site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनआरएनए राजनीति सिक्ने कि परिश्रम ?

युरोपदेखि अमेरीका, अस्ट्रेलिया, एसिया अफ्रिकासम्म नेपाली पुगेका सबैजसो देशमा अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी चलिरहेको छ  । देशबाहिर रहेका भनिएका ५० लाखमध्ये केही नेपालीका लागि यो सम्मेलन प्रत्येक दुई वर्षमा लाग्ने कुम्भ मेला नै बन्ने गरेको छ भने कतिलाई यसप्रति कुनै पनि चासो छैन । धेरैले चासो नदिनुका विविध कारणमध्ये एउटा सम्मेलनको नाममा विदेशमा समेत चरम राजनीतिक ध्रुवीकरण हुनु हो । 

नेपालमा जात, क्षेत्र, समुदाय लिंग, वर्गअनुसार टोल पिच्छे बग्रेल्ती संस्था भएजस्तै विदेशमा नेपालीका धेरै संघसंस्था छन् । यस्ता संस्थाका कतिपय गतिविधीले कैयौंपटक नेपालमै भएको महसुस हुन्छ । त्यसको कारण हो – स्वदेशमा जस्तै विदेशमा पनि ती संस्थामा हुने राजनीति, सबैको नेता बन्ने होडबाजी । विश्वका अन्य देशबाट आएका आप्रवासीको भने विदेशमा यति धेरै संघसंस्था बिरलै हुने गर्छ । अर्थात्, उनीहरु जताततै  राजनीति गर्न चाहँदैनन् ।

एनआरएनएको नवौं विश्व सम्मेलनको पूर्व सन्ध्यामा कैयौं देशमा अधिवेशन भएको छ भने  केहीमा हुने त्रलम चलिराखेको छ । दुई वर्षअघि जस्तै अहिले पनि विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय समितिहरुको अधिवेशनमा दलगत समूह र कित्ताकाटबाट नै अधिकांश देशमा नेतृत्व छनोट गरिएको छ । यद्यपि, एनआरएनएलाई विदेशमा बस्ने नेपालीको हितका निम्ति गठन गरिएको गैरराजनीतिक संस्था हो भन्ने गरिन्छ । एनआरएनए विदेशमा रहेका नेपालीलाई साझा मालामा एकत्रित गर्ने संगठन हो भने यति धेरै राजनीति किन चाहिएको हो ? के विदेशमा आएर पनि नेपालीले आपसमा दुःखसुख साटासाट गर्न, सहकार्य, समन्वय गर्न कम्युनिस्ट, कांग्रेस या अन्य कुनै दलको बिल्ला भिर्नु नै पर्ने हो ? के कुनै दलको बिल्ला नभिरेसम्म गैरआवासीय नेपालीको हितमा सक्षम व्यक्तिले नेतृत्व गर्न नपाउने हो ? 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका राजनीतिक दलको आस्था र विचारका आधारमा कित्ताकाट गरेर विदेशमा नेपालीले सम्मानजनक र सहज जीवन यापन गर्न सक्छन् ? नत्र किन आफनै देशमा असफल भइरहेको राजनीतिक अभ्यासलाई विदेशमा पनि भित्र्याउन तम्सेका हुन् नेपालीहरु ? समृद्ध र समुन्नत देशमा आए पनि नेपालीले सिकेको संस्कार यही हो ? के यी देशमा पनि नेपालमा जस्तै सबै क्षेत्रमा चरम राजनीतिकरण छ ? के युरोप अमेरिकाका नागरिक हाम्रो नेपालमा जस्तै विद्यालय व्यवस्थापन समितिदेखि टोल विकास र सडक निर्माणका समिति बनाउने र ठेक्का दिने काम पनि राजनीतिक आस्थाको आधारमा गर्छन् ? पक्कै गर्दैनन् । उनीहरु व्यवस्था, पद्धति र नीतिमा विश्वास गर्छन् । 
प्रश्न उठ्छ उसो भए खै त विदेशलाई कर्म भूमि बनाएर बसेका नेपालीले (केहीबाहेक)  यहाँको पद्धतिबाट सिकेको । विदेशमा दशकौंदेखि बसेका र आफूलाई गैरआवासीय नेपालीको नेता हुँ भन्नेहरुसँग यी जिज्ञासाको जवाफ छ त ? अवश्यै छैन । चरम राजनीतिकरणका कारण देश बिग्रियो भनेर विदेश छिर्नेहरू नै दलको छाता ओढेर एनआरएनएदेखि विविध समुदाय र टोलैपिच्छे स्वदेशमा जस्तै नेता बन्ने होडमा छन् । राजनीति सबै नीतिको मूल नीति हो तर त्यही राजनीति सर्वत्र व्याप्त हुँदा देशका कैयन क्षेत्र धराशायी बनेका उदाहरण हामीसँगै छन् । 

प्रोफेसरदेखि प्रिन्सिपलसम्म, इन्जिनियरदेखि इन्स्पेक्टरसम्म अनि निजीदेखि निजामती क्षेत्रका देश छोडेर हिँडेका पात्र युरोप र अमेरिकाका गल्लीमा मिनेटमिनेटमा भेटिन्छन् । तीमध्ये कतिपयले कुनै दलको झन्डा नबोक्दा आफूहरु अन्यायमा परेको र अवसरबाट वञ्चित हुनुपरेको तीतो अनुभव सुनाउने गर्छन् । चरम राजनीतिकरण नेपालको यथार्थ पनि हो । तर, यस्तै पी भोगेर विदेशिएका नेपाली प्रवासमा पनि नेता बन्ने होडबाजीमा  राजनीतिक चुलाचौका खडा गर्न किन तम्सेका हुन् ? 

Global Ime bank

विदेशमा रहेका नेपालीसँग समाज र देशले रेमिट्यान्समात्र होइन त्यहाँको उन्नत प्रणाली र पद्धतिको पनि अपेक्षा गरेको हुन्छ । देश बदलियोस्, समृद्ध बनोस् । जे कारणले देश बिग्रिएको हो, युवा पलायन हुन बाध्य भएका हुन् त्यस्ता व्यवहारको नदोहोरियोस् भन्ने नै चाहेको छ ।   

एनआरएनएले त कुनै युरोपेली वा अमेरिकीले जसरीे काम, पेसालाई सम्मान गर्छ त्यसरी नै विदेशमा बसेका नेपालीले पनि गर्छन् भन्ने सन्देश स्वदेशमा प्रवाह गर्न सक्नुपर्छ । समृद्ध देशको समृद्धिकोे आधार कामप्रति इमानदार र समयको महत्त्व बुझ्ने हुनु नै हो भन्ने बुझाउनु पर्छ । विदेशमा पनि उही दलगत राजनीतिक दाउपेचमै रुमलिने हो भने नेपालीले यिनीहरुबाट इमानदारी र परिश्रमको पाठ कहिले सिक्ने ? 

नेपाली राहादानी बोक्ता विदेशी अध्यागमनमा सामना गर्नुपर्ने अनेक प्रश्नको झमेलाबाट मुक्त हुन पनि देशमा वास्तविक समृद्धि आउन जरुरी छ । व्यवस्था बदलिए पनि, अवस्था नबदलिएसम्म नेपाल र नेपालीलाई हेर्ने विदेशीको दृष्टिकोणमा कुनै फेरबदल आउनेछैन । विदेशमा नेपालीलाई दलगत राजनीति सिकाउने होइन सीप, श्रम, योग्यता र दक्षता बढाउन सघाउनुपर्छ अनिमात्र अवस्था बदलिन सक्छ । प्रवासमा खुलेका संगठनले परिवर्तनको संवाहक भएर काम गर्नु जरुरी छ ।  यसका निम्ति एनआरएनएको नेतृत्व दलगत राजनीतिक रंग दलेको होइन योग्यता र क्षमताको राप र तापमा खारिएको पात्र हुनु आवश्यक छ । 

चर्को दलगत विभाजनबाट विदेशमा जन्मिएका नेपाली किशोर किशोरीमा समेत राम्रो प्रभाव पर्ने छैन । यस्ता कुरामा ध्यान दिनुपर्ने गैरआवासीय नेपाली संघ आफैँ राजनीतिमा चुर्लुम्म डुब्नु हुँदैन । जताततै दलगत राजनीति घुसाउँदा एनआरएनएप्रतिको विश्वास पनि समाप्त हुँदै जानेछ । दलगत घेराभन्दा  बाहिर  बस्न चाहनेहरू संस्था प्रति आकर्षित पनि हुने छैनन् । तसर्थ, अब विदेशमा दलगत राजनीति होइन त्यहाँको विकासको ढाँचा, शैली र परिश्रमको पाठ सिक्न र सिकाउन गैरआवासीय नेपाली  सक्रिय हुनुपर्छ । 
हालः लिस्वन 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC