काठमाडौं । जारी साफ यू-१८ मा भुटानसँग ३-० गोलको लज्जापस्द हार व्यहोरेको नेपाली टिमका प्रशिक्षक चेतनारायण श्रेष्ठले 'पोस्ट म्याच'मा भुटानले सोचेभन्दा राम्रो खेलेको बताएका छन् ।
प्रशिक्षक श्रेष्ठले भने,“हामीले तालिममा कुनै पनि कसुर बाँकी छाडेका थिएनौँ । अघिल्ला संस्करणको तुलनामा भुटानले निकै प्रगति गरेछ । हामीले आशा गरेका थिएनौँ कि भुटानले यति राम्रो प्रदर्शन गर्नेछ । भुटानले खेल्ने शैली परिवर्तन गर्यो । पानीले पनि हामीलाई डिस्टर्ब गर्यो । हाम्रा खेलाडीहरुले आशा गरे बमोजिम उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।”
मनिष डाँगीले पास नपाउँदा टिममा त्यति मिलेमतो नभएको प्रश्न गर्दा श्रेष्ठले भने,“मनिषले बल पाएको छ । टिममा मिलेमतो छ । अस्तिको तुलनामा आज मनिष खेल्न सकेनन् ।”
खेलाडीहरु पासमा अनि स्कोरिङमा त्यति राम्रो नहुँदा प्रशिक्षणको क्रममा कमीकमजोरी भयो कि भन्ने प्रश्नमा श्रेष्ठले भने,“हामीले प्रशिक्षणमा सबै कुरा दिएका थियौँ । हाम्रो पास र फिनिसिङमा केही कमजोरी देखिएको हो । भुटानले सोचेको भन्दा धेरै राम्रो खेल्यो ।”