site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पछाडि फर्किने कुरा आए लड्न म पनि केपी ओलीसँगै हुनेछु
Sarbottam CementSarbottam Cement

संविधान दिवस आज देशभर भव्यताका साथ मनाइँदै गर्दा मधेसवादी दलका नेताहरुले भने कालो दिवसका रुपमा मनाउने निर्णय गरेका छन् । संविधानप्रतिको यो असन्तुष्टि संविधान घोषणाको तयारीदेखि नै प्रकट भएको हो । त्यसैले आजको दिनलाई कतिपय दल र समूहले कालो दिनका रुपमा मनाउने बताएका हुन् ।
विगतको मधेश आन्दोलनमा सक्रियताका साथ लागेका विभिन्न दलहरुले अहिले एकीकृत रुपमा राष्ट्रिय जनशक्ति पार्टी (राजपा) नेपाल गठन गरेका छन् ।

जसले संविधान संशोधनका लागि पटक–पटक माग राखेको भए पनि सरकारले कुनै सुनुवाई नगरेको उसको गुनासो छ ।  राजपाका अध्यक्ष मण्डलका सदस्यसमेत रहेका पूर्वमन्त्री अनिलकुमार झासँग संविधान दिवसको सेरोफेरोमा रहेर हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ, झासँग बाह्रखरीका लेखनाथ अधिकारीले गरेको कुराकानीका मुख्य अंशहरुः

राजपा अहिले  के गर्दैछ, संविधान संशोधनको यहाँहरुको माग कहाँ पुग्यो  ? 

Prabhu Bank
Agni Group
NIC Asia

राजपाको महाधिवेशन अहिले नजिकै आएको छ । हामी त्यसलाई नै सफलताका साथ टुंगो लगाउने तयारीमा लागेका छौं । केही साथीहरुले विचार मिल्ने दलहरुसँग एकीकरण पनि गर्नुपर्छ भनेर प्रक्रिया पनि अघि बढाइरहनु भएको छ ।  वर्षाका कारणले सबै काम गतिका साथ अघि बढ्न सकेको भने छैन । संविधान संशोधनको कुरालाई पनि हामीले नियमित रुपमा उठाइरहेका छौं । त्यस्तै देशका समसामयिक विषयमा पनि हामीले संसदमा आवाज उठाइरहेका छौं । 

प्रदेश २ को सरकारमा हामी पनि सहभागी छौं । स्थानीय तहमा पनि हाम्रो पार्टीका साथीहरु निर्वाचित हुनुभएको छ । उहाँहरुलाई हामीले उचित सल्लाह र सुझाव दिने काम पनि गरिरहेका छौं । 

Global Ime bank

यहाँहरुको महाधिवेशनको तिथि त पहिला नै टुंगो लागेको हो, स्थान पनि टुंगो लागेको हो ?

हाम्रो महाधिवेशन आउँदो कात्तिक २८ देखि ३० सम्म हुने तय भइसकेको छ । तर, स्थान भने टुंगो लाग्न बाँकी छ । हामी जनकपुर, वीरगन्ज वा राजविराजमध्ये कुनै स्थानमा महाधिवेशन गर्ने सोचमा छौं । 
जहाँ भए पनि प्रदेश–२ मा नै हुने सम्भावना छ ।

आज देशमा संविधान दिवस मनाइँदै छ, यहाँहरुले यसलाई कसरी हेर्नुभएको छ ? 

संविधानको बारेमा कुरा गर्दा यहाँ कोही व्यक्ति वा दल असन्तुष्ट भयो भन्ने कुरा होइन । यो आम जनताको असन्तुष्टिको कुरा महत्वपूर्ण हो । जब संविधानको मस्यौदालाई गाउँ गाउँमा लगेर जनताको सुझावसमेत समेटेर त्यसमा सबैको जनचाहना समेट्ने कुरा भएको थियो । त्यतिबेला नै मस्यौदालाई हेरेर मधेसमा प्रतिक्रिया आएको थियो । 

त्यतिबेलैदेखि आन्दोलन सुरु भएको भन्दा पनि हुन्छ । साउनबाट सुरु भएको आन्दोलनका बावजुद पनि जनताको भावना नसमेटी २०७२ असोज ३ गते संविधान जारी गरियो । 

आन्दोलन निरन्तर चलिरह्यो । यहाँ संविधानको दीपावली गरिरहँदा वीरगन्जमा मानिसको लास जलिरहेको अवस्था थियो । त्यसैले आफ्नै देशको अर्को भूभागका जनताको भावनालाई पनि राज्यले सम्बोधन गर्नैपर्छ । लाखौं जनता सडकमा निस्केर संविधान संशोधन हुनुपर्छ भनेको अवस्थामा त्यसको सुनुवाइ हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण हो । हामीले संशोधनको माग गर्नु भनेको जनताको चाहनालाई नै प्रकट गरिएको हो । 

अहिलेसम्म पनि संविधान संशोधन नगरिएकोले संविधान ल्याइएको असोज ३ गतेको दिन हामीले विरोध कार्यक्रम गर्ने तय भएको छ । 

संविधान संशोधनका लागि हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ महिनाअघि भेटेका हौं । त्यसपछि कुनै संवाद हुन सकेको छैन । हामीले आफ्नो पकड भएका क्षेत्रमा संविधानको विरोध गर्ने कार्यक्रम तय गरेका छौं । कार्यकर्ताहरुले मन नपराएर यसलाई कालो दिनको रुपमा समेत व्याख्या गर्नुहोला । कालो दिन भन्नाले यो संविधानको कारण मधेशका जनताको भविष्य अन्योलमा पारेको दिनको रुपमा बुझ्नु पर्छ । 

हामीले पहिला नै संविधानको मस्यौदा तय भएको बेलामा आफ्ना चासोहरु राखेका थियौं । त्यतिबेला वास्ता गरिएन । तर, हामी उठाउन छोड्ने छैनौं । यसक्रममा ठूलो जनधनको क्षति भएको छ । तराई मधेशमा त्यत्रो आन्दोलन भएको छ । त्यो आन्दोलनको भावनालाई अहिले सरकारले सम्बोधन नगरेसम्म हामी चुप लागेर बस्दैनौं । ६ महिनासम्म आन्दोलन हुँदा त्यतिबेला देशै ठप्प हुने अवस्था आएको थियो । हामीले जुन एजेन्डा उठाएका थियौं, तिनको अझै पनि सम्बोधन भएको छैन । तिनको पूरै सम्बोधन नभएसम्म हामी चुप लागेर बस्दैनौं । आन्दोलनमा बालबालिकादेखि वृद्धवृद्धासम्मको सहभागिता रहेको थियो । यति धेरै मान्छेले अपेक्षा गरेको विषयलाई अहिले राज्यले छोड्न मिल्दैन । हामी घच्घच्याइरहेका छौं । यो क्रम जारी  छ । 

सरकारले किन सुनुवाई नगरेको होला ?

प्रधानमन्त्रीलाई हामीले ६ महिनाअघि भेटेका थियौं । त्यो बेला हामीले संविधान संशोधनका लागि जोड दिएका हौँ । उहाँलाई त्यसपछि हामीले भेटेका छैनौं । उहाँले चाहेको भए भेट हुन्थ्यो होला । उहाँले नै नचाहेको जस्तो देखिएको छ । राज्यले वार्ता गर्न चाहेको भए त हामीलाई जहाँ गएर भए पनि खोजेर ल्याइहाल्छ ।

अब के गर्नुहुन्छ ?

मैले अघि पनि भनें, हामीले ६ महिनाअघि प्रधानमन्त्रीलाई भेटेर यो विषयमा कुरा राखेका थियौं । उहाँले सकारात्मक जवाफ दिनुभएको थियो । तर, त्यसपछि हामीले उहाँलाई भेटेका छैनौं । हामीले चाहेर मात्रै पनि हुने कुरा भएन ।  प्रधानमन्त्री बिरामी भएर केही समय सिंगापुर जानुभयो । हामीले कुरा गर्न पाइरहेका छैनौं । हाम्रो संघर्ष जारी रहेको छ । विभिन माध्यममार्फत् हामी सत्य स्थापित गर्ने प्रयास गरिरहन्छौँ । सत्य स्थापित गर्न समय लाग्ला तर ढिलो चाँडो स्थापित भएरै छोड्छ ।

तपाईँहरु पहिलाभन्दा अलि लचक हुनुभयो भनियो भने गलत हुन्छ ?

हामी संघर्षमा नै छौं । हाम्रो माग पूरा नभएसम्म यो क्रम जारी रहन्छ । बीपी कोइराला प्रजातन्त्र स्थापना गर्ने संघर्षमा त्यति लामो समय संघर्ष गर्नुभयो । उहाँले त्यति लामो समय पर्खिनुप¥यो । हामी पनि त्यही हिसाबले संघर्ष गर्नुपर्ने हुनसक्छ । यसलाई यसरी नै बुझौं ।

महाधिवेशन सकिएपछि चाहिँ आन्दोलनमा लाग्ने यहाँहरुको सोच हो ? 

त्यो संघर्ष विभिन्न रुपमा हुन्छ । जस्तो अहिले संसदमा बोलिरहेका छौं । पछि सडकमा जाने अवस्था पनि हुन सक्छ ।  जनताको अवस्थालाई पनि हेर्नुपर्ने हुन्छ । जनताले विगतमा आन्दोलनका क्रममा ठूलो मार खप्नुपरेको थियो ।  उहाँहरुलाई सामान्य अवस्थामा आउन पनि समय लाग्छ । त्यही भएर हामी अहिले सडकमा गएका छैनौं । तर, सडकमा जाने दिन पनि आउन सक्छ  ।

तपाईँहरुको मागका बारेमा प्रधानमन्त्रीले के भन्ने गर्नुभएको छ ?

उहाँ सकारात्मक नै हुनुहुन्छ । तर काम भइरहेको छैन । तर जबसम्म काम हुँदैन तबसम्म मधेशमा जनता असन्तुष्ट हुनेछन् । भुसको आगो जस्तै भित्रिभित्रै बलिरहेको अवस्था छ । 

तपाईँहरुको मागमा नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि सहमत हुनुुहुन्छ होइन ?

हो, उहाँहरुले भेटघाटका क्रममा सहमत नै छु भन्ने गर्नुभएको छ । केपी शर्मा ओलीले पनि त्यही कुरा गरिरहनु भएको छ । तर, केही पनि भइरहेको छैन । 

पछिल्लो समयमा यो मामिलामा कांग्रेससँग पनि यहाँहरुले कुनै कुरा भएको छ कि ?

कांग्रेसले समर्थनमै रहेको बताउँदै आएको छ । तर, उहाँहरु अहिले केही गरिहाल्ने अवस्थामा देखिनुभएको छैन । हाम्रो पनि कुरा हुन पाएको छैन ।

तपाईँहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्यो भन्नु भए पनि सुनुवाइ भएको छैन होइन ?

हो, सार्वजनिक भएको छैन । एक महिनाभित्रमा सार्वजनिक गर्ने भनेर एउटा कार्यदल पनि संसदमा बनेको छ । त्यसमा हामीसहित सत्तापक्ष र नेपाली कांग्रेसका प्रतिनिधि पनि छौंं । कार्यदल बनेको एक महिना पुगिसकेको छ । तर, काम भएको छैन । 
अहिले नेपाली कांग्रेसले केही दिन संसद अवरुद्ध गरेकाले हामीले कुरा उठाउन पाएनौं । अब संसदमा पनि फेरि यसबारेमा कुरा उठ्नेछ ।

के रहेछ त्यो प्रतिवेदनमा जसले सरकारलाई सार्वजनिक गर्न गाह्रो मानिरहेको छ ?

त्यो त हामीले पनि हेरेका छैनौँ । तर, मिडियामा पनि त्यो विषय आएको छ । त्यसमा हामीले गरेका कामलाई गलत देखाउने कुरा मात्रै सरकारले मिडियामा सार्वजनिक गरेको छ । 

सबै रिपोर्ट औपचारिक रुपमा सार्वजनिक हुनुपर्छ भन्ने हाम्रो माग हो । 

तपाईंहरुले संविधानमा चाहेको विषय पहिलाकै हुन् कि अहिले केही फेरिइसके ?

हामीले पहिलादेखि नै उठाएका माग हुन् । नागरिकतासम्बन्धी विषय रहेको छ । एक भाषालाई मात्रै महत्व दिनु नहुने भन्ने कुरा छ । राज्यको पुनर्संरचनाको विषय छ । साना ठूला गरेर करिब सयवटा विषय छन् । यी विषय हामीले पहिला नै सरकारलाई भनिसकेका छौंं । हामी पनि २०६२–६३ सालको आन्दोलनमा सहभागी भएका हौं । हामी मात्रै यो प्रक्रियामा सामेल नभएको जस्तो व्यवहार राज्यले गर्न मिल्दैन । हामीलाई पनि साथमा लिएर जानुपर्छ । हामीलाई साथ लिइएको भए हामी मात्रै संविधान दिवसको दिन हरियो, पहेंलो, सेतो वा कालो दिवस भन्दै हिंड्नुपर्ने अवस्था आउने थिएन ।

तपाईँहरुले पनि संविधान दिवस मनाउने दिन कहिले आउला त ?

मधेश आन्दोलनको भावनालाई सम्बोधन गर्दै संविधान संशोधन गरियो भने हामीले मात्रै संविधान दिवस नमनाउने भन्ने कुरा हुँदैन । हामी पनि सँगसँगै दिवस मनाउन तयार हुनेछौं ।

यहाँहरु यही संविधान मातहतका निकायका विभिन्न ओहदामा रहेर यो संविधान अन्तर्गत आइ नै सक्नुभएको छ । यसमा अझै किन विवाद गरिरहनु भएको ?

यो सत्तापक्षले भन्ने कुरा हो । हामी आएको होकि होइन भनेर जसले जे भने पनि भयो । तर, हामी जनताका भावनाभन्दा बाहिर जान सक्ने अवस्था छैन । जनताको भावना भनेको यो संविधान संशोधन हुनुपर्छ भन्ने हो । हामी त्यसमा दृढ छौं ।

यहाँहरुलाई प्रधानमन्त्रीले संविधान संशोधनको बारेमा कुरा गर्न समय नै नदिएको हो ?

उहाँको निवासमा ठूलो पर्खाल छ । हामीलाई बोलाइएको छैन । हामी पर्खाल नाघेर जाने कुरा हुँदैन । हामीले प्रयास गरेका छौं । तर काम भइरहेको छैन । अब उहाँ ओहदामा भएको मान्छे हामीलाई खोज्नुभयो भने त नपाउने भन्ने कुरा हुँदैन । तर, उहाँहरुले हामीलाई खोज्नु भएको छैन । त्यसैले भेट हुन सकेको छैन । यो मामिलालाई यसरी नै बुझ्नु ठीक होला । 

यसको मतलब अहिले राजपा अलि कमजोर पनि भएको हो ?

हामी हाम्रो संघर्षमा कायम छौं । जनताको आकांक्षालाई छोड्दैनौं । यसमा निरन्तर रुपमा लागिरहेका छौं । त्यसैले कमजोर भन्न मिलेन । हामी सक्रिय भएर जनताको आवाज उठाइरहेका छौं । त्यो आवाज संसदमा पनि उठेको छ, बाहिर पनि उठिरहेको छ ।

तपाईँहरु अहिलेको संविधानले दिएका कुरा पनि पुगेन भन्दै हुनुहुन्छ । कतिपय पक्षले भने यही पनि बढी भयो भन्न थालेका छन् । संघीयता र गणतन्त्रकै समेत विरोध हुन थालेको छ । संशोधनको माग चर्काउँदा पाएको नै गुम्ने अवस्था आयोे भने के गर्नुहुन्छ ?

गणतन्त्र खतरामा परेको भन्ने कुरा गलत हो, हामीलाई तर्साउन खोजिएको होला । संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा हामी पनि सामेल छौं । त्यसैले हामी यो परिवर्तनलाई संस्थागत गर्न र जोगाउन चाहन्छौं । तर नपुगेका कुरालाई पुर्याउनुपर्छ भन्ने हाम्रो माग हो । हामी अहिलेको अवस्थाभन्दा पछाडि फर्कने कुरा हुँदैन । २०६३–६३ को आन्दोलनमा हामी पनि अरु दलभन्दा कम सामेल थिएनौं । परिवर्तनका लागि हाम्रो पनि उत्तिकै योगदान छ । त्यसैले पछाडि फर्किने भन्ने कुरा हुँदैन । हामी अझ जनताको आकांक्षालाई पूरा गरियोस् भन्ने मान्यतामा रहेका छौं ।

केही पक्षहरु त पछाडि नै फर्किन खोजेको जस्तो देखिन्छ नि होइन ? 

अहिले प्राप्त उपलब्धिलाई कायम राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यसबाट पछाडि फर्किने कुरा कदापि स्वीकार्न सकिँदैन । अहिले प्राप्त उपलब्धि नै गुम्ने अवस्था आउँछ भनेर कसैले सोचेको छ भने त्यो निकै गलत हुनेछ । त्यस्तो अवस्थामा म पनि केपी ओलीसँगै हुनेछु । 

पहिला तपाईँहरुसँगै आन्दोलनमा रहेको एउटा दल अहिले सत्तामा  छ । तपाईँहरुलाई माग पूरा गर्न अलि सजिलो हुनुपर्ने होइन ?

हो, उहाँहरु पनि सत्तामा हुनुहुन्छ । तर, उहाँहरु कुन माग राखेर सत्तामा जानुभयो ? के पाउनुभयो ? अहिले के भइरहेको छ भन्ने कुरा उहाँहरुले नै जान्ने कुरा हो । हामीलाई यसबारेमा जानकारी छैन । तर, आन्दोलनमा लागेका कुनै नेता वा समूह लोभिए भन्दैमा वा सत्तामा गयो भन्दैमा आन्दोलनको सबै भावना मर्यो भन्न मिल्दैन । माग पूरा नभएसम्म यो चलिरहन्छ । हामी त्यसमा लागिरहेका छौं ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०७६  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC