site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चिकित्सक जीवनका रमाइला अनुभव
Sarbottam CementSarbottam Cement

डा. विश्वबन्धु शर्मा


अर्जुननर सिंह के सी स्वास्थ्य राज्यमन्त्री भएर भर्खरै आएका थिए । मेडिकल एसोसिएसनको वार्षिक सम्मेलनको तयारी भइरहेको थियो । त्यसबेला म अलि फुर्सदिलो भएकाले मेडिकल एसोसिएसनमा गइरहन्थेँ । कुरा २०४० तिरको हो ।

सम्मेलनको तयारीका लागि प्रा. मथुराप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजक समिति बनेको थियो । डा. महेन्द्र नेपाल सचिव थिए, म सहसचिव । डा. नेपाल साइकियाट्री पढ्न जाने तयारीमा रहेछन्, सचिवको हैसियतमा छिटो निर्णय गराएर उनी केही दिनमा गइहाले । म भर्खर रसियाबाट पढेर आएको, व्यवहारमा नभिजेको मानिस थिएँ । सचिवको कार्यभार सम्हाल्नुपर्ने भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

डा. भरत प्रधान मेडिकल एसोसिएसनको एक्टिङ प्रेसिडेन्ट थिए । उनी भूमिगत रुपमा मालेको नेता रहेछन् । मलाई यो कुरा थाहा थिएन । डा. प्रधानको भाषण लेख्नुपर्ने भयो, मलाई लगाए, लेखेँ । 

मैले नेपालको सिस्टम राम्रोसँग बुझिसकेको थिइनँ । नेपाली भाषा पनि त्यति राम्रो थिएन । किताब पत्रपत्रिका पढ्थेँ, दर्शनमा दख्खल थियो । आइडिया र विचार निकै कडा भएछ । राजनीतिक किसिमको भाषण बनेछ । 

Global Ime bank

त्यसबेला चारजना डाक्टरलाई सरकारले सेवाबाट जवर्जस्ती हटाएको थियो । वामपन्थी डाक्टरहरुले त्यसलाई इस्यु बनाएका रहेछन् । त्यसैमा जोड दिएर लेख्न लगाए भरतले, मैले त्यसै अनुरुप लेखेँ । चुरो कुरा मैले बुझेको थिइनँ ।

त्यसअघि उद्घाटनका लागि राजा या रानी नै आउने चलन भए पनि त्यो वर्ष चिकित्सक सङ्घमा वामपन्थीहरुको नेतृत्व भएका कारणले होला, उनीहरु आएनन् । प्रेक्षा आइन् । उद्घाटन कार्यक्रम नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा थियो । 

कार्यक्रममा भरतले त्यही भाषण पढे । स्वास्थ्य राज्यमन्त्री अर्जुननर सिंह केसीको बोल्ने पालो आयो । उनले गर्जिंदै भने, ‘‘नेपाल मेडिकल एसोसिएसनलाई म चुनौती दिन्छु, अध्यक्षको नामबाट आएको भाषण त्यो डाक्टरले लेखेको भाषण होइन, त्यो राजनीतिक व्यक्तिले लेखेको भाषण हो । त्यो लेख्ने मानिस हामीले पहिचान गरिसकेका छौं, कारवाही गरेरै छोड्छौं । यो राजनीति गर्ने संस्था होइन ।’’

म पछाडि बसेर मुसुमुसु हाँसिरहेको थिएँ । सरकारले हटाएका चार डाक्टरको विषयलाई भाषणमा कडा रुपमा विरोध गरिएको थियो । डाक्टरलाई उमेरको हदभन्दा पहिले निकालिएको त्यो पहिलो घटना थियो । ती चारजनामा डा. पीताम्बर झा, डा. लक्ष्मण पौडेल, डा. पुष्पराज राजभण्डारी र डा. तेजसिंह मल्ल थिए । 

मन्त्रीले सातो लिने हिसाबले धम्क्याए पनि मलाई खासै डर थिएन । त्यो भाषणबारे पछि म आफैंले भन्दै पनि हिँडेँ । तर मन्त्रीले कुनै कारवाही गरेनन् । 

स्वास्थ्य मन्त्रालयमा टोपी
सुरुआती दिनमा काम धेरै थिएन, फुर्सदमा मेडिकल एसोसिएसनको काममा हुन्थेँ । एसोसिएसनको सम्मेलन हुँदै थियो । सम्मेलनका लागि सरकारले पैसा दिने गरेको थियो । त्यो वर्ष मन्त्रालयले निर्णय नै गरेको थिएन ।

पैसा लिनका लागि मन्त्रीलाई भेट्नुपर्ने भयो, चार–पाँच जना गयौं । एकजना सिनियर चिकित्सक मन्त्रालयमा महाशाखा प्रमुख हुनुहुन्थ्यो । उहाँलाई नभेटी मन्त्रीलाई भेट्न नमिल्ने । 
उनले ‘तपाईंहरु मन्त्रीलाई भेट्न आएको हो ?’ भने । हो भन्यौं ।

फेरि मलाई देखाएर ‘तपाईं पनि मन्त्रीलाई भेट्न आएको ?’ भने ।

‘हो डाक्टरसाब, म पनि सँगै भेट्न आएको’ भनेँ । 

‘तपाईंलाई थाहा छ, तपाईं कस्तो रुपमा आउनुभएको छ ?’

म त अचम्ममा परेँ । ‘तपाईंले के भन्नुभएको हो, थाहा पाइनँ’ भनेँ । ‘‘टोपी नलगाई मन्त्रीलाई भेट्न आउँछ कोही ? जानोस्’’ भनेर मलाई त कोठाबाट नै निकाली दिए । 

वास्तवमा यो उनले गरेको चाकडीमात्र थियो । हामीलाई भित्र लगेको भए मन्त्रीले ‘तँ टोपी नलगाको बाहिर जा’ त पक्कै भन्दैनथे । ती डाक्टर नै जान्ने भएका हुन् । त्यसबेला मन्त्रीलाई भेट्न टोपी लाउनैपर्ने नियम थिएन । राजाका अगाडि तथा सार्वजनिक समारोहमा विशेष व्यक्ति उपस्थित हुँदा अनिवार्य थियो, तर अन्त थिएन । यसरी चाकडी बजाएर आपूmलाई ठूलो देखाउने प्रवृत्ति पनि थियो ।  

अशोकानन्द र स्वामी रामा 
बागबजारमा क्लिनिक सुरु गरेपछि डा. अशोकानन्द मिश्रसँग मेरो सङ्गत बाक्लो हुँदै गयो । सुरुमा प्राक्टिस गर्न अशोकानन्दले नैतिक समर्थन गरेका थिए । 

डा. मिश्रको माध्यमबाट नै डा. सरोज, डा. भरत प्रधानको ग्रुपसँग सम्पर्क भएको थियो । त्यसबेला डा. भरतलगायत भित्रभित्रै माले पार्टीमा सक्रिय भएर माथिल्लो स्तरसम्म पुगिसकेका रहेछन् । उनीहरुले आयोजना गरेका हेल्थ क्याम्पहरुमा पनि गइयो । डा. उपेन्द्र देवकोटा, डा. डीबी शाह, डा. शिव अधिकारीलगायत चार–पाँच जना डाक्टर सहभागी हुन्थ्यौं । पाँगा, मच्छेगाउँमा धेरै हेल्थ क्याम्प भए । तर पार्टीले आयोजन गरेको भन्नेचाहिँ सुरुमा थाहा थिएन । पछि थाहा पाइयो, उनीहरुले प्रयोग गरेछन् ।

डा. मिश्र भक्तपुर बस्थे । म उनको डेरामा पनि गएर बस्थेँ । नारायणमान बिजुक्छेसँग पनि त्यहीबेला चिनजान भएको हो । नारायणमान त्यसबेला अर्धभूमिगत अवस्थामा हुनुहुन्थ्यो । त्यसबेला राजनीतिक पार्टीहरुले सम्पर्कमा आएका व्यक्तिलाई सकेसम्म आप्mनो पार्टीको सदस्य बनाउने र नबनेमा चन्दाको स्रोतको रुपमा उपयोग गर्ने प्रचलन थियो । नारायणमानले मलाई कहिल्यै पनि ती दुवै रुपमा प्रयोग गर्नुभएन । यो उहाँको राम्रो पक्ष लाग्यो मलाई । समुदायमा मानसिक रोग कुन रुपमा रहेको छ र कसरी पहिचान गर्ने भन्ने विषयमा प्रशिक्षण गरिदिनुस् भनेर आग्रह गर्नुहुन्थ्यो ।

डा. अशोकानन्दले भक्तपुरमा निकै राम्रो सेवा दिएका थिए । भक्तपुरका मानिसहरु उनलाई खूब मान्थे । केटाकेटीले बदमासी गरे भने पनि कडा सजायँ दिने गर्थे । बसमा चुरोट खाएको देखे पनि कराउने गर्थे । भक्तपुरमा दाह्रीवाल डाक्टरका नामले परिचित थिए । घरघरमा गएर पनि उपचार गरिदिन्थे । पैसा छैन भने लिँदैनथे, अलि हुनेसँग मागेरै लिन्थे । 

डा. अशोकानन्द त्यसबेलाका प्रधानमन्त्री सूर्यबहादुर थापासँग पनि भिडेर कुरा गर्न सक्ने हक्की खालका मानिस थिए । उनको सम्पर्क चर्चित आध्यात्मिक गुरु स्वामी रामासँग पनि रहेछ ।
स्वामी रामा अमेरिकामा चर्चित आध्यात्मिक गुरु रहेछन् । उनले नेपालमा करोडौं लगानी गरेर ‘हिमालयन इन्स्टिच्युट अफ योगा एन्ड होलिस्टिक हेल्थ’ नामको ठूलो संस्था खोल्ने योजना बनाएका रहेछन् । स्वामी रामा इन्डियन मूलका अमेरिकामा बसेका व्यक्ति थिए । उनले आवश्यक विधि पु¥याएर संस्था दर्ता पनि गरिसकेका थिए । 
त्यसबेला उनको सम्पर्क नेपालका शक्तिशाली मानिसहरुसँग थियो । तत्कालीन रानी ऐश्वर्य, मीन शमशेर राणा, अनिरुद्रप्रसाद सिंह, सूर्यबहादुर थापा, रञ्जनराज खनाल, याक एन्ड यतीका मालिक सर्राफसँग राम्रो सम्पर्क रहेछ । उनीहरु स्वामी रामाको अन्यन्य भक्त थिए, कतिपयले खुट्टैमा ढोग्थे । 

यी शक्तिशाली व्यक्तिहरुलाई प्रयोग गरेर सडक विभाग, भूमिसुधार मन्त्रालय, वन विभागलगायतका सम्बन्धित मन्त्रालयको सहमतिमा एकै दिन आश्रमको लागि जग्गा छुट्याउने, सडक निर्माणको कार्य थालनी गर्ने काम भयो । बनेपा निकट भैंसेपाटी पारिपटिट्टको सानो थुम्कोवरिपरिको जमिन स्वामी रामाको आश्रमका लागि उपलब्ध गराइयो । मूल सडकबाट रातारात गाडी जाने बाटो बनाएर भव्य रुपमा आश्रम खोलियो । 
आश्रम स्थापना भएपछि सर्वप्रथम डा. अशोकानन्दको नेतृत्वमा भैंसेपाटीको स्कुलमा बृहत् स्वास्थ्य शिविर सञ्चालन भयो । सो शिविरमा म पनि सहभागी थिएँ । शिविर समाप्त भएपछि त्यसमा सहभागी डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई आश्रममा बोलाइएको थियो । आश्रम निकै भव्य थियो । त्यहाँ आयोजना गरिएको समारोहमा अस्पतालको उद्घाटन पनि गरिएको थियो । आयुर्वेद र एलोपेथिक दुवैलाई मिलाएर मेडिकल कलेज खोल्ने योजना सुनाइयो । त्यहाँ उपस्थितका निम्ति खाना याक एन्ड यतीबाट मगाएको थियो ।

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । स्वामी रामाले त्यहाँ विशाल प्राकृतिक चिकित्सा तथा आयुर्वेदिक अस्पताल खोल्ने तयारी गरिरहेका थिए । अशोकानन्द मिश्र ठाडो स्वभाव भएको र कडा मिजासका मानिस थिए । उनको स्वामी रामासँग राम्रो सम्बन्ध थियो । समारोहमा सूर्यबहादुरले स्वामी रामालाई, ‘तपाईं डा. अशोकानन्दलाई नरम बनाउन  सक्नुहुन्छ ?’ भनेर सोधे । रामाले ‘सक्छु’ भनेका थिए, तर पछि स्वामीलाई नै लखेटे ।
त्यहाँ जडिबुटी प्रसोधन गर्ने कारखाना, योगसम्बन्धी प्रशिक्षण, अध्ययन, अनुसन्धानको लागि विशाल केन्द्र बनाउने योजना थियो । योग तथा आयुर्वेदसम्बन्धी तालिम केन्द्र बनाउने, आयुर्वेदमा, योग र आधुनिक चिकित्सा पद्धति मिसाएर उपचार गराउने योजना रहेको थियो । ठूलो लगानीमा संस्थाहरु खोल्ने तयारी गरिरहेका थिए ।

यो मानिसले केही महत्वपूर्ण कार्यहरु गर्न लागेको थियो । देशको राजनीतिक शक्तिसँग पनि बलियो पकड भएकाले यसले निकै ठूलो हलचल नै ल्याउन लागेको सन्देश गइरहेको थियो । रामाले अमेरिकाबाट ठूलो रकम ल्याएर लगानी गर्ने भन्ने सन्देश बाहिर गएपछि संस्थालाई नै यहाँबाट इन्डिया लाने षड्यन्त्र सुरु भयो । फेरि ठूलो शक्ति लागेर उसलाई रातारात यहाँबाट पलायन गराइयो । यो २०४१ सालतिरको कुरा हो ।
अस्पताल उद्घाटन समारोहमा डा. अशोकानन्दले ‘उहाँलाई अहिले कसैकसैले सीआईएको एजेन्ट पनि भनिरहेका छन् । यस्तो पाइयो भने म नै उहाँलाई घोक्रेठ्याक लगाउँछ’ु भनेका थिए । स्वामी रामाको रातारात पलायनले यो शङ्का झन् बढाइदिएको थियो ।  

त्यसबेला स्वामी रामालाई सीआईएको नामुद एजेन्ट हो र यहाँ बसेर भारत र चीनबीच जासुसी गर्न लागेकाले तुरुन्तै हटाउनुपर्छ भन्ने कुराहरु व्यापक रुपमा बाहिर आएका थिए । भारतका विरुद्ध जासुसी गरिरहेकाले भारत सरकारले खोजिरहेको छ, नेपालबाट तुरुन्त निकाला गर्नुपर्छ भन्ने कुरा चर्को रुपमा उठेको थियो । 

अघिल्लो दिन रामाको आश्रममा भव्य कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा मुलुकका शक्तिशाली व्यक्तिहरुको उपस्थिति थियो । तर पनि यसका विरुद्ध यति ठूलो शक्ति लाग्यो कि भोलिपल्ट उनलाई देश निकाला गरे । यसको मतलब त्यसबेलाको दरबार तथा नेपालले धान्नै नसक्ने शक्ति उनका विरुद्ध लागेको स्पष्ट हुन्छ । नेपालमै यस्ता ठूला शक्ति सक्रिय भएर बसेका रहेछन् । त्यसबेला मुलुकको शक्ति कमजोर थियो भन्ने पनि बुझिन्छ । 

यहाँबाट रातारात देश निकाला गरेपछि उनलाई भारतमा त रातो कार्पेट ओछ्याएर स्वागत गरियो । उनले हरिद्वारमा गएर फेरि त्यही नामको ‘हिमालयन इन्स्टिच्युट अफ योगा एन्ड होलिस्टिक हेल्थ’ नामक संस्था खोले । त्यो विशाल इन्स्टिच्युट अहिले पनि सञ्चालनमा छ । त्यो कुनै व्यापारिक किसिमको नभई साँच्चिकै आध्यात्मिक किसिमको छ । अहिले विश्वमा नै यसलाई ठूलो र प्रतिष्ठित संस्था मानिन्छ । नेपालमा यस्तो संस्था खोल्न लाग्यो भनेर वास्तवमा षड्यन्त्रपूर्वक त्यो संस्था भारत लगिएको थियो । 

स्वामी रामा अहिले जीवित नभए पनि उनका महत्वपूर्ण किताबहरु छन् र धेरै बौद्धिक मानिस उनका भक्त छन् । उनी धेरै राम्रो लेख्ने मानिस हुन्, प्रसिद्ध किताब लेखेका छन् । उनी आध्यात्मिक विषयमा आधुनिक किसिमका गुरु थिए ।  

(मञ्जरी पब्लिकेसनले हालै बजारमा ल्याएको पुस्तक ‘मान्छेको मन’बाट)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ४, २०७६  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC