site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अब केका लागि एनआरएनए ? 

विदेशमा बस्ने नेपालीको मुख्य संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) काठमाडौं सम्मेलन र नयाँ नेतृत्व चयनको संघारमा छ ।   सन् २००३ मा विदेशमा बस्ने नेपालीका सबाल उठाउन अभियानका रुपमा खुलेको यस संस्थाको अहिले अप्ठ्यारो र कठिन अवस्थामा आइपुगेको बेला अर्को सम्मेलन हुँदैछ ।
यो सम्मेलन नयाँ नेतृत्वका लागि हुने चुनावमा मात्र केन्द्रित भयो भने संस्थाको औचित्य पुष्टि गर्ने अवसर कम्तीमा दुई वर्षका लागि पुनः गुम्नेछ । 

केही समययता विदेशमा बस्ने कैयौं नेपालीले एनआरएनए नेतृत्वको कामका आधारमा यसको औचित्यमाथि प्रश्न उठाएका छन् । एनआरएनए करिब ८० देशमा फैलिए पनि विदेशमा बस्ने नेपालीका हितमा ‘लबिङ’ गर्न नेतृत्व कमजोर साबित हुँदैगएको छ । नेतृत्वमा एकपछि अर्को गर्दै आएका व्यापारिक पृष्ठभूमिका पदाधिकारीले विदेशमा बस्ने सामान्य नेपालीको हितभन्दा आफ्नो व्यापारिक स्वार्थलाई अघि बढाए भन्ने गुनासा पनि आउन थालेका छन् । व्यावसायिक पृष्ठभूमिको नेतृत्वबाट शक्तिकेन्द्रसँग नजिक हुन संस्थाको  दुरुपयोग त भएको छैन भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

विदेशमा बस्ने नेपालीका समस्या जटिल बन्दै गएका छन् । तर, नेतृत्वले यसलाई सम्बन्धित निकाय हल्काफुल्का रुपमा समक्ष पुर्याइरहेको छ । त्यसले गर्दा सम्बन्धित निकाय विदेशमा बस्ने नेपालीका समस्या सम्बोधनमा गम्भीर देखिएको छैन । दबाबहरु प्रभावकारी भएका छैनन् । यही कारण नेपालभित्र र सरकारी तहमा एनआरएनएले खासै महत्त्व पाउन सकेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

एनआरएनएका समाचारले नेपाली संचार माध्यममा खासै स्थान पाउन छाडेको केही वर्ष भयो । सन् २००३ मा संघ स्थापना भएयताका केही वर्ष एनआरएनएलाई नेपाली संचार माध्यमले मुख्य स्थान दिएका थिए । तर, पछिल्ला वर्षमा एनआरएनएका समाचारको बेवास्ता गरिएको छ वा आए पनि  भित्री पृष्ठमा खुम्चिन पुगेका छन् ।

मूलधारमा अनलाइन र टेलिभिजनले पनि एनआरएनएनका बारेमा कमै चासो दिएका छन् । संचार माध्यममा प्रमुखता नपाउनुमा चिन्ता गर्नुपर्ने कारण एनआरएनए संस्थागतरुपमा खस्किरहेको सन्देश प्रवाहित छ भन्ने हो । विदेशमा बस्ने करिब ५० लाख नेपालीका समस्या पेचिला बन्दै गएको समयमा एनआरएनए भने यसलाई सही ढंगबाट सम्बन्धित निकायमा लैजान अक्षम देखिएको छ । यही भएर संचारमाध्यमले पनि एनआरएनएलाई पछ्याउन कम गरेका हुन् । 

Global Ime bank

संचारमा मात्र होइन सरकारले ल्याएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र राष्ट्र बैंकको मौद्रिक नीतिले पनि विदेशमा वस्ने नेपालीलाई पूरै बेवास्ता गरेको छ । साउनको पहिलो साता सार्वजनिक मौद्रिक नीतिमा डलर खाताका सन्दर्भमा मात्र एनआरएनए शब्द जोडिएको छ । त्यही व्यवस्था पनि विदेशमा बस्ने अधिकांश नेपालीका लागि कुनै औचित्य नै छैन । 

विदेशमा बस्ने नेपालीको संख्या बढ्दो छ । तिनले देशमा पैसा पठाउन कम गरे भनेमात्रै पनि अर्थतन्त्र संकटमा पर्छ । यसका संकेतहरु देखिइसकेका छन् । नेपाललाई अप्ठेरो पर्दा विदेशमा बस्ने नेपाली सम्बन्धित देशका सडकमा समेत उत्रिएका छन् । यति हुँदा पनि किन एनआरएनएका समस्याहरु गम्भीररुपमा संबन्धित निकायले नलिएको होला ? किन नेपाली समाज विदेशमा बस्ने नेपालीको नागरिकताका विषयमा अनुदार छ ? यस्ता विषयमा स्पष्ट पार्न नसक्नु एनआरएनए अभियानको असफलता हो । नेतृत्वको असफलता हो । 

करिब ८० देशमा फैलिएको एनआरएनएको संजाल सानो होइन । तर, एनआरएनएका मुख्य आधार अथवा जग मानिने राष्ट्रिय समन्वय परिषद् जति प्रभावकारी हुनुपर्ने हो त्यति छैनन् । अस्तव्यस्त छन् । चुनावमय भएका छन् । निर्वाचनले जोड्नभन्दा तोड्न मद्दत गरिरहेको छ । सबैभन्दा बढी नेपाली समुदायको स्थायी बसोवास रहेको अमेरिकाकै उदाहरण हेरौँ । एनआरएनए अमेरिकाप्रति त्यहाँका अधिकांश नेपाली समुदायको विश्वास छैन । प्रत्येक चुनावले विवाद ल्याएको छ । विवादबीच आएको अमेरिकाको एनआरएनए नेतृत्व कमजोर र प्रभावहीन छ । कुनै मुद्दामा पैरवी गर्नसकेको छैन । अक्षम छ । 

एनआरएनएको औचित्य माथि किन प्रश्न उठ्न थाल्यो ? यसका केही कारण छन् । संस्थाले गर्नुपर्ने मुख्य कार्य के हो भन्ने स्पष्ट हुन नसक्दा एनआरएनए कमजोर बन्दै गएको हो । एनआरएनए नेपालमा सामाजिक सेवा गर्न गठन भएको संस्था नै होइन । एनआरएनएसँग त्यो क्षमता पनि छैन । क्षमता छैन भन्ने उदाहरण गोर्खामा भूकम्प पीडितका लागि बनाइएको निमार्णाधीन असफल आवास योजना नै हो । 

एनआरएनएले भूकम्प पीडितका लागि गोर्खामा बनाइरहेको नमुना बस्ती महत्त्वाकांक्षी योजना हो । तर, यो असफल हुने अवस्थामा पुगेको छ । झन्डै चार वर्ष ढिलो भइसक्यो । यस्तै, गाउँको अवस्था नबुझी यो बस्ती निर्माण गरिएकाले जसका लागि बनाइएको हो तिनलाई नचाहिने भइसकेको छ । गाउँमा घरमात्र भएर हुँदैन पशुका लागि गोठ, खोर, चरन आदि पनि आवश्यक हुन्छन् । अर्को गाउँमा भन्दा मानिसहरु सुविधाका लागि सहर  वा बेसीमै बस्न रुचाउँछन् । यस्ता थुप्रै दृष्टिमा यो योजना त्रुटिपूर्ण छ । यस बस्तीलाई अब पर्यटक आकर्षण वा अन्य वैकल्पिक कार्य लागि उपयोग गर्न सकिन्छ कि भनेर खोज्नुपर्ने अवस्था भएको छ । 
नेपालमा चार वर्षअघि गएको भूकम्पका बेला तत्काल सहयोगमा मात्र एनआरएनए सहभागी हुनुपथ्र्यो । त्यो नगरी बढी महत्त्वाकांक्षी हुँदा समस्या आएको हो । 

योमात्र होइन अरु पनि त्यस्ता समाजिक परियोजना छन् जहाँ एनआरएनए जानु आवश्यक थिएन । समाजिक सेवा एनआरएनएको प्रथामिकतामा राख्नुपर्ने कुनै कारण छैन । नेपाल पैसाको अभावले गरिब भएको होइन । भएको पैसा उपयोग नहुँदा गरिब भएको छ । अर्को  विदेशमा बस्ने नेपाली जोसँग धन र मन छ तिनले आफ्नो ठाउँमा सकेको सहयोग गरेकै छन् । त्यसरी दिइएको सहयोग प्रभावकारी पनि छ । विदेशमा बस्ने नेपालीको सहयोगमा कतै एम्बुलेन्स किनिएको छ भने कहीँ विद्यालयले सहायता पाएका छन् । यसलाई सामूहिक वा केन्द्रीकृत गर्नु जरुरी छैन । 

एनआरएनए विदेशमा बस्ने नेपालीको हकका लािग पैरवी गर्ने संस्थाकै रुपमा रहनुपर्छ । अहिले विदेशमा बस्ने नेपालीका पक्षमा अझ धेरै पैरवीको आवश्यकता छ । थुप्रै विषयहरू अब चर्कोरुपमा उठाउनु पर्नेछ । पहिलो नागरिकताको विषय नै हो । जोसँग हाल नेपाली नागरिकता छ तिनको नागरिकताले निरन्तरता पाउनुपर्छ भन्ने अहिलेको मुख्य विषय हो ।  

विदेशको पनि नागरिकता लिने नेपालको पनि नागरिकता किन चाहियो भन्ने प्रश्न आउने गरेको छ । दुवैतर्फको नागरिकता भएर नेपाललाई के नोक्सान हुन्छ त्यो यसको प्रतिप्रश्न हो ।  अमेरिकामा एक जना करिब ७० वर्ष पुगेका नेपालीले ग्रिनकार्ड लिएको १० वर्ष भईसके पनि अमेरिकी नागरिकता नलिएको बताए । अमेरिकाको लिए नेपाली नागरिकता जान्छ त्यसैले मन लागेन भन्ने उनको कथन थियो । भावानात्मकरुपमा उनले भनेको ठीक होला तर उनीसँग दुवै देशको नागरिकता भएको भए नेपाललाई बढी फाइदा पुग्छ । प्रायः सबै विकसित देशमा ६५ वर्षपछि (कतिपय सन्दर्भमा त पहिले पनि) निःशुल्क स्वास्थ्य उपचार हुन्छ । अमेरिकामा राज्यले यसबाहेक अन्य सुविधा पनि दिन्छ । उनले अमेरिकी नागरिकता लिएको भए कमसेकम उनले आवश्यक हुँदा गुणस्तरीय स्वास्थ्य सेवा निःशुल्क र अन्य सुविधा पनि पाउन सक्थे । यो नेपालका लागि फाइदाजनक हुन्थ्यो । 

समान्य आम्दानी गरेर जीवन चलाइरहेको छ कुनै महत्वकांक्षा नभएको व्यक्तिका लागि अमेरिकी नागरिकता भए पुगिहाल्छ । घुम्न देश विदेश जाँदा एउटा पासपोर्ट भए पुगिहाल्छ । उसका लागि नेपाली नागरिकता हुनु र नहुनुको खासै अर्थ हुँदैन । तर, जो नेपालमा लगानी गर्ने  चाहन्छन्, नेपालमा सम्पत्ति लैजान चाहन्छन् र त्यसका लागि सक्षम पनि छन् तिनका लागि भने दोहोरो नागरिकताले सहयोग पुग्छ । झन्झट भए पनि नेपालमा लगानी गर्न उत्प्रेरित हुन्छ । लगानी लैजाँदा त फाइदा नेपाललाई नै हुने हो । 

सन् २००३ मा एनआरएनए अभियानका रुपमा सुरु हुँदा नेपाली नागरिकताको निरन्तरता मुख्य माग थियो । र, नेपालको चाहना विदेशमा बस्ने नेपालीले लगानी, सीप र दक्षता  ल्याउन् भन्ने थियो । अहिले विदेशमा बस्ने नेपाली आर्थिकरुपमा पहिलेभन्दा बढी सक्षम छन् । नेपालमा लगानी गर्न खोज्नेको संख्या पनि बढ्दो छ । तर, नेपालमा लगानी लैजान सजिलो छैन ।

कठिन भइरहेको छ । हालै नेपाल सरकारले ५ करोड रुपैयाँ वा त्यसभन्दा माथिलाई मात्र विदेशी लगानीको परियोजनाका रुपमा स्वीकृति दिने व्यवस्था गरेको छ । एकै पटक ५ करोड वा त्यसभन्दा बढी लगानी गर्न सक्ने नेपाली विदेशमा पनि कम छन् । विदेशमा बस्ने नेपालीले सुरुमा कृषिमा ५० लाख रुपैयाँ लगानी गर्न चाहन्छ भने किन नदिने ? यसलाई वैदेशिक लगानी मान्दा के फरक पर्छ । नेपालमा विदेशी लगानीका रुपमा ५० लाखमात्र जाँदा के नोक्सान पर्छ ?  करिब ५ करोड रुपैयाँ लगानी गर्ने हो भने अमेरिकामा पनि ग्रिनकार्ड पाइन्छ र पाँच वर्षमा नागरिकता बन्छ । हुनत, अमेरिका संसारकै सबैभन्दा बढी विदेशी लगानी भित्र्याउने देश हो । नेपालले ५ करोड वा यसभन्दा बढीलाई मात्र वैदेशिक लगानी मान्ने कानुनले धेरै विदेशमा बस्ने धेरै नेपाली नेपालमा पैसा लैजान हच्किएका छन् । 

संविधानमा विदेशमा बस्ने नेपालीलाई एनआरएन नागरिकता दिने उल्लेख छ । एनआरएन नागरिकतामा राजनीतिक अधिकारबाहेक अन्य अधिकार दिने पनि उल्लेख छ । यो प्रावधान व्यवहारमा आयो भने पनि यसरी नागरिकता लिनेको संख्या खासै ठूलो हुनसक्ने देखिँदैन । हुँदाखाँदाको नागरिकता त्यागेर अर्को लिने झन्झट कमैले गर्छन् । यो व्यवस्था विदेशमै जन्मेका नेपालीका सन्तानलाई मात्र उपयुक्त छ । विदेशमा बस्ने नेपालीलाई चुनावमा गाउँ घरमा आएर भोट हाल्न दिँदा के फरक पर्छ ?

एउटा भोटका लागि कोही कैयौं हजार रुपैयाँ खर्च गरेर आफ्नो गाउँमा आइपुग्छ भने उसलाई नेपालको माया रहेछ । यसरी विदेशबाट जानेले गाउँ घरमा गर्ने खर्च नेपालका लागि फाइदा पनि हो । अहिले काठमाडाैंमै हुने सम्मेलनमा पनि करोडौ रुपैयाँको कारोबार हुनेछ । यो नेपाली बजारका लागि फाइदा हो । बहुराष्ट्रिय लगानीकर्ता तथा सांसद विनोद चौधरीले विदेशमा नेपालीहरुका विभिन्न फोरममा भोट दिन पाउनुपर्छ भन्ने विषय पटक पटक उठाएका थिए । तर, एनआरएनए नेतृत्वले भने यस विषयलाई प्रभावकारीरुपमा अगाडी लैजान सकेको छैन । 

विदेशी विनियमको सुविधादेखि त्रिभुवन विमानस्थलमा समेत विदेशमा बस्ने नेपालीलाई हेपिएको छ । कामदारका रुपमा जाने नेपालीलाई जम्मा २ सय अमेरिकी डलर सटही सुविधा दिने प्रावधान यसको एउटा उदाहरण हो । जसले डलर कमाएर पठाउँछ उसैलाई यति थोरै सुविधा ! 

यस्तो पेचिला सवाल उठिरहेका बेला दसैंलगत्तै काठमाडांैमा हुने एनआरएनए सम्मेलन चुनावमुखीमात्र भयो भने संस्थाको औचित्यमा थप प्रश्नहरु उठ्ने छन् । यो एनआरएनएको अहिलेको मुख्य चुनौती हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  ०६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC