काबुल । अफगानिस्तानस्थित तालिवान समूहका मुख्य वार्ताकारले अमेरिकालाई तालिवानसँग वार्तामा फर्किन आग्रह गरेका छन् । उनले अमेरिका वार्तामा आएर युद्धको अन्त्य गरिए त्यो अमेरिका र तालिवान दुवैको हितमा हुने जनाएका छन् । बीबीसीसँगको कुराकानीमा तालिवानका मुख्य वार्ताकार शेर मोहम्मद अब्बासले जोड दिँदै भनेका छन्,“अफगानिस्तानमा शान्तिका लागि यो मात्रै एक बाटो हो । ”
अफगानिस्ताको काबुलमा ६ सेप्टेम्बरको दिन तालिवानको आक्रमणका कारण अमेरिकी सेना समेत मारिएपछि यस अघिको अमेरिका र तालिवानबीच चलिरहेको वार्ता भंग भएको थियो । सो वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक भंग गरेका थिए । तालिवानका प्रतिनिधिले भने बीबीसीसँगको कुराकानीमा अमेरिकाले त्यसरी सोच्न नहुने जनाउँदै यसबीचमा तालिवानका कैयौं लडाकु मारिएको र एक जना अमेरिकी सेना मारिनु अनौठो नभएको र यसबीचमा युद्ध विराम पनि नभएको जनाएका छन् ।
उनले आफ्नो तर्फबाट वार्ताका लागि ढोका खुला रहेको र अमेरिकाले पनि यसबारेमा दोस्रो पटक सोच्ने आशा गरिएका जनाएका छन् । (बीबीसी)