काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले भदौ मसान्तभित्र दल दर्ताका लागि पौडेललाई जिम्मेवारी दिएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । “दल दर्ता प्रयोजनका लागि महासचिवलाई जिम्मा दिनेबाहेक अरू कार्यसूचीमा प्रवेश भएन,” उनले भने ।
बुधबारको सचिवालय बैठक नियमित बस्ने ठाउँभन्दा फरक ठाउँमा बसेको थियो ।
तेस्रो वरीयताका नेता खनालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र अर्को बैठकले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने जानकारी दिए ।
साढे चार बजेबाट शुरू भएको बैठक करिब ४० मिनेट बसेको थियो ।
नेकपामा केन्द्रीय निकाय (जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्), आयोग (अनुशासन, निर्वाचन, लेखा), महानगर कमिटी र सामाजिक संगठन गठनको काम बाँकी छ ।
फाइल तस्बिर