काठमाडौं । पछिल्लो समय नाटक मञ्चनको संख्या बढ्दै गएको छ । विभिन्न नाटकघरमा हरेक महिना नाटक मञ्चन भइरहे पनि दर्शकको मन जित्ने नाटकीय सौन्दर्य, मूल्य मान्यता बोक्ने नाटक भने निकै कम रहेका छन् ।
आर्थिक हिसाबले सफल नाटकको संख्या पनि निकै कम रहेको रङ्गकर्मीहरु बताउँछन् । रङ्गकर्मी राजन खतिवडा भन्छन्, “कहिले गम्भीर चेत बोकेका नाटक पनि मन पराइन्छ त कहिले कमेडी नाटक पनि सफल भइरहेका छन् । नाटकीय सौन्दर्यसँगै सामाजिक, मूल्यमान्यता र गम्भीर चेत बोकेका नाटकको विशेष अर्थ रहन्छ ।”
एउटा नाटक तयार पार्न १० देखि १२ लाख रुपैयाँसम्म लाग्ने गरेको रङ्गकर्मी खतिवडा बताउँछन् । प्रोडक्सनमै मोटो रकम लाग्ने भएकाले कलाकारलाई राम्रो पारिश्रमिक दिन नसकिने उनको भनाइ छ । कलाकारको संख्या कम रहेको नाटकमा भने ४० देखि ५० हजार रुपैयाँसम्म प्रतिकलाकार पारिश्रमिक दिने गरिएको खतिवडा बताउँछन् ।
दर्शकको चाप अत्यधिक रहेका नाटकले १२ देखि १५ लाख रुपैयाँसम्म उठाउने गरेकाले ठूलो ‘क्रु मेम्बर’ भएका नाटकले बक्स अफिस कलेक्सन राम्रो हुँदा पनि फाइदा भने गर्न नसक्ने उनको भनाइ छ ।
“एक–दुई हप्तामात्रै नाटक मञ्चन गरियो भने त्यस्ता नाटकले बक्स अफिस कलेक्सन राम्रो गरे पनि घाटा नै हुन्छ,” रङ्गकर्मी खतिवडा भन्छन्, “एक–डेढ महिना मञ्चन गरियो र दर्शकको चाप राम्रो भयो भने १२–१५ लाख रुपैयाँ उठ्छ ।” नाटकघरको सिट क्षमता सानो भएकाले पनि कलेक्सन कम हुने गरेको राजन बताउँछन् । मण्डलाको सिट क्षमता १३० सिट छ ।
केही महिना अगाडि पूर्वी नेपालको राई, लिम्बू समुदायमा रहेको संस्कारमा अधारित नाटक ‘जोखाना’ले बक्स अफिस कलेक्सन राम्रो गरेको थियो । १६ लाख रुपैयाँ कलेक्सन गरेको नाटकबाट आफूले दुई लाख रुपैयाँ निर्देशन गरेबापत पारिश्रमिक लिएको खतिवडाले सुनाए ।
४४ शो मञ्चन भएको नाटकको प्रोडक्सन खर्च सात लाख रुपैयाँ रहेको उनले जानकारी दिए । “२५ जनाको टोली थियो । कलाकारले ४५ हजारसम्म पारिश्रमिक पाउनु भएको थियो,” उनले भने, “राम्रो कथा र प्रस्तुति हुने हो भने नाटकबाट राम्रो कमाइ गर्न सकिन्छ । नाटकमा व्यावसायिकता छ भन्न सकिन्छ ।”
अहिले मण्डला थिएटरमा मञ्चन भइरहेको ‘महाभोज’ पनि दर्शकको राम्रो साथ पाइरहेको नाटक हो । “अहिलेसम्मको कलेक्सनको रेसियो हेर्दा ‘जोखाना’को जति कमाइ हुने देखिन्छ,” राजनले भने ।
भूकम्पपछि देखाइएको नाटक ‘रमाइलो’ले आठ लाख रुपैयाँ उठाएको थियो । त्यस्तै अघिल्लो महिना रिलिज भएको नाटक ‘मिमांसा’ले नौ लाख रुपैयाँ कलेक्सन गरेको थियो ।
चार वर्ष अगाडि सुनील पोखरेलको निर्देशन रहेको ‘रसुमन’ले १२ लाख रुपैयाँ उठाएको थियो । अनुप बरालको निर्देशन रहेको ‘कोर्ट मार्सल’ पनि उच्च कमाइ गर्नेमध्येको एक नाटक हो । थिएटर भिलेजमा मञ्चन भएको यो नाटकले १४ लाख उठाएको थियो ।
‘चरणदास चोर’, ‘डल्स हाउस’ पनि राम्रो कलेक्सन गरेका नाटक हुन् । “दिनको औसतमा ८–१० हजार रुपैयाँ उठाइरहेका बेला चरणदास चोरबाट दैनिक २५–३० हजार रुपैयाँ उठेको थियो,” राजन भन्छन्, “समाचार आउने गरी बक्स अफिस कलेक्सन गरेका नाटक हुन् यी ।”
बक्स अफिसमा कलेक्सन राम्रो गरेका नाटकबाट निर्देशकले पारिश्रमिक पनि राम्रै लिने गरेका छन् । मण्डला थिएटरमा अहिले मञ्चन भइरहेको नाटक ‘महाभोज’बाट निर्देशक अनुप बरालले डेढ लाख पारिश्रमिक लिएका छन् ।
अघिल्लो महिना मण्डलामा मञ्चन भएको नाटक ‘मिमांसा’बाट निर्देशक प्रवीण खतिवडाले एक लाख २८ हजार रुपैयाँ लिएका थिए । “नाटकको कलेक्सन अनुसार निर्देशक र कलाकारको पारिश्रमिक थपिँदै जाने हो,” प्रवीण भन्छन्, “कलाकारले ५० हजारसम्म पारिश्रमिक पाउनुभएको छ ।”
सुलक्षण भारती पनि महङ्गो पारिश्रमिक लिएर नाटक निर्देशन गर्ने रङ्गकर्मी हुन् । भारतीले ‘बोक्सीको घर’, ‘लाटीको छोरो’ लगायतका नाटक निर्देशन गरेका छन् । उनी स्वयम् नाटक पनि लेख्छन् ।
आफ्नै नाटकघर नभएका नाट्य समूहलाई भने नाटक उत्पादनको लागत केही महङ्गो पर्छ । अरुको नाटक घर भाडामा लिएर गर्नुपर्ने भएकाले लागत बढ्ने गरेको हो । मण्डला नाटकले प्रतिदिनको भाडा आठ हजार रुपैयाँ लिने गरेको छ ।
“केही नाटकले मात्रै हो राम्रो कलेक्सन गर्ने । अधिकांश नाटकले प्रोडक्सन खर्च पनि उठाउन सक्दैनन् । एउटै नाटकले १५–१६ लाख कमाउँछ भनेर कोही प्रोड्युस पनि गर्न तयार हुनुहुन्छ, तर यसमा सुरुमै सचेत हुनुपर्ने अवस्था भने छ,” राजन भन्छन्, “दामासाहीमा पैसा बाँड्दा प्रोडक्सनको पैसा पनि नउठ्दा रित्तै हात फर्किनुपर्छ । तर अहिले सुरुमै कलाकारलाई यति दिन्छु नाटकमा खेल्ने हो भन्ने अवस्था बनेको छ, यो भने राम्रो पक्ष हो ।”
राजनकै जस्तो भनाइ छ प्रवीणको पनि । उनी भन्छन्, “तीन–चार वटा नाटक बिना पारिश्रमिक निर्देशन गरेको छु ।”