site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महिना दिनसम्म पनि घर नगई नाटकमा रमाउँथेँ
Ghorahi CementGhorahi Cement

प्रज्ञा प्रतिष्ठानको जागिर हठात् छोडे उनले । कुनै कुरामा चित्त बुझेन, पाएको जागिर छोडेर उनी सडक नाप्न थाले । तथापि, नाटक गरिरहेकै थिए । स्टेजमा र रेडियोमा नाटक गर्नुबाहेक अरु काम थिएन ।

त्यसैबेला एक दिन न्युरोडतिर साहित्यकार कृष्णचन्द्र सिंह प्रधानसँग नाट्यकर्मी मदनदास श्रेष्ठ (७२)को भेट भयो । त्यतिबेला प्रधान साझा प्रकाशनमा महाप्रबन्धक थिए । प्रधान प्रज्ञामा प्राज्ञ हुँदा मदनदास प्रज्ञा प्रतिष्ठानमै कलाकारका रुपमा कार्यरत थिए ।

भेटमा साहित्यकार प्रधानले मदनदाससँग एकेडेमीको हालखबर सोधे । मदनदासले आफूले एकेडेमी छाडिसकेको कुरो बताए । 

Agni Group

प्रधानले सोधे, ‘के अब ढाक्रे नै हो त ?’”

उनले पनि ‘हो’ भने । 

Global Ime bank

प्रधानले फेरि सोधे, ‘जागिर खाने हो, साझा प्रकाशनमा ? 

रोइरहनु भन्दा गाइरहनु जाती । यही सोचेर मदनदासले पनि ‘हुन्छ’ भने । भोलिपल्ट बिहानै साझाको अफिस पुगे । जागिर खानु जरुरी पनि थियो । 

मदनदासलाई साझा प्रकाशनको धनगढी शाखाको शाखा प्रमुखको जिम्मेवारी दिएर पठाइयो । उनी इण्डियाको बाटो हुँदै गौरीफण्टा भएर धनगढी पुगे ।

त्यहाँ जानुअघि नै उनलाई थाहा थियो साझाका एक जना लोकल स्टाफले त्यहाँ कसैलाई टिक्न दिँदैनन् भन्ने कुरो । ती सहायक कर्मचारीले अनेक गरेर धनगढी पुगेका साझाका जुनै हाकिमलाई पनि धपाइहाल्ने रहेछन् !

मदनदास शाखा प्रमुख भएर धनगढी पुगे । खरा स्वभावका मदनदासले तिनलाई तह लगाउने तारतम्य मिलाउँदै गए । 

त्यसबेलाका सेती अञ्चलाधीशमा सत्यनारायण झा थिए । केही समयभित्रै उनका छोरासँग मदनदासको दोस्ती भयो । अञ्चलाधीशसँग पनि दोस्ती भयो । त्यहीँ प्रहरी सेवामा लालबहादुर खाती पनि रहेछन् । दुबै मिलिहाले । 

त्यसपछि मदनदासले ती सहायकलाई अप्ठेरोमा पार्दै लगे । अन्ततः ती सहायकले जागिर नै छोडे ।

धनगढीमा बस्दा मदनदासले सांस्कृतिक कार्यक्रम र नेपाली नाटक गर्ने कामको थालनी गरे । धनगढीमा लखनउ र बनारस तिरबाट नौटंकी ल्याउने चलन रहेछ । 

मदनदासले भने सरकारी हाकिमहरू र स्थानीय व्यक्तिहरूसँग सम्बन्ध गाँस्दै हिन्दी नाटक र नौटंकी हुने धनगढीमा त्यस्ता कार्यक्रम विस्थापित गर्दै नेपाली सांस्कृतिक कार्यक्रम गर्ने चलन चलाए र नेपाली नाटक मञ्चन गर्ने कामको थालनी गरे ।

त्यसैबेला हो, मदनदासको निर्देशनमा विजय मल्लको नाटक ‘पत्थरको कथा’ धनगढीमा मञ्चन गरिएको । साहित्यकार फणिन्द्रराज खेतालाका छोरा दीपक भट्टराई त्यसबेला धनगढीको कृषि विकास बैंकमा काम गर्थे । उनले नाटकमा नायकको भूमिका निर्वाह गरे । नायिका पाउन गाह्रो थियो । तर पनि एक जना शिक्षिकालाई नायिका भइदिन आग्रह गरियो । उनले नायिकाको भूमिकामा अभिनय गरिन् ।

बुधबार बिहान मदनदास श्रेष्ठसँग जेष्ठ नागरिक महासंघको उनको कार्यकक्षमा कुरा गर्दैगर्दा उनी हाँसे । भने, “त्यो नाटक धनगढीमा एक दिन मात्रै मञ्चन गर्ने भनिएको थियो । तर नाटक मनपराइयो । त्यसैले धनगढीको जोशी टाकिज बन्द गरेर सात दिनसम्म ‘पत्थरको कथा’ मञ्चन गरियो ।”

त्यसबेला पत्रकार प्रेम कैदी नेपालगन्जबाट सौरभ पत्रिका प्रकाशन गर्थे । उनी धनगढी आए र मदनदासको अन्तर्वार्ता लिए । र चार अंकसम्म धारावाहिक अन्तर्वार्ता छापे । शीर्षक दिएका थिए, ‘कालापानीमा निर्वासित कलाकार मदनदास’ । 

केही वर्ष उनी धनगढी बसे । अनि काठमाडौं फर्किए । त्यसपछि साझाको जागिर पनि छोडे मदनदासले । 

नाटकप्रतिको अथाह रुचीले उनलाई फेरि रेडियो नेपालतिर डोर्यायो । केही समयपछि उनले करारमा जागिर पाए रेडियोमा । 

त्यसैबेला उनी स्थायी जागिरे भए कृषि सूचना शाखामा । जेटीए र बूढी आमैको ‘हरिशरणम्’ थेगोसहितको त्यो रेडियो कृषि नाटकमा उनले जेटीको भूमिका गर्दैैगए । 

यता रेडियो नेपाल पनि समितिमा परिणत भयो । मदनदास कृषि सूचनाबाट अधिकृत भएर रेडियो नेपालमा आए । स्थायी जागिरे भएका थिए उनी । त्यसपछि उनले लामो समय रेडियो नेपालमा जागिर खाए । उद्घोषण गरे । नाटकमा अभिनय गरे । नाटक निर्देशन गरे । 

मदनदासका अनुसार नाटकको जिम्मेवारी लिएर बस्दा उनले नाटक लेखकलाई हजार रुपैयाँसम्म पारिश्रमिक दिने व्यवस्था मिलाए । नाटक खेल्नेलाई मिनेटका हिसाबले होइन कि तीन सय, चार सय र पाँच सय रुपैयाँसम्म पारिश्रमिक दिने व्यवस्था मिलाए । 

यद्यपि, रेडियो नाटक गाह्रो थियो । जटिल कर्म थियो । तर पनि उनको जिम्मामा नाटक विभाग आएपछि उनले रेडियो नाटकलाई परिवर्तन गर्दै लगे । ओरिजनिल इफेक्ट दिनका लागि विभिन्न प्रोपर्टीको व्यवस्था पनि स्टुडियोमा नै गरे । 

मदनदास भन्छन्, “आश्चर्य ! आज पनि रेडियो नाटक लेख्ने मानिस छैनन् । यो ठूलो समस्या हो जुन समस्या आज पनि यथावत् छ । रेडियोमा श्रव्यमा सम्वाद भन्नुपर्छ । सायद त्यसैले पनि होला, रेडियो नाटकको अभाव आज पनि जस्ताको त्यस्तै छ ।”
दोलखा बजार हो मदनदासको जन्मथलो । त्यतिखेर दोलखा दुर्गम ठाउँमै गनिन्थ्यो । पूर्व २ नम्बर भनिन्थ्यो दोलखालाई । 

दोलखा सदरमुकामबाट ५–६ किलोमिटर परको ऐतिहासिक बजार अभयपुरमा नै उनको बाल्यकाल र किशोरकाल बित्योे । अभयपुरलाई अहिले दोलखाबजार नै भनिन्छ, जहाँ प्रशिद्ध भीमेश्वरको मन्दिर छ । 

वरिपरि पहाडी क्षेत्रका बीचमा बसेको दोलखा बजार । केही पर कालिञ्चोक भगवतीको मन्दिर । त्यहाँबाट देखिने गौरीशंकर हिमाल । दोलखाको बयान गरेरै सकिन्न, भन्छन् मदनदास ।

नेवारहरूको बाहुल्य थियो उनको गाउँमा । नेवार समुदायका सम्पूर्ण सांस्कृतिक चाडपर्व, रिती रिवाज त्यहाँ मनाइन्थ्यो । दोलखाबजार सांस्कृतिक रुपमा एकदमै धनी ठाउँ भएको उनको भनाइ छ । दोलखामा रहँदा मनोरञ्जनका लागि यस्तै सांस्कृतिक पर्व तथा कार्यक्रममा भाग लिनुका साथै गाईगोठ गर्दै पनि उनको समय बित्थ्यो ।

मदनदासका अनुसार अभयपुरमा डबली पनि थियो जहाँ परम्परागत नाटक मञ्चन हुन्थ्यो । त्यहाँ नाट्यश्वरीको मूर्ती नै स्थापित गरिएको थियो । 

इन्द्रजात्रा, गाइजात्रा मात्रै होइन कुमारी जात्रा र मछिन्द्रनाथको रथ तान्ने जात्रा पनि हुन्थ्यो । एकदम रोमाञ्चक जात्रा हुनेगरेको सम्झना उनलाई आज पनि छ । मछिन्द्रनाथको रथ दोलखाबजार भरि घुमाइन्थ्यो । लाखे नाच नाचिन्थ्यो । त्यही रङ्गमा उनी रङ्गिएका थिए ।

मदनदासका अनुसार उनका पूर्खा दोलखाकै रैथाने हुन् । उनका पूर्खा काठमाडौंबाट गएका होइनन् । 

मदनदास आफ्नो जन्मथलोका विषयमा बताउँछन्, “मैले पनि सुनेको हुँ विज्ञहरूबाट, दोलखा पहिलेदेखि नै स्वतन्त्र राज्य थियो । त्यहाँ इन्द्रसिंह देव नामका राजाले राज्य गरेका थिए । मेरा बाका अनुसार हाम्रा पुर्खा पनि त्यसैबेलादेखि नै त्यहीँ बस्दै आएका हुन् ।”

मदनदासका अनुसार नेपालमा पहिलो पटक चाँदीको सिक्का निस्केको पनि अभयपुरबाटै भन्ने उनले सुनेका हुन् । त्यो सिक्का म्युजियममा रहेको छ ।

त्यही अभयपुर अर्थात् दोलखा बजारमा उनको बाल्यकाल बित्यो । स्कूल त्यहीँ पढे । उनले दोलखाकै स्कूलबाट एसएलसी पास गरे । 

उनका पिताजी नारायण दास श्रेष्ठ सरकारी जागिरे थिए । पिताजीको जागिर काठमाडौंमा थियो । त्यसैले केही समय उनले काठमाडौंको स्कूलमा पनि पढे । तर एसएलसी दोलखाबाटै दिए । 

खासमा उनको ध्यान पढाइमा भन्दा सांस्कृतिक कार्यक्रम र नाटकमा बढी हुन्थ्यो । त्यसैले उनले पढाइमा त्यति ध्यान दिएनन् । काठमाडौंमा रहँदा पनि उनको ध्यान नाटकमै बढी हुन्थ्यो । यहाँ उनले नाटक गर्ने साथीहरू पनि बनाइसकेका थिए । 

दोलखाबाट बेलाबेलामा काठमाडौं आउँथे उनी । दोलखाबाट काठमाडौं आउँदा सात दिन लाग्ने गरेको उनी आज पनि सम्झिन्छन् ।

मदनदास भन्छन्, “महिना दिनदेखि नै काठमाडौं आउने तयारी हुन्थ्यो । पाँच सात जना भरिया हुन्थे । कसैले भाँडा र रासन बोकेका हुन्थे । कसैले ओढने ओछ्याउने बोकेका हुन्थे । काठमाडौंबाट फर्किँदा किनमेल गरेर फर्किँदा पनि सामान बोक्नु पर्छ भनेरै थप एक दुई जना भरिया लिएर हिँड्ने चलन थियो ।”

भरियाको लामसँगै लगाएर हिँड्थे मदनदास र उनका परिवारका अन्य सदस्य । काठमाडौंलाई नेपाल भनिन्थ्यो । उनीहरू पनि नेपाल नै भन्थे । 

हिँड्दै आउँदा पाँचखाल आइसके पछि सहर पसेको भान हुन्थ्यो मदनदासलाई । पाँचखालमा केही इँटाका घर थिए । धुलिखेल र बनेपा छिरेपछि त ठूलो सहर छिरेको नै महसुस हुन्थ्यो ।

पाँचखालबाट धुलिखेल र बनेपा पुग्थे । बनेपामा साइकल चढेको देख्दा पनि आश्चर्य लाग्थ्यो उनलाई । यस्तो पनि हुन्छ र ? भन्ने लाग्थ्यो । 

त्यतिबेला भक्तपुरबाट काठमाडौं आउन लहरी चल्थ्यो । भोँपू बजाउने लहरी चढेर उनीहरू रानीपोखरीको छेउमा आइपुग्थे । 

अभिनेता मदनदासका अनुसार उतिबेला काठमाडौं ओर्लदा स्वर्ग आइपुगेको अनुभूत हुन्थ्यो । 
मनोरञ्जनको साधन अरु केही थिएन । त्यसबेला सांस्कृतिक पर्वका बेला गाउँका युवाहरू र मदनदासका मामाहरू पनि नाटक र सांस्कृतिक कार्यक्रम गर्न हौसिन्थे । यसरी नै उनले आफ्ना अग्रज तथा मामाहरूबाट उनले यो कर्म सिक्दै गए । 

दशैँ तिहार वा चाड पर्वका बेलामा पनि नाटक मञ्चन गर्ने चलन थियो । परम्परागत डवली पनि थिए । खाट वा फलेक राखेर मञ्च पनि बनाइन्थ्यो । 

नाटेश्वर बक्साउने भनेर पहिलो दिन नाटेश्वरका अगाडि नै नाटक हुन्थ्यो । यसरी नाट्यकर्मप्रति आकर्षित भएका मदनदास श्रेष्ठको समय यस्तै काममा भाग लिँदै बित्यो । 

घरमा बुबा आमाले त्यता नलाग्न भने पनि उनले यो क्षेत्र छोडेनन् । उनको मन यसैमा बसेको थियो । लत नै लागेको थियो नाट्यकर्मको ।

काठमाडौंमा उनको संगत केही नाट्यकर्मीहरूसँग हुन गयो । घरमा पिताजी र आमाले केही भने पनि उनको नाटकका साथी संगाती छुटेनन् ।

काठमाडौंमा आउदा उनका दौतरी थिए वसन्त श्रेष्ठ, राधेश्याम, नरेन्द्र श्रेष्ठहरु मेरा साथी थिए । यिनीहरुसित मिलेर मदनदासले नाटक गर्न थाले । 

त्यसबेला काठमाडौंमा टोलटोलमा नाटक देखाउने चलन थियो । वसन्तपुर भन्दा परको ढोकाटोलमा उनका पिताजीको डेरा थियो । उनी पनि त्यस क्षेत्रमा हुने नाटकमा भाग लिन थाले । 

मदनदासको अनुहारमा मुस्कान फैलियो । भने, “बुवा आमाले गाली गर्नु हुन्थ्यो । अरुले पनि गाली गर्न बाँकी राख्थेनन् । सामाजिक प्रतिष्ठा अलिकति पनि थिएन । बा आमालाई मानिसले सुनाउथेँ नौटंकी गछ मदनले भनेर । बा आमालाई पीर त हुने नै भयो । तर पनि मेरो यतातिरको लगाव कम भएन ।”

मदनदास कहिलेकाहीँ राती साथीहरू कहाँ नै सुत्थे । सात आठ बजे ढोका लाग्थ्यो घरबेटी घरको । कहिले काहीँ उनी आर्मीमा कार्यरत साथी अभिनेता जीतेन्द्र महत अभिलाषीसँगै उनको ब्यारेकमा गएर सुत्थे । त्यही खान्थे । अभिलाषी आर्मीमा जागिरे थिए । 

उनका अनुसार कहिलेकाँही महिना दिनसम्म पनि उनी घर जान्थेनन् । नाटककै रमाइलोमा रमाइरहन्थे । उता पिताजीको चाहना थियो छोराले पढोस् र सरकारी जागीर खाओस । तर उनी आफ्नो धुनमा लागेका थिए । अर्थात् धुनका पक्का थिए मदनदास ।

पैसा नआए पनि बुवाको लज र आमाको होटल थियो । त्यस बाहेक साथीहरूको बलियो साथ थियो । त्यसैले उनी नाटक गर्दै नाटकमा निथ्रुक्क भिज्दै गएका थिए ।

०००

तिनताक क्षेत्रपाटीमा नेपाल कला केन्द्र नामको संस्था थियो । जसका अध्यक्ष थिए कृष्णप्रसाद रिमाल । हरिप्रसाद रिमालका दाजु । उनले नाटक गर्दै थिए ‘गहना’ । त्यो नाटकमा मदनदासले काम पाए । छ–सात महिना रिहर्सल भयो ।

नाटकको व्यवहारिक ज्ञान आफूले कृष्णप्रसाद रिमालबाटै पाएको मदन बताउँछन् । रिमालबाट प्राप्त त्यही ज्ञानले आफूलाई पछिसम्मै काम दिएको उनी भन्न हिच्किचाउँदैनन् । यो नाटक २०२१–०२२ साल तिर गरेका हुन उनले । नाचघरमा मञ्चन गरिएको यस नाटकमा यदुकुमारी, राम केसी, तारा सेढाईहरूले अभिनय गरेका थिए ।

त्यसबेला नाट्यकर्ममा बालकृष्ण समको नाम उच्च थियो । नाट्य क्षेत्रका सर्वेसर्वा मानिन्थे उनी । तर समजीसँग उनको सम्पर्क थिएन । पछि तत्कालिन राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिर खाएपछि मात्रै उनको सम्पर्क समजीसँग भएको मदनदास बताउँछन् ।

उनले २०२७ सालमा प्रज्ञा प्रतिष्ठानमा जागिर खाए । त्यहाँ रहँदा नै उनले केही समय समजीका साथ समय बिताउन पाएका हुन् । समजी उपकुलपति थिए प्रज्ञामा । त्यसअघि मदनदासले कृष्णप्रसाद रिमाल, श्यामदास वैष्णव र हरिप्रसाद रिमालहरूको निर्देशित नाटकमा अभिनय गरेका थिए ।  

श्यामदास वैष्णवसँग उनको सम्पर्क राम्रो रह्यो । मदनदासले पनि अभिनय गर्दैगरेको एउटा नाटक हेर्न आएका थिए वैष्णव र जीतेन्द्र महत । नाटक सकिएपछि श्यामदास र जीतेन्द्र स्टेजमा आए र मदनदासलाई भेटेर ‘तपाईंको आवाज राम्रो रहेछ । रेडियोमा सुट हुन्छ । रेडियो नाटक खेल्न आउनुस्’ भने ।

उनले पनि मौका पाएका थिए । छोड्ने कुरो भएन । त्यसपछि उनले रेडियो नाटक खेल्न सुरु गरे । जहाँबाट उनले पैसा पनि पाउन थाले । नाटक गरेर पनि पैसा पाइन्छ भन्ने सोचेर उनी आश्चर्यचकित भएका थिए, त्यसबेला ।

रेडियो नाटकमा काम गर्दा मदनदासले मिनेटको ३ रुपैयाँ पाउँथे । दुई मिनेटभन्दा कम कहिले पनि बोलेनन् । धार्मिक नाटकमा भने उनको भूमिका लामो हुन्थ्यो । त्यसमा पैसा पनि राम्रै पाउँथे ।

मदनदासले एउटा प्रसंग सुनाए । रेडियोमा नाटक गर्न थाले पछि हातमा पैसा आउन थाल्यो । नाटक गर्दै जाँदा धेरै नाटकमा काम गर्दै गए । त्यसैले कहिले काँही उनले ४५–५० रुपैयाँसम्म पनि पाउन थालेका थिए ।
मदनदासका अनुसार त्यो बेलामा पनि रेडियो नेपालका लेखापालले घोटाला गर्थे । पैसाको खाँचो हुन्थ्यो । ४५ रुपैयाँ आउँछ भनेपछि पैसा लिन जान्थे । तर लेखापालले आफूसँग ४० रुपैयाँ मात्रै भएको स्वाङ पार्थे । 

मदनदास भन्छन्, “आफूलाई पैसाको खाँचो हुन्थ्यो । अनि ५ रुपैयाँ पछि मिलाउँला भनेर ४० रुपैयाँ लिएर हिँडिन्थ्यो । त्यो ५ रुपैयाँ तिनले नै चप पार्थे ! दिन्थेनन् । बानी खराब थियो तिनीहरूको । जोसँग पनि तिनले यस्तै व्यवहार गर्थे । ५५ रुपैयाँ छ भने ए पाँच रुपैयाँ त छैन भनेर फर्काइदिन्थे । एक सय रुपैयाँ भन्दा माथि मात्रै चेक काट्थे । त्यो भन्दा तलको रकम पेटी क्यासबाटै दिन्थे । अनुमान गर्नुस्, कति कमाउँथे ति लेखापालले त्यो समयमा ?”

तर जसोतसो उनको खर्च चल्दै गएको थियो । उनको स्वर अभिनय मनपराइएको थियो । सामाजिक नाटक मात्रै होइन धार्मिक नाटकमा पनि उनको वर्चस्व बढ्दै गयो । 

०००

त्यसबेला प्रविधिमा कमजोर थियो रंगमञ्च । दर्शकले आवाज प्रष्ट सुन्थेनन् । आवाज आएन भनेर दर्शक कराउँथे । यसले गर्दा अभिनय बिग्रिन्थ्यो । मुभमेन्ट बिग्रिन्थ्यो ।

एक पटक श्यामदास वैष्णवले भरखर सुरु भएको नयाँ प्रविधिको प्रयोग नाटकमा गर्ने सुनाए । त्यसबेला नाचघरमा स्पूलमा रेकर्ड बजाउने प्रविधि जडान गरिएको थियो । र स्पूलमै रेकर्ड गर्ने चलन पनि सुरु भएको थियो । 

श्यामदास वैष्णवले पुरा नाटकको सम्वाद रेकर्ड गर्ने भनेर पूरा नाटक इफेक्टसहित निक्कै दिन लगाएर रेकर्ड गरियो । त्यो नाटक थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कृषिबाला’ ।

हरेक दिन नाटकको रेकर्ड गरिएको स्पूल बजाउन सुरु हुन्थ्यो । दुईवटा स्पूल थियो । एउटा मध्यान्तर अगाडिको । एउटा मध्यान्तर पछाडिको । नाटक सकिएपछि स्पूललाई ‘रिवाइन्ड’ गरेर अर्को दिनका लागि तयारी अवस्थामा राखिन्थ्यो । 

तत्कालिन महिला संगठनको आयोजनामा उक्त नाटक मञ्चन हुँदैथियो । महिला संगठनकी अध्यक्ष थिइन् अंगुरबाबा जोशी । नाटक सुरु भएपछि कलाकारहरू स्टेजमा जान्थे । मुख चलाउँथे । अनुहारको भाव प्रस्तुत गर्थे । सम्बाद र इफेक्ट भने स्पूलबाटै बज्थ्यो । 

यो प्रसंग सुनाउँदै गर्दा मदनदास मज्जैले हाँसे । उनले सम्झिए त्यो पुरानो दिन । भने, “एक दिन नाटक सुरु भयो । मध्यान्तरसम्म नाटक राम्रैसँग चल्यो । मध्यान्तर पछि भने सम्बाद नबजेर ह्वाङ ह्वाङ ह्वाङ ह्वाङ आवाज मात्रै आउन थाल्यो । अब के गर्नेगर्ने भयो स्टेजका कलाकारहरूलाई । पछि मात्रै थाहा भयो, अघिल्लो दिन त्यो मध्यान्तर पछि बजाउने स्पूल रिवाइन्ड नै गरिएको रहेनछ ।”

त्यो देखेर दर्शक कराउनु स्वाभाविक थियो । तर स्टेजमा अंगुरबाबा जोशी आएर सबैलाई प्राविधिक गडबडी भएको जानकारी दिँदै त्यही टिकटमा अर्को दिन नाटक हेर्न आउनुस भनेर पठाइन् । मदनदासले अर्को एउटा रोचक प्रसंग पनि सुनाए । त्यो नाटकमा जुन कलाकार आए पनि अभिनय गर्न सक्थे । किनभने सम्वाद स्पूलबाट बज्थ्यो । कलाकार नआएर नाटक रोकिन्थेन । 

मदनदासका अनुसार एक दिन एक जना कलाकार आएनन् । अर्का कलाकार स्टेजमा ओर्लिए । तर तारतम्य मिलेन । साउण्ड इफेक्ट हुक्का तानेको गुडगुडगुडगुड बज्थ्यो । उता हुक्काको नली कलाकारको मुखमा पुगेकै हुन्थेन । हुक्काको नली मुखमा कलाकारले च्याप्थे । स्पूलबाट सम्बाद बज्थ्यो, ‘के छ ए कान्छा ?’ 

यसै कारण पनि यो नाटक गर्न निक्कै गाह्रो भएको उनी बताउँछन् । पछि वैष्णवले स्टेजमा यसरी नाटक नगर्ने भने । 

मदनदासका अनुसार श्यामदास वैष्णव सिर्जनशील नाट्यकर्मी र साहित्यकार थिए । रेडियो नाटकमा श्यामदास वैष्णवले नयाँनयाँ तरिकाले इफेक्ट सिर्जना गर्ने गरेको उनी आज पनि सम्झिन्छन् । मदनदास भन्छन्, “मैले रेडियो नाटकका कतिपय अति आवश्यक तत्व श्यामदास वैष्णवजीबाटै सिकेँ । त्यसले मलाई रेडियोमा नाटक निर्देशन गर्न धेरै सजिलो भयो ।”

०००

अनेक रमाइला घटना घटेका छन्, मदनदासको नाट्य जीवनमा । श्यामदास वैष्णवको एउटा नाटकमा उनी मरेको दृश्य थियो । उनलाई मर्ने बेलामा स्टेजको बीचमा ल्याएर राखियो । उनले पानी पानी भने । उनकी पत्नीको भूमिकामा रहेकी शकुन्तला गुरुङ (शर्मा) पानी लिन भित्र गइन् । शकुन्तलाले अम्खोरामा पानी लिएर फर्किँदा उनी मरिसकेका हुन्थे । त्यो देखेर शकुन्तलाले चिच्याएर अम्खोरा फ्याँक्ने र छाँद हालेर रुनुपर्ने दृश्य थियो ।

एक दिन अम्खोरा फ्याँक्दा के मिलेन, त्यो अम्खोरा मरिसकेको अभिनय गरिरहेका मदनदासको टाउकोमा जोडले बजारियो । मदनदासलाई मरणान्त हुनेगरी दुख्यो । तर मरिसकेको अभिनय गरिरहेका उनले हलचल गर्ने कुरो भएन । 

मदनदास हाँस्दै भन्छन्, “मलाई लाग्यो मेरो टाउकोबाट रगत बगिरहेको छ । रगत बगेरै म मर्छु । मैले शकुन्तलालाई बिस्तारै भनेँ ‘मेरो टाउकोबाट रगत बगेको हो कि क्याहो’ भनेर । तर उनी अभिनयमा लिप्त थिइन् । मलाई भने कति बेला पर्दा बन्द होला भन्ने भयो । पर्दा लाग्नासाथ मैले जुरुक्क उठेर निधार छामे । टुटुल्को मात्रै रहेछ । रगत भनेको त अम्खोराको पानी बगेको रहेछ ।” यो घटना उनको जीवनको अविस्मरणीय घटना बन्यो ।

नेपाली चलचित्र ‘के घर के डेरा’बाट फिल्मी अभिनयमा प्रवेश गरेका भर्सटाइल अभिनेता मदनदास श्रेष्ठ आज पनि स्टेजमा नाटक गर्न पाए गर्छु भन्छन् । 
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC