site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जनकपुरको परिचय पुनःस्थापित गर्ने प्रयास 
Ghorahi CementGhorahi Cement

मनीष झा/स्थानीय संयोजक, नेपाल लिटरेचर फेस्टिभल (जनकपुर संस्करण)


आउँदो कात्तिकको दोस्रो साता प्रदेश नम्बर २ को राजधानी जनकपुरमा साहित्यिक मनहरूको बृहत् जमघट हुँदैछ । अर्थात् बुकवर्म फाउन्डेसनले आठौं लिटरेरचर फेस्टिभल गरिरहँदा पहिलो पटक जनकपुर केन्द्रित साहित्य महोत्सव आयोजना हुँदैछ । कात्तिक १६ देखि १८ गतेसम्म जनकपुरका विभिन्न स्थानमा विविध कार्यक्रमका साथ आयोजना हुने फेस्टिभलले छठ पर्वका साथै साहित्य र स्थानीय संस्कृतिमा आगन्तुकहरूलाई निथ्रुक्क भिजाउने तयारी गरिरहेको छ । फेस्टिभलको सन्दर्भ पारेर जनकपुर साहित्यिक महोत्सवका स्थानीय संयोजक मनीष झासँग बाह्रखरीका राजेश खनालले गरेकोे कुराकानीको सार:

लिटरेचर फेस्टिभलका लागि ठ्याक्कै छठको समय जुराउनुभयो नि ? 
जनकपुरको छठ आफैंमा भव्य र महत्वपूर्ण मानिन्छ । छठको दिन साँझ अस्ताउँदो सूर्यलाई र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ । सोही दिन अर्थात् कात्तिक १६ गते अपराह्न ३/४ बजेदेखि लिटरेचर फेस्टिभल सुरु गर्ने सोच हामीले बनाएका छौं । फेस्टिभलमा आउनुभएका पाहुनाहरूलाई अघिल्लो दिन साँझ र भोलिपल्ट बिहानको छठ पर्वको रौनक पनि देखाउने हाम्रो उद्देश्य हो । सांस्कृतिक पर्यटनको प्रवद्र्धन पनि होस् भन्ने हाम्रो चाहना हो । बुकवर्म फाउन्डेसनले गर्ने यस कार्यक्रममा केही लोकल पार्टनर पनि छन् । ‘सानो पाइला’लगायतका संस्थाहरुले व्यवस्थापनको जिम्मा लिएका छन् । 

Agni Group

लिटरेचर फेस्टिभल नेपालमा धेरै अघिदेखि सुरु भएको हो । जनकपुरमा किन यति ढिलो ?
वास्तवमा जनकपुर एउटा ठूलो ‘पोलिटिकल ट्रान्जिसन’मा थियो । त्यससँगै जनकपुरका पूर्वाधारहरू पनि राम्रो अवस्थामा थिएन । पहिले धेरै राम्रो र सुन्दर सहर जनकपुर पछि धेरै नराम्रो भयो । त्यो भौतिकरुपमा पनि ध्वस्त भयो । सामाजिक रुपमा पनि हामीले सहिष्णुता गुमायौं । यो सहर यस्ता कुराहरूमा पुनःस्थापित कहिले होला भनेर कुरिरहेको अवस्था थियो । किनकि स्थानीय रुपमा स्वीकार गर्ने वातावरण तयार नभई हामीले यो कार्यक्रम गर्ने स्थिति थिएन । बाहिरका मानिस गफ गर्न मात्रै जनकपुर आउने कुरो पनि त हुन्थेन !

फेस्टिभलमा जनकपुर आउने पाहुनाहरूले सोसल मिडिया वा नेसनल मिडियाबाट दिने म्यासेज त छँदैछ, तर यस्ता कार्यक्रमले स्थानीयमा पनि एउटा मानसिकताको विकासका साथै परिवर्तन ल्याउने काम पनि गरोस् भन्ने हाम्रो चाहना थियो । त्यो मानसिक अवस्था र त्यो स्वीकार्यता कसरी, कुन बेलामा बन्छ भनेर हामी पर्खिरहेका थियौं । 

Global Ime bank

जनकपुरको भौतिक संरचना जर्जर अवस्थामा थियो । आज त्यसको निर्माण भएको छ । पोखरीहरु सफा भएका छन्, फोहर कम भएको छ । पछिल्लो समय हामीले धेरै व्यक्तिसँग कुरा गर्‍यौं । हामी तयार छौं भन्ने कुरा आएपछि छठको समय उपयुक्त ठान्यौं । 

यस विषयमा कहिलेदेखि कुरा भइरहेको थियो ?
समयसमयमा कुरा उठिरहेको थियो । किनभने म लिटरेचर फेस्टिभल पोखरामा विगत ३ वर्षदेखि फुर्सद निकालेरै सहभागी हुँदै आएको छु । त्यही समयदेखि नै मैले जनकपुरमा यस्तो कार्यक्रम कहिले गर्ने होला भनेर सोचिरहेको थिएँ । फेस्टिभलका आयोजकहरूलाई पनि मैले तपाईंहरूले नै गरिदिनुपर्छ है भन्दै आएको थिएँ । किनकि उहाँहरूको यस विषयमा ‘एक्सपर्टिज’ छ । बल्ल यसपालि साइत जुर्‍यो । 
यसअघि पनि जनकपुरमा बेग्लैखाले साहित्य सम्मेलन गरौं भन्ने कुरो भएको हो । एउटा साहित्यिक कार्यक्रम भयो पनि । त्यो त्यति राम्रो हुन सकेको देखिएन । पोखराको कार्यक्रम तार्किक, बौद्धिक र स्तरीय लाग्यो । साहित्यमा रुचि नहुनेले पनि त्यो कार्यक्रम कुरिबसेका हुन्छन् । हामी त्यो कार्यक्रम क्यालेन्डरमा नोट गरेर राख्छौं । बस्, जनकपुरमा पनि त्यही स्तरको कार्यक्रम होस् भन्ने हाम्रो चाहना थियो ।

जनकपुर सांस्कृतिक नगरी हो, यहाँ साहित्यकारहरु पनि छन् । फेस्टिभलबारे पुराना स्रष्टाहरूको दृष्टिकोण कस्तो पाउनुभएको छ ?
निश्चय पनि हामीले यस विषयमा पुराना स्रष्टाहरूसँग बुझ्न खोज्यौं । कतिपय विषयमा त छलफल पनि गर्‍यौं । उहाँहरू हाम्रो कुरा सुनेर रोमाञ्चित हुनुभएको छ । हाम्रा योजनाहरूमा सरिक हुन सहमत पनि हुनुभएको छ । यस्तै छलफलहरूबाटै राम्रो काम हुँदै जाने हो । परिमार्जित हुँदै जाने हो । तिखारिँदै जाने हो । मैले बुझेसम्म जनकपुरका मानिसहरूमा सोच्ने, मन्थन गर्ने, अध्ययन गर्ने संस्कार एकदम राम्रो छ । मिथिलाको संस्कार पनि त्यही नै हो ।

जनकपुर साहित्य महोत्सवको उद्देश्यबारे केही बताइदिनुस् न ?
पछिल्लो समय राजनीतिक सङ्क्रमणका कारण हामीले कतिपय कुराहरू गुमाएका छौं । तिनै गुमेका कुराहरूलाई पुनःस्थापन गर्ने एउटा प्रयास हो, ‘जनकपुर लिटरेचर फेस्टिभल’ । अर्को कुरा, विगत १५ वर्षदेखि जनकपुरलगायत मधेसका धेरै सहरहरूको परिभाषा फेरिएको छ । र, कतिपय अवस्थामा व्यवहार पनि फेरियो ! जनकपुरको इतिहास १४ सय वर्षअघिदेखिको हो । आजभन्दा ४ सय वर्षअगाडि सेन राजाले १४ सय विघा जमिन दिएर चतुर्भुज गिरी र चन्द्रकिशोर दास नाम गरेका दुई जना व्यक्तिले पुनः डिजाइन गरेको सहर हो जनकपुर । यो इतिहास त्यति पुरानो छ । तर १५ वर्षको घटनाक्रमले हाम्रो सभ्यता, इतिहास, समाजको सबल पक्ष सबै ओझेल पर्न गयो । त्यही पुरानो परिचय फेरि एकपटक परिमार्जित गर्ने, पुनःस्थापित गर्ने प्रयास पनि हो, हाम्रो । 

एउटा उदाहरण दिन्छु, हामीले कार्यक्रम गर्ने निर्णय गरेपछि बुकवर्म फाउन्डेसनका साथीहरूलाई जब हामीले जनकपुर क्षेत्रका विभिन्न भेन्युहरू हेर्न लग्यौं, त्यसबेला हामीसँग जाने साथीहरूमध्ये तीन जना पहिलो पटक जनकपुर जाँदै हुनुहुन्थ्यो । र, उहाँहरूले जे सोच्नुभएको थियो जनकपुरका विषयमा, त्यो भन्दा राम्रो र रमाइलो लागेको बताउनुभयो ।

महोत्सवमा कति मानिस सहभागी होलान् छ ?
सबै गरेर दुई सयभन्दा बढीको उपस्थिति हुने हामीले सोचेका छौं । स्रोत व्यक्ति, सहभागी, स्रोता सबै गरेर । जति हुनुहुन्छ उहाँहरू सबै सोसल मिडियामा एक्टिभ हुनुहुन्छ । उहाँहरूले जनकपुरका विषयमा लेख्नु हुने नै छ । यस हिसाबले उहाँहरू सबैजना जनकपुरको ब्रान्ड एम्बेसेडर त बन्नु हुन्छ नै होला भन्ने मलाई लाग्छ । 

यतिबेला हामीले दिन खोजेको म्यासेज भनेको, जनकपुर पहिले समाचारहरूमा राजनीतिक रुपमा देखाइएजस्तो मात्रै छैन है भन्ने नै हो । मैले साथीहरूलाई भन्दै आएको छु, अफगानिस्तानमा कफी सप होला, मल वा होटल पनि होला भन्ने हामीले कहिल्यै सोचेका हुँदैनौ । किनभने हामीलाई मिडियाले त्यहाँको ध्वस्त र जर्जर अवस्था अनि मेसिन गन बोकेका सैनिकहरू मात्रै देखाइरहेका हुन्छन् । हाम्रो दृष्टिकोण त्यसै किसिमबाट विकसित भएको छ । त्यसैले हामीले अरु केही देखिरहेका हुँदैनौं । जनकपुरप्रतिको हाम्रो दृष्टिकोण पनि त्यस्तै छ । यहाँका कतिपय मानिस जनकपुर जान डराउँछन् । जनकपुरमा नराम्रा घटना हुन सक्छ भनेर त्यहाँ नपुगेरै नकारात्मक सोच बनाउँछन् । त्यही सोच परिवर्तन गर्ने प्रयासका रुपमा लिटरेचर फेस्टिभलमा जोड दिएका हौं ।

फेस्टिभलमा साहित्यबाहेक मैथिली भाषा–संस्कृति, चित्रकलालगायतलाई कसरी प्रस्तुत गर्ने तयारी गर्नुभएको छ ?
हामीले बनाएको योजना हामीले राखेको भेन्युले पनि स्पष्ट पार्छ । जानकी मन्दिर, गोपाल धर्मशाला, गङ्गासागर, विवाह मण्डप, रेल्वे स्टेसनलगायतका ठाउँमा कार्यक्रमस्थत तयार पार्ने र पाहुनाहरुलाई जनकपुरका विविध विषयसँग परिचित गराउने हाम्रो प्रयास हो । हामीले त्यहाँ पुगेका पाहुनालाई भनीमण्डप (जहाँ साँच्चिकै राम–जानककीको बिहे भएको जनविश्वास छ), धनुषाधाम (जहाँ धनुषको टुक्रा खसेको मान्यता छ)लगायतका धेरै पुरातात्विक स्थान घुमाउने योजना बनाएका छौं ।  

