काठमाडौं । सरकारले काठमाडौं उपत्यका बाहिरी चक्रपथ परियोजनाको कामको जिम्मेवारी चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको लगानी बोर्डको ४० औं बैठकले सो परियोजनाको कामलाई अघि बढाउने जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’ लाई दिने निर्णय गरेको हो ।
सो परियोजना अघि बढाउन ४ वटा प्रस्ताव आएकोमा सो कम्पनीलाई छनौट गर्ने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास गर्ने कामको जिम्मेवारी स्वीजरल्याण्डको जुरिच इन्टरनेशनल एयरपोर्टलाई दिने निर्णय पनि गरेको छ । सो परियोजनाको विकास प्रतिवेदन ४५ दिनभित्र पेश गर्ने गरी सो परियोजनाको कामलाई अघि बढाउने जिम्मेवारी जुरिच इन्टरनेशनल एयरपोर्टलाई दिइएको पनि बोर्डले जनाएको छ ।
बैठकले तल्लो अरुण जलविद्युत् आयोजनाको कामलाई अघि बढाउन एस जेभिन भारत, जे पावर जापान र चाइना पावर कन्स्ट्रक्सन कम्पनीको सर्ट लिस्ट तय गरेको छ । ती कम्पनीहरुबाट विस्तृत प्रतिवेदन माग गरेपछि सो परियोजनाको कामलाई अघि बढाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।