बीबीसी । रुखले कार्बन सोस्नेदेखि माटोको संरक्षण, र वर्षा चक्रसम्मका सेवा पृथ्वीलाई दिइरहेको छ । यसका साथै रुखले प्राकृतिक र मानव खाद्य प्रणालीलाई पनि अघि बढाइरहेको छ भने हामी सहित अनगिन्ती प्राणीलाई बासस्थान प्रदान गर्दछ । तर पनि हामीले रुखलाई सजिलै प्रतिस्थापन गर्न सकिने वस्तु जस्तो व्यवहार गरिरहेका छौँ भने आर्थिक लाभ प्राप्त गर्न जतिपति प्रयोग गर्न सकिने कुरा र मानव विकासको अवरोधका रुपमा हेरिरहेका छौँ ।
वास्तवमा मानव प्रजातिले १२ हजार वर्ष अगाडि कृषि थालेदेखि हालसम्म पृथ्वीका आधा भन्दा बढी रुखबिरुवा नष्ट भइसकेका छन् । २०१५ मा प्रकाशित अध्ययन जर्नल नेचरमा उल्लेख गरिए अनुसार त्यसबेलादेखि अनुमानित ५.८ खर्ब रुखहरु नष्ट भएका छन् । तरपनि वन फडानीले केही वर्ष अगाडिदेखि मात्र तिव्र रुप लिन सुरु गरेको हो ।
उद्योग युग सुरु भएदेखि ३२ प्रतिशतले वनक्षेत्र कम भएका छन् । विशेषगरी ट्रपिक क्षेत्र, जहाँ विश्वमा बाँकी रहेका खरबौँ रुखहरु छन्, त्यहाँ पनि रुखबिरुवा अत्यन्तै द्रुत गतिमा घट्दै गइरहेका छन् जसमा प्रत्येक वर्ष करिब १५ अर्ब रुख काटिने गरेको अध्ययनले देखाएको छ । गत अगस्टमा मात्र राष्ट्रिय अन्तरिक्ष अनुसन्धानको डाटाले विश्वको सबैभन्दा ठूलो वन क्षेत्र अमेजोनमा अघिल्लो वर्षको तुलनामा आगलागीका घटना ८४ प्रतिशतले वृद्धि भएको देखाएको घटनाले विश्वव्यापी ध्यानाकर्षण गराएको हो । त्यस्तै इन्डोनेशिया र मदागस्करमा पनि वन क्षेत्रमा आगलागीले बढ्दो रुप लिइरहेको छ ।
तर प्रत्येक रुख ढल्दै गर्दा त्यसले निम्त्याउने अकल्पनीय क्षतिबारे भने हामी एकदम कम सचेत रहेको देखिन्छ । वेल्सस्थित बेन्गोर युनिभर्सिटी की वातावरणीय लेक्चरर इजाबेल रोजा भन्छिन्, “वास्तवमै रुखलाई कुनै कुराले प्रतिस्थापन गर्न सक्दैन अर्थात् रुखबिनाको दुनियाँ सम्भव छैन भन्न पनि सकिन्छ । त्यसैले हामीले अहिलेको गतिमा रुख नष्ट गर्दै गयौँ भने पृथ्वीले जीवन धान्नै छाड्नेछ ।”
कुनै दिन सबै रुख हराए भने पहिले त त्यससँगै सम्पूर्ण जैविक विविधता पनि नष्ट हुनेछ । यसरी वासस्थान नष्ट हुनुले नै पछिल्लो समय धेरै जीवजन्तुहरु लोप गराइसकेको छ । यस्तोमा सम्पूर्ण रुख नष्ट हुनुले निश्चित सबै बिरुवा र जीवजन्तुहरुमा आपत्तिजनक अवस्था सिर्जना गराउने वातावरणविद् जेमी प्रेभेडेलो बताउँछन् । त्यसो भएमा स्थानीय र विश्वव्यापी रुपमै सबै समुहका प्रजातिहरु लोप हुने उनको भनाइ छ । अझ कतिपय ठाउँमा त सिङ्गो रुखले स्थानीय प्राणीहरुलाई जैविक श्रोत प्रदान गरिरहेको हुन्छ । त्यस्तो अवस्थामा एउटा रुख नष्ट हुनुले पनि सो ठाउँको सम्पूर्ण जैविक विविधतामा गम्भीर क्षति पुर्याउनेछ ।
यसपछि पृथ्वीको मौसमले पनि केही समयमै भयानक रुप लिन थाल्नेछ । किनकी पृथ्वीमा जति पनि पानी परिरहेको छ, यसलाई सक्रिय गराउन रुखहरुको महत्वपूर्ण भूमिका हुन्छ । त्यस्तै रुखले जमिन मुनिको पानी सोसेर खोलानालालाई बाढीबाट पनि जोगाइरहेको हुन्छ भने माटोको संरक्षण पनि गर्दछ । यस्तोमा रुख बिनाका क्षेत्र अत्यन्तै सुख्खा हुँदै जानेछन् । त्यस्तै पानी परेपछि बाढी, पहिरोले झन भयावह रुप लिनेछ भने समुद्रमा पनि असर पार्नेछ । धेरै टापुहरु विनाश हुने जोखिम बढ्नेछ । स्वीट्जरल्यान्डस्थित जुरिकका ग्लोबल सिस्टम इकोलोजिस्ट थोमस क्रोथर भन्छन्, “रुख नहुनुको अर्थ अधिकांश जमिन समुद्रलाई सुम्पिनु हो । ”
त्यसैगरी रुखले माटोलाई शीतलता पनि प्रदान गरिरहेको हुन्छ जसले तिनको तापमान नियन्त्रण गर्नेदेखि तातो सोस्छ । तर यिनको अनुपस्थितिमा ती सबै क्षेत्र तातो हुँदै जानेछन् । अर्को एक अध्ययनमा प्रेभेडेलो र उनका सहकर्मीहरुले २५ वर्ग किलोमिटरको वन क्षेत्र पूर्ण नष्ट गर्नुले वार्षिक सथानीय तापक्रम २ डिग्रीले बढाइदिने पत्ता लगाएका हुन् । अहिलेको अवस्थामा भने जलवायु परिवर्तनसँग लड्न रुखहरुले धेरै महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिरहेको छ । तर वन फँडानीका कारण कार्बन उत्सर्जन अहिले नै १३ प्रतिशतले वृद्धि भइसकेको छ । यस्तोमा समयसँगै पृथ्वीको वायुमण्डलमा ४५० गिगाटनसम्म कार्बन उत्सर्जन हुने क्रोथरको अनुमान छ ।
केही समयका लागि यसको असर निश्चित घाँस र साना बिरुवाहरुमा मात्र पर्न सक्छ तर ससाना बिरुवाले रुखभन्दा छिटो कार्बन सोसे जस्तैगरी छिटै उत्सर्जन पनि गर्ने गर्दछन् । यस्तोमा तिनले केही समयपछि नै तातो धान्न छाड्नेछ । यसरी कार्बन डाइ–अक्साइडको मात्रा बढ्दै जानुले पृथ्वीलाई झनझन तातो बनाउँदै लैजाने क्रोथरको भनाइ छ । हामीले रुखहरुको उत्पति भएदेखि यस किसिमको घटना कहिल्यै बेहोर्नुपरेको छैन तर हालको अवस्था हेरेर यो भविष्यमा नहोला भन्न सकिँदैन । यसरी वायुमण्डलमा मात्र नभएर समुद्रमा पनि कार्बन बढ्दै जानेछ जसले चरम तेजाबीकरण मार्फत ‘जेलिफिस’ बाहेक सबै जलप्राणीको ज्यान लिन सक्ने उनी बताउँछन् ।
हाल विश्वभरका १.६ अर्ब मानिसहरु जैविक उपभोगका लागि वनमै प्रत्यक्ष निर्भर छन् । यस्तोमा ती सबै मानिसहरु दाउराको अभावमा पकाउन , खान वा घरलाई तातो राख्न सक्नेछैनन् । त्यस्तै पेपर निर्माता, काठको काम गर्ने धेरै मानिसहरु बेरोजगार हुँदै जानेछन् । यसले विश्वव्यापी अर्थतन्त्रमा पनि ठूलो क्षति पुर्याउनेछ । काठले हाल १ करोड ३२ लाख मानिसलाई रोजगार प्रदान गरिरहेको छ भने विश्वबैंकका अनुसार यसबाट वार्षिक ६०० अर्ब डलर कमाइ गर्ने गरेको छ ।
त्यस्तै असन्तुलित तापक्रमका कारण कफि लगायत थुप्रै उत्पादनहरु प्रभावित हुनेछन् । यता रुख नहुनाले दुषित हावा स्वच्छ हुने प्रक्रिया पनि बन्द हुन्छ भने प्रदुषणले तिव्र रुप लिनेछ । अमेरिकी वन सेवाले हिसाब गरे अनुसार अमेरिकामा मात्र रुखले १ करोड ७४ लाख टन प्रदुषण हटाउने गर्दछ । त्यस्तै रुखले धेरै रोगहरु फैलनबाट पनि जोगाइरहेको हुन्छ तर कतै कुनै रुख नहुँदा भाइरस र संक्रमण सजिलै विश्वको एक कुनाबाट अर्कोमा पुग्न सक्नेछन् । विशेषगरी मलेरिया, डेंगु जस्ता रोगको जोखिम बढ्ने अनुसन्धानकर्ताहरु बताउँछन् । यता रुख बिरुवाले हाम्रो मानसिक स्वास्थ्यमा सुधार ल्याउनमा पनि ठूलो योगदान पुर्याइरहेको विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।
त्यसैले पनि रुखबिनाको पृथ्वीमा बाँच्न मान्छेले नसोचेको संघर्ष गर्नुपर्ने हुन्छ । शहरीकरण र पश्चिमी जीवनशैली चाँडै अन्त्य भइ मानिसहरु भोकमरी, प्राकृतिक प्रकोप र बढ्दो तापक्रमका अगाडि जिवित रहन सक्नेछैनन् । क्रोथरका अनुसार हाम्रो ग्रह अहिले अन्यका अगाडि जति अलौकिक लागेपनि रुखहरु नहुँदा केही पनि बाँकी रहने छैन ।