हिन्दी साहित्यकी चर्चित कवि महादेवी वर्मा र कवि निरालाका बीचमा दिदी–भाइको स्नेहशील सम्बन्ध रहेको सर्वविदित छ । कवि निराला महादेवीका वचनद्वारा निर्वाह गरिएका भाइ थिए । अर्थात् ‘धर्मभाइ’ थिए । उनी रक्षा–बन्धन चाड कहिल्यै पनि बिर्सिंदैनथे ।
महादेवीलाई जब ज्ञानपीठ पुरस्कारद्वारा सम्मानित गरियो, त्यसबेला एक अन्तरवार्तामा उनलाई सोधियो, “तपाईंले पाउनुभएको यो एक लाख रुपैयाँको के गर्नुहुन्छ ?”
उनी भन्न थालिन्, “यतिबेला मैले कुनै महँगो सारी किनेर लगाउने कुरो भएन । न त कुनै शृङ्गारपटार नै गर्न सक्छु ! यो लाख रुपैयाँ यदि पहिले नै पाउँथेँ भने भाइलाई चिकित्सककोमा लगेर उपचार गराउँथेँ । औषधिको अभावमा उनलाई यतिकै जान दिने थिइनँ ।”
यति भन्दाभन्दै उनको आँखा भरिएर आयो । को थिए उनका ती भाइ ? हिन्दी भाषाका युग–प्रवत्र्तक, मनमौजी स्वभावका महाकवि पण्डित सूर्यकान्त त्रिपाठी ‘निराला’ महादेवी वर्माका धर्मभाइ थिए ।
एकपटक रक्षा–बन्धनका दिन कवि निराला बिहानबिहानै आफ्नी मन पर्ने दिदी महादेवीको घरअगाडि पुगेर रिक्सा रोक्न अनुरोध गरे । उनले त्यहीँबाट कराएर भने, “दिदी, बाह्र रुपैयाँ लिएर बाहिर निस्किनुस् त !”
महादेवी पनि तत्कालै पैसा लिएर बाहिर निस्किहालिन् । र, सोधिन्, “किन भाइ, आज एकाबिहानै बाह्र रुपैयाँको आवश्यकता किन आइपर्यो ?”
त्यसो त दिदी (महादेवी वर्मा)लाई थाहा थियो, उनको यो मनमौजी स्वभावको दानवीर भाइ दैनिक रुपमा कसै न कसैलाई केही न केही दान दिएर आउँथे । तर आज त रक्षा–बन्धन हो । आज पनि किन यस्तो ?
कवि निरालाले सरलताका साथ जवाफ दिए, “यो दुई रुपैयाँ त रिक्सावालाका लागि हो । अनि बाँकी रहेको १० रुपैयाँ तपाईंलाई दिनका लागि हो । आज राखी अर्थात् रक्षा–बन्धन हो नि । तपाईंलाई पनि त राखी बाँधेपछि दक्षिणा दिनुपर्ला नि !”
यस्ता रमाइला र मनमौजी स्वभावका थिए कवि निराला र उनकी स्नेहमयी दिदी महादेवी वर्माबीचको सम्बन्ध ।
(हिन्दी साहित्यिक पत्रिका ‘भारत–दर्शन’बाट अनुदित ।)