site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 कूटनीतिमा दाहालको दलदल

सरकारी कम्युनिस्ट पार्टीको दोस्रा अध्यक्ष पुष्पकमल दाहाल कूटनीतिक विषयमा जानाजान ‘अन्जान’ बनेका हुन् कि यस विषयमा उनी साँच्चै ‘अनाडी’ नै हुन् ? झन्डै दुई तिहाइको कम्युनिस्ट सरकार बनेपछि वैदेशिक मामलामा उनका केही अभिव्यक्तिले यस्तो प्रश्न उब्जिएको हो । कूटनीतिक मामलामा ककसले बोल्ने हो ? हाम्रो सन्दर्भमा यो जिम्मेवारी परिभाषित छ कि छैन ? 

कूटनीति मुख्यतः बाह्यनीतिको विषय हो । कूटनीतिक जबाफ चाहिँ आन्तरिक र बाह्य दुवैतिरका जिज्ञासामा दिन सकिन्छ । तर, खासगरी कूटनीति भनिने व्यवहार अन्तर्राष्ट्रिय मामलासँग सम्बन्धित हुन्छ । अन्तर्राष्ट्रिय व्यवहार र त्यसबाट सम्बन्धित देशमा पर्ने प्रभावको सुझबुझसहित पूर्वतयारी वा अभिव्यक्तिको कूट कौशल नै कूटनीति हो । कूट अर्थात् अप्रिय शब्दमा भन्दा ‘कपट’ र अर्को अर्थमा रहस्य ।     यही कारण कूटनीतिलाई स्पष्ट भन्दा अस्पष्ट राम्रो वा प्रभावकारी हुन्छ भनिन्छ । सोझो, सपाट र सरल होइन । अस्पष्ट, द्विअर्थी वा बहुअर्थी र विरोधाभाषी भाषा कूटनीतिक अभिव्यक्तिको आधार मानिन्छ । आधुनिक विश्वमा यो तरिका राम्रो हो कि होइन ? यो प्रश्नमा बहस हुनसक्छ र कूटनीति किन सहज र स्पष्ट अभिव्यक्तिमा व्यक्त हुन सक्दैन त ? यसमा किन वक्रोक्ति प्रयोग गरिन्छ ? भन्ने जिज्ञासा उत्पन्न हुन्छ । तर पनि प्रचलन जो चलेको छ । जे सर पर्छ त्यही गर्न र भन्न कूटनीतिमा ‘छल’को भाषा प्रयोग गर्ने विश्व परम्परा अद्यापि छ । ठाडो भाषा प्रयोग गर्नेलाई गैरकूटनीतिक भनेको सुनिन्छ । 

कूटनीति मुख्यतः मित्र देशहरुबीच हुने सहयोग, सम्बन्ध एवं समझदारी स्थापित र विकसित गर्न हुने दुई पक्षीय वा बहुपक्षीय वार्तामा प्रतिविम्बित हुन्छ । यस्तै वार्ताको परिणाम अन्तरमुलुक ठूलाठूला सहमति र सम्झौता हुनेगरेका छन् । यही माध्यम सम्बन्ध हार्दिक र विकसित हुनसक्छ । कूटनीतिक अकौशलले सम्बन्धमा तीतो थप्छ । कूटनीतिको मामला खासगरी सरकारले अरु मुलुकको सरकारी पक्षसँग गरिने व्यवहार हो । सरकार पक्ष भएकाले यस बाहिरको मानिसले त्यस्ता मामलामा मनलागे धारणा व्यक्त गर्नु उपयुक्त हुँदैन । यस मामलामा पुष्पकमल दाहालको अनुपयुक्त र अनधिकृत प्रयास मुलुकका लागि प्रत्युत्पादक पनि भइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वैदेशिक मामलामा ओहोदाधारी जसले जे चाहे भन्दिने हो भने परराष्ट्र मन्त्रालय किन चाहियो ? सामान्य वा असामान्य  मानिसले  आक्रोश पोख्न कुनै मित्र मुलुकलाई धारेहात लगाएजस्तो वा अनुमान र हल्लामा टिप्पणी गरेजस्तो हुँदैन सरकारी पक्षको नेताले अन्तर्राष्ट्रिय मामलामा बोल्नु । दाहाल सरकारमा रहेको कम्युनिस्ट पार्टीका अध्यक्ष हुन् । मर्यादा छोड्नु पनि हुँदैन, तोड्नु पनि हुँदैन । 

कुनै त्यस्तो अन्तर्राष्ट्रिय मामलामा सरकारले बोल्नैपर्ने   देखियो भने देशभित्र एकसमान धारणा बनाउन आन्तरिक परामर्श र सहमति खोजी गर्नुपर्छ । देशहितमा प्रयोग गरिने कूटनीतिक विषयलाई आआफ्नो ‘डम्फूको ताल’ मा बजाइनु घातक हुन्छ । आन्तरिक नीतिको प्रतिच्छाया कूटनीतिमा विम्बित हुन्छ, त्यसै भनिएको होइन । वैदेशिक मामलामा सरकारी पक्षले नेपाली कांग्रेससँग सिक्दा हुने देखियो । 

Global Ime bank

छिमेकी मित्र भारतले हालसालै कश्मीर विषयमा गरेको निर्णयप्रति कांग्रेसले निजी विचार प्रस्तुत गरेन । भन्यो – यस विषयमा सरकारले बोल्नुपर्छ, त्यसका लागि सरकार चाहन्छ भने कांग्रेस छलफल र सहयोग गर्न तयार छ । अर्थात्, यस्तो विषयमा देशको समान धारणा बन्नुपर्छ, समान अभिव्यक्ति हुनुपर्छ । बेग्लाबेग्लै होइन । कूटनीतिमा नेपाली कांग्रेसको परिपक्व निर्णय हो यो । 

काश्मीरबारे सरकारी पक्षले जे बोल्यो त्यसमा कांग्रेसले अन्यथा टिप्पणी गरेन । सायद् सरकार चुकेको थियो भने कांग्रेसले टिप्पणी गर्ने नै थियो । विदेश नीतिबारे प्रतिपक्षले सरकारको धारणा माग्न सक्छ र आफ्नो मान्यता राख्न मिल्छ । बुझिन्छ कश्मीर मामलामा सरकार र प्रतिपक्षको धारणा भित्रभित्रै समान बनेछ । वैदेशिक मामलामा परम्परादेखि नै नेपाली कांग्रेसले अनावश्यक, असन्तुलित र असान्दर्भिक टिप्पणी गरेका पाइँदैन । दुईतिरका ठूला मुलुकको बीच नेपालको ‘मौन कूटनीति’ नै व्यावहारिक हुने ठहर कांग्रेसले लिएको जस्तो लाग्छ । इतिहासदेखि नै  यस्तो विषयमा कांग्रेस उत्ताउलो पाइँदैन । 

पहरेदारजस्तो शैलीमा अत्यन्त ठूलो समर्थक देखिन खोज्ने पुष्पकमल दाहाल र यो कम्युनिस्ट सरकारले बुझ्दा हुन्छ – एक सयभन्दा बढी मुलुकसँग जोडिने आर्थिक, व्यापारिक भनिएको तर वा अन्ततः सामरिक र राजनीतिक रणनीतिको चिनियाँ बिआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजनालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले स्वीकृत गरेको हो । चीनसँग भएका ठूला सम्झौता र सगरमाथादेखिका सीमा विवाद नेपाली कांग्रेस नेतृत्वकै सरकारको पालामा सुल्झिएको इतिहास छ । चीनसँग गहिरो मित्रताको आधार प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले राखेको तथ्य साक्षी छ । 

यही बीआरआईको कट्टर समर्थक देखिन खोज्दा दाहालले अत्यन्त सहयोगी मित्रराष्ट्र अमेरिकालाई घोच्न पुगे । हालै यहाँ आएका चिनियाँ विदेश मन्त्री वाङ यीलाई भेट्दा दाहालले अमेरिकी प्रस्ताव इन्डो प्यासेफिक स्ट्राटेजी (हिन्द प्रशान्त रणनीति) विरुद्ध अनावश्यक टिप्पणी गरेछन् । बीआरआईलाई नेपालले स्वीकृत गरेको र तिब्बत मामलामा नेपालले एकचीन नीति लिएको बताए पुग्ने थियो । पर्ख र हेरमा मौन नै काफी थियो । आपसी सहयोगको कुरा गरे हुन्थ्यो । तर, अमेरिकी नीतिको विरोध गरेर चीनको कति साखुल्ले हुन खोजे दाहाल ? मुलुकका लागि प्रत्युत्पादक विवाद निम्त्याए । 

हल्यान्डको हेगस्थित मानवताविरुद्धको हिंसाको लेखाजोखा गर्ने अन्तर्राष्ट्रिय अदालतसँग तर्सिएका दाहाल राजदूतसँग खासखुस गरेर सपरिवार अमेरिका जानुपर्ने । अनि त्यही मित्रराष्ट्रप्रति ‘कुण्ठा’ पोख्न भेनेजुएलाका विवादास्पद शासक मडुरोको समर्थनमा बोल्नुपर्ने ? जुन प्रत्युत्पादक भएको छ । इन्डो प्यासिफिक होस् कि मडुरो मामला, दाहालले आफ्नै कम्युनिस्ट पार्टीको सरकारलाई स्पष्टीकरण दिइरहनुपर्ने फजितिमा फसाइ दिए र अन्ततः नेपाललाई क्षति हुने नै छ । सरकारको माध्यमबाट भनिनुपर्ने र गरिनुपर्ने कामकुरामा पनि किन यिनका ‘उत्ताउला’ कम्युनिस्ट कथन आउने गरेका हुन् ? 

सुरक्षा निकायबीच अन्तरदेशीय सहयोग र अभ्यास हुने गरेको विषयमा पनि कम्युनिस्ट ग्रन्थी फुकेको सुनिन्छ । त्यो पनि पक्षपाती धारणाले ग्रस्त । यो सरकारको काम हो । यस्ता विषयमा प्रतिपक्षलगायत सबैसँग परामर्श र त्यसपछि समान धारणा बनाउने जिम्मा सरकारको हो । बेला न कुबेला कूटनीतिक मामलामा ‘हुँइया’ मच्चाउनु घातक हुन्छ । जे भन्ने हो सरकारमार्फत भन, भनाऊ, आवश्यक दबाब उसैलाई देऊ ! सरकार कम्युनिस्टकै छ । हो, मुलुकको नीति र राष्ट्रहितविपरीत वैदेशिक कुरा आए कूटनीतिक तटस्थता र असंलग्नताको आधारमा संसद्मा भन्न सकिन्छ । 

दाहाल कहिले भेनेजुएलाको मडुरो समर्थक, कहिले बीआरआईको पक्षपाती र इन्डो प्यासेफिकको विरोधी, अनि कहिले बिम्स्टेकका विषयमा विरोधाभाषी किन हुन खोजेका हुन् ? जुन विषयमा उनी बोल्न आवश्यकै छैन । आवश्यक भए संसदमा कुरा उठाए हुन्छ, सरकारमार्फत भनाए हुन्छ । मित्रहरुलाई भड्काएर, सायद् दाहालको मनसाय सरकारलाई असफल पार्ने र आफ्नो सत्तारोहण चाडै सुगम गर्ने हो कि ? यो त अरूको चिन्ताको विषय होइन तर मित्रराष्ट्र चिढिँदा देश र जनताले भुक्तमान बेहोर्नुपर्नेे चाहिँ चिन्ता हुन्छ ।  

इन्डो प्यासेफिक अमेरिकी प्रस्तावविरुद्ध चिनियाँ विदेश मन्त्रीसँग कुरा लगाएको दाहालको पोल चीनले नै खोलिदियो । पोल खोलिएपछि दाहालले आफ्नो भनाइ अन्यथा प्रस्तुत गरिएको र एजेन्सीमार्फत (समाचार) आएकोजस्तो स्पष्टीकरण दिए । तर, चीनमा सबै सञ्चारमाध्यम सरकार नियन्त्रित छन् । सरकारी इच्छा र इसाराबाहेकको समाचार प्रवाह त्यहाँ असम्भव छ । त्यसमाथि दाहालको भनाइ चिनिया सरकारकै वेबसाइटमा प्रकाशित हो । 

अब चीन झुटो कि दाहाल ? नेपाली पत्रकारितालाई त उनले असंख्यपटक आफ्नो भनाइ तोडमोड गरेको आरोप लगाइसकेका छन् । उनका लागि सरकार नियन्त्रित चीनका माध्यम पनि तोडमोड गर्ने भए ? विदेश मन्त्री यीले यहाँ भेटेका सबै नेताले व्यक्त गरेको कुरा राखिएको त्यो वेबसाइटमा यीको अभिव्यक्ति पनि समावेश छ । यहाँ चर्चा भएअनुसार विदेशमन्त्री यीको भनाइको सार ‘नेपालमा कम्युनिस्ट सरकार हुनु चीनलाई सहज हो ।’ 

यसै हो भने, चिनियाँ भनाइ नेपालको राजनीतिक स्वतन्त्रता विरोधी हो । सन्देश खतरनाक छ । यो भनाइले मौन कूटनीति लिने र राजनीतिक हस्तक्षेप नगर्ने चिनियाँ परम्परा शक्तिको बढोत्तरीसँगै भत्काइएको बुझ्नुपर्ने हुन्छ । मौन कूटनीति त चीनले अलि पहिलेदेखि तोडेको हो । खासगरी राष्ट्रपति सी जीनपिङको उदयसँगै । तर वेबसाइटको भनाइमा नेपालको कम्युनिस्ट सरकारलाई गर्नुपर्ने सहयोग र समर्थनमा व्यक्त मन्त्री यीको धारणबाट उक्त सार निकालिए जस्तो लाग्छ । छिमेकी मित्रराष्ट्र नेपालका नेताहरुसँग भएको कुराकानीलाई किन चिनियाँ सरकारी माध्यमबाटै सार्वनिक गरियो ? 

सारांशमा वर्तमान कम्युनिस्ट सरकार असफल साबित भइसकेको छ । आन्तरिक र वैदेशिक सबालमा पनि सरकारप्रति भरोसा शून्यतिर झर्दैछ । दाहाललाई जतिसक्दो चाँडो सरकार चलाउने रहर छ । आन्तरिक असफलतासँगै दाहालको ‘सु’विचारित (?) कूटनीतिक दलदलको भासमा ओली सरकार भासिदै छ । अन्तर्राष्ट्रिय स्तरमा पनि अविश्वसनीय हुँदैछ । सरकारको नेतृत्व लिने दाहालको आतुरता भने जतिसुकै भाषणमा लुकाउन खोजे पनि त्यो हत्केलाले छेकेको सूर्यजस्तै हुँदैगएको छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC