पौराणिक कथनअनुसार वास्तुशिल्पका जन्मदाता वासुदेवका पुत्र विश्वकर्माको जन्म सूर्य कन्या राशिमा प्रवेश गरेको पहिलो दिन अर्थात असोज १ गते भएको मानिन्छ । विश्वकर्माको जन्म दिनलाई नै विश्वकर्मा पूजाको रुपमा मनाइन्छ । विष्णु भगवानको नाभीबाट कमल उत्पन्न भयो । त्यही कमलबाट चतुर्मुख व्रह्मा उत्पत्ति भए । उनका पुत्र धर्म र धर्मका सातौँ पुत्रका रुपमा वास्तु जन्मिए । वास्तु नै शिल्पशास्त्रका जन्मदाता हुन भनिन्छ । उनै वास्तुदेवकी अंगिरसी नाम गरेकी पत्नीबाट विश्वकर्मा जन्मिएका थिए ।
शिल्पशास्त्रका प्रवर्तक वास्तुदेवको कला, कौशल र शिल्पलाई अहिले पनि शिल्पशास्त्र वा वास्तुशास्त्रका रुपमा अध्ययन, अध्यापन र अनुसरण गरिन्छ । आफ्ना पिताजस्तै विश्वकर्मा पनि उत्कृष्ट वास्तुविद् थिए । उनै वास्तु र विश्वकर्माको ज्ञान विद्या नै आजको आधुनिक इन्जिनियरिङ विधा हो ।
समाज गतिशील र परिवर्तनशील हुन्छ । समय, परिस्थिति र शासन व्यवस्थाअनुसार समाजका मूल्य, मान्यता र धारणा परिवर्तित हुन्छन् । शास्त्रमा उल्लेख भएअनुसार सत्य युगको स्वर्गलोक, त्रेता युगको लंका, द्वापर युगको द्वारिका र कली युगको हस्तिनापुरलगायतका लोकहरुको निर्माणकर्ता महान् शिल्पी विश्वकर्माजस्ता कठोर परिश्रम गर्ने परिश्रमीहरु समयक्रममा जात विशेषमा विभाजन भई दलित र अछुत भनेर अपमानित हुन थाले । श्रमको अपमान र घृणा हुन पुगेको थियो । तर समयसँगै पुनः छुवाछुत हट्दै जानु र श्रमजिवी श्रमिकहरुको हक अधिकारहरु स्थापित हुनुले पनि समाज परिवर्तनशील भएको पुष्टि गर्छ ।
वास्तुशिल्पशास्त्र दिशा ( पुर्व, पश्चिम, उत्तर, दक्षिण, आग्नेय, नैऋत्य, वायव्य, इशान, आकाश, पातल ) र तत्त्वको तालमेलको सिद्धान्तमा आधारिते छ । वास्तु विद्याले घर, भवन निर्माण, बसोवास, प्राकृतिक ऊर्जासँग मानव जीवनको तालमेल र आपसी सम्बन्धको बारेमा ज्ञान दिन्छ ।
विश्वकर्मालाई संसारकै पहिला इन्जिनियर मानिन्छ । त्यसैले विश्वकर्मा पूजाको दिन शिल्पकार, कलाकार, उद्योगी, व्यापारी, श्रमिक र कृषक सबैले आफ्ना कलकारखाना तथा हरेक किसिमका हातहतियार र उपकरणको पूजा, आराधना गर्ने गर्छन् । विश्वकर्मा पूजाको दिन मेसिन, औजार तथा विश्वकर्मा बाबाको मूर्ति, चित्रको पूजा गरी चन्दन, धूप, नैवेध, फूल अक्षता चढाउने चलन छ । कलकारखाना र औजारहरुमा जटासहितको काँचो नरिवल फुटाई जल अर्पण गराउने प्रचलन पनि छ । यसो गर्दा आफ्नो व्यापार व्यवसाय फस्टाउने, कला कौशल बढ्ने र वर्षभर कुनै पनि अनीष्ट नहुने जनविश्वास रहिआएको छ । ढुङ्गेयुगबाट विकसित मानव समुदायले प्रयोग गर्ने खुँडा, तरबार, कुटो, कोदालो, हलो, ढिकी, जाँतो, कँैची, गरगहनालगायत अहिलेका आधुनिक मेसिन, उपकरण, हातहतियार र विमानको जन्मदाता उनै विश्वकर्मा हुन् भन्न सकिन्छ ।
यसरी हेर्दा सुन्दर सृजना गर्ने शिल्पकार, कुनै पनि वस्तुमा कला भरेर जीवन्त बनाउने कलाकार, कठोर श्रम गर्ने श्रमिकहरु नै विश्वकर्मा हुन् । वास्तुदेव र उनका छोरा विश्वकर्माको ज्ञान र सीपलाई अनुसरण गर्ने, आफ्नो पौरख र परिश्रममा विश्वास गर्ने, श्रम र सृजनामा रमाउने कर्मशील हातहरु नै विश्वकर्मा हुन् ।
नेचासल्यान ४ सोलुखुम्बु