site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भीएफएक्सले खोसेको सुहागरात 
Ghorahi CementGhorahi Cement

लगातार श्रीकृष्ण श्रेष्ठको फोनको घण्टी बज्यो । फोन थियो, दिवाकर भट्टराईको । फोनको घन्टी तारन्तर बजिरह्यो । उनले बेवास्ता गरिरहे । 

श्रीकृष्णले दिवाकरको फोन रिसिभ नगरेपछि उनको मोबाइलमा फेरि घन्टी बज्न थाल्यो । यो पटक फोनको घन्टी थियो, नायक भुवन केसीको । घन्टी बजिरहेपछि श्रीकृष्णले भुवनलाई नजरअन्दाज गर्न सकेनन् । भुवनले भने, “दुई दिनमा चलचित्र कोडिङका लागि इन्डिया पठाउनु पर्नेछ । बाबु जसरी हुन्छ आइदेऊ । कहाँ छौ ? म लिन मान्छे पठाइदिऊँ कि तिमी आफैँ आउँछौं ?”

चलचित्र ‘ड्रिम्स’को रिलिज डेट नजिकिसकेको थियो । तर भीएफएक्सको काम बाँकी नै थियो । त्यसैले निर्देशक दिवाकरले श्रीकृष्णलाई फोन गरेका थिए । दिवाकरको फोन रेस्पोन्स नगरेपछि भुवनले फोन गरेका थिए । 

Agni Group

बाटैबाट श्रीकृष्ण विशालनगरस्थित कार्यालय पुगे । १५ दिन दिनको काम दुई घण्टामात्रै सुतेर ‘ड्रिम्स’मा भीएफएक्सको काम सके । 

उस्तै थियो, चलचित्र ‘लक्ष्य’को अवस्था पनि । दुई दिन स्वरको काम गरेर १७ दिनको दिन उनी घर पुगे । “बेल्टारबाट बेहुली लिएर आएको म बाटैमा बेहुली छोडेर काम गर्न गएँ ।  १७ औं दिनको दिनम घर पुगेँ । मण्डपमा बसेको कोट–पाइन्टमै मैले काम गरेँ,” बाटैबाट बेहुली छोडेर भीएफएक्सको काम गर्न गएका श्रीकृष्ण भन्छन्, “१७ औं दिनमा घर पुग्दा बेहुलीसँगै आएकी दिदी बाटैबाट हिँडेको ज्वाइँ आएनन् के कसो हो भनेर बसिरहनु भएको थियो । १९ औं दिनको दिनको दुलहन फर्काउन लगेँ ।” 

Global Ime bank

भीएफएक्सले श्रीकृष्णको सुहागरात नै हर्यो । नवविवाहित श्रीमतीको मनमा चिसो बनाए । श्रीकृष्णले श्रीमतीलाई दिने विवाहको समय आफूले खोसेपछि भुवनले पनि असहज मानेको श्रीकृष्ण सम्झिन्छन्, “रिलिज डेटका कारण उहाँ पनि बाध्यतामा हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, सुहागरातको दिन उठाएर ल्याएँ बाबु, छोरा जन्मियो भने ‘ड्रिम्स’ र छोरी जन्मिइन् भने ‘सपना’ राख है !”

० ० ०

काम गर्यो, पैसा पाउनै गाह्रो । आफैं दिँदैनन् । एक–दुई पटक माग्दा छैन भन्छन् । आफूले गरेको श्रमको पैसा माग्दा पनि भिख मागे जस्तो, ऋण मागे जस्तो माग्नुपर्ने उनी अनुभव सुनाउँछन् । 

“आफैँले काम गरेको पैसा माग्न पनि विभिन्न बहाना बनाएर माग्नुपर्छ । कहिले श्रीमती बिरामी भई भनेर माग्नुपर्छ, कहिले के भनेर माग्नुपर्छ,” श्रीकृष्ण गुनासो गर्छन्, “आफैँ बोलाएर पैसा दिने चलचित्रकर्मी त निकै कम हुनुहुन्छ ।”

कसले काम लगाएर पैसा दिएनन् त्यो त श्रीकृष्ण अफ द रेकर्डमा मात्रै भन्छन् । तर समयमै पैसा दिनेहरुको नाम भने भन्छन्– दीपेन्द्र के खनाल, रवीन्द्र बानियाँ, हेमराज बिसी र सन्तोष सेन ।  

उनलाई अनौठो लाग्छ, पैसा नदिने तर रातरात काम लगाउने प्रवृत्ति देखेर । “अन्तिम समयमा काम लिएर आउँछन् । समय पुग्दैन भन्दा जसरी पनि सक्नुपर्यो भन्छन्,” श्रीकृष्ण आम नेपाली प्रवृत्ति सुनाउँछन्, “टेक्निकल कुरा हो । जवरजस्ती हुँदैन भन्ने बुझ्ने मेकरको संख्या निकै कम छ ।” तर पनि झेलिरहेका छन् उनले । 

‘ड्रिम्स’ पनि उनले हतारमा गरे । ‘क्याप्टेन’ पनि हतारमा गरे । त्यसैले यी दुइटै चलचित्रमा भीएफएक्स बिग्रिएको छ । उनी भन्छन्, “क्याप्टेनमा जुन मितिमा रिलिज भयो भीएफएक्सको काम गर्न थप तीन महिना लाग्थ्यो ।”

यसै पनि नेपालमा भीएफएक्समा काम गर्ने दक्ष जनशक्तिको अभाव छ । त्यसमा पनि हतारमा काम गराउने प्रवृत्तिले काम बिग्रिने गरेको उनको अनुभव छ । 

अहिले श्रीकृष्ण दीपेन्द्र के खनालको ‘आमा’ र हेमराज बिसीको ‘घामड शेरे’मा भीएफएक्सको काम गरिरहेका छन् ।

पाँच वर्ष भयो नेपाली चलचित्रमा उनले भीएफएक्सको काम गर्न थालेको । पाँच दर्जन चलचित्रमा उनले भीएफएक्सको काम गरे । ‘ड्रिम्स’, ‘क्याप्टेन’, ‘भैरव’, ‘गाजलु’, ‘लुटेरा’, ‘क्लासिक’, ‘जेरी’, ‘संबोधन’, ‘प्रेम गीत–२’, ‘के म तिम्रो होइन र ?’, ‘तथास्तु’, ‘जात्रै जात्रा’ आदि उनले काम गरेका चलचित्र हुन् । 

० ० ०

१५ वर्ष अगाडि फर्किन्छन् श्रीकृष्ण । बुवा विष्णुबहादर श्रेष्ठ मुम्बइमा फिल्म प्रोडक्सनको काम गर्थे । श्रीकृष्ण कहिलकाहिँ बुवासँगै सुटिङ हेर्न जान्थे । एक दिन भीएफएक्सका लागि सुटिङ गरेको हेरे । टेलिचलचित्र थियो त्यो । एक हप्तापछि टिभीमा हेर्दा त्यो त खिचेभन्दा बिलकुल फरक थियो । श्रीकृष्णलाई अचम्म लाग्यो । 

कसरी हुन्छ यस्तो ? 

मनमा जिज्ञासा उठ्यो । जवाफ भेटे, भीएफएक्स गरेको । 

के हो भीएफएक्स ? 

उनलाई जान्न मन लाग्यो । बुवालाई भने । बुवाले भेटाइदिए असिम प्रजापतिलाई । असिमले श्रीकृष्णलाई मुम्बइको ब्लिंक स्टुडियोमा पुयाए । श्रीकृष्णले भीएफएक्स पढे ब्लिंकमा । ६ महिने कोर्ष थियो त्यो । असिम प्रजापति उनका गुरु थिए । न्यूनतम ज्ञान भयो । काम सुरु गरे ब्लिंकमै । तलब थियो हजार रुपैयाँ ।

कलर्स च्यानलबाट आउने ‘महाभारत’, ‘स्वामी’ लगायतमा उनले भीएफएक्सको काम गरे । सुरुका पाँच वर्ष कलर्स र स्टारप्लसका टेलिसिरयलमा काम गरे उनले । आठ वटा टेलिसिरियलमा काम गरे । 

उनले भीफएक्समा काम गरेको पहिलो चलचित्र ‘थ्रि इडियट्स’ हो । ‘थ्रि इडियट्स’को ‘जुवी डुवी’मा श्रीकृष्णले भीफएएक्सको वायर रिमुभ श्रीकृष्णले गरेका थिए । ‘थ्रि इडियट्स’मा भीएफएक्सको काम गर्ने ५७ जनाको टिम थियो । त्यसमा वायर रिमुभरको जिम्मा श्रीकृष्णलाई थियो । एक महिना लागेको थियो । तलबमा काम गर्थे । २५ हजार आईसी तलब थियो ।

‘प्रिन्स’, ‘नक आउट’, ‘भाग मिल्का भाग’ मा पनि काम गरे । “हलिउडको पनि प्रोजेक्ट आउँथ्यो । ठूलो समूहका सबैले आ–आफ्नो भागमा आएको काम हुन्थ्यो ।”

० ० ०

आनन्द सुनुवारको लुसिट स्टुडियो थियो नेपालमा । उनले बोलाए श्रीकृष्णलाई । आनन्दले काम दिए चलचित्र ‘आईएम सरी’ को । 

नेपालमै केही गरौं भनेर आएर श्रकृष्णले पहिलो चलचित्रबाटै चाल पाए नेपालमा बसेर केही हुने वाला छैन । त्यसपछि उनी फर्किए मुम्बई नै । 

मुम्बईमा काम गरिरहेका थिए । निर्माता मोहन डोटेलले ‘तान्डव’को भीएफएक्सका लागि बोलाए । उनी आए । डेढ लाख रुपैयाँ लिए । त्यो राम्रै पारिश्रमिक थियो । विवाह भयो । फेरि मुम्बई पर्किएनन् उनी । 

भीएफएक्समा थुप्रै काम हुन्छ । त्यसमा एनिमेसन, वायर रिमुभ र भिजुअल इफेक्टको काम गर्छन् श्रीकृष्ण ।  

० ० ०

श्रीकृष्णका थुप्रै गुनासा छन्, भीएफएक्स नबुझ्ने मेकरसँग । हलिउड, बलिउडका चलचित्र हेरेर मेकरहरु भन्छन्, “म पनि मेरो चलचित्रमा यस्तै गर्ने हो ।”

“तर त्यो नेपालमा सम्भव नै छैन । पहिलो, दक्ष जनशक्ति छैन । दोस्रो, बजेट छैन । तेस्रो समय हुँदैन,” उनी भन्छन्, “मलाई पनि सबै आउँदैन । मैले नगर्ने काम म मुम्बईका साथीहरुलाई लगाउँछु । आज फाइल लिएर गयो । भोलिबाट मेकरले भन्न थाल्छ, “कति भयो काम ? अब कति दिन लाग्छ ?, अर्को हप्ता त मलाई जसरी पनि चाहिन्छ है । इन्डियामा मलाई फाइल दिँदा मेकरले भन्छ, कति दिन लाग्छ । मैले एक हप्ता भनेँ भने । दुई हप्ता लगाऊ तर फिनिसिङ राम्रो गर,” श्रीकृष्ण नेपाली शैली सुनाउँछन्, “यहाँ आज फाइल लगेपछि भोलीबाटै मलाई टर्चर दिन सुरु हुन्छ ।” 

कारण ?

“यहाँ सिनेमा घोषणा गर्दा नै रिलिज डेट तोकिन्छ । सक्नै हतार हुन्छ,” उनी भन्छन्, “क्याप्टेनको भीएफएक्स पूरै बिग्रिएको छ । कारण फिक्स भएको रिलिज डेट नै हो ।” उनले ‘क्याप्टेन’मा छ मिनेटको एनिमेशनको काम गरे । तीन महिना लाग्यो । दिन पनि रात पनि । फिनिसिङ राम्रो गर्न समय पाएको भए थप तीन महिना लाग्थ्यो उनलाई । 

० ० ०

अहिले भीएफएक्स के हो बुझ्नेको संख्या केही बढ्दैछ । तर खिचेर ल्याइदिएपछि बन्छ भन्ने सोच धेरैमा छ । ७७ हजार देखि ३ लाखसम्म उनले पारिश्रमिक लिएका छन् । अग्रिम भुक्तानी दिने १० प्रतिशतमात्रै मेकर रहेको उनी बताउँछन् । “पछि दिन्छु भनेर हराउने पनि थुप्रै छन् । हिसाबमात्रै गर्ने धेरै छन्,” उनले दुखेसो पोखे । 

“भीएफएक्स टिम वर्क हो । तर दक्ष जनशक्ति कम छ । कतिपय पलायन भइसके । भएकाहरु पनि विदेशी प्रोजेक्ट नै काम बढी गर्छन् । त्यसमा पनि पैसा नदिएपछि कसले गर्छ काम ?” श्रीकृष्ण प्रश्न गर्छन् । 


  

 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १, २०७६  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC