काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । गृह मन्त्रालयको सिफारिसमा उक्त पदकद्वारा विभूषित गर्ने घोषणा गरिएको हो । जसमा महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) स्वर्गीय साहित्यकार मदनमणी दीक्षित र हेलिकोेप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसमेत दुईजनालाई प्रदान गर्ने घोषणा गरिएको छ ।
यसैगरी, सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम श्रेणी) सातजनालाई दिने घोषणा गरिएको छ । जसमा पहिलो नम्बरमा प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा. डा. दिव्यासिंह शाह, हेलिकोप्टर दुर्घनामा मृत्यु भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणा, सिंगापुरको डिपार्टमेन्ट अफ मेडिसिन डिभिजन अफ नेफ्रोलोजी, नेशनल युनिभर्सिटी हस्पिटलका सिनियर कन्सल्ट्यान्ट प्राध्यापक अनन्थरमण भथशाला, म्याक्स ग्रुप हस्पिटल दिल्लीका डिपार्टमेन्ट अफ युरोलोजी, युरो अनकोलोजी रोबोटिक्स एण्ड रेनल ट्रान्सप्लान्टका अध्यक्ष प्रा.डा. अनन्तकुमार, दिल्लीकै इन्स्टिच्युट अफ एडल्ट रिजोन्स्ट्रक्सन स्पोर्ट इन्जुरी एण्ड ज्वाइन्ट रिप्लेसमेन्टका अध्यक्ष डा. राजीवकुमार शर्मा र भारतकै डिपार्टमेन्ट अफ अन्कोलोजी इन्द्र प्रस्थ अपोलो हस्पिटलका प्रमुख डा. हर्ष दुवा रहेका छन् ।
सो सम्मान पाउनेमा तीन जना नेपाली छन् भने बाँकी विदेशी छन् । सबै स्वास्थ्य क्षेत्रसँग सम्बद्ध पाइएका छन् । यसैगरी, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय उच्चस्तरीय प्रशासन सुधार तथा कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई दिइएको छ ।
यस्तै, सुकीर्तिमय राष्ट्रदीप (तृतीय श्रेणी) ८ जनालाई दिइएको पाइएको छ । सो पदक पाउनेमा पूण्य प्रसाद न्यौपाने, सचिव यामकुमारी खतिवडा, सचिव मणिराम ओझा, चिकित्सक प्रा.डा. भगवान कोइराला, नारायणबाबु थापा, उपरथी विनोदकुमार श्रेष्ठ, उद्यमी राजेशकाजी श्रेष्ठ र सहिद रामबृक्ष यादव रहेका छन् ।
यसैगरी सुप्रवल जनसेवा श्री (तृतीय) ११३ जना, कीर्तिमय राष्ट्रदीप (चतुर्थ श्रेणी) सात जना, प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी) २०२ जना, जनसेवाश्री (पञ्चम श्रेणी) ११० जनालाई दिइएको छ ।
त्यस्तै अलंकार सातजना, परम पौरख भास्कर एकजना, नेपाल प्रताप सुभुषण ३० जना, अति पौरख भास्कर २० जना, नेपाल प्रताप आभूषण २३ जना, समाजसेवा रत्न १६ जना, महापौरख भास्कर ४३ जना, नेपाल प्रताप भूषण १६ जना, लोकश्री पदक एकजना, राष्ट्रसेवा पदक दुईजना, सत्कार्य पदक एकजना, शिक्षाज्योति पदक पाँचजना, सगरमाथा पदक एकजना, सुकीर्ति पदक सात जना, वीरता पदक पाँचजना र सौर्य पदक छ जनालाई प्रदान गरिएको जनाइएको छ ।