site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
साथीको नाममा एउटा पत्र
Sarbottam CementSarbottam Cement

महेश क्षितिज


प्रिय साथी,
तिमीले सम्झिएका छौ ती दिनहरू ?

हामी सँगै एमफिल पढ्थ्यौं । तिम्रो अलिक चर्को हाँसो । तिम्रो हाँसोले गर्दा  पढाउँदै गर्नुभएको सर पनि रोकिनुहुन्थ्यो एकछिन । मानौं, तिम्रो हाँसो ट्राफिकको सिटी हो । विश्व–विद्यालय परिसर थर्किने गरेर हाँस्ने मान्छे भनेर चिनिने तिमीभित्र पीडा छ होला भनेर कसैले अनुमान पनि लगाउन सक्दैनथे । तिमी दुःख देखाउने मान्छे थिएनौ, अनुहारमा सधैं पूर्णता झल्किन्थ्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

हाम्रो अध्ययनको क्षेत्र नै साहित्य भइदियो । एमफिलका दुईवटै सेमेस्टरमा कथा, उपन्यास, कवितालाई केन्द्रमा राखेर कक्षामा प्रस्तुति गर्नुपर्ने, टर्मपेपर बनाउनुपर्ने । दिनभरि कलेज पढाएर थाक्ने हामीहरूलाई कलेजका कामहरू अप्ठ्यारा थिएनन् । तिमीसँगको मेरो परिचय एमफिलको क्लासबाट नै भएको हो । याद छ होला तिमीलाई, त्यो दिन देवी गौतम सरले सङ्कथन विश्लेषण पढाइरहनुभएको पहिलो कक्षा थियो । एक्कासि तिमीले घडी भवन नै उचाल्ने गरेर हाँसेपछि मैले भनेको थिएँ, “हाँस्ने नै भए बाहिर गए भयो नि, क्लास किन डिस्टर्ब गर्नु ।” तिमीले सुन्यौ कि सुनेनौ, तर मलाई जवाफ फर्काएनौ । 

थाहा छ तिमीलाई ? भोलिपल्ट फस्ट पिरियड आउन मलाई १५ मिनेट ढिला भएको थियो । केशव सुवेदी सरले पौरस्त्य दर्शन पढाइरहनु भएको थियो । संयोग प¥यो तिमी बसेको बेन्चमा मैले बस्नुपर्ने । सँगै बसेर पनि मैले तिमीलाई कही सोधिनँ । एक मनले त नाम सोधुँजस्तो लागेको  थियो, तर मैले सोधिनँ । तिमीले पनि सोधेनौ ।  तिमीले टिपेको नोट पनि मैले सारिनँ । अचानक तिमीले झोलाबाट रमेश सायनको कवितासङ्ग्रह भागेर भूगोलभरि निकालेर पढ्न थालेपछि हिजोको दिन सम्झिएँ मैले  । मनमनै भनेँ, “यो मान्छे पनि लेखक हो कि क्या हो ?” कस्सम सँगै बसेर पनि मलाई तिम्रो नाम थाहा थिएन । अर्को पिरियडमा म मेरै साथीहरूसँग बस्न गएँ । मेरो बेन्चमा मसँगै बसेका ज्ञानु अधिकारी, तर्कना शर्मा र चन्द्रावतीलाई खुसुक्क सोधेको थिएँ, “त्यो धेरै हाँस्ने केटाको नाम के हो ?” तर्कनाले भनेकी थिइन्, ए, ऊ शैलेन्द्र अधिकारी हो । ऊ लेखक हो नि । दुईवटा गजलसङ्ग्रह र एउटा समालोचनाको किताब प्रकाशन गरेको छ उसले  ।”

Global Ime bank

सुवेदी सरको क्लास
राजेन्द्र सुवेदी सरको साहित्यमा समाजशास्त्रको क्लासमा तिमीले अमर न्यौपानेको पानीको घाम आख्यानबाट केही अंश सरलाई सुनाएका थियौ । अन्य साथीहरूले पुराना लेखकहरूका कथा, उपन्यासमा समाजशास्त्रको नमुना पस्केका थिए । मैले नयनराज पाण्डेको चकलेट कथासङ्ग्रहमा समाजशास्त्रको कक्षा प्रस्तुति गरेको थिएँ । थाहा छ तिमीलाई, त्यो दिन तिमी मेरो पछाडि बसेका थियौ । तिमीले मसँग मेरो कक्षा प्रस्तुति मागेका थियौ र भनेका थियौ, “मान्छेभन्दा पनि राम्रा रहेछन् अक्षर ।”

अर्को दिन 
दिनभरिको जागिर सकेर क्लास जाने हतारमा थिएँ । घडी भवनको सिँढी उक्लदै थिएँ । पछाडिबाट कसैले बोलाएको थियो, “हेलो मित्र ।” त्यो आवाज तिम्रो थियो । भन्यौ तिमीले, “आज ढिला भो मलाई । तिमी पनि ढिलो आएछौ त ?” क्लास सकिन १० मिनेटमात्र छ, नपसौं अब । महादेव अवस्थी सरले गाली गर्नुहुन्छ ।” तिम्रो कुरा मानेँ मैले पनि । हामी क्लास गएनौं । 

तिमीले फेरि भन्यौ, “सरी है मैले तिमीलाई तपाईं भनिनँ, तिमी भनेँ ।”

मैले पनि भनेको थिएँ, ठीक छ नि म पनि तिमी भन्छु ।”

हामीले आआफ्नो नाम सोधासोध ग¥यौं र फेसबुकमा जोडियौं । साहित्यका कुरा ग¥यौं एकैछिन भए पनि । थाहा छ तिमीलाई, हामी नजिकका साथी बन्नुमा पनि यही साहित्य हो नि पुल बनेको  । कस्तो अचम्म सुरुमा अप्रिय लागेको तिम्रो हाँसो पनि किन हो किन प्रिय हुँदै गयो  । कति चाँडो हाम्रो एमफिल सकियो । तिमीले अमर न्यौपानेका आख्यानमा सबाल्टर्न शीर्षकमा शोधकार्य सक्यौ, मैले नयनराज पाण्डेका उपन्यासमा सबाल्टर्न शीर्षकमा शोधकार्य सकेँ । यतिबेला तिमी र म पीएचडीका विद्यार्थी भएका छौं । तर हेर न जागिर, घरपरिवार, बालबच्चा केके हो केके व्यस्त भएको छु म । सुन, यो साल त पीएचडी सक्नैपर्छ । 

अब, तिम्रो निर्वेद उपन्यासको कुरा 
साहित्यको विद्यार्थी तिमी त्यसमा पनि पूर्वीय दर्शनलाई राम्ररी बुझेको मान्छे । गजल र समालोचनाका किताबहरू लेखिसकेको तिमीलाई लेख्ने काम नयाँ हुँदै होइन । तिमीलाई थाहै छ, अहिले पाठकहरू जस्ता पायो त्यस्ता किताब पढ्दैनन् । तिमी पनि एउटा असल पाठक भएको हुनाले यो कुरा बुझेका छौ भन्ने मलाई विश्वास छ । तिम्रो उपन्यासको पाण्डुलिपि पढेपछि मलाई लाग्यो ‘हामी मान्छे ज्याद्रो हौं । कुनै बेला ढुङ्गो पनि हुन सक्छौं, कुनै बेला नौनी पनि ।’

प्रेम शरीरले गरिन्छ कि मनले ? मनले गरेको प्रेममा सौन्दर्यको गुलाफ फुल्छ भन्ने तिम्रो विचारमा मैले सही थापेको छु । उपन्यासका घटना–परिघटनामा तिमीले जोडेको समाज हामीले नै बाँचेको समाज हो । मुल परेको सन्तानलाई घरका बाआमाले गर्ने व्यवहार किन फरक हुन्छ ? खासमा यो मुल पर्नु भनेको के हो ? अन्धविश्वास हो भने हामीले किन हाम्रो विचारलाई परिवर्तन गर्न सकेका छैनौं ? मलाई धादिङबेसी पुग्न मन लागेको छ । र, मन लागेको छ त्यहाँको सामाजिक परिवेशलाई नियाल्न, आन्तरिक पर्यटक बनेर ।

मोक्षको बाटो के हो ? तिमीलाई सोध्न मन लागेको छ । पशुपति परिसरको दृश्य मेरा आँखामा झलझली आइरहेको छ अहिले । जब तिम्रो उपन्यासको कथानकमा म डुबेँ, तब मलाई नयाँ ज्ञान प्राप्त भयो, मान्छेले निर्णय गर्नुअघि आफ्नो मनलाई सोध्छ । आफन्त इष्टमित्र, प्रेमीप्रेमिका यी कुराहरू भनेका दोस्रा हुन् । मलाई तिम्रो मोक्षको बाटो भने अप्ठ्यारो लागिरहेको छ । हुन त जीवनको राजमार्ग कहाँ सजिलो छ र ? भनेजस्तो र योजनाबद्घ जीवन कसैको हुन्न भन्ने हामीलाई थाहा भएकै कुरा हो । जीवनमा हरेक दिन रमिता हुन्छ, नसोचेको अनि कल्पना नगरेको रमिता । मलाई त लाग्छ हाम्रो जीवन पनि शोधको एउटा पाटो हो । हामी मान्छेहरू रहरै रहरमा या त बाध्यताको फेरो समातेर कुनै मोडमा पुग्छौं । त्यो मोड मोक्षको भइदिन्छ, कैबल्यको भइदिन्छ । तिमीलाई प्रकृति र पुरुषको ज्ञान कति धेरै रहेछ है !

अन्त्यमा,
तिम्रो आख्यानको मुख्य पात्रसँग मलाई संवाद गर्न मन लागेको छ । उसले जस्तै म पनि जोगीको विषयमा शोधकार्य गरूँ कि भन्छु, तर ममा त्यत्रो धैर्य कहाँ छ र ! अचेल म पशुपति परिसरमा गएर थुप्रै जोगीहरूको समूहमा बसेर तिम्रो कथाको नायकको अनुहार नियालिरहेको छु । कलेज ड्रेस लगाएर आएका युवायुवती अनि पूजा गर्न आएका सम्पूर्ण मान्छेहरूको भीडमा तिम्रो उपन्यास पनि टक्क उभिन्छ । र, खोज्छु तिम्रो नायक । तर अहँ मैले भेट्न सकेको छैन त्यो अनुहार, त्यो निर्वेदको फोल्डरलाई सजीव बनाउने त्यही शोधकर्ता अर्थात् जोगी । आजबाट बजारमा हिँड्ने निर्वेदलाई मेरो शुभकामना अनि तिमीलाई पनि ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC