site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 जसले नेपाली साहित्यलाई महोत्सव बनाए
Ghorahi CementGhorahi Cement

अक्षर काका


सन् २००५ तिर अजित बराल काठमाडौं आए । काठमाडौं दुई चिजले डोर्‍याएर ल्याएको थियो अजितलाई । पहिलो, उनी स्नातकोत्तर गर्न चाहन्थे । दोस्रो, पठनमा अभिरुचि जगाउनु थियो ।

पुस्तक ज्ञानको भोक मेटाउने माध्यम त छँदै थियो । देश, काल र परिस्थिति चिनाउन पनि मद्दत पुर्‍याउँथ्यो । त्योभन्दा बढ्ता विचार निर्माणमा सहायकसिद्ध हुन्थ्यो । अजित काठमाडौं आएकै साल कीर्तिपुरमा भर्ना भए । मन मिल्ने ११–१२ जना सहपाठीको समूह निर्माण गरे । त्यसलाई ‘विचार शिविर’को उपमा दिए । अजित, पुष्प आचार्य, विकास ढकाल, नेत्र आचार्य, सुरेश रानाभाट, जगदीश पराजुली, मुरारि पराजुलीलगायत त्यसका सदस्य थिए ।

Agni Group

अजित अङ्ग्रेजी साहित्यका विद्यार्थी थिएनन् । तर अङ्ग्रेजी साहित्यप्रति उनको विशेष लगाव थियो ।

तिनताका काठमाडौं पठनको केन्द्र त थियो । तर पठन–संस्कृतिको भने विकास भइसकेको थिएन । किताब पढ्ने र त्यस आधारमा विचार–विमर्श, विचार–मन्थन, चिन्तन–मनन् गर्ने समूहहरू ज्यादै न्यून थिए । ‘विचार शिविर’ले अभाव पूर्ति गर्न थाल्यो ।

Global Ime bank

अजितहरू हरेक दिन साँझ बेलुका फरक–फरक ठाउँमा भेट्थे । अनामनगरका क्याफे, सहरी भीडभाडबाट परका एकान्त ठाउँहरूलाई छलफलस्थल बनाउँथे । आफूले पढिरहेको किताब र त्यस दिन पत्रपत्रिकामा छापिएका आलेख, विचारलाई छलफलको विषय बनाउँथे । साताको एकदिन हरेकको बोल्ने पालो पथ्र्यो । त्यसले पठनको दायरा फराकिलो मात्रै बनाएन, पढ्ने बानी र शैली, शिल्प पनि खार्दै लग्यो ।

“पुस्तक, आलेखमात्रै पढ्दैनथ्यौं, समालोचना पनि गथ्र्यौं,” अजित ‘विचार शिविर’ सुरू गर्दाका प्रारम्भिक दिन सम्झन्छन् । ‘विचार शिविर’मा हुने पुस्तक मन्थन र विमर्शले उनीहरूको आलोचनात्मक चेतलाई अझ उजिल्याउँदै लग्यो ।

अजितका केही सहपाठी, समवयी थिए– उनीहरूका लागि पुस्तक भनेको निकै बोझिल कुरा हो, निरश कुरा हो । पढ्न भनेपछि पन्छिनेहरूलाई पनि विचार समूहले पठनतिर आकर्षित गर्‍यो ।

‘रिडिङ क्यान बि फन’ उनीहरूले नारा नै तय गरेका थिए । अर्थात्, पठन रमाइलो पनि बन्न सक्छ ! नभन्दै विचार शिविरले पठनप्रति आकर्षित पैदा गर्‍यो । पुस्तक भनेपछि परपर हुनेहरूलाई पनि पठनतिर डोर्‍याउँदै लग्यो ।

स्नातकोत्तर तह पढुञ्जेल ‘विचार शिविर’ले पनि निरन्तरता पायो । पुस्तक–मन्थनको क्रम टुटेन । स्नातकोत्तर तह पूरा गरेपछि विचार शिविर तितरवितर भयो । सदस्यहरू लाखापाखा लागे पनि अजितको पठन संस्कृति प्रवद्र्धन गर्ने भोक तितरवितर भएको थिएन । बरु झाँगिदो थियो । अनेक सोच र सपनाका रूपमा हाँगाबिगा पलाएका थिए ।

पठन संस्कृतिलाई नयाँ शिरा र आयामबाट अघि बढाउन अजितले बुक क्लबको अवधारणा ल्याए । सन् २००७ को सुरूआतबाट । अघिल्लो समूह लाखापाखा लागिसकेकाले साप्ताहिकरूपमा पुस्तक–मन्थन सम्भव भएन । बालुवाटारमा रहेको ‘रुम टु रिड’को सहकार्यमा मासिक रूपमा विचार–मन्थन गर्ने चाँजोपाँजो मिलाए ।

“विचार शिविर १०–११ जनामा सीमित थियो । बुक क्लबको दायरा अलि फराकिलो भयो । सदस्य सङ्ख्यामा पनि बढोत्तरी आयो,” ‘बुक क्लब’ सुरू गर्दाको क्षण सम्झन्छन् अजित । ‘बुक क्लब’मा झण्डै ५० जना सदस्य हुँदा हुन् ।

साहित्यिक उत्सवको तृष्णा
अन्तरराष्ट्रिय साहित्य बजार अजितको रुचि र खोजी दुवै थियो । अन्तरराष्ट्रिय साहित्यको आयामिक परिवर्तन त्यसको प्रभावबारे पनि अजितले चासो बढाएका थिए । तिनताक दक्षिण एसियाका विभिन्न देशमा साहित्यिक बजार विस्तारित हुँदै थियो । साहित्यिक जमघटहरू उत्सव–महोत्सवमा परिणत हुँदै थिए । नेपालमा पनि त्यस्तै जमघटको खाँचो महसुस गरेका थिए उनले ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले बेलाबखत साहित्यिक गोष्ठीको आयोजना गथ्र्यो । तर त्यसले नेपाली साहित्यको बजार विस्तार र विकासमा खासै टेवा पुर्‍याएको भान हुँदैनथ्यो । लेखक र लेखनीमा प्रज्ञाको प्रभाव न्यूनमात्रै थियो ।

तर छिमेकी देश भारतमा हुने त्यसखाले साहित्यिक जमघट–उत्सव–महोत्सव फलदायी हुन्थे । लेखकले पाठकसित सीधा संवाद गर्न पाउँथे । लेखक र पाठकको वृद्धि–विकासमा टेवा पुर्‍याउँथ्यो । पत्रपत्रिकामा पढेर यी कुरामा अवगत थिए अजित ।

सन् २००९ को जयपुर लिटरेचर फेस्टिभलमा सहभागी भएका थिए अजित । सन् २००६ बाट सुरू भएको जयपुर लिटरेचर फेस्टिभलको त्यो तेस्रो संस्करण थियो । झण्डै १२ हजार पाठक/स्रोता सहभागी भएको अनुमान गरिएको जयपुर लिटरेचर फेस्टिभलमा १ सय ४० लेखक÷वक्ता सहभागी थिए । तिनताक नेपालबाट अजितका अतिरिक्त निरज भारी, लेखक बुद्धिसागर र सन्तोष आचार्य सहभागी भएका थिए ।

भारतीय उम्दा साहित्यकारहरूको अपूर्व जमघट थियो त्यहाँ । गुलजार, जावेद अख्तर, शशि थरुर, विक्रम सेठ, तरुण तेजपालजस्ता प्रतिष्ठित साहित्यकारहरू शिशिरको स्याँठमा पहारिलो घाम तापेर पाठकसँगको साक्षात्कार/संवादमा थिए ।
नसोचेको साहित्यक माहोल थियो । नेपाल लिटरेचर फेस्टिभल सुरू गर्दाको क्षण पुलकित हुँदै सुनाउँछन् अजित, “वास्तवमा त्यही साहित्यिक माहोलले नेपालमा साहित्यिक जमघटको आवश्यकता महसुस गरायो ।” 

दुईवर्ष लाग्यो नेपाल लिटरेचर फेस्टिभल सुरु गर्न ।

सन् २०११ नेपाल लिटरेचर फेस्टिभलको पहिलो संस्करण आयोजना भयो । अनुभव र आयोजनाका हिसाबले अजितहरू‘काँचा’ थिए । 

बुक क्लबको माध्यमबाट विचार–विमर्श–मन्थन त गर्दै आएका थिए । तर विविध विधाका सर्जकसँग भिन्नभिन्न विषयवस्तुमाथि त्यसप्रकारको अन्तक्र्रिया उनीहरूका लागि नितान्त नौलो थियो ।

“साहित्यक महोत्सव आयोजना गर्न के–के स्रोत–साधन चाहिन्छ ? कसरी जुगाड गर्ने कल्पना बाहिरको कुरा थियो,” त्यतिबेलाको क्षण सम्झन्छन् । ‘त आँट म पुर्‍याउँछु,’ भन्ने प्रचलित आहानको चरितार्थ त्यहाँ पनि भयो ।

कार्यक्रमको प्रारूप, ढाँचा, शैली, उद्देश्यादि समेटिएको प्रस्तावना तयार पारेर दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई बुझाए । एनसेल राजी भयो । जन्मियो नेपाल लिटरेचर फेस्टिभल ।

पहिलो संस्करण सन् २०११ को अगस्ट १८ देखि २१ सम्म आयोजना गरिएको थियो । सहभागीको आँकलन समेत नगरी मोक्षको हललाई नै उत्सवस्थल बनाएका थिए । अन्दाजी डेढ सयजनासम्म अट्ने थलो हुँदो हो ।

सहभागी, स्रोताहरू उल्लेख्य उपस्थित भए । हलबाहिर पनि सहभागीको खचाखच भयो । अतिरिक्त ध्वनियन्त्र (साउन्ड सिस्टम)को व्यवस्था गर्नुपर्‍यो । पहिलो संस्करण दोस्रो उत्सवको ऊर्जा बन्यो ।

मोक्षबाट सुरू भएको साहित्योत्सव दोस्रो संस्करण पुग्दा नेपाल प्रज्ञा–प्रतिष्ठानको हलसम्म विस्तारित भयो । दोस्रो संस्करण प्रज्ञाकै सहकार्यमा आयोजना गरिएको थियो । उत्सव डबली र भित्र प्रेक्षालय गरी दुई थलोमा बाँडिएको थियो ।
दोस्रो संस्करणसम्म आइपुग्दा लिटरेचर फेस्टिभलको महत्ता विस्तारित त भयो नै, लेखक, लेखन प्रस्फुटन गर्न, बाहिर ल्याउन पनि भूमिका खेल्यो । लेखक–सर्जकले पनि नचिताएको साथ दिए । अजित भन्छन्, “आठौं संस्करणसम्म डोर्‍याउने तागत यही त हो ।”  

साहित्य बजारको विकास–विस्तार
साहित्य–उत्सवले लेखकको छवि निर्माण मात्र नगरी पुस्तकको बजारलाई समेत विस्तार गर्छ । बजारको क्षेत्र बहुआयामिक बन्दै जाँदा साहित्य पनि चेतना, सिर्जनामा मात्रै सीमित रहेन । यो पनि बजारको अङ्ग, हिस्सा बनिसकेको छ । यसखालका साहित्य मेला–उत्सव–महोत्सवले साहित्यिक बजार प्रवद्र्धनमा पनि भूमिका खेल्छ ।

“नेपालको साहित्यिक बजार ठूलो छैन । पुस्तक पढ्ने आदतको पनि विकास भएको पाइँदैन । अझ पुस्तक किनेर पढ्ने बानीको विकास त झन् छैन । अन्य विकासोन्मुख देशको तुलनामा नेपालमा पठन संस्कृति कमजोर छ,” अजित थप्छन्,  “अतः पुस्तकको बजार प्रवद्र्धन गर्न पनि साहित्य उत्सवले टेवा पुर्‍याउँछ ।”

लिटरेचर फेस्टिभलमा बुक फेयर (किताब मेला) पनि चल्ने गर्छ । नयाँ–पुराना पाठकलाई पुस्तक छनोट गर्न मेला प्रभावकारी भएको छ । पुस्तकको पाठक–बजार विस्तार पनि भएको छ ।
लेखकले आफ्नो सीमितता थाहा पाउँछन्

लेखकसँग सीमितता हुन्छन् । साधन–स्रोतका अतिरिक्त विश्व साहित्यसँग साक्षात्कार हुन नपाउँदा उसको लेखन खुम्चँदै गएको छ । अहम् फराकिलो, क्षमता साँघुरो बन्दै छ ।

राम्रो लेखक बन्न राम्रो पाठक हुनु अनिवार्य छ । विश्व साहित्यको दशा र दिशासँग पनि उत्तिकै घुलमिल र परिचित हुनुपर्छ । लेखक÷सर्जकले आफ्नो सीमिततासँगै यस्ता कुरा थाहा पाउन साहित्यिक मेला–उत्सव आवश्यक हुन्छ ।

“यहाँका लेखकहरूको अन्तक्र्रिया विदेशी लेखकसँग हुन्छ । विदेशी लेखकहरूको वाकपटुता, लेखन शिल्प, शैली, बान्की, सोचसँग पनि चिनापर्ची, परिचित गराउँछ,” अजितको अनुभव छ ।

साहित्य उत्सवले प्रयोगधर्मी लेखक जन्माउन र साहित्यमा नवीन र नूतन प्रयोग भित्राउन पनि उत्तिकै सघाउ पुर्‍याउँछ ।
लेखक, उपन्यासकार बुद्धिसागर नै त्यसका उदाहरण हुन् ।

बुद्धिसागर जयपुर लिटरेचर फेस्टिभल जानुपूर्व कमैमात्र विदेशी पुस्तक पढ्थे । यहीँका सर्जक, सिर्जना र समाज अध्ययनको दायरा थियो ।

जयपुर साहित्य उत्सवले विदेशी साहित्य/सर्जकसँग नाता गाँसिदियो । अजित अनुभव सुनाउँदै भन्छन्, “राम्रो लेखक भएर हुँदैन । लेखनको प्रभाव विस्तार गर्न बोल्न पनि उत्तिकै पारङ्गत हुनुपर्छ भनेर बुद्धिसागरले बुझे । अहिले उनी विदेशी साहित्यको राम्रो पाठक भएका छन् । विदेशी साहित्यप्रति उनको रुझान बढेर गएको छ । अन्तर्राष्ट्रिय साहित्य विचरण गर्न थालेका छन् ।”

समकालीन लेखनमा बुद्धिसागर बढी पढ्नेमा गिन्ती हुन थालेका छन् । जयपुरसँगै नेपाल लिटरेचर फेस्टिभलको पनि प्रभाव हो यो ।

विकाशोन्मुख देशमा ज्ञानको क्षुधा (भोक) ज्यादा हुन्छ । कारण– ज्ञान नै मुलुक विकासको पहिलो सर्त बन्ने गर्छ । नेपालीसँग पुस्तैनी सम्पत्ति छैन । पुख्र्यौली सम्पत्ति चलाएर, त्यसैका आधारमा व्यापार, व्यवसाय गरौं, आफ्नो वृद्धि–विकास गरौं भन्ने अवस्था छैन । वैयक्तिक विकासका लागि पनि ज्ञान, चिन्तन पूर्वसर्त बनेको छ ।

व्यक्तिमा रहेको ज्ञान प्राप्तिको तृष्णा र लालसा मेटाउने अवसर पनि साहित्य उत्वस बन्ने गर्छ । भन्छन्, “व्यक्तिमा ज्ञानको भोक जगाउने र भोक मेटाउने दुवै थलो हो साहित्य–उत्सव ।”

साहित्य महोत्सव नाम दिए तापनि विशुद्ध साहित्यका बारेमा मात्रै विमर्श हुँदैन । साहित्यइतरबारे पनि चर्चा हुन्छ । राजनीति, अर्थतन्त्र, समाजका अरू पाटाका बारेमा पनि चर्चा हुन्छ । वैदेशिक सम्बन्धका आयामबारे पनि विचार–मन्थन हुन्छ । “समग्रमा नेपाल साहित्य उत्सव डिस्कोर्स निर्माणको थलो पनि हो,” अजित तर्क गर्छन् ।

प्रजातान्त्रिक फोरम
दक्षिण एसियामा मात्र नभई विश्वभर नै सार्वजनिक वृत्त (पब्लिक स्फेयर) खुम्चँदो छ । धराशायी नै बन्दो छ । बोल्ने हक, अधिकार कुण्ठित तुल्याइँदैछ ।

प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित भएका, जनमुखी भनिएका सरकारहरू जनताप्रति नै दिनानुदिन अनुदार बन्दै गएका छन् । उनीहरू जनताका अधिकार कटौती गर्दैछन् । प्रजातान्त्रिक प्रक्रियाबाट सरकारमा आउने र निरङ्कुश बन्दै जाने प्रक्रिया प्रजातन्त्रकै लागि खतरापूर्ण बन्दैछ ।

भारतमै पनि सरकारविरुद्ध बोल्नेलाई ‘अराष्ट्रिय’को दर्जा दिइन्छ । बङ्गलादेशको अवस्था पनि त्यस्तै छ । सरकारविरुद्ध मत राख्ने ‘ब्लगर’ पक्राउ पर्छन् । यातना, ताडना बेहोर्छन् । हाम्रो अवस्था पनि त्यो भन्दा भिन्न छैन ।

बोल्ने नैसर्गिक, संविधानप्रदत्त अधिकार कुण्ठित, सङ्कुचित हुँदै जाँदा साहित्यक उत्सवको मञ्च ज्यादा प्रभावकारी बन्न थालेको छ । नेपालमै पनि पछाडि पारिएका, पिँधमै छाडिएका जाति, वर्ग र समुदाय छन् । विभिन्न कारणले उनीहरूको आवाज मूल प्रवाहसम्म आइपुगेको छैन ।

नेपाल साहित्य–उत्सव त्यस्ता जाति–समुदायको विचार अभिव्यक्तिको माध्यम र मञ्च बनेको छ । विभिन्न जाति, जनजातिका अगुवा, राजनीतिक चिन्तक, लेखक÷सर्जकहरूलाई डिस्कोर्समा निम्त्याएर उनीहरूका दमित र ओझेल परेको आवाज सतहमा ल्याउन थालिएको छ ।

नेपाली साहित्यलाई अन्तरराष्ट्रसँग जोड्ने सेतु
नेपाली लेखकले अङ्ग्रेजीमा साहित्य न्यूनमात्रामा लेखेका छन् । अनुवाद पनि न्यूनमात्रै भएका छन् । भएका पनि स्तरीय भाषा–शिल्पका छैनन् । यसर्थ नेपाली साहित्य विश्वबजारमा प्रविष्ट हुन पाएकै छैन । अन्तरराष्ट्रिय बजारमा नेपाली साहित्यको उपस्थिति छँदैछैन भन्दा हुन्छ ।

मञ्जुश्री थापा, सम्राट उपाध्याय, रवि अधिकारीले नेपाली साहित्यलाई विश्वबजारमा पुर्‍याउन भरमग्दुर प्रयत्न त गरिरहेका छन्, तर उनीहरूको प्रयास, यत्नले मात्रै नेपाली साहित्यको अन्तरराष्ट्रियकरण सम्भव छैन । यसखालका साहित्यिक उत्सव, जमघटले विश्वसाहित्यसम्म जोड्ने सेतुको काम गर्छ ।

नेपाल लिटरेचर फेस्टिभलले बर्सेनि विदेशका ख्यातिप्राप्त र विश्वसाहित्य बजारमा बिक्रीको कीर्तिमान खडा गरेका लेखक निम्त्याउने गरेको छ । यसपटकको मङ्सिर २७ देखि ३० गतेसम्म आयोजना हुने आठौं संस्करणमा पनि भारतीय सुप्रशिद्ध लेखक, राजनीतिज्ञ डा. शशि थरूर, भारतीय गीतकार एवम् कवि जावेद अख्तर, अभिनेत्री सबाना आजमीलगायतलाई बुकवर्म फाउन्डेसनले निम्तो दिएको छ । निम्त्याइएका मध्ये अधिकांशले भिडियो सन्देशसमेत पठाइसकेका छन् ।
फेस्टिभलमा सहभागी भएपछि नेपाली लेखकसँग सम्बन्ध स्थापित हुने र त्यही सम्बन्धले नेपाली लेखकलाई विश्वबजारसम्म डोर्‍याउने विश्वास अजितको छ ।

सन् १९९७ की ‘बुकर प्राइज’ विजेता अरून्धति रोय अजितसँग नियमित संवादमा छिन् । बेलाबखतको बातचितमा अरुन्धतिले अङ्ग्रेजीमा अभिव्यक्त गर्न सक्ने, अनुवाद गर्न सक्ने लेखक भए आफ्नो प्रकाशकको ढोकासम्म पुर्‍याउने आश्वासन दिएकी छन् ।

नेपाल लिटरेचर फेस्टिभलमा यसपटक अर्को आकर्षण पनि छ ।

यो संस्करणको उत्सवमा दक्षिण एसियाली साहित्यकै उत्कृष्ट मानिने डीएससी पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशि २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार छ । दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले आठ वर्षदेखि पुरस्कार वितरण गर्दै आएको छ । सर्टलिस्टमा परेको ६ जनामध्ये सर्वोत्कृष्ट दक्षिण एसियाली लेखक नेपालको मञ्चबाट पुरस्कृत हुनेछन् ।

दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील संस्थाले नेपाल लिटरेचर फेस्टिभललाई पुरस्कार वितरणको मञ्चको रूपमा उभ्याउनु नेपाली साहित्यका लागि गौरव र अर्थपूर्ण छ । 

‘डीएससी पुरस्कारसँगको समन्वय र सहकार्यले अन्तरराष्ट्रिय ख्याति प्राप्त लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञहरूबीच नेपाल लिटरेचर फेस्टिभललाई नै एक तटस्थ दक्षिण एसियाली मञ्चका रूपमा उभ्याउँछ,” अजित अन्तिममा खुसी व्यक्त गर्छन् ।

० ० ०

काठमाडौंबाहिर साहित्य महोत्सव हुनु महत्वपूर्ण
नयनराज पाण्डे
लिटरेचर फेस्टिभलको नयाँ शृङ्खला नजिक आएको छ, यो उत्साहजनक कुरा हो । अर्को उत्साहजनक कुरा के हो भने, केन्द्र भङ्ग भएर यस्ता उत्सवहरु काठमाडौंबाहिर हुन थालेका छन् । 

यस्ता महोत्सवले पठन संस्कृतिको विकासमा महत्वपूर्ण योगदान दिन्छ । विभिन्न अन्तक्र्रियाका माध्यमले लेखक र पाठकलाई एकअर्काको नजिक आउने अवसर प्रदान गर्छ । लेखकको मानसिकता र पाठकको मुड बुझ्न पनि यसले सहयोग गर्छ । एकखालको सिर्जनात्मक माहोल निर्माण हुन्छ र लेख्ने, छाप्ने तथा पढ्ने सबैमा नयाँ ऊर्जा र ताजगीको सञ्चार गर्छ । साहित्यको समग्र उत्थानका लागि अनेक कुराहरु आवश्यक पर्लान् । तर फेस्टिभलले माहोल तयारमा सहयोगी भूमिका निर्वाह गर्ने कुरामा दुईमत नहोला । 

साहित्यकार या पाठकले साहित्यमात्र बुझ्ने होइन, समाज र समाजका मानसिकता पनि बुझ्नुपर्छ । त्यसैले साहित्यइतरका विषयले व्यक्तिलाई बढी चेतनशील, सजग र जागरुक बनाउँछ । यसको फाइदा साहित्य लेख्नेलाई पनि हुन्छ ।

नयाँ लेखकलाई यस्ता फेस्टिभलमा भरपूर मञ्च दिनुपर्छ भन्ने मेरो मान्यता छ । विगत केही वर्षयताका महोत्सवमा आयोजकहरु पनि यस विषयमा सचेत हुन थालेजस्तो देखिन्छ । 

कुनै पनि फेस्टिभल कमजोरीरहित हुँदैनन्, नेपाल लिटरेचर फेस्टिभलका पनि केही होलान् । यसको विश्लेषण आयोजक कमिटीभित्र पनि हुँदो हो । विगतका कमजोरी हटाउँदै गएपछि नयाँ आयोजना झन् भव्य र सार्थक पार्न सकिन्छ भन्ने चेत त आयोजकहरुमा अवश्य नै होला ।

बेलाबेलामा यस्ता महोत्सवमा सहभागी हुँदाको आफ्नो अनुभवको आधारमा भन्नुपर्दा मैले समाज, सिर्जना र चेतनाका अरु पाटाहरुलाई बुझ्ने अवसर पाएको छु । पाठकसित अन्तक्र्रिया गर्न पाएको छु । हरेक सहभागितापश्चात् मैले नयाँ ऊर्जा थपिएको महसुस गरेको छु ।

म सोच्छु, साहित्यको नाममा कर्मकाण्डी विषयहरुमात्र समावशेक नहुन् । समाजलाई प्रभावित गर्ने राजनीति, विचार, व्यवसाय या कलाका अरु आयामहरुमा पनि प्रशस्त चर्चा हुन् । नयाँ प्रतिभाले यथेष्ट सहभागिता जनाउने अवसर पाउन् । 

पछिल्लो समय काठमाडौंबाहिर यस्ता फेस्टिभल हुनु सबैभन्दा महत्वपूर्ण कार्य हो । पोखराका साथै काकरभिट्टामा पनि फेस्टिभल हुन थालेको छ । यसैपटक जनकपुरमा पनि हुने भएको छ । नेपालगञ्जमा पनि भएकै हो । रुकुम, रोल्पामा पनि भैरहेका छन् । यस्ता उत्सवहरु जताततै हुन थालेका देखेको छु, जुन स्वागतयोग्य छ । 

(कुराकानीमा आधारित)


पुस्तक र विचार प्रवद्र्धनका लागि फेस्टिभल उपयुक्त थलो
अर्चना थापा 
आईएमई नेपाल लिटरेचर फेस्टिभलको आठौं संस्करण आगामी २७ देखि ३० मङ्सिरसम्म पोखरामा हुँदैछ । अघिल्ला संस्करणझैं यस वर्ष पनि सयभन्दा बढी स्वदेशी, विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र रोचक सामग्री समावेश हुने आयोजकले जनाएको छ । 

यो फेस्टिभलले निरन्तरता पाइरहँदा पात्रहरु दोहोरिने गरेका छन् । बर्सेनि एउटै लेखकमात्रै होइन सहजकर्ता पनि उनै पात्र हुने गरेका छन् । प्रत्येक वर्ष फरकफरक व्यक्तिलाई समावेश गरेमा फरक विचार आउने सम्भावना हुन्छ । गत वर्षको फेस्टिभलमा केही नयाँ अनुहार देखिएका थिए । अहिले चलिरहेको चलचित्र र शैक्षिक फेस्टिभलमा नयाँ अनुहार देखिएका छन् । जनकपुरमा भएको साहित्य उत्सवमा फरक अनुहार थिए । तर पनि धेरै पात्र दोहोरिरहेको भन्ने प्रश्नको जवाफ आयोजकसँग हुनुपर्छ । म पनि बेलाबेलामा पर्छु । म पनि दोहोरिरहेको हुन्छु । म अरुलाई पनि ठाउँ दिनुपर्छ भन्ने पक्षमा छु । गएको वर्ष महिलाकोे सहभागिता तुलनात्मक रुपमा सन्तोषजनक थियो । 

नयाँ प्रतिभाका लागि पाठक तथा दर्शकसामु पुग्न यस्ता फेस्टिभल सुनौलो अवसर हुन् । त्यसैले नयाँ प्रतिभालाई खोज्नु फेस्टिभलको दायित्व पनि हो । व्यक्तिअनुसारको विचार र प्रतिभा हुन्छ । त्यसैले दर्शक तथा पाठकले पनि नयाँ विचार नै खोजिरहेको हुन्छ । 

सीमान्तकृत समुदायमा पनि बौद्धिक व्यक्ति छन् । आयोजक तथा दर्शकको अपेक्षा पूरा गर्ने तहको बौद्धिकता नभेटिए पनि उनीहरुका अनुभव अमूल्य हुन सक्छन् । त्यसैले उनीहरुका कुरा पनि यस्ता फोरममा समावेश हुनुपर्छ । केन्द्रमा बसिरहेका मान्छे हामीले जे देख्छौं र ठान्छौं त्यो वास्तविकता होइन । त्यसैले उहाँहरुका अनुभव फेस्टिभलका लागि मात्रै नभएर राज्य सत्ताका लागि पनि अचुक हुन सक्छन् ।

आयोजकको सानो कमिटीले गर्ने निर्णय सर्वमान्य र सही नहुन पनि सक्छ, त्यसैले दर्शक तथा पाठकको सुझाव पनि आवश्यक हुन्छ । कुन लेखक, कुन व्यक्तिलाई समावेश गर्ने दर्शक तथा पाठकले आयोजकलाई सुझाव दिनुपर्ने आवश्यकता छ । सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट सुझाव पठाउन सकिहालिन्छ । 

नयाँ प्रतिभाले ठाउँ पाउनुपर्ने मात्रै होइन, प्रतिभा भएका तर उजागर गर्न नपाइरहेका लेखकलाई खोज्नु पनि पर्छ । पत्रपत्रिकामा छापिएका कथा, निबन्ध, कविता तथा समीक्षाका आधारमा नयाँ अनुहार पहिचान गर्न सकिन्छ । बजारमा आएका पाठ्य सामग्रीको अध्ययन अनुभव आयोजकसँग भन्दा दर्शक तथा पाठकमा धेरै हुन्छ । त्यसैले दर्शकले आयोजकलाई घच्घच्याइरहनुपर्छ ।  

लोकतान्त्रिक संस्कारमा दर्शक तथा पाठकको सुझावलाई मनन् गरेर नयाँ व्यक्तिलाई ठाउँ दिन सकिन्छ । तर त्यसरी समावेश भएका व्यक्तिले दर्शक तथा पाठकको अपेक्षा र जिज्ञासालाई मेटाउन सक्छन् कि सक्दैनन्, त्यो भने शङ्काको विषय हो ।

पुस्तक र विचार प्रवद्र्धनका लागि साहित्यिक फेस्टिभल उपयुक्त थलो हुन् । राम्रो लेखेका र लेख्ने सर्जक जो सार्वजनिक हुन सकेका छैनन्, उनीहरुलाई यस्ता कार्यक्रममा दोहिरिइरहेका लेखकलाई हटाएर ठाउँ दिनुपर्छ । बजारले बनाएका र बजार बनाएका लेखकमा मात्रै पठाकको रुचि रहने गरेको यथार्थलाई भने स्वीकार गर्नुपर्छ । बजारले मापदण्ड तयार गरेपछि आयोजकले तिनै लेखकलाई ठाउँ दिन्छन् ।

पछिल्लो समय विषय र प्रस्तुतिमा फरक आयो । लेखक र पुस्तक बढी भए । त्यसको मार स्थापित लेखकलाई पर्छ/परेको छ । साँघुरो बजारमा विविधता बढेसँगै एउटै लेखकका पुस्तक बिक्रीमा कमी आएको छ ।

लोकतान्त्रिक संरचनामा कसैलाई तँ लेख् तँ नलेख् भन्न सकिँदैन । त्यसैले कसले कस्तो लेख्यो ? राम्रो कि नराम्रो ? पाठकले छुट्टाउँछ । अहिले किताब धेरै आइरहेका छन् । पाठकलाई कुन राम्रो र कुन नराम्रो ठम्याउन गाह्रो परिरहेको छ । एउटा किताब किनेको पाठकलाई उसले किनेको किताब राम्रो भएन भने उसलाई अर्को किताब किन्ने रुचि हुँदैन । पठन संस्कृतिमा यसले अबरोध सिर्जना गरेको छ ।

उदाहरणका लागि अचर्ना पछिल्लो समय छ्याप्पछ्याप्ती आइरहेका आत्मबृतान्तलाई लिन्छिन् । सुरुका वर्षमा राम्रा आत्मबृतान्त आए पनि पछिल्ला केही वर्ष यता आएका गुणस्तरहीन पुस्तकले आत्मबृत्तान्तमै पाठकको वितृष्णा पैदा गराएको उनको अनुभव छ । 

महोत्सव गर्न सजिलो छैन । सजिलो भए हरेक प्रकाशन गृहले महोत्सव गर्थे । यद्यपि, ठूलो मेहनत गरेर आयोजना गरेको फेस्टिभलको प्रशंसा गर्दै सकारात्मक आलोचना पनि आवश्यक छ ।

अरु प्रकाशन गृहका लेखकले ठाउँ पाएका छैनन् । समावेशी हुुनुपर्छ भन्ने आवाज उठाउनुपर्छ । यस्ता फेस्टिभललाई रोक्ने हैन प्रोत्साहन गर्दै हामीले नकारात्मक टीकाटिप्पणी मात्रै होइन सकारात्मक आलोचना गर्न पनि सिक्नुपर्छ । सकारात्मक आलोचना र खबरदारीबाट भएका कमीकमजोरीलाई हटाउँदै अगाडि बढ्नुपर्छ ।  

पाठक अब झुक्याएर झुक्किँदैनन् । बाठा भइसके । पहिला लेखकका आफ्ना आफन्तले लेख्ने समीक्षा पढेर राम्रो भनेर किन्दा पाठक ठगिन्थे । अहिले सामाजिक सञ्जालले दर्शक–पाठकलाई सत्यको पहिचान गर्न सहयोग गरेको छ । स्वतन्त्र पाठकले पुस्तकप्रतिको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत् राखेपछि पाठकले पुस्तक किन्नुअघि नै कस्तो कन्टेन्ट छ थाहा पाइसक्छ । अब सामाजिक सञ्जालमा गरिने प्रचार, पत्रपत्रिकामा छापिने विज्ञापन र चिल्ला आकर्षक, मोटा गाताले मात्रै पुस्तक बिक्री हुने समय रहेन । 

(कुराकानीमा आधारित)


साहित्यको वस्तुकरणविरुद्ध बोल्नुपर्छ
सरिता तिवारी
लिटरेचर फेस्टिभललगायत विभिन्न साहित्य महोत्सवमा प्रायः म सहभागी हुने गर्छु । भेटघाट र संवादको लागि त्यस्ता कार्यक्रमहरुमा जान्छु । म लेखक मात्रै होइन, पाठक पनि हुँ । आफूलाई मन परेका वा संवाद गर्न चाहेका कतिपय लेखक भेटिने हुँदा पनि महोत्सवका मौकामा विचार आदान–प्रदान र सम्बन्धको नवीकरण गर्न सकिने भो । लेखक साथीभाइ भेटिन्छन्, समय लिएर आजको लेखनमाथि सिर्जनात्मक गफ गर्न पाइने भो । म अहिलेसम्म तीनवटा शृङ्खलामा सहभागी भएँ । 
नेपालमा हुने र भारत हुने यस्ता महोत्सवबीच मलाई उस्तैउस्तै लाग्छ । तर भारतको जयपुरमा हुने जयपुर लिटरेचर फेस्टिभल भने धेरै नै कर्पोरेटाइज भैसकेको लाग्छ । हाम्रोमा साहित्य महोत्सवभित्र यस्तो बिघ्न बजारवाद पसिसकेजस्तो लाग्दैन । विषय र पात्रलाई समेट्ने कुरामा नेपालमा वैचारिक भिन्नताहरूको ख्याल गरिएको देख्छु । 

भारतको जयपुर साहित्य महोत्सव र अर्को समानान्तर महोत्सवको समेत अनुभवबाट म भन्न सक्छु– यी दुई कार्यक्रममा ठूलो अन्तर छ । सुपरमार्केटको छेउमा नाङ्लो पसल खोलेजस्तो । जयपुर लिटरेचर फेस्टिभलमा लेखनको बहसभन्दा बजारको झकिझकाउ बढी महसुस हुन्छ । त्यहाँ चर्को प्रवेश शुल्क तिरेपछि बल्ल त्यहाँभित्र छिर्न पाइन्छ । समानान्तर साहित्य उत्सव जयपुर लिटरेचर फेस्टिभलका कतिपय प्रवृत्ति र साहित्यमा बजारवादको चर्को हस्तक्षेपविरुद्ध प्रतिक्रिया स्वरुप थालिएको भन्छ आयोजक– प्रलेस राजस्थान । 

समानान्तर महोत्सव निःशुल्क मात्रै होइन सुपथ र सहज पनि छ । तर समानान्तरका पनि आफ्नै दुःख छन् । त्यसमा अङ्ग्रेजी भाषाको दुत्कार अलि अपाच्य लाग्छ । हिन्दी र प्रादेशिक भाषाको सम्मान गर्दा ज्ञानको अर्को भाषालाई पूर्णतया दुराशय र बहिष्कार गर्नु ठीक हो जस्तो लाग्दैन । जेएलएफमा हिन्दी र प्रादेशिक भाषाको अपमान गरियो, अङ्ग्रेजीको मात्रै वर्चस्व भयो भनेर त्यसो गरिएको भन्ने बुझियो । तर यो पनि सही भएको हो भन्ने म मान्दिनँ । 

राजस्थानस्थित वामपन्थी लेखकहरूको सङ्गठन प्रगतिशील लेखक सङ्घले थालेको समानान्तर साहित्य उत्सव एउटा ठूलो सांस्कृतिक सत्तासँग जोरी खोज्ने केही लेखकहरूको भावनात्मक प्रयत्न भने हो । यसलाई निरन्तरता दिन हम्मेहम्मे पर्दैछ ! तथापि, उनीहरूको आँट र व्यवस्थापनलाई म सम्मान गर्छु । 

साहित्य ‘कमोडिटी’ बन्दै गएको र यसमा कर्पोरेटजगत् प्रवेश गरेको कुरा पक्का हो । यो हामीले चाहेर रोकिने पनि होइन ! तर साहित्यको वस्तुकरणविरुद्ध लेख्ने, बोल्ने क्रम रोकिनुहुन्न । झुर ज्ञान र पत्रु किताबको शासन जबर्जस्त छ । चमकधमक र विज्ञापनको, लेखकीय सामथ्र्य र विचारको शक्तिबिनाको ‘सेलिब्रेटी’ बिम्ब बनाउन महोत्सवहरू खुबै लागेका छन् । केही एकैप्रकारका, उनै र उस्तै अनुहारको आवृत्ति पनि महोत्सवका विशेषता हुन् । तर किताब पढ्ने, संवाद गर्नेहरू पनि बढिरहेका छन् । भद्र पाठक कमोडिटीकै कारण विचलित भैहाल्ने हुन्छन् जस्तो लाग्दैन । भीडमाथि कमोडिटीको राम्रै प्रभाव छ, त्यो समयक्रममा थेग्रिँदै जाला ।

(कुराकानीमा आधारित)

तस्बिर सम्बन्धित व्यक्तिको फेसबुकबाट

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६  ०७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC