हङकङ । हङकङका आन्दोलनकारीहरुले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणको १८ वर्ष पूरा भएको दिनलाई विशेष रुपमा मनाउन हङकङमा जारी आन्दोलन स्थगित गरेका छन् । आतंकवादविरुद्ध एक्यबद्धता जनाउनका लागि हङकङमा सेप्टेम्बर ११ का सम्पूर्ण विरोध कार्यक्रमहरु स्थगित गरिएका हुन् ।
तर, चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले भने उक्त कदमको विरोध गर्दै हङकङका आन्दोलनकारीहरुले 'ठूलो आतंक' मच्चाउनका लागि योजना बनाइरहेको बताएका छन् । हङकङमा विगत तीन महिनादेखि निरन्तर आन्दोलन र प्रदर्शनहरु भइरहेका छन् । विवादित सुपुर्दगी विधेयकको विरोधमा सुरु भएको आन्दोलनका सहभागीहरुले हङकङमा प्रजातन्त्रको माग गर्नुका साथै कम्युनिस्ट शासन रहेको बेइजिङबाट मुक्त हुनुपर्नेसम्मका मागहरु गरिरहेका छन् ।
"सेप्टेम्बर ११ मा हङकङ सरकार विरोधीहरुले हङकङमा ठूलो आतंक मच्चाउन योजना बनाइरहेका छन्, " चाइना डेलीको हङकङ संस्करणले आफ्नो फेसबुक पेजमा लेखेको छ । यससँगै उक्त पेजमा न्युयोर्कस्थित ट्विन टावरमा आक्रमण भएको तस्बिरसमेत पोस्ट गर्दै थप लेखिएको छ, "सेप्टेम्बर ११ को आतंकले विभेदपूर्ण हमलालाई प्रोत्साहित गरेको छ । केही लिक भएका सूचनाका आधारमा सरकार विरोधी अतिवादीहरुले हङकङमा पनि 'ठूलो आतंक' मच्चाउने रणनीति बनाइरहेका छन् ।"
हङकङका आन्दोलनकारीहरुले भने चाइना डेलीमा प्रकाशित समाचारप्रति टिप्पणी गर्दै चाइने डेलीलगायतका चिनियाँ सरकारी सञ्चारमाध्यमले रिपोर्टिङ भन्दा बढी कल्पना गरेर समाचार लेख्ने गरेको बताएका छन् ।
हङकङ सन् १९९७ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको थियो । जसमा एक देशमा दुई शासन प्रणाली छन् । अहिले चीनको अधिनमा रहेको हङकङमा स्वतन्त्राको ग्यारेन्टी गरिएको छ भने उक्त स्वतन्त्रको व्यवस्था चीनमा भने छैन् ।
हङकङकी नेतृले अघिल्लो बुधबार विवादित सुपुर्दगी विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन् । उनले विधेयक फिर्तासँगै आन्दोलन रोकिने अपेक्षा गरे पनि आइतबार राति भने हङकङ विमानस्थल क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप हुनुका साथै केही प्रदर्शनकारीहरु घाइते भएका र पक्राउ परेका थिए । चीनले हङकङमा अमेरिका र बेलायतले उत्पन्न गर्न खोजेको अस्थिरता स्वीकार गर्न नसकिने बताएका छन् ।
रोयटर्स