site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘स्वर्ग’ जाने बाटो
Sarbottam CementSarbottam Cement

राजेन्द्र पराजुली


‘यस्तो पनि कुनै बाटो हुन्छ ?’ रारा यात्रामा सहभागी एक साथी कालिकोटको मान्म कटेपछि कुर्लियो । देशका थुप्रै स्थान पुगिसकेको ऊ खतरनाक सडकबाट यात्रा गर्न र त्यसको वर्णन गर्न सधैं कस्सिन्थ्यो । यात्राबाट ऊ सधैं आनन्द लिन्थ्यो । तर कर्णाली राजमार्गबाट रारा जाँदा उसको मानसपटलमा थुप्रै प्रश्नहरु उब्जिन पुगेका थिए । यात्राबाट आनन्द कम, सकस बढी भएको उसको निष्कर्ष थियो । काठमाडौंदेखिको सात दिने (सुविधाजनक टोयोटा फच्र्युनर फोर ह्विलर्स जिप भएका कारण कम समय लागेको) रारा यात्रामा उसले प्रश्नबाहेक केही गरेन । यस्तो लाग्थ्यो, कर्णालीले उसलाई प्रश्नको भकारी बोकाइदिएको छ । मनको भित्री कुनाबाट डर मिश्रित आवाजमा निस्किएको प्रश्नको सकारात्मक उत्तर कसैसँग थिएन । प्रश्न स्वाभाविक थियो । 

कर्णाली राजमार्गबाट यात्रा गर्न कस्सिएका हामी सबै (६ जना) लाई आफ्नो यात्रा ‘दुस्साहसपूर्ण’ लाग्दै थियो । सुर्खेतबाट केही परदेखि ताल्चा विमानस्थलसम्म पुग्दा हामीले एक मिनेट पनि गाडीमा आनन्दले बस्न र यात्राको रमाइलो लिन सकेका थिएनौं, हामी डर भगाउन अनेक प्रयत्न गरिरहेका थियौं । हामी ‘पृथ्वीको स्वर्ग’ मानिएको राता ताल जाँदै थियौं कि कसैले नदेखेको ‘धार्मिक स्वर्ग’को यात्रामा थियौं, यसै भन्न गाह्रो थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

सुर्खेतदेखि कालिकोटको मान्म हुँदै मुगुको ताल्चा विमानस्थलसम्मको दूरी तीन सय किलोमिटरभन्दा पनि कम । त्यसलाई छिचोल्न लाग्ने समय पूरै २४ घण्टा ! एक्काइसौं शताब्दीको प्राविधिक तथा चामत्कारिक दुनियाँलाई यो कुरा सुनाउँदा कत्ति अपत्यारिलो लाग्ला ? राजमार्गका कतिपय ठाउँमा सडक छ कि छैन भन्नै कठिन । सहज सडक हुने हो भने उक्त दूरी पूरा गर्न बढीमा सात घण्टा लाग्थ्यो, तोकिएको गति प्रतिघण्टा ४० किलोमिटरमा दौडँदा पनि । तर लाग्यो तीन गुनाभन्दा पनि बढी !

सिमसिम पानीले हिलाम्मे पारेको कच्ची बाटो, अग्लाअग्ला चुचुरोबाट सरर सडकतर्फ बगिरहेको माटो । काटेर त्यसै छाडिएका भिरालोमा बल्लतल्ल अड्किरहेका ठूल्ठूला रुख । कुनै पनि बेला ती सलल बगेर सवारीसाधनमा ठोक्किन सक्ने सम्भावित आकस्मिकता । अधिकांश ठाउँमा ठ्याक्क एउटा सवारीमात्र अट्ने, अन्य सवारी त्यतिखेरै आएका खण्डमा साइड दिन महाभारत पर्ने । बाँदर लड्ने भीर, नाममात्रैको बाटो । अलिकतिमात्र दायाँबायाँ हुँदा गाडी गुल्टेर कहाँ पुग्ने हो भन्न गाह्रो ! त्यसपछि त सीधै नदेखिएको स्वर्ग !

Global Ime bank

निकास नहुनाले सडकमै पानी जम्ने । हिलोमा सवारी पर्दा त्यसले नाच्दै दूरी पार गर्नुपर्ने बाध्यता । सवारी चिप्लिएका खण्डमा खसेर पहराका कुन कुनामा पुग्ने हो भन्नै नसकिने अवस्था । कतिपय ठाउँमा हामी सबै आँखा चिम्लिएर बस्थ्यौं र बाटो पार गरिसकेपछि चालकको अनुहारमा हेथ्र्यौं । हामी सबैको ज्यान उनैको हातमा थियो, हामीलाई त्यस असुरक्षित सडक पार गराउँदै सुरक्षित काठमाडौं उतार्ने जिम्मेवारी उनकै काँधमा थियो । 

यस्तो सडकमा यात्रा गर्दा प्रश्न होइन, महाप्रश्न नै उठ्नु स्वाभाविक हुन जान्छ । मेरा सहयात्रीको प्रश्न सीधै सरकार र उसले कर्णालीलाई गरेको हेपाहा व्यवहारमाथि तेर्सिएको थियो । तिनै साथीले बाटोमा भेटिएका एकजना कर्णालीबासीलाई सोध्न पनि भ्याइहाले– कर्णालीको विकास किन नभएको ? ‘‘काठमाडौंलाई नै विकास पुगेको छैन अनि कसरी सरकारले कर्णालीलाई हेरोस् त !’’ उनको जवाफमा केन्द्र सरकारमाथि व्यङ्ग्य त थियो नै साथमा मुलुकले हालै बोकेको सङ्घीय नीतिमाथि पनि प्रहार थियो । कम्तीमा सडक सञ्जाल र पर्यटकीय गन्तव्यमा आवश्यक पूर्वाधार निर्माण सङ्घीय सरकारले गरिदिनुपर्ने आग्रह हुनु कुनै पनि कोणबाट नाजायज होइन । यति पनि नगर्ने हो भने सरकार हुनु र नहुनुको भेद पनि त कसरी खुल्ला र !

कमजोर पूर्वाधार
जसोतसो रारा पुगेपछि त्यसको सौन्दर्यले सारा दुःख–कष्ट मेटाइदेला भन्ने मेरो अनुमान पनि विस्तारै गलत साबित हुँदै गयो । थकालइले चुर हामी तालको वारितिर सुस्ताउन चाहन्थ्यौं, तर त्यहाँ कुनै ठाउँ थिएन । पारितिर देखिएका केही घरहरुमा पुग्न डुङ्गा चढ्नुपर्ने बाध्यता । डुङ्गा पाउनु अर्को महाभारत ! ती नियमित नहुने रहेछन् । कसैले खबर गरिदिएपछि मात्रै वारितिर आउने र यात्रु लिए पारि जाने । हामी आउँदै गरेको खबर ताल्चा विमानस्थलको एक होटलवालाले गरिदिएका थिए, त्यसैले डुङ्गा चढेर हामी पारि पुग्न सक्यौं । हिँडेरै त्यहाँ पुग्ने सामथ्र्य मेरो टोलीका सदस्य कसैमा पनि थिएन । मान्मदेखि १२ घण्टाको लगातार असहज यात्रा गरेका साथीहरु उसै पनि थकित थिए । ताल्चा विमानस्थलबाट करिब डेढ घण्टा हिँडेर रारा पुगेका साथीहरु कतै बसेर तालको सौन्दर्यपान गर्न चाहन्थे । तर त्यो सम्भव थिएन । सकसपूर्ण यात्रा पार गरेर गन्तव्यमा पुग्दा पनि आनन्द लिन नसक्नुजस्तो दुर्भाग्यपूर्ण अवस्था अर्को के होला ! हामी त्यस्तै दुर्भाग्यको सिकार बनेका थियौं ।  
हामी रारामा दुई रात बस्ने (कम्तीमा एक रात) निधो गरेर ताल्चाबाट हिँडेका थियौं । तर जब रारा पुग्यौं, त्यहाँका पूर्वाधार, होटललगायतको अवस्था देखेर केही घण्टामै फर्कने निर्णय गर्न बाध्य भयौं । निश्चित रुपमा सौन्दर्यको मुख्य पाटो प्रकृति हो, तर त्यसलाई सिँगार्न र पर्यटकलाई लोभ्याउन थप सुन्दर पार्नु अत्यावश्यक हुन्छ । त्यस्तो सुन्दरता भौतिक पूर्वाधारले नै बढाउने हो, त्यसमा केही कृत्रिमता मिसिनु आवश्यक हुन्छ । सुविधायुक्त होटल, तालवरपर घुम्नका लागि उपयुक्त बाटो, सहज वातावरण, आवश्यक सामानको उपलब्धताजस्ता कुराले पर्यटकको बसाइ लम्बाउन सकिन्छ । उभिएर आएका पर्यटक उभिएरै फर्कंदा कसैलाई फाइदा हुँदैन । पर्यटकलाई जतिसक्यो बढी समय टिकाउन सक्दा नै पर्यटन उद्योग फस्टाउने हो, स्थानीयको आम्दानी बढ्ने हो । 

राराबाट फर्केपछिको रात ताल्चामै बस्ने हो कि भन्ने विषयमा पनि हामीबीच छलफल चलेको थियो । कम्मरको दुखाइ र फर्कनुपर्ने बाटोको अवस्थाले टोलीमा सबैभन्दा पीडामा सायद म नै थिएँ । एकतर्फी बाटो पार गरेको पहिलो रात म निदाउन पटक्कै सकिनँ । फर्कने बाटो मेरा आँखा अघिल्तिर नाचिरहेका थिए । डरले मलाई निदाउन दिइरहेको थिएन । साथीहरुसँग आफू जहाजमा नेपालगञ्ज फर्कन पाए हुन्थ्यो भन्ने आशय पनि प्रकट गरेँ । 

जहाजको टिकटबारे काठमाडौंमा चिनजानको एक ट्राभल एजेन्सीमा कुराकानी पनि गरेँ । तर जहाज उड्ने कुनै निश्चितता थिएन । ताल्चाबाट फर्कने यात्रु नपाउँदा जसरी त्यहाँ जहाज जाँदैनथ्यो, उसैगरी मौसम अनुकूल नहुँदा पनि जहाज पुग्दैनथ्यो । के ठेगान जहाज कुर्दै थुप्रै दिन ताच्लामै अड्किनुपर्ने पो हो कि ! साथीहरु मलाई एक्लै जान दिने पक्षमा पनि थिएनन् । त्यसबेला मलाई केही वर्षअघि जुम्लाबाट नेपालगञ्ज जहाजमा फर्कंदाको घटना सम्झना भयो । म फर्कने १८ सिटको जहाजमा जम्माजम्मी ६ जना थिए । जहाजका कर्मचारी कम यात्रु बोकेर नेपालगञ्ज उडाउन चाहँदैनथे, त्यो घाटाको व्यापार थियो । ती कर्मचारीले हामीलाई केहीबेर धैर्य गरेर जहाजमै बस्न अनुरोध गर्दै भने, ‘‘तपाईंहरुले एकछिन कुर्नुपर्ने भयो । म यस्सो बजारतिर गएर यात्रु पाइन्छन् कि खोजेर आउँछु ।’’

करिब एक घण्टापछि ती फर्किए, तिनका साथमा पाँचजना यात्रु पनि थिए । रत्नपार्कतिरका सार्वजनिक सवारीले बाटोमा हिँडिरहेका मानिसलाई तानेर आफ्नो गाडीमा राखेजस्तै तिनले पनि जुम्ला बजारबाट यात्रु तानेर ल्याएका थिए । यो टिठलाग्दो अवस्थाले पहाडी क्षेत्रमा उड्डयन व्यवसायको यथार्थ तस्बिर देखाइदिन्छ । 

सरकारले सन् २०२० लाई पर्यटन वर्ष (भिजिट नेपाल)को रुपमा मनाउने योजना सार्वजनिक गरेको छ । यसको प्रचार प्रसार देश–विदेशमा तामझामका साथ भइरहेको देखिन्छ । र, उक्त वर्ष २० लाख पर्यटक भित्राउने दाबी पनि सरकारले गरेको छ । तर रारा तालजस्तो अति मनोरम स्थानमा पर्यटक कसरी लैजाने भन्ने विषयमा सरकारी चासो पटक्कै गएको देखिँदैन । बुझ्दै जाँदा गत वर्ष रारामा जम्माजम्मी दुई सय विदेशी पर्यटक पुगेको सुन्नमा आयो । यो अङ्क मिथ्याङ्क होइन भने सरकारको योजना र दाबी पूरा हुन मुश्किल पर्ने देखिन्छ । 

आन्तरिक पर्यटककै कुरा गर्दा पनि हामी रारातर्फ लागेको दिन बाटोमा तीन–चारवटा निजी गाडी र त्यति नै सङ्ख्यामा मोटरसाइकलमात्र भेटेका थियौं । विशाल रारा तालमा केवल दुईवटा डुङ्गा चलेको देखिएको थियो । दुइटा डुङ्गामा बढीमा १५ जना थिए । तालपारि रहेका दुई होटल सुनसान थिए । रारा जाने उपयुक्त मौसम नभएकाले पर्यटक कम भएका हुन् ? के हामी गएको मध्यभदौ रारा जान अनुपयुक्त समय हो ? राराजस्तो आकर्षक स्थलमा जानका लागि बाह्रै महिना उपयुक्त सिजन बन्नुपर्छ । यसलाई सिजन र अफसिजन बनाएको केवल सडकको अवस्थाले हो । सडकमात्रै सुधार गर्ने हो भने मानिसहरु जुनसुकै याममा रारा जानेछन् । साथमा तालवरपर आवश्य भौतिक निर्माण हुनु पनि अत्यावश्यक छ । सुगम भेग अर्थात् सुविधासम्पन्न फेवाताल र बेगनास ताल (पोखरा)लाई कहिल्यै मौसमले छेक्ने गरेको छ र !

लुकेको पाटो
कर्णालीलाई पर्यटनका दृष्टिले मात्र हेर्नु एकाङ्गी हुन जान्छ । त्यहाँका मानिसको जीवनशैली, रहनसहन, सांस्कृतिकता, तिनका कष्टपूर्ण जीवनको मिहीन विश्लेषण आवश्यक पर्छ । अन्य क्षेत्रका नेपालीका निम्ति कर्णाली क्षेत्रमा बोलिने नेपाली (खस)भाषा नै पनि रोचक विषय बन्न सक्छ । तिनको लवज, बोलिचालीमा उत्पन्न हुने उतारचढाव, अन्य क्षेत्रका मानिसलाई बुझ्न कठिन हुनेखालका कतिपय शब्दावली रुचिकर लाग्छन् । 

नाममात्रैको सडक सञ्जालले एकातिर तिनको जीवनमा खासै अर्थपूर्ण परिवर्तन ल्याउन सकेको छैन भने अर्कोतिर ती सडक ‘मृत्युमार्ग’जस्ता लाग्छन् । घरबाट निस्केको परिवारको सदस्य घर नफर्किउञ्जेल त्रासमा बस्नुपर्ने दयनीय अवस्था तिनले दैकिन भोग्दै आएका छन् । अझै पनि कर्णाली राजमार्ग संसारका खतरनाक सडकमध्येमा पर्छ । के यो खतरा कम गर्दै लैजानु पर्दैन ?

पौष्टिक आहार नपाएका बच्चा, उमेरभन्दा निकै चाँडो बुढो भएर दाँत सबै झरिसकेका मानिस अझै पनि देख्दा आफू काठमाडौंबासी हुनुको ग्लानि उत्पन्न हुन्छ । केही वर्षअघि जुम्ला पुग्दा स्थानीयसँग गरेको संवाद म कहिल्यै बिर्सन सक्दिनँ । ती पुरुषको मुखमा दाँत आधाजति बाँकी थिए । अनुहार पूरै चाउरिएको थियो । केही मिनेट तिनीसँगै हिँड्ने क्रममा मैले उनको उमेर सोधेको थिएँ । तिनले अनुमान गर्न मलाई भनेका थिए । मैले उनको अनुहार, कपाल, पहिरनजस्ता कुरा हेर्दै ६५ वर्ष अनुमान गरेँ । ती बेस्सरी हाँसेका थिए । मेरो अनुमान पूर्णतः विफल भएको थियो । ती केवल ४४ वर्षका रहेछन् । त्यसपछि उनले पनि मेरो उमेर अनुमान गर्न थाले । मलाई राम्ररी हेरेपछि ३० देखि ३२ वर्षको हुनुपर्छ भने । त्यसबेला म ४५ हाराहारी पुगिसकेको थिएँ । म तिनलाई दाइ सम्बोधन गरिरहेको थिएँ, रहेछन् भाइ ! हामी दुईले गरेको अनुमानजन्य कार्यमा थुप्रै सन्देश लुकेको छ ।  

मौजुदा सडककै कारण कर्णाली क्षेत्रमा उत्पादित फलफूल, तरकारी तथा अन्य वस्तुले उचित मूल्य पाउन सकिरहेको छैन । भदौ महिना उसै पनि स्याउको याम । सडक छेउछाउमा स्याउ झरेर त्यसै कुहिएको दृश्य र त्यहाँका अधिकांश मानिसको अभावपूर्ण जीवनको दृश्य ‘प्याराडक्स’ लाग्छ । त्यही स्याउले मात्रै उचित बजार पाउने हो भने कर्णालीबासीको जीवनमा थोरै भए पनि परिवर्तन आउन सक्छ । बाटोमा स्याउ बेच्न बसेका अधिकांश किसानको अनुहारमा निराशा देख्न सकिन्छ । हामी आन्तरिक पर्यटक बन्दै त्यता पुगेका केही मानिसले स्याउ किनिदेलान् कि भन्ने तिनको अनुनयले जोकोहीलाई पीडा दिन्छ ।

सरकारले हरेक वर्ष कर्णालीमा खाद्यान्न उपलब्ध गराउँछ, त्यसका निम्ति बजेटको व्यवस्था गर्छ । खाद्यान्न भन्नु चामलमात्रै रहेको बुझिँदै आएको छ । मानव शरीरलाई आवश्यक खाद्यान्न कर्णालीमै पर्याप्त उत्पादन हुन्छ । मकै, कोदो, फापर, गहुँजस्ता बाली अधिकांश क्षेत्रमा लगाउन सकिन्छ । विडम्बना, खाद्यान्न भनेको चामलमात्रै हो भन्ने भ्रम व्याप्त छ । सिंचाइ, मलखाद र बीउबिजन समयमा उपलब्ध गराउनुपर्ने सरकार कर्णालीबासीलाई चामल दिएर कमजोर बनाइरहेको छ । फलफूल र तरकारी पर्याप्त छ कर्णालीमा, माछामासु, दुधका निम्ति पशुपालनमा सरकारी सहयोग आवश्यक छ । स्थानीय तहले नै त्यहाँ उत्पादित फलफूल, तरकारी, माछामासु, जडिबुटी किन्ने व्यवस्था गरिदिन सक्छ । त्यसका लागि सहरकारीको नीति अवलम्बन गर्न सकिन्छ । यति गर्न सक्ने हो भने कर्णालीमा खाद्य सङ्कटका समाचार कुनै पनि मिडियाले प्रकाशित गर्नुपर्ने छैन । 

कर्णाली फलफूल तथा जडिबुटीमात्र होइन, संस्कृतिमा पनि पृथक छ र धनी छ । त्यहाँका सांस्कृतिक चाडपर्वबारे उचित माध्यममा जानकारी दिने हो भने पर्यटक लोभिने निश्चित छ । कम्तीमा पनि रारा तालवरपर र ताल्चा विमानस्थलछेउछाउ पुगेका पर्यटकलाई सांस्कृतिक झाँकी देखाउन सक्दा आम्दानीको दह्रो र दिगो माध्यम बन्न सक्छ । 

सडकको दूरवस्थाले उसै पनि त्यता जाने पर्यटकको सङ्ख्या निकै कम छ । जहाजमा जानेले राजमार्गमा बेच्न राखिएका स्याउ र अन्य वस्तु किन्ने तथा संस्कृति बुझ्न सक्ने कुरै भएन । यसकारण पनि कमजोर सडक सञ्जाल कर्णालीको सबैभन्दा ठूलो दुःख हो भन्ने कुरामा अब शङ्का रहेन । यति कुरामात्रै सरकारले बुझिदिने र तदनुरुप काम गरिदिने हो भने कर्णालीले आफ्नो मलिन अनुहार आफैं उजिल्याउन सक्छ । 

वादी गीत
नाग्म पुगेपछि हामी केहीबेर आराम गर्ने र केही खाने सुरसारमा लाग्यौं । त्यतिखेरै प्रकट भए १०–१२ वर्षजतिका दुई बालक नवीन वादी र सुमन वादी । ‘‘हामी दुई भाइ गीत गाउँछौं । आज हाम्रो स्कुल विदा छ । तपाईंहरु हाम्रो गीत सुनिदिनोस् न ! हामी गीत गाएरै स्कुलको फिस तिर्ने र किताबकापी किन्ने गर्छौं,’’ हामी बसेको टेबुलछेऊ आएर तिनले भने । तिनको गीत सुन्न मन नगर्ने को होला र !

मर्नु छ एकदिन 
सधैं बाँचिरहने को छ ?
कोही गरिब हुन सक्छन्
कोही धनी हुन सक्छन्
गरिब हुँ भन्दैमा रुनु पर्दैन
धनी हुँ भन्दैमा धेरै खुसी हुनु पर्दैन

कलिलो मस्तिष्कले बुझेको धनी–गरिबबीचको अर्थले मभित्र बेस्सरी चिमोटको थियो । तिनको आवाजमा मिठास थियो, सुरताल पनि मिलेको थियो, तर त्यसले मलाई मनोरञ्जनभन्दा बढी पीडा दिएको थियो । धनको असमान वितरण, विभेद, थिचोमिचोजस्ता कुराले नै दशक लामो सशस्त्र द्वन्द्वको उर्वर भूमि कर्णाली बन्न पुगेको कुरो अब कुनै शोधार्थीले अनुसन्धान गरिरहनुपर्ने विषय रहेन । त्यस अवस्थामा आमूल सुधार नआउने हो भने कर्णालीले थप विद्रोह नगर्ला भन्न सकिन्न । विद्रोह जन्मनुको मुख्य कारण विभेद र असमानता नै हो भन्ने कुरा अब छर्लङ्ग भइसकेको छ । यसकारण पनि अब कर्णाली वा रारामाथि लेखकहरुले भावुक कविता वा संस्मरणमात्रै लेखेर हुँदैन, सरकारमाथि बलियो कलममार्फत् तीव्र दबाब दिनु आवश्यक छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  ०६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC