केशवराज ज्ञवाली
शिशिरको कठ्याङ्ग्रिने जाडो सकिनै लाग्दा सायद, प्रकृतिले फूलहरूलाई खबर पठाइसक्छ । वसन्त आउँदानआउँदै फूलहरूको चेतना जाग्छ । हाँगाहाँगामा खबर पुग्छ । कोपिलाहरू देखिन थाल्छन् । वसन्तले च्याप्प अँगालो मार्छ समयलाई । बोटहरू ज्यानभरि रङ्गीन फूलहरू लिएर उभिन्छन्, उन्मत्त । हरर्र फैलिन्छ बासना हावाभरि, बोकेर सुगन्धको कथा ।
ऊ र उनी दुवै यस्तै वसन्तमा जन्मे ।
सृष्टिका यी फूलहरू वसन्तको पहिलो प्रहरमै लठ्ठ भए एकअर्काको सुगन्धमा । प्रकतिले हेरिरह्यो, त्यो सुगन्धी नाच । पानी प¥यो, भिजेर नाचे । घाम लाग्यो, असिनपसिन भएर नाचे । जीवनको भोग चलिरह्यो, अविराम ।
दिनरात, हप्ता महिना गर्दै वर्षौं बित्यो । आज उनीहरूको पहिलो विमानयात्रा ।
उसले उनको कानैनेर पुगेर भन्यो– ‘कस्तो लाग्दैछ त जेटको यात्रा, पहिलो पटक ।’ उनले रिसाएजस्तो गरी कर्के आँखाले हेरिन् ‘कारण थाहा छ नि ?’
‘कारण जेसुकै भए पनि अहिले तिमीलाई अलिअलि रमाइलो, अलिअलि अनौठो लागेको छ कि छैन ?’ ऊ हाँस्छ खितिती...।
‘क्यै रमाइलो लागेको छैन । धेरै नहाँस है ?’ रिसाएजस्तो आवाज ।
‘तिमीचैं किन यति धेरै भलाद्मी भको ?’ ऊ अझै जिस्किन्छ ।
‘सिरियसली, यो मान्छेको ताल ! किन बच्चाजस्तो, अलि सिरियस होऊ न प्लिज’ उनी थप दिक्क भइन् ।
‘अबचाहिँ पक्का बोल्दिन । पाउरोटीजस्तो भुक्क फुलेर बस्छु ।’ उसले दुवै गाला भुक्क फुल्नेगरी मुखभरि हावा भ¥यो र उनीतिर फक्र्यो ।
‘ह्या ! के गरिरा, देख्नेले के भन्छन् !’ उनले वरिपरि हेरिन् ।
‘अरूको कुरा छोड तिमी के भन्छ्यौ ।’ ऊ अझै जिस्किँदै थियो ।
उनी मुसुक्क हाँसिन् र भनिन्, ‘‘मान्छेचाहिँ हो के तिमी, नौटङ्की ।’’ त्यहीबेला प्लेन ठूलो आवाज निकालेर उड्यो ।
उनी मुसुक्क हाँस्दा, उसको अनुहारभरि खुसी नाच्यो । दुवैले सम्झिए पुरानो समय ।
‘तिमीले मलाई प्रमिस ग¥याथ्यौ हनिमुन लग्छु भनेर’ बिहेको एक महिनापछि उनले भनिन् ।
‘विराटनगरको मान्छेलाई भगाएर काठमाडौं ल्याएपछि हनिमुन भएन त ?’
‘हामी काठमाडौंमै बस्ने भएपछि हनिमुन त अन्तै हुनुपर्दैन ? लैजाउन पोखरा, सौराहा, कतैकतै ।’
‘पर्ख न, तिम्रो बा–आमा तिमीलाई खोज्दैखोज्दै यता आउन देऊ अनि फेरि भागांैला । हनिमुन पनि हुन्छ ।’
‘अँ, अब काम नपाएर फेरि तिमीसँगै भागांैला नि ?’ बनावटी रिसको पारो अलि माथि पु¥याइन् ।
‘तिमीलाई भाग्न, नयाँ मान्छे चाहियो ।’ उसले हिही गर्दै भन्यो ।
‘जे पायो त्यही नबोल’ उनले प्याट्ट उसको हातमा हानिन् ।
कति सङ्घर्षपूर्ण बित्यो उनीहरूको पहिलो वर्ष । दुवैको स–सानो काम । दुवैको घरतिर कसैले बोलाएनन् उनीहरूलाई । उनीहरू पनि आफूखुसी गरेर हिँडेका मान्छे, आफूखुसी गरिरहे ।
प्लेन काठमाडौंको आकाशमाथि थियो । उसले झ्यालबाट बाहिर हे¥यो । आफ्नो घर चिन्ने प्रयास ग¥यो । हजारांै घरहरूको समुद्रमा उसको सानो खुसीको टापु । जति कोसिस गरे पनि यकिन गर्न सकेन । बाहिर पानी पर्न थालेको थियो ।
उसले उनको कानैतेर गएर भन्यो ‘पानीमा भिज्दै चिया खान गएको सम्झना छ ।’
‘पहिलो एनिभर्सरीमा, किन नहुनु, मेरो जागिर फुस्केको दिन । म कत्ति रोएकी थिएँ नि ।’ उनको आँखाअघि फेरि त्यो दिन आयो ।
‘अब के गर्ने ?’ उनले आँखाभरि आँसु लिएर उसलाई भनिन् । ‘समस्या कसलाई पर्दैन, कत्ति रोइरा’ उसलाई समस्याले छुँदै छोएन ।
‘हिँड जाउँ बाहिर, एकछिन घुम्यो भने अलि फ्रेस हुन्छ ।’ फेरि उसैले भन्यो ।
‘मन छैन, कता जानु यस्तो पानीमा’ उनको बोली अझै रुञ्चे थियो ।
‘मलाई तिम्रो हात समातेर पानीमा भिज्दै हिँड्न मन छ !’
‘नाइँ नजाने । म दिक्क भा’छु । सरी उनी एकैछिन रोकिएर भनिन् ।
‘मलाई नै किन पर्नुपर्ने यस्तो ?’ उनी फेरि ठुस्स परिन् ।
‘छोड न, पानीमा दौडिँदै त्यो चिया पसलसम्म जाऊँ । अनि तातात्तो चिया खाऊँ ।’
‘नाइँ’ उनले अझै मानिनन् ।
ऊचाहिँ भुइँमा पल्टेर लडीबुडी खेल्दै रुन थाल्यो ।
‘ल हिँड्, नौटङ्की’ बल्ल हाँसिन् उनी ।
दुवैजना स–साना बालकजस्तै पानीमा दौडिए ।
तातो चिया सुरूपसुरूप पार्दै उसले भन्यो ‘ह्याप्पी एनिभर्सरी ।’
उनले पनि भनिन्, ‘‘ह्याप्पी एनिभर्सरी ।’’
‘जागिर गयो भन्दैमा रुन पर्छ त, तिमीलाई यसै पनि मनपरेको थिएन नि !’
‘पैसा त मनपरेको थियो, चाहिएको पनि थियो ।’
‘तिमी पैसाको त्यस्तो चिन्ता नगर, आफूलाई मन लागेको काम गर ।’
‘भन्दैमा हुन्छ ।’ उनी झण्डै रिसाइन् ।
‘अनि नभनेर हुन्छ त तिमीलाई साँच्चै के गर्न मन छ भन त ?’
उनले लामो सास तानिन्, सडकपारि सानो बालक ह्विलचियरमा थियो । उसकी आमा नै हुनुपर्छ । पछिल्तिरबाट धकेल्दै थिइन् ।
‘यस्तै जीवन अलि अप्ठेरो भएका बच्चाहरूको हेरविचार गर्न मन छ । उनीहरूसँग हाँस्न, नाँच्न मन छ । उनीहरूको आँखाबाट देखिने संसार हेर्न मन छ । मैले त्यो एउटा तालिम लिएपछि सधैं मनमा यस्तै कुरा खेल्छ ।’ चियाको अन्तिम घुट्को लिँदै भनिन् ।
‘हेर, मेरो सङ्गतमा परेर कस्तो राम्रो सोचेको तिमीले ।’ जहिले पनि जिस्किन सक्छौ ।
‘मजाक नगर न ।’
‘तिमी डे–केयर सुरु गर न त, त्यस्तै नानीहरूका लागि । तिमीलाई इच्छा पनि छ र तालिम पनि ।’
‘तिम्ले भन्दैमा हुन्छ ? बैङ्कमा एक महिनाको खर्च पुग्ने पैसा पनि छैन, कसरी हुन्छ आफ्नो काम ।’
‘समस्या मात्रै देखेर हुन्छ । हेर, हामीले बस्ने ठाउँमा एउटा अर्को कोठा भाडामा लिऊ, अनि सुरु गर ।’
‘अनि त्यो कोठामा म एक्लै नाच्ने ?’
‘मेरो चिनजानमा एक–दुईजना मान्छे छन्, उनीहरूलाई पनि सहयोग चाहिएको छ के ।’
उनको काम सुरु भयो । बिस्तारै उनको खुसी र काम दुवै बढ्दै गयो । सानो घर बन्यो । आफन्तको आउने–जाने क्रम बन्यो । १० वर्ष बितेको पत्तै भएन ।
एक दिन ऊ कामबाट फर्किंदा ऐ्यया भन्यो । सधैंभन्दा फरक । उनीहरू सबैतिर पुगे उसको व्यथा घटेन । अन्ततः उनले भनिन्, ‘‘तिम्रो जीवनको अगाडि सम्पत्तिको के मोल । हिँड बैङ्कक जाऊँ त्यहाँ अलि राम्रो उपचार हुन्छ कि ?’’
बैङ्कक स्वर्णभूमि एयरपोर्टबाट समिति भेज अस्पतालसम्म डेढघण्टाको बाटो ऊ बोलिरह्यो । अनि कहिले हाँसिन् । कहिले रिसाएजस्तो गरिन् । ट्याक्सी गुडिरह्यो ।
ऊमाथि डाक्टर, नर्सहरूले अनेकौं टेस्ट गरे । दिशापिसाब, रगत सब जाँचियो । झण्डै हप्ता दिनको दौडधुपपछि निर्णय आयो । अब ऊसँग ‘चार महिना’ बाँकी छ । सुस्केराहरू निस्के । दुईदिनसम्म उनीहरू एकअर्कालाई हेरिरहे । दुवैको आँखा असार–साउनजस्ता भए ।
ऊ बिस्तारै चल्मलायो, उनको छेउमा टुक्रुक्क बसेर भन्यो, ‘‘मलाई एकदम भोक लाग्यो ।’’
‘के खान्छौ ?’
‘थाहा छैन, हिँड बाहिर जाऊँ एकदमै नयाँ कुरा खान मन छ ।’
‘जाँगर छैन ।’
‘धेरै पिर नगर न, हिँड बाहिर जाऊँ ।’
उसले फेरि भन्यो, ‘‘म अहिलेसम्म एकदम खुसी भएर बाँचेँ । अब पनि त्यसरी नै बाँच्न मन छ ।’’
उनको आँखाको सागर फेरि छचल्कियो ।
उसले उनको आँखामा हे¥यो र भन्यो, ‘‘नरोउ, योभन्दा बढी आँसु झेल्ने हिम्मत मसँग छैन । घर फर्किन दुईदिन बाँकी छ । हिँड, बैङ्कक हेरौं ।’’
‘सक्छौ त ?’ उनले बिस्तारै भनिन् ।
‘पेनकिलर छ नि ।’
मन नलागीनलागी उनी बाहिर निस्किन् ।
सडक किनारमा उभिएर नाम पनि भन्न नजानेको खानेकुरा स्वाद लिएर खायो । थपीथपी खायो । उनी नजिकै उभिएर हेरिरहन्, बेफिक्री ।
अलि अघाएजस्तो भएपछि उसले खाना बेच्ने केटीलाई थ्याङ्क्यु भन्यो ।
‘मलाई त्यो होटेलमा जान मन छैन ।’ उनीतिर फर्किदै भन्यो ।
‘किन ?’
‘तिमी साह्रै रोयौ, फेरि त्यहाँ गयो भने एकदम मुडअफ हुन्छ ।’
‘कहाँ जाने ?’ मन नलागीनलागी उनले भनिन् ।
‘बिच ।’
केही थाहा थिएन उनीहरूलाई नजिकको बिच कहाँ छ । सोध्दैखोज्दै साँझतिर बल्ल उनीहरू ‘ह्वाहिन’को लागि रेल चढे । ह्वाहिनको समुद्रकिनारमा रहेको हिल्टन होटेलको सातौं तल्लामा पुग्दा रातको १० बजेको थियो ।
भोलिपल्ट झिसमिसेमा उसले उनलाई झक्झकाउँदै भन्यो, ‘‘हिँड जाउँ सूर्योदय हेर्न ।’’
उनीहरू त्यो अपरिचित समुद्रको किनारमा गएर बसे । त्यहाँ धेरै गतिविधि थिएन, यस्तो लाग्थ्यो सारा सृष्टि सुस्ताएको छ । बिहान हिँड्नेहरू आए । घोडा चढ्नेहरू आए । बिस्तारै भीड बढ्दै गयो । यस्तैमा पूरै पृथ्वी तताउँछु भनेजस्तो गरी रातो फलामको डल्लोजस्तो जोसिलो सूर्य पानीको गर्भबाट आकाशमा हामफाल्यो । त्यो सेतो बालुवाको समुद्री किनारमा जीवन जुरुक्क उठ्यो जुर्मुराउँदै ।
उसले दिनभरि पटकपटक बालुवामा आफ्नो नाम लेख्यो । कमजोर त्यो नाम, लहरहरूको पहिलो प्रहारमै मेटिइरह्यो ।
उनीहरू दिनभरि यताउति हिँडे, संसारभरिका मान्छेहरू हेरे । साँझमा थकित सूर्य पश्चिम आकाशको गहिराइमा चुर्लुम्म डुब्यो ।
त्यो सन्ध्यामा उसले उनको हात समातेर भन्यो, ‘‘प्यारी, मैले आज कैयौंपटक मेरो नाम यो बालुवामा लेखेँ, तर हरेक पटक कठोर लहरले त्यसलाई मेटाइरह्यो । जीवन यस्तै समयको लहरहरूबीचको भोगाइ रै’छ । मैले सन्तुष्ट हुनेगरी भोगेँ केही गुनासो छैन ।’’ उनी अवाक हेरिरहिन् उसलाई र भनिन्, ‘‘तिमीलाई अरू केही गर्न मन छ कि ?’’ उनी यसै पनि घस्रिरहेकी थिइन् ।
‘छैन, अब फर्कौं ।’
त्यो रात होटेलको बिछ्यौनामा उसको छातीमा टाउको अड्याएर उनले भनिन्, ‘‘प्यारा, तिमीलाई डर लाग्दैन ?’
‘‘पहिलो दुईदिन लाग्यो । अहिले छैन । मेरो सत्य मैले स्वीकार गरिसकेँ । अब डर छैन । सबैको आफ्नो जीवन हुँदोरै’छ । आजको दिनको पनि जीवन थियो । त्यो सूर्य आफ्नै गतिमा आयो र गयो,’’ उसले भन्यो ।
एकछिन रोकिएर उसले फेरि भन्यो, ‘‘अब सुतौं ।’’
एकछिन पछि फेरि ऊ चल्मलायो र भन्यो, ‘‘एउटा गीत गाइदेउ, न ।’’
‘कुन ?’
‘त्यो मेरी आमाले गाउने गीत ।’
उनले उसको टाउको मुसार्दै गाइन्
‘तारा बाजी लैलै, मामा आए घोडा ।’
ऊ दिनभरि थाकेको बालकजस्तो उनको अँगालोमा फुस्स निदायो । उनले उसको अनुहारमा हेरिन् र हेरिरहिन् । मन भरियो र पोखियो आँखाबाट । दुईथोपा आँसु, उनको आँखाबाट निस्के, नाकको किनारैकिनार गुडेर ओठसम्म पुगे । उनले दुवै ओठ दाँतले च्यापिन् । आँसुका थोपाहरू एकछिन अलमलिएर पुनः उनको च्युँडोबाट चुहेर तप्पतप्प उसको गालामा परे ।
ऊ फेरि चल्मलायो ।
उनले उसको निधारमा लामो चुम्बन गरिन् र भनिन्, ‘‘बिदा, मेरो प्रेम ।’’
ऊ फेरि चल्यो । उनी अर्कोतिर फर्किन र सिरानी भिजाइरहिन् । भोलिपल्ट फर्किने दिन थियो ।
बाँकीको चार महिना ऊ ऐ्ययाऐ्यया भन्दाभन्दै पनि बीचबीचमा हाँसिरह्यो, जिस्किरह्यो ।
समयले कोल्टो फे¥यो । चिसो कठ्याङ्ग्रिने जाडो सुरु हुने बेलातिर सृष्टिको नयाँ खबर बोकेर हावाले फूलका बोटहरूलाई थप्थपायो । फूलहरू ओइलाए । बोटहरूले बिस्तारै पातहरूमा पहेँलो रङ पोतेर बिदा भने । सम्पूर्ण सृष्टिको विशालता ससाना बीउहरूमा समेटियो । यस्तै कुनै बिहान उसले जीवनको अन्तिम सास फे¥यो । सुन्दर फुलको एकलहर सुगन्ध जसरी उठेको थियो, त्यसरी नै सकियो ।
मान्छेहरू आए । आवश्यक पर्नेजति मात्रै रोए । अड्कलेर दुःख मनाउ गरेर आफ्नो जीवनमा लागे ।
समयको अगाडि दुःखको पनि केही जोड नचल्ने रै’छ । एउटा अन्तरालपछि उनको पीडा अलि कम भयो । उनलाई उसले लेखेका प्रेमपत्र फेरि हेर्ने इच्छा भयो । प्रेमपूर्वक जोगाएको त्यो मोटो फाइल पल्टाउँदा उनी छक्क परिन् । फाइलको सुरुमै एउटा बन्दखाम थियो । खामबाहिर यस्तो लेखिएको थियो ।
‘मलाई थाहा थियो कुनै दिन तिमीले यो फाइल अवश्य खोल्नेछौ । जसरी यो बन्दखामभित्र के छ तिमीलाई थाहा छैन, जीवनले पनि भोलिभित्र नसोचेका, योजना नबनाएका कुरा लुकाएर राख्दोरै’छ । त्यसैले आजलाई सकेसम्म धेरै भोग गर । म त तिम्रो हिजो भैसकेँ ।’
उनले हतार–हतार चिठी खोलिन् ।
‘हेर न, जीवन सकिँदा पनि तिमीसँग कुरा सकिएन । मेरो जीवन मैले चाहेजसरी बाँचेँ । अरूले गर्नुहुन्न भनेका काम पनि गरेँ । आफ्नै बाटो हिँडेँ । मन लागेजसरी हिँडेँ । छोटो भयो, तर मीठो भयो । ‘क्विन अफ दि नाइट्स’ फूलजस्तो जुन वर्षभरिमा एक रातमात्र फुल्छ । सृष्टिका सबै फूलहरू फरकफरक रङ्गमा फुल्छन् । तिमी पनि फुलिरहे आफ्नै रङ्गमा, आफ्नै सुगन्धमा ।’
बैङ्ककको समिति भेज अस्पतालबाट बाहिर निस्केर सडकको दुवै दिशामा हुइँकिरहेका मान्छेहरू हेर्दा लाग्यो– यिनीहरूको र मेरो जीवनमा केही फरक छैन । मलाई मेरो अन्त्य थाहा भएको मात्रै हो । यीमध्ये कति त मभन्दा पहिल्यै संसार छोड्लान् । जीवनको खुसी यसको लम्बाइमा कहाँ नापिँदोरै’छ र ? तिमीलाई भेट्दाको खुसी । पहिलो प्रेम । पहिलो स्पर्शको रोमाञ्च ! सँगै बेस्सरी थाकुञ्जेल काम गर्दाको मज्जा । सबै छोटाजस्ता भए पनि, अन्तरसम्मै छोए । म जीवनसँग त्यसैत्यसै जिस्किरहेँ, खेलिरहेँ यो खेल । म तिमीसँग, त्योभन्दा पनि बढी जीवनको भोगबाट बढी आनन्दित भएँ, तरङ्गित भएँ ।
‘मलाई थाहा छ, मान्छेका मनभरि पर्खालहरू छन् । हरेक मोडमा तिमीलाई पर्खालभित्र राख्न खोज्ने छन् । जीवनको सर्वोपरी खुसी उन्मुक्त् भएर बाँच्नुमा रै’छ । आफूलाई मन लाग्ने कुरा सबै गरे । अरू कामनाभित्र कोरिएका सीमारेखाहरू तिम्रो झ्यालखाना नबनून । आफूले नस्वीकारेसम्म कुनै पर्खालले कसैलाई छेक्न सक्दैनन् । मुक्ति अरूको सीमाबाट मात्र होइन, आफ्नै सीमाबाट पनि खोज्नु । कहिलेकाहीँ गर्नुहुन्छ कि हुन्न जस्तो लाग्ने कुराहरू पनि गरिहेर्नु । के थाहा त्यसभित्रको संसार कति रोमाञ्चकारी छ !
बाँकी तिम्रो इच्छा । तिमी मलाई सबैभन्दा मन परेको मान्छे । तिम्रो र मेरो खुसी, तिम्रो र मेरो आँसु, नङ र मासु ।
मैले तिम्रो लागि सबैभन्दा महत्वपूर्ण मान्छेको फोटो चिठीसँग पठाएको छु, त्यसलाई सधैं खुसी राखे ।’
उनले फेरि खामभित्र हेरिन्, त्यहाँ उनकै तस्बिर मुस्कुराइरहेको थियो । टिलपिल आँखासँगै उनको मुखबाट अनायास निस्कियो– ‘नौटङ्की’ ।
चिठी सकियो । उनी उठिन् र झ्याल खोलिन् । एक झाँेक्का हावा वसन्तको खबर बोकेर दौडिँदै उनको स्पर्श गर्न आइपुग्यो ।