थैङ्कयू गुगल !

मनिषा घिमिरे

थैङ्कयू गुगल !

अगाडिबाट आउँदै गरेको लरी र मेरो कारबीचको दूरी निकै कम भइसकेको थियो। गोडा कामेको महसुस गरेँ मैले । छेउको सीटमा बसेका मामातिर केही क्षण मेरा दृष्टि फालिए । सीट बेल्ट लगाएका मामा दुवै खुट्टा जोडेर बायाँपट्टि ढल्किएको देखेँ । मामाको गोरो अनुहार अलि नीलो भएजस्तो लाग्यो । सोच्न नसक्ने अवस्था भनेको के रहेछ जीवनमा पहिलोपटक अनुभव भएको थियो । मृत्युलाई अनायास सामुन्ने देखेपछिको अवस्था थियो यो ।

अचानक अगाडिबाट आउँदै गरेको भयानक देखिने लरीको पाङ्ग्रा रोडमा घस्रिएको थियो । पाङ्ग्रा घस्रिँदा निस्किएको आवाज निकै चर्को थियो । लरी चालकले ब्रेक लगाएको थियो । मानौ, हामीलाई जीवन दान दिने निर्णय गरेको थियो । मैले आफ्नो कार रोडको गलत दिशामा लगेको थिएँ । रोडमा कोरिएको पहेँलो धर्सो मेरो दायाँपट्टि थियो । लरीले ब्रेक लगाएपछि मेरा कामिरहेका औँलाहरूमा पनि केही बल आयो । औंलाहरूले कारको इमरजेन्सी लाइट थिचे । मैले कारलाई रोडबाट छेउको पार्किङ साइडमा रोकेँ । "अबदेखि जीवनमा कहिले पनि तिमीले चलाएको गाडीमा बस्दिन । मेरो सल्लाह मान्छौ भने तिमी पनि यहाँ ड्राइभ गर्ने विचार छाडिदेऊ। " मामाको गर्जाइसँग भन्दा पनि घरमा गएर मामाले भनिदिने हो कि भन्ने त्रास थियो मलाई । मामा मैले चलाएकै गाडीमा घर फर्किनु भयो । बाटोभर मलाई ट्राफिकमा रातो बत्तीमा रोक्नुपर्छ भनेर धेरै पटक सम्झाउनुभयो मामाले ।

साथीभाइले 'लोकेसन ब्लाइन्ड' नाम राखे पनि काठमाडौंमा नौ वर्ष राम्रैसँग गाडी चलाएकै हो मैले । गाडीको झ्यालको सिसा खोलेर बटुवालाई सोधेर भए पनि जानुपर्ने ठाउँमा पुगेको र पुर्‍याएकै हो । लोकेसन 'फिगर आउट' गर्ने क्रममा आफ्नो असामान्य कमजोरी धेरैपटक महसुस भएको छ मलाई । तर, मेरो काठमाडौंले मलाई यो कमजोरीसँगै अँगालेको थियो ।

अमेरिका आउनुअघि साथी किरण राणाले कफी खान बोलाएको कफी सप नभेटेर फोन गर्दा "तिमी काठमाडौंमा पनि हराउने" भनेर आश्चर्य व्यक्त गरेका थिए । काठमाडौं रे ! मलाइ त शान्ति मन्त्रालयका तत्कालीन सचिव दिवंगत माधव घिमिरेको अन्तवार्ता लिएर उनको कक्षबाट बाहिर निस्किने ढोका नभेटेर निकै बेर अल्मलिएको पनि सम्झना छ । कामको सिलसिलामा यात्राका क्रममा आफू बसेको होटलकै गेट अगाडि उभिएर त्यही होटलको ठेगाना सोध्दा बाटो हिँड्नेहरुले ठूला ठूला आँखा पारेर हेरेको सम्झना छ ।

रिपोर्टिङका क्रममा एक हजार एकपटक प्रधानमन्त्री निवास बालुवाटार पुगे पनि कहिले एक्लै जानुपर्ने भएमा बाटोमा एक दुई बटुवालाई नसोधी पुगेको सम्झना छैन । पार्किङमा राखेको गाडी नभेटेर आज समाचार पढ्न भ्याउँदिन भनेर फोन गर्नुपरेको सम्झना अझै आलै छ ।  एकजना साथीका पतिले -"तिम्रो साथी साँच्चीकै बाटो नठम्याउने हो की नठम्याएजस्तो गर्ने हो" भनेका थिए रे !

गत वर्ष अमेरिकाको कोलोराडो आएपछि यहाँका बाटाहरूले मलाई मेरो यो कमजोरीसहित अँगाल्न गाह्रो छ भन्ने आभास भएको थियो । त्यसमाथि लेफ्ट साइड ड्राइभिङ । इष्ट, वेष्ट, नर्थ, साउथ मलाई सबैभन्दा बढी अन्योल पार्ने शब्द हुन् जस्तो लाग्छ । एउटा छेउबाट अर्को छेउसम्म इस्ट- वेस्ट, नर्थ -साउथ तपाईँ दिशा सम्झिनु होला साथी महेश शर्माले हाइवेमा गाडी लगेर सम्झाउँदै थिए । मैले भन्न सकिन मलाई त सबै दिशा एउटै लाग्छ । फरक छुट्याउने तन्तु प्रकृतिले मलाई दिनै बिर्सेछ । 

दिनभर जसो महेशसँग हाइवेमा गाडी गुदाएर भोलिपल्ट ग्यारेजबाट गाडी झिक्नेसम्म आँट आएन मलाई । गाडी किनेर गाडीको छेउमा उभिएर फोटो लिनेबाहेक अरू केही गर्न सकिन मैले । बैनी ज्वाइँको सहयोगविना कतै जानु पर्‍यो भने उवर र लिफ्ट लिनुको विकल्प थिएन मसँग । यसैबीच काम र तालिमको सिलसिलामा ह्विटरिजसम्म सधैँ जानुपर्ने अवस्था आइलाग्यो । म बस्ने ठाउँ फ्रेडरिकबाट ह्विटरिज करिब एक घन्टाको बाटो । आई सेभेन्टीजस्तो व्यस्त हाइवे भएर जानुपर्ने । प्रतिमाइल अस्सी नब्बेको गतिमा गाडी चल्ने हाइवेमा मलाई दिशाभ्रम भयो भने के अवस्था उत्पन्न होला भन्ने कल्पनामात्रले पनि मेरो निद्रा हराउँथ्यो । बिहान बेलुका असी डलर तिरेर म ह्विटरिज जान्थेँ । पैसा तिरेपछि एउटा छटपटीजस्तो हुन्थ्यो । परनिर्भर हुनुको विकल्प थिएन मसँग । उवर चालकले गुगल म्याप लगाएर गाडी चलाएको मसँगै बसेर आँखा नझिम्काएर हेर्थेँ । 

तालिम सुरु भएको दस दिन भइसकेको थियो । बिहान साँझ असी डलर तिरेर  जानेआउने क्रम जारी थियो । उवर चालकहरू भने  निकै फरासिला भेटिन्थे । रमाइलो गफ गर्ने । सवारीपछि गरिने रेटीङ वा टिप्सको कारण हो वा यिनीहरू साँच्चिकै फरासिला हुन्छन् बुझ्न अझै बाँकी छ । तर, उनीहरूसँग गुनासो पोख्न पाउँदा मलाई सारै हलुका महसुस हुन्थ्यो । त्यो साँझ घर फर्किने क्रममा एकजना महिला उवर चालक भेटिइन् । हृष्टपुष्ट, राती, फरासिली ती महिला चालकसँग मैले गुनासो गरिहालेँ । 'असी डलर सधैँ तिर्ने तिमी, धेरै धनी छयौ? ' उनको पहिलो प्रश्न थियो ।

मारिया तिनको नाम अझै सम्झना छ मलाई । तिमीलाई था'छ म 'सिंगल वुमन' हो । मेरा चार छोराछोरी र घर व्यवहार सबै मैले उबर चलाएर धानेकी छु । म साँझमात्र उबर चलाउँछु । प्रायःजसो एअरपोर्टमा यात्रुहरु लाने लैजाने गर्छु । मलाई ड्राइभ गर्न मन पर्दैन तर मान्छेले परेपछि जे पनि गर्नुपर्छ । नपरेसम्म तिमीलाई तिम्रो आफ्नो क्षमताको पनि आभास हुँदैन । 'यु गो गर्ल । टेक आउट योर कार टुमारो । अल द बेस्ट ।' राति ओच्छानमा मलाई मारियाका शब्दहरु सम्झना भइरहे । बिहान तीन बजे नै उठेँ म । तालिम ८ बजे सुरु हुन्थ्यो । तीन चार घन्टा नै हराए पनि म समयमा तालिममा पुग्छु भन्ने मलाई लाग्यो । पानी परिरहेको थियो । गणपतिको सम्झना गर्दै अँध्यारोमै गाडी लिएर निस्केँ । गुगल म्यापले दिशा बताए पनि मलाई आफैँमाथि विश्वास थिएन । झरी अनि अँध्यारो । पहेंलो, सेतो सडकमा कुनै धर्का पनि देखिन मैले ।

म अलमलिएको देखेर होला झर्को मानेर पछाडिका गाडीहरु ठूलो आवाजमा हर्न बजाएर मेरो सातो लिन्थे । कतिवटा 'एक्जिट' बिराएँ मलाई सम्झना छैन । कुनैबेला गुगलको अन्टीलाई पछ्याएजस्तो लाग्थ्यो । कुनैबेला उल्टोतिर गएसरी हुन्थेँ । अंध्यारोमा किन निस्केँ भनेर पछुतो उत्तिकै थियो । त्यत्रो पटक ओहोरदोहोर गरेको बाटो भए पनि कतै कुनै कुना चिनेकोजस्तो लागेन मलाई । तीव्र गतिमा कुदिरहेका गाडीहरूसँग ताल मिलाएर कुदेको कुद्यै म कतातिर जाँदै थिएँ मलाई थाहा थिएन । एक घन्टा पन्ध्र मिनेट भइसकेको थियो । गुगलले घरिघरि 'रिराउट' गर्दै थियो । म यत्तिकै कुदिरहन सक्दिनथेँ । कतै न कतै त पुग्नै पर्थ्यो मैले । तालिम पनि छोड्न सक्दिनथेँ म । 'परेपछि जे पनि गर्नुपर्छ । हाम्रो आफ्नै क्षमता पनि हामीलाई परेपछिमात्र थाहा हुन्छ।' मारियाका शब्दहरु अत्तालिएको समयमा मलाई सम्झना भयो ।

मैले आफ्नो ध्यान गुगलको निर्देशनमा केन्द्रित गर्ने प्रयास गरेँ । जीवनमा यत्तिको कन्सन्ट्रेसन कुनै पनि कुरामा गरेको सम्झना छैन मलाई। कुनै परिक्षामा यस्तो 'कन्सनट्रेसन; गर्न सकेको भए परिणाम सयमा सय आउँथ्यो होला । राइट, लेफ्ट,  स्ट्रेट । कहिलेकाहीँ मलाई मेरो सास अनियन्त्रित भएको महसुस हुन्थ्यो । 'तर परेपछि जे पनि गर्नुपर्छ ।' मारियाले भनेकी थिइन् ।

अब घरबाट निस्किएको दुई घन्टा चालीस मिनेट  भइसकेको थियो । 'टर्न योर राइट अन ली स्ट्रिट' गुगलले भन्दै थियो । 'ली स्ट्रिट?' पहिलोपटक केही कुरा चिनेको सुनेको जस्तो लाग्यो । मेरो सास अझै अनियन्त्रित भयो । अलि अलि झिसमिसे भएको थियो । तर, राम्ररी देखिने गरी उज्यालो भएको थिएन । 'योर डेस्टिनेसन इज अन योर राइट ।' के हो यस्तो ? मलाई आफ्नो कानमा विश्वास भएन । झिसमिसे उज्यालोमा दायाँपट्टि मेरो तालिम केन्द्रको भवन थियो । आँखालाई कुनासम्म च्यातेर हेर्दा पनि भवन त्यही नै थियो अनि त्यहीँ नै थियो । म आइपुगेको थिएँ । मानौ, कुनै युद्ध जितेको थिएँ । कुनै सपना पूरा गरेको थिएँ । नयाँ क्षमता भेट्टाएको थिएँ । आँखाहरू भरिएका थिए। आमालाई सम्झेको थिएँ । धेरैका लागि सामान्य कुरा होला । मेरो लागि  ठूलो चुनौती थियो । मेरो सास सामान्य हुन थालेको थियो । जीवन सहज भएजस्तो । 'थैंङक्यु गुगल' अनायास गुगलप्रति कृतज्ञता पोखियो । सही पनि हो - गुगल बिना यो सम्भव जो थिएन । 
 

प्रतिकृया दिनुहोस
ad