चमा समकक्षीहरुमाझ हाबी मात्रै भएनन् प्रवीणले इन्डिया टुरको अवसर पनि पाए । त्यतिमात्रै पनि होइन, लगत्तै चारपाँच वटा नाटकमा मेजर रोलमा दखिए । ‘डल्स हाउस’मात्रै हो जहाँ उनले अवसर पाएनन् । 

तर जब उनले आलोचना सुन्नुपर्‍यो अग्रज हुँदाहुँदै लिड रोलमा किन प्रवीण नै ?

‘अग्नीको कथा’मा लिड रोलमा विराजमान प्रवीणले त्यस लगत्तैको नाटक ‘बाग भैरव’मा भने भेडा गोठालोमा सीमित गराइए । भेडा गोठालो, दरबारको पाले भए । आलोचनाले सानो रोलमा खुम्च्याएका प्रवीणलाई भने त्यसले फाइदा नै ग¥यो । 
कसरी ? 
एउटै नाटकमा दुईभन्दा बढी फरकफरक चरित्र निभाउन पाए । चरित्र र अनुभवका हिसाबले त्यो उनका लागि हितकर नै थियो । 

“लिड रोल नै किन चाहिँदोरहेछ र ? नाटकलाई ब्युटिफूल बनाउने क्याटलिष्ट नै हामी हौं । सुनील दाइले शारीरिक रुपमा तन्दुरुस्त भनेर कोरसमा सौगात, राजकुमार दाइसँगै मलाई उभ्याइदिनुहुन्थ्यो,” प्रवीण सन्तुष्ट सुनिन्छन्, “आफूभन्दा जान्नेले मुभमेन्टहरुमा मलाई गाइड गर्दै लगेपछि त्यो त मलाई झनै फाइला पो भयो ।”

रङ्गमञ्चदेखि चलचित्र

सौगात मल्ल, दयाहाङ राई, कर्मा शाक्य लगायत थिएटर आर्टिस्टले रङ्गमञ्चसँगै चलचित्रको भ¥याङ समाते । चलचित्रमा नाटकमा भन्दा धेरै पैसा हुन्थ्यो । त्योभन्दा ठूलो चर्चा हुन्थ्यो । त्यसलाई पनि माथ खुवाउने त सेलिब्रिटी भइन्थ्यो । 

सँगैका प्रवीण ?

सौगात, दयाहाङ र कर्मासँगै उनी सेतो पर्दामा समानरुपमा त देखिन सकेनन् । तर चलचित्रको काममा वर्कशप सञ्चालमा होस् अथवा स्क्रिप्ट डेभलपमेन्टमा होस् । कुनै न  कुनै रुपमा संलग्न भई नै रहे । त्यसैले उनमा मैले पनि चलचित्रमा काम गर्नै पाए हुन्थ्यो भन्ने कुन्ठा पाल्नु परेन । सौगात र दयाहाङ ‘राइज’ गरेको चलचित्र ‘लुट’मा प्रवीण पनि थिए, ‘माने’को चरित्रमा । ‘लुट’मा सौगात र दयाहाङलाई प्रवीणले नै कास्ट गरेका थिए । 

लुट फिल्म कलेजमा पढेर आएको टोली र थिएटरबाट उत्पादन भएका रङ्गकर्मीको सुखद् सहकार्य थियो । त्यो बेला मनको अन्तरकुन्तरमा सौगात र दयाहाङकै समानान्तर क्यारेक्टरमा म पनि भए भन्ने लोभको सानो अंश भने उनको मनमा थियो । तर कुन्ठाकै रुपमा भने त्यसले मनमा प्रवेश पाएको थिएन । 

‘लुट’ लगत्तै कथानक चलचित्र ‘स्पोन्सर’ र ‘बिना कारण’मा लिड रोलमा अवसर पाए प्रवीणले । रहर लागेका बेला पहिलो लिड रोल ‘स्पोन्सर’ यही वर्ष मात्रै हेर्न पाए उनले सात वर्षपछि । 

‘लुट’को छायांकन भइरहेको थियो । त्यहीबेला गुरुकुल सरकारले भत्काउँछ रे ! आज, भोलि, पर्सी कहिले भत्किन्छ यकिन थिएन । तर मिति मात्रै यकिन थिएन भत्किने भने यकिन थियो । ट्रमामा रहेका उनीहरुलाई ‘लुट’ चल्छ कि चल्दैन भन्ने चुनौती थियो । 

‘कागवेनी’बाट सौगात नोटिस भइसकेका थिए । ‘दासढुङ्गा’को मिडियाबाजी भइरहेको थियो । दयाहाङ थिए त्यसमा । ‘मेरो एउटा साथी छ’मा सानै रोल भए पनि दायाहाङ नोटिस भइरहेका थिए । 

लुट र चुनौती

गुरुकुल भत्किँदैछ । ‘लुट’ चलेन भने चलचित्रमा टिक्न गाह्रो छ भन्ने डरैडरको घेरामा उनीहरुले ‘लुट’ गरेका थिए । सेन्सर बोर्डको लफडापछि ‘लुट’ रिलिज हुँदैथियो । लगातार चलचित्र घाटामा गएपछि सरकारले चलचित्र क्षेत्रमा संकटकाल घोषणा गर्ने तयारी गरिरहेको थियो । एक हप्तासम्म त चलचित आतेश खेलायो । हप्तापछि ‘माउथ पब्लिसिटी’ले हल मा दर्शक थपिँदै गए । हल हाउसफुल हुन थाले । 

अनि भएन, चलचित्रमा करिअरको चिन्ता । 

“पारिश्रमिक बिना खेलेको थिएँ मैले लुट । पछि निश्चल (बस्नेत)को आमा बिरामी हुनुभयो । हामी भेट्न हस्पिटल नै गएका थियौं । त्यहाँ निश्चलले तिमीलाई पैसाको आवश्यकता होला लैजाऊ भनेको हो । तर अहिले तिमीलाई नै चाहिएको छ, राख भनेर मैले लुट बिना पारिश्रमिक नै गरेको चलचित्र हो,” प्रवीण सुनाउँछन् । 

कथाले चुरोट मागेपछि...

नाटकमा करिअर । नाटककै बढी कुरा । नाटकमै फर्किए प्रवीण । गुरुकुल पुगेपछि चुरोटको सर्कोले उनमा प्रवेश पायो । 

वाध्यता कि रहर ? 

‘ताराबाजी लै लै’ मा एउटा चरित्र थियो । चरित्रमा तय भए प्रवीण । चरित्रले चुरोट माग्यो । प्रवीणले चुरोट पिउन सकेनन् । चरित्र नै कर्मालाई सुम्पिनुपर्‍यो । 

अभिनेता भएपछि त चुरोट पिउन नसिके त रोल खोसिनेरहेछ भन्ने लाग्यो । चुरोट पिउन सिके । छोड्छु भन्दा पनि नसकिने भएपछि त्यही लत भयो । 

‘लुट’ रिलिज भयो । त्यसमा चुरोट मात्रै होइन गाँजै खाएको देखाइएको छ । प्रवीणकी आमाले चलचित्र हेरेर भनिन्, “कस्तो तैंले सकिनसकि चुरोट खाको ?” 

भिक्षुको रोल र आमा 

पत्रकारिता पढ्न काठमाडौं आएका थिए प्रवीण । अभिनय सिक्न गुरुकुल पुगे । अचानक गुरुकुल पुगेका प्रवीणले घरमा खबर गरेका थिएनन् । दाजुले भन्दिएछन्, “भाइ गुरुकुल गयो ।”

“यहाँ हुँदा त केटो त्यस्तो थिएन । कसरी गएछ गुरुकुल । तर ठिकै त छ के बिग्रियो । राम्रै त हो । गाउँलेहरुले भनेछन् । उनीहरुले सोचेछन् संस्कृत पढ्न गुरुकुल गएछ,” प्रवीण सनाउँछन्, “बुवाले भने सुनील पोखरेलले नाटक सिकाउन गुरुकुल खोल्दैछन् भन्ने पहिला नै सुन्नुभएको रहेछ । उहाँले भन्नुभएछ ए त्यहाँ गएछ ठिकै छ कस्तो गर्दोरछ आएर हेर्नुपर्छ । म सुनीलसँग कुरा गर्छु । आमालाई कहाँ गयो गयो केही पत्तै भएन ।”

केही समयपछि प्रवीणका बुवाआमा नै काठमाडौं आए । बुवाले प्रवीणलाई कोठामा बोलाउन भने । दाइले भने, “आउन पाउँदैन ।”

‘अग्नीको कथा’ मञ्चन भइरहेको थियो । बुवाआमा नै नाटक हेर्न गए । टाउको मुन्डन गरिएको थियो । भेष पनि उस्तै । प्रवीण भन्थे, ‘दाइ र बाउले मलाई भगवानको घरमा लगेर छोडेर हिँडेको दिन, ....।”

प्रवीण सुन्दै थिए भक्कानिएर कोही महिला दर्शकदीर्घामा रुइरहेको थियो । आफ्नो चरित्रले दर्शक रुवाएको भनेर प्रवीण गमक्क परिरहेका थिए । 

तर, दर्शक दीर्घामा रुने अरु कोही नभएर उनकै आमा थिइन् । उनलाई लागेछ गुरुकुल गएको छारो जोगीहरुको संगतले भिक्षु भएर पो निस्किएछ । 

“नाटक सकिएपछि रुने महिला मैैरै आमा भनेर थाहा पाएँ । उहाँले मलाई भन्नुभयो । तँ यहाँ बस्दै नबस्,” प्रवीण हाँस्छन्, “दाइले सम्झायो । पछि अर्को नाटक हेरेपछि उहाँले बुझ्नु भयो यसको काम नै यस्तै रहेछ । नाटक लिएर देशविदेश घुम्न थालेपछि आमाले सोच्नु भयो, छारो ठिक ठाउँमा पुगेछ ।”
रङ्गमञ्च हुँदै प्रवीण चलचित्रको खुड्किलो उक्लिए । तर नाटक छोडेका छैनन् । नाटकलाई आत्मा ठान्ने उनले एक दर्जन चलचित्रमा अभिनय गर्दा तीन दर्जन नाटकमा आफ्नो शील्प पस्किसकेका छन् । नाटक निर्देशनमा पनि आफ्नो क्षमता प्रदर्शन गरेका उनलाई अब नाटकको विकल्प खोज्ने कुनै रहर छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC