site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
 धनी देशका गरिब सम्पन्न कि गरिब देशका धनी ?

हार्वर्ड विश्वविद्यालयको हरेक नयाँ सत्रमा विद्यार्थीलाई  रमाइलो प्रकारले सोध्ने गर्छु – कुनै धनी देशमा गरिब भएर बाँच्नु सही हो कि गरिब देशमा धनी भएर ? यो प्रश्नले गहन छलफल त निम्त्याउँछ तर उत्तर सहजै आउँदैन । तर, यो प्रश्नको रूप अलि फेरेर र अलि सानो क्षेत्रमा सीमित गरेर सोधे उत्तर खोज्न र पाउन सकिन्छ । 

अब हाम्रो ध्यानलाई आय आर्जनमा केन्द्रित गरौँ र एक साधारण मानिस आफ्नो उपभोग गर्ने क्षमता बढाउनमात्र ध्यान दिन्छ भन्ने सोचौँ (यहाँ असमानता तथा अन्य सामाजिक अवस्थालाई बेवास्ता गरौं) । ‘धनी’ र ‘गरिब’ भनेको आयको बाँडफाँटमा जनसंख्याको क्रमशः माथिल्लो पाँच र तल्लो पाँच प्रतिशतमात्र हुन्छन् । कुनै पनि धनी भनिएको देशमा तल्लो पाँच प्रतिशत व्यक्तिले राष्ट्रिय आयको एक प्रतिशतमात्र कमाउँछन् । गरिब देशमा त यो तथ्यांक छिन्नभिन्न नै छ, तथापि त्यहाँका धनी पाँच प्रतिशतले राष्ट्रिय आयको २५ प्रतिशत कमाउँछन् भन्दा खासै फरक हुँदैन । 

त्यसैगरी, मानौं धनी र गरिब देशमा पनि कुल गार्हस्थ्य उत्पादनको आधारमा धनी देश माथिल्लो पाँच प्रतिशत र गरिब देश तल्लो पाँच प्रतिशतमा पर्छन् । एउटा अति गरिब देश (जस्तै लाइबेरिया वा नाइजर) को कुल गार्हस्थ्य उत्पादन एक हजार अमेरिकी डलर छ भने धनी भनिएका देशको आय (जस्तै स्विट्जरल्यान्ड वा नर्वे) ६५ हजार अमेरिकी डलर छ । (तुलना गर्न सहज बनाउन यो आम्दानीलाई त्यहाँको जीवन निर्वाहमा हुने खर्च र क्रय क्षमताका आधारमा समायोजन गरिएको छ ।)

Agni Group

अब एउटा हिसाब गरौँ । एउटा गरिब देशको धनी व्यक्तिले पाँच हजार डलर कमाउँछ (१००० डलर गुणा ०.२५ गुणा २०) भने धनी देशको गरिब व्यक्तिले १३ हजार डलर कमाउँछ ( ६५ हजार डलर गुणा ०.०१ गुणा २०) । अर्थात् जीवन निर्वाह गर्ने खर्चको आधारमा तुलना गर्दा पनि एक धनी देशमा बसोबास गर्ने गरिब व्यक्ति गरिब देशमा बस्ने धनी व्यक्तिभन्दा करिब दुई गुना सम्पन्न हुन्छ । 

यो नतिजाले मेरा विद्यार्थी अचम्ममा पर्छन् । किनभने धेरैको सोच यसभन्दा बेग्लै हुन्छ । उनीहरूले गरिब देशको धनी व्यक्तिको कल्पना गर्दा ठूला व्यापारिक घरानाको कल्पना गर्छन् जो ठूला महलमा निजी नोकर, चाकरको फौजसहित महँगा मोटरको भिड जम्मा गरेर बस्छन् । यस्ता व्यक्ति गरिब देशमा अवश्य पनि हुन्छन् तर कुनै पनि गरिब देशको माथिल्लो ५ प्रतिशत व्यक्तिको प्रतिनिधि त मध्यम ओहदामा काम गर्ने सरकारी कर्मचारी हुन् । 

Global Ime bank

यो तुलनाको उद्देश्य देशहरूका बीचको आयको असमानताको अध्ययन हो जुन देशको आन्तरिक असमानतासँग सम्बन्धित हुन्छ । औद्योगिक क्रान्तिभन्दा पहिले आधुनिक अर्थ व्यवस्थाको सुरुआतताका विश्वभर असमानताको हिसाब मुख्यतः देशहरूबीचको असमानताको आधारमा गरिन्थ्यो । युरोप तथा संसारका गरिब राष्ट्रबीच आयको असमानता कम थियो । तर, उन्नाइसौं शताब्दीमा पश्चिमा राष्ट्रको विकास हुनथालेपछि विश्व अर्थतन्त्रमा ठूलो भिन्नता आयो । पश्चिमा राष्ट्र तथा प्राथमिक वस्तु उत्पादक बाहिरी परिधिका राष्ट्रबीच फरक देखियो । विश्वयुद्धपछिको अधिकांश समय धनी तथा गरिब देशबीचको आयको फरक नै विश्वव्यापी असमानताको कारक बन्यो । 

सन् १९८० दशकको अन्त्यतिर आएर दुई नयाँ धार देखा परे जसबाट पुरानो परिदृश्यमा फरक प¥यो । पहिलो धारको नेतृत्व चीनले गर्‍यो । पछाडि परेका धेरै क्षेत्रको द्रूत आर्थिक वृद्धि विकसित देशको भन्दा पनि बढी भयो । इतिहासमै पहिलोपल्ट विकासशील देशका बासिन्दा युरोप र अमेरिकाका जनताभन्दा तीव्र गतिमा धनी भए । 

दोस्रो – विकसित अर्थतन्त्रमा असमानता बढ्न थाल्यो, खासगरी श्रम बजारमा कम नियन्त्रण भएको तथा सामाजिक सुरक्षा व्यवस्था कम भएको देशमा यो समस्या बढी देखाप¥यो । संयुक्त राज्य अमेरिकामा असमानता कस्तो वेगले बढ्यो भने माथिको आधारमा तुलना गर्दा अहिले कुनै अमेरिकी गरिबको जीवनस्तर कुनै गरिब देशको धनी व्यक्तिको भन्दा राम्रो छ भन्नसक्ने अवस्था छैन । 

माथि भनिएका दुई धारले विश्वव्यापी असमानताको दिशा पूरै परिवर्तन गरिदिए । एउटाले असमानता घटायो भने अर्कोले बढायो । तर, दुवै धारले देशभित्रको आन्तरिक कुल असमानता भने बढाए । अर्थात्, उन्नाइसौं शताब्दीदेखि देखिएको प्रवृत्ति उल्टाए । 

अस्पष्ट तथ्यांकका कारण विश्व अर्थतन्त्रमा देशबीचको असमानता तथा देशभित्रको असमानताको हिस्सा कति हुन्छ भनेर पक्का भन्न सकिने अवस्था छैन । तथापि, एउटा शोधमा हालसम्म अप्रकाशित विश्व असमानताको डाटाबेसको उल्लेख गर्दै भनिएको छ – अहिलेको विश्वव्यापी असमानताको दुई तिहाइ कारण देशभित्रको आन्तरिक असमानता हो । यो शोध पेरिस स्कुल अफ इकोनोमिक्सका लुकास च्यान्सलले गरेका हुन् । त्यस्तै अन्य दुई फ्रान्सेली अर्थशास्त्री फ्रान्स्वेस बोर्गिगनन् तथा क्रिस्चियन मोरिसनले ऐतिहासिक तथ्यांकको सहारामा गरेको अध्ययनअनुसार आन्तरिक असमानताको स्तर उन्नाइसौं शताब्दी यता अहिलेजति बृहत् कहिल्यैे थिएन  ।

उल्लेखित अनुमान सही हुन् भने विश्व अर्थतन्त्रले एउटा महत्त्वपूर्ण सीमा पार गरेको छ । फलस्वरूप, नीतिगत प्राथमिकतामा परिवर्तन गर्न आवश्यक देखिएको छ । धेरै लामो समयदेखि मजस्ता अर्थशास्त्रीले सधैँ भन्दै आएको के हो भने विश्वमा देखिएको आर्थिक असमानता घटाउने सबैभन्दा प्रभावकारी उपाये न्यून आय भएका देशको आर्थिक वृद्धि गर्नु हो । धनी देशका सभ्य नागरिक खासगरी समृद्ध तथा प्रशिक्षित व्यावसायिक व्यक्तिले आन्तरिक असमानताको असन्तोषलाई आफूले बेवास्ता गरेकोमा अहिले नैतिक विजयको दाबी गर्न सक्छन् । 

परन्तु, अहिले पश्चिमा देशमा देखिएको ‘पपुलिस्ट’ राष्ट्रवादको आगोमा घ्यु थप्ने काम विकसित देशको अर्थतन्त्रमा रहेको हिस्सा तथा विकासशील देशको उच्च जीवन शैलीबीचको तनाव नै हो । विकसित देशले न्यून आय भएका देशसँग बढाएको व्यापारले आन्तरिकरूपमा बेतनको असमानता बढाएको छ । हुनसक्छ, संसारका बाँकी देशको आय बढाउने एउटै उत्तम उपाय गरिब देशबाट धनी देशमा मजदुरको खुल्ला आगमन हो । तर, धनी देशका कम शैक्षिक स्तर भएका र थोरै कमाइ भएका जनताका लागि भने यो राम्रो सन्देश पक्कै होइन ।

आन्तरिक समतामा जोड दिने उन्नत आर्थिक नीति अन्तर्राष्ट्रिय व्यापारमा समेत विश्वका गरिबका लागि हानिकारक हुनु आवश्यक छैन । त्यस्तो आर्थिक नीतिले तल्लो तहको मजदुरको आय बढाउने र आर्थिक असुरक्षा घटाउने काम गर्‍यो भने त्यसले आन्तरिक समता तथा विश्वव्यापी अर्थतन्त्र स्वस्थ बनाउन पनि सहयोग गर्छ । यसले गरिब अर्थतन्त्रलाई विकास गर्ने मौका पनि प्रदान गर्दछ । 

(हार्वर्ड विश्वविद्यालयका जोन एफ केनेडी स्कुल अफ गभर्मेन्टका प्राध्यापक)
(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य)
Copyright: Project Syndicate, 2019.
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २, २०७६  १९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC