अरुणलाई त्यो बेलासम्म ढिलो भइसकेको थियो 

अरुणलाई त्यो बेलासम्म ढिलो भइसकेको थियो 

“०३२ सालतिर पोखरामा एउटा हल्ला चल्यो– पोखरामा राम्रो गीत गाउने एउटा केटा आएको छ । म पनि संगीतमा रुची भएको मान्छे । मेरो साथीमार्फत् अरुणसँग चिनजान भयो,” विक्रम गुरुङ उबेलाको कुरा सम्झन्छन्, “क्रिएटिभ साथीहरु मिलेर पोखरामा एउटा समूह बनाऔं भन्ने सल्लाह भयो र हामी मिलेर पोखरेली युवा सांस्कृतिक परिवार गठन गर्यौं ।”

पोखरेली युवा सांस्कृतिक परिवारमा विक्रम गुरुङ  आबद्ध थिए । तर अरूणा त्यसमा थिएनन् । पोखरामा सांगीतिक कार्यक्रम गर्न थाले । पोखरेली युवा सांस्कृतिक परिवारसँग आफ्नै सिर्जना नभएकाले अरुका गीत गाउनुपर्ने बाध्यता थियो । अरुण थापा स्टेजमा विशेषगरी हिन्दी गीत गाउँथे ।

अद्भूत गायकी क्षमता भएका अरुण स्वर परीक्षा दिन पोखराबाट काठमाडौं आउने भए । तर उनीसँग गीत थिएन । गीत त चाहियो । 

विक्रमले अरुणका लागि गीत लेख्न सुरु गरे–

‘कतै टाढा तिमीबाट पुगेँ भने...’ 

गीतसँगै ट्युनिङ पनि तयार पारे । “मलाई त्यति धेरै याद त छैन तर मलाई लाग्छ यो गीत एकै बसाइमा सकिएको थिएन । केही समय लागेको थियो,” विक्रम ०३७ सालतिरको दिमागमा रहेको धमिलो चित्रलाई सङ्ग्लो पार्न खोज्छन्, “अहिलेको जस्तो गायक, संगीतकार र गीतकार चारतिर बसेर त्यो समय गीत तयार हुँदैनथियो । अरुण र म बसेर गीत लेख्दा यो हैन यहाँ यो शब्द ठीक हुन्छ भन्दै लेखेका थियौं । ट्युनिङ पनि त्यसरी नै तयार भएको थियो ।”

अरुणसँगको सहकार्य सम्झिन्छन् उनी । विक्रम गीतको खेस्रा तयार पार्थे । स्थायी लेख्थे । दुवै नयाँ थिए । स्थायी जत्तिकै अन्तरा पनि मिठासपूर्ण र सशक्त पार्न विक्रम अरुणसँग पुग्थे र भन्थे, “ल अरुण, यसलाई पूरा गरौं ।” दुई जना भएपछि गीत पूरा हुन्थ्यो । 

नेपाल बैैंकको क्षेत्रीय म्यानेजर भएर अरुणका बुवा गुञ्ज थापा पोखरा पुगेका थिए । पालिखे चोक छेउको क्वाटरमा बस्थे । अरुण त्यहीँ बस्थे । अक्सर त्यही घरमा बसेर सिर्जना गर्थे विक्रम र अरुण ।  लेख्ने र ट्युनिङ उनीहरुले प्रायः सुरुसुरुमा सँगै गरे । कहिले ट्युनमा शब्द हाल्थे, कहिले शब्दमा ट्युन । 

पोखरेली युवा सांस्कृतिक परिवारले अरुणलाई रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा काठमाडौं पठायो । “अरुण प्रतियोगितामा सफल मात्रै भएन, उसले गीत रेकर्ड गर्नका लागि समय पनि पायो,” विक्रम सम्झिन्छन्, “गीत रेकर्ड गर्ने अवर पाए पनि अरुण पहिलो, दोस्रो, तेस्रो भएर पुरस्कार भने पाएन ।” 

‘कतै टाढा तिमीबाट पुगेँ भने...’ गीत अरुणले रेकर्ड गरेको पोखरामा रहेका विक्रमलाई थाहा थिएन । “अरुणले गीत रेकर्ड भयो भनेर सुनाउनुभन्दा पहिला मैले त्यो गीत रेडियो नेपालबाट सुनेँ,” सम्झनाको तरेलीभित्र छिर्छन् विक्रम, “रेडियो नेपालमात्रै भएको जमाना । मुस्किलले वर्षमा एउटा डेट दिन्थ्यो रेडियो नेपालले । तीन घण्टाको समय हुन्थ्यो । त्यो तीन घण्टमा जति गीत गाए पनि हुन्थ्यो तर दुइटाभन्दा धेरै कसैले पनि गाउन सक्दैन थियो ।”

पहिलो गीत रेडियोबाट बज्न थाल्यो । उद्घोषकले गीतकार विक्रम गुरुको शब्द... भन्न थाल्यो । तर उनलाई म गीतकार हुँ भन्नेभन्दा पनि हाम्रो गीत रेकर्ड भयो भन्ने मात्रै लाग्यो । “मलाई म गीतकार हुँ भने जस्तो लाग्दैनथियो तर साथीभाइ तथा स्टेजमा गीतकार भनेर बोलाउँथे । साथीहरु यसले गीत लेख्छ भन्थे,” विक्रम नोस्टिाल्जिक हुन्छन् । 

अरुणलाई सम्झिँदै विक्रम सुनिए, “जब हमीले ‘कतै टाढा तिमीबाट पुगेँ भने...’ गीत बनाउँदैथियौं । त्यो गीतको अन्तराको ट्युन छुट्टैछुट्टै छ । सामान्यतः अन्तराको ट्युन एउटै हुन्छ, त्यो बेला अरुण खुब खुसी भएको थियो यस्तो गीत त अरुको छैन भनेर । तर अमर गुरुङको त्यस्तै गीत निस्किसकेको थियो ।”

० ० ०

‘कतै टाढा तिमीबाट पुगेँ भने...’ बाट विक्रम गीतकार भए । अरुण गायक । तर यो गीत त्यति धेरै बजेन रेडियो नेपालबाट । विक्रमले मुस्किलले चारपटक भन्दा धेरै सुनेनन् । 

कारण ? 

“मेरो विचारमा अरुणले आफूले पाएको डेटमा यो गीत रेकर्ड गरेको होइन । आफूले लिएको डेटमा कोही आएन भने अर्कोले रेकर्ड गर्न पाउँथ्यो । रेडियो नेपाल गइरहने अरुणले अरु नआएको बेला रेकर्ड गरेको जस्तो लाग्छ । पूर्व तयारीबिना यो गीत जति मिठो हुनुपर्ने हो त्यही राम्रो भएको थिएन,” विक्रम सुनाउँछन् ।

चाहियो अर्को गीत । छ महिनापछि विक्रमले सुरु गरे अर्को गीत लेख्न । 

रत्नचोकमा बस्थे विक्रम बुवाआमासँग । अमृत गुरुङसँग गीतार थियो तर उसलाई बजाउन आउँदैन थियो । संयोग भनौं या भाग्य ! विक्रमलाई गितार बजाउन आउँथ्यो । एक बिहान विक्रमले समाते गितार । औंलाहरु गीतारका तारमा दौडिन थाले ।

धुन जन्मियो । धुन सँगसँगै शब्द आयो । स्थायीसँगै अन्तरा आयो । गीत पूरा भयो । 

विक्रम लागे अरुणको कोठातिर । दुईजना बसेर गीत फाइनल गरे । गीत थियो– ‘आँखाको निद खोसिलाने...’ 

पोखराको स्टेजमा त्यो गीत अरुणले खुब गाए । पोखराका व्यवसायी साथीहरुले टु–ईन–वान क्यासेटमा रेकर्ड गरेर राखे । लाहुरबाट आउने लाहुरेहरुले अरुणको गीत कोशेली सम्झेर विदेशी भूमिमा पुर्याए । 

पोखरामा र लाहुरेले विदेशी भूमिमा सुनिसकेपछि मात्रै रेडियो नेपालमा रेकर्ड भएको विक्रमको स्मृतिमा ताजै छ । यो गीत रेकर्ड हुँदा विक्रम पनि रेडियो नेपाल गएका थिए । अरुणले त्यो दिन दुईवटा गीत एकैदिन रेकर्ड गरेका थिए । 

० ० ०

पोखरामा अन्नपूर्ण स्पोर्टिङ क्लब खोलेका थिए उनीहरुले । त्यसलाई सहयोग गर्न विक्रम, अरुण लगायत साथीहरु अन्नपूर्ण ब्यान्ड खडा गरेका थिए । यसले हरेक महिना पोखरामा कार्यक्रम गर्न थालेका थिए । कार्यक्रमबाट उठेको पैसा क्लबलाई सहयोग हुन्थ्यो । 

ती कार्यक्रममा अब अरुण हिन्दी हैन, नेपालीमात्रै गीत गाउन थालेका थिए । हिन्दी गीत नगाउने भएपछि अरुणलाई स्टेजमा गाउन गीतको अभाव हुन थाल्यो । 

चाहियो अर्को गीत । गीत लेख्नुपर्ने भयो विक्रमले । 

सुखदुःख जिन्दगीको घामछायाँ । विक्रमले आफैंले जिन्दगीका सातै रङ्ग भोगिसकेका थिएनन् तर समाजमा देखेका थिए, रङ्गीन र रङ्गहीन जिन्दगी । विक्रमलाई लाग्यो सुख र दुःखको समान मिश्रण होइन रहेछ जिन्दगी । कसैलाई संघर्ष गर्दागर्दै पनि भागमा दुःखैदुःख । कसैका भागमा सुखैसुख । 

निष्कर्ष निकाले जिन्दगी सन्तुलित छैन । त्यसैले थिम बनाए, असन्तुलित जिन्दगीको । 

र, गीत जन्मियो ‘भुलुँभुुलुँ लाग्यो मलाई सपनीमा...’

अरुणले त पोखरा छोडिसकेका थिए । विक्रम पनि पढ्नका लागि काठमाडौं आए । कीर्तिपुरमा बसाइ थियो । सरुभक्त उनका रुममेट । 

अरुणका भाइ किरण थापा पनि गीत लेख्ने । किरणले एक दिन विक्रमलाई पुर्याए सानेपामा, जहाँ सांगीतिक जमघट हुन्थ्यो । त्यहाँ थिए संगीतप्रेमी पुरुषोत्तम सुब्बा । त्यही सांगीतिक जमघटमा बेलाबेला आइपुग्थे अरुण थापा विक्रमलाई भेट्न । 

“अरुणलाई ६/८ बिटमा गीत गाउने मन रहेछ । उसले मलाई सुनायोे । गीतबारे सोधीखोजी गर्यो । मसँग गीत थियो । पुरुषोत्तम सुब्बा दाइको घरमा अरुणलाई मैले गीत सुनाएँ,” सम्झनाको पोयो खोल्छन् अरुण, “अरुणलाई गीत मन परेछ । म गाउँछु भन्यो । वास्तवमा उसले रेडियोमा डेट पाइसकेको थियो तर गीत थिएन ऊसँग ।” 

गीत थियो– ‘भुलुँभुुलुँ लाग्यो मलाई सपनीमा...’ यही गीतले अरुणलाई आम जनमानसमा चिनायो । 

विक्रमको गीतको संख्या तीन पुग्यो । 

० ० ०

रेडियो नेपालले एउटा गीतको पारिश्रमिक ६० रुपैयाँ दिन्थ्यो ।  गायकलाई रु. २०, संगीतकारलाई रु. २०, गीतकारलाई रु. २० ।

उनको भागमा पनि प्रतिगीत २० रुपैयाँ आयो । “अरुणले रेडियोबाट थापेर मलाई दिएको थियो । चिया खाएर सकियो त्यो पैसा । एक रुपैयाँमा चिया आउँथ्यो,” विक्रम पुराना दिनका पुराना कुरा खोतल्छन्, “कीर्तिपुरको कोठामा सरुभक्त र म बस्थ्यौं । कोठाभाडा दुई सय रुपैयाँ थियो ।” 

काठमाडौं आएपछि अरुणले विक्रम, मलाई गीत चाहियो कहिल्यै भनेनन् । विक्रमले अरुण मेरो गीत गाइदे न भनेर कहिल्यै भनेनन् । काठमाडौं आएपछि अरुणको गायकीबाट भुतुक्क भएर गीत उनलाई दिनेको ओइरो लाग्यो । विक्रम पढाइमै अलमलिए । गीत लेखन पातलियो ।

समयको हुरीले विक्रमलाई विदेशी भूमि पु¥यायो । उतै ब्रिटिस लाउरेका छोराछोरीलाई बाह्रखरी पढाउन सक्रिय रहे विक्रम । यता, अरुणको गलाको कला फैलिँदै गयो । देश दुनियाँलाई उनको आवाजले मोहनी लगायो । 

गीतले विक्रमलाई हङकङमा पनि छोडेन । उतै गीत लेख्थे । संगीतका सुरमा प्रयोग गर्थे । बेलाबेलामा नेपाल झुल्किँदा मन लाग्थ्यो गीत रेकर्ड गराउँ । आफ्नो सांगीतिक करिअर फराकिलो बनाउँ । तर सधैँ समय अभाव भैरह्यो ।

० ० ०

दीप श्रेष्ठ अरुणका मन पर्ने गायक । नारायण गोपाल र भक्तराजका गीत पनि खुब गाउँथे अरुण । विक्रमलाई भने अमर गुरुङका गीत र संगीत सुनेर कहिले पनि धीत मरेन । जति सुन्यो सुनिरहुँ मात्रै लागिरहने । 

‘ऊ पनि त कोही पराय...’, ‘डाँडा वारी पानी...,’ ‘नौ लखा तारा...’ अमरका गीतले विक्रमको मन जितेका थिए । 

“हरिभक्त कटुवालको ‘बतासले झरेका...’, हरिभक्तकै ‘बदनाम मेरा...’ गीतले मलाई असाध्यै छोयो । यी गीत मैले निकै खोजेँ । काका (अमर गुरुङ)का छोराहरुसँग पनि खोजिमागेँ तर उहाँहरुसँग पनि छैन,” विक्रम मनको कुरा खोल्छन्, “हरिभक्त दाइ बित्नुहुँदा हामीले पोखरामा कार्यक्रम गरेका थियौँ । 

त्यो कार्यक्रममा मैले यिनै दुइटा गीत गाएको थिएँ ।” 

० ० ०

अघिल्लो महिना पलेँटीमा गाउन हङकङबाट काठमाडौं आएका विक्रमले हामीसँग आफ्नो विगत र वर्तमान साटे । आफ्ना पुराना दिनको सम्झनामा भांैतारिए । रेडियो नेपालमा अमरलाई सुनेर विक्रमलाई उनलाई भेट्ने ठूलो रहर थियो । 

०३१ मा पहिलो पटक विक्रमले अमरलाई राष्ट्रिय सभागृहको स्टेजमा देखे । तीनवटा गीत गाएका उनले एउटा गीत ‘होसियार...’ गाएको थिए । 

“सुन्नुभएको छ यो गीत तपाईंले ?” प्रश्न गर्दै विक्रम भन्छन्, “छैन भने सुन्नुस् । असाध्यै राम्रो छ ।” कति अमिट छाप छ अमरको विक्रममा ? यसले पनि प्रष्ट पार्छ ।” 

त्यसपछि पोखरामा पुगेका अमरलाई विक्रमले त्यहाँ पनि देखे । तर नजिक जान डर लाग्थ्यो । गएनन् । 

पोखरेली युवा सांस्कृतिक परिवारले शिवरात्रिमा सामूहिक साहित्यिक जयन्ती मनाउने भयो । अमर गुरुलाई बोलाउने निर्णय भयो । 

सरुभक्त र विक्रम राजकीय प्रज्ञा प्रतिष्ठान गएर अमरलाई भेटे । पहिलो भेट थियो अमरसँग विक्रमको । आमनेसामुन्ने बसेर कुरा भयो । तर विक्रममा आँट आएन अमरलाई भन्ने– म तपाईंको फ्यान हुँ भनेर । 
तर निकै पछि आँट आयो । साल कहिले ? मानसपटलमा धमिलो याद छ । करिब ५ वर्ष अगाडि ।

“मलाई केही पनि भन्नुभएन । मेरो विचारमा सायद यो म्युजिक मन पराउने केटा रहेछ भन्ने ठान्नुभयो होला,” उनले अनुमान लगाउँदै सुनाए, “पछि हङकङमा दिनेश सुब्बाले अमर गुरुङको कार्यक्रम राख्नुभएको थियो । त्यसमा दुइटा गीत अमर गुरुङले गाउने र अरु गीत अरुले नै गाउने कार्यक्रम थियो । त्यो स्टेजमा मैले ‘तिमी भुलमा पर्‍यौ...’ गीत मैले गाएको थिएँ । पछि कोठामा उहाँले मलाई खादा लगाइदिनु भयो । किन यो लगाइदिनु भएको काका भनेर सोद्धा उहाँले भन्नुभयो, तिमीले मिठो गायौ ।”

० ० ०

०५६ मा चाँजोपाँजो मिलाए । लामै छुट्टी लिए र हङकङबाट नेपाल आए विक्रम । एउटा एल्बम निकाल्नु थियो उनलाई । ईश्वर गुरुङको नमस्ते स्टुडियो पुगे । पोखरेली अमर गुरुङ गीत रेकर्ड गर्थे । दुइटा ट्रयाक तयार पारे । 

अरुण साथी । पहिलो रोजाई अरुण नै थिए विक्रमको । 

प्रकट पंगेनीको ‘जति माया तिम्रो लाग्छ...,’ र सरुभक्तको ‘एक युगपछि तिम्रो स्मृति...’ उनले संगीत गरेका थिए । यी दुई गीत अरुणले नै गाउनुपर्छ भन्ने उनको चाह थियो । 

अमृत गुरुङलाई भने, “अरुणलाई गीत लगाउनु पर्यो ।”

अमृतले भने, “दाइ अरुण दाइ त हराउनु भको छ ।” 

“हँ ! खोज न एक पटकक । उसैलाई गीत गाउन लगाउनु छ मलाई ।”

यति भनेर उनी पुगे पोखरा ।

फर्किएर आएपछि एकदिन अमृतले भने, “दाई अरुण दाइ भेटिनु भयो ।” 

“कहाँ भट्यौ ?”

“खिचापोखरी ।”

“नमस्ते स्टुडियो अगाडि रुखसहितको चौतारी थियो । त्यस्तै दिउँसोको तीन बजेतिरको समय हुँदो हो म चौतारीतिर आउँदैथिएँ । परबाट हेर्दा मान्छेको आकृतिजस्तो देखियो । नजिक आउँदा त अरुण पो रहेछ ।

मैला लुगा लगाएको चिन्नै नसकिने दुब्ला पातलो चिन्नै नसकिने जस्तो भइसकेको अरुण पो रहेछ,” आफ्नो युवावयका दौंतरी अरुणको कारुणिक अवस्था सम्झिन्छन्, “एक छिन भयो । बसाई कतै पनि रैनछ । बस्ने ठेगान नै रैनछ उसको । म र अमर भाइले भोटेबहालमा लगेर उसलाई राखेर नमस्तेमा फर्कियौं ।” 

फर्किएपछि उनीहरुबीच कुरा भयो ‘अरुणलाई त्यहाँ राख्न हुँदैन थियो कि !”

भोलिपल्ट फोन आयो होटलबाट । पुग्दा अरुणको अवस्था राम्रो थिएन । होटलले राख्न मानेन । 

“अरुणलाई लिएर आयौं । कहाँ राख्ने ? खोज्दै जाँदा बागबजारमा एउटा गेष्टहाउस भेटियो । नमस्ते स्टुडियो नजिकै भएकाले सहज पनि भयो । अरुणको भाइ किरणलाई खोजे विक्रमले । भवितव्य केही भैगयो भने किरण आउन सक्ने वातावरण बन्यो,” विक्रम वियोगका वादशाह अरुणसँगको स्मृति सुनाउँछन्, “अरुण म नमस्ते हुँदा दिनदिनै आउँथ्यो । गीत सुन्थ्यो । ट्रयाकमा गाउने प्रयास गथ्र्यो । तर सक्दैन थियो । गीत गाउन सक्ने हालतमा थिएन ऊ । सबै गीतका ट्रयाक तयार पारे । दुइटा गीतमा रिमा गुरुङले भोकल पनि हालिन् । हङकङ फर्किने दिन आयो । तर अरुणले गीत गाउन सकेन । उसलाई अब मैले जतिसक्दो धेरै गीत गाउनुपर्छ भन्ने लागेको थियो । कोसिस पनि गरेको हो । तर सक्दैसकेन ।”

विक्रम हङकङ जाने दिन अरुण नमस्ते आएनन् । सायद त्यस दिन उनी आफ्नी बहिनी अथवा छोरीलाई भेट्न गएको थिए । अरुणलाई भेट्न उनका भाइ किरण पनि नमस्ते आएका थिए । तर भेट भएन । 

हङकङ पुगेको डेढ महिनापछिको एक रात विक्रम सुतिसकेका थिए । रातको साढे ११ बजिसकेको थियो । किरणले फोन गरेर भने, “अरुण त हिँड्याे आज !”

“मेन्टल्ली प्रिपेयर भइसकेको थिएँ म । जान्छ भन्ने थाहा थियो । तर साथी होे । मिठो गीत गाउँथ्यो । सँगै बसेको । बाँचेको भए कति मिठा मिठा गीत उसले गाउँथ्यो, सुनाउँथ्यो । मेरै गीत गाउनुपर्छ भन्ने थिएन । अरुकै गीत गएर भए पनि हामी सबैलाई आनन्द दिन्थ्यो होला । अन्तिममा लाइफ पनि त्यस्तै भयो । साह्रै दुःख लाग्यो,” अरुणको चोला उठेको सुनाउँदा उनका सखा विक्रमका आँखा रसिला हुन्छन् । गला गह्रुङ्गो हुन्छ, “नमस्ते स्टुडियो, किरणलगायत साथीभाइले राम्रो व्यवस्था गरेछन्, किरणले दाहसंस्कार गरेर फर्र्किएपछि मलाई भन्थ्यो– दाइ नारायाणगोपाल पछि अरुण दाइकोमा जति मलामी कहिल्यै कसैको मृत्युमा पनि देखिएको थिएन ।”

० ० ०

उमेर अगावै अरुण गए । अरुणसँगै उनको सुमधुर कण्ठ गयो । ३७ वटा गीत गााएर अरुणले आफूलाई अमर बनाए । तीनै अरुणलाई सुरुआती गीत लेखिदिएका विक्रम पनि तीनै तीनवटा गीतकै कारण गीतकारमा दरिए ।

अरुणलाई भेटेर थप गीत गाउन लगाउने विक्रमको रहर अरुणको मृत्युसँगै अधुरै रह्यो । ट्रयाक बनेका गीत पनि रेकर्ड हुन पाएन । दुई दर्जन गीत छन् विक्रमसँग अहिले । तर स्वर भर्ने अवसर दुई दशक बिते पनि अझै जुरेकै छैन । 

प्रतिकृया दिनुहोस
ad