अर्थात्, साहित्यका विषयहरूसँगै सांस्कृतिक भ्रमणमा जोड दिने हाम्रो प्रयास हो । त्यस्तै एउटा हो, ‘हेरिटेज वाक’ । जनकपुरको अन्तरगृह (अन्तगिरी) परिक्रम पनि प्रख्यात छ । एक बिहान त्यही अन्तगृह परिक्रमा गराउने र त्यसपछि जानकी मन्दिरको भण्डारा लागेजस्तै भण्डारामा सबैलाई बिहानको ब्रेकफास्ट गराउने कार्यक्रम छ । त्यो भनेको जनकपुरको स्थानीय स्वाद पाहुनाहरूमा पस्कने हो । 
त्यस्तै एउटा कार्यक्रम मैथिली भोजन व्यवस्थाको पनि रहेको छ । अर्थात् जनकपुर क्षेत्रका स्वाद र सौन्दर्यलाई हामीले साहित्य महोत्सवका माध्यमबाट सबैसामु पु¥याउने प्रयत्न गर्नेछौं ।

गङ्गासागरलाई कसरी प्रस्तुत गर्नुभएको छ ?
गङ्गासागरमा कविता गोष्ठी गर्नेगरी कार्यक्रमको खाका तयार गरेका छौं । गङ्गासागरको घाटमा पाहुना र दर्शकहरू बस्नुहुनेछ । पानीको बीचमा स्टेज बन्नेछ जहाँ कविता वाचन हुनेछ । 
अहिलेको जनकपुरको मौसम राम्रो छ । जनकपुरमा सधैं गर्मी नै हुन्छ वा सधैं शीतलहरी नै चल्छ भन्ने होइन है भनेर देखाउन पनि खोजेका छौं । 

सांस्कृतिक रुपमा जनकपुर धनी छ, तर साहित्यमा त्यो देखिँदैन नि ?
मैथिली साहित्यमा जनकपुर धेरै माथि छ । जनकपुरका साहित्यकारहरूले पनि मैथिली साहित्य होस् वा नेपाली साहित्य, सबैमा यस क्षेत्रको सांस्कृतिक धरोहरलाई प्रस्तुत गर्नुभएको छ । तर कतिपय कारणले गर्दा ती ओझेलमा परेका छन् । यहाँको समाजका लागि साहित्य प्राथमिकतामा नपरेको हो भन्न सकिन्छ । अब त्यसलाई प्राथमिकतामा पार्ने प्रयासमा हामी लागिरहेका छौं ।

पीडा यहाँ पनि छ । वेदना यहाँ पनि छ । व्यथा यहाँ पनि छ । तर त्यो पुस्तकमा, साहित्यमा प्रस्तुत भएका छैनन् । अभिव्यक्त हुन सकेका छैनन् । मलाई विश्वास छ यो कार्यक्रमले यहाँको साहित्यका लागि दरिलो काम गर्नेछ ।

यहाँको पठन संस्कृतिलाई कुन रुपमा हेर्न सकिन्छ ? 
पछिल्लो समय यहाँको पठन संस्कृति कमजोर भएर गएको हो कि भन्ने मलाई लाग्छ । तपार्इं पनि यतैको हुनुहुन्छ । यहाँ पहिला थुप्रै पत्रिका र किताब पसल थिए । पहिले मेरो बुवा र काकाको पुस्तामा किताब पढ्ने चलन अधिक थियो । त्यो अहिले अर्थात् हाम्रो पुस्तामा धेरै देखिँदैन । रेल्वे प्लेटफर्ममा रहेको पत्रिका पसलमा पनि एक किसिमको भीड देख्न पाइन्थ्यो उहिले । आज त्यो छैन !

अहिले मोबाइल डिभाइसहरूले पनि यो अवस्था सिर्जना गरेको हुन सक्छ । किनभने अध्ययनको उद्देश्य दुई वटा हुन्छ, ज्ञान र मनोरञ्जन । अहिले ज्ञानमा त्यति रुचि देखिन्न । मनोरञ्जनमा रुचि बढ्दो छ । त्यसैले पनि हुन सक्छ, यो पिँढीले किताबी ज्ञानमा ध्यान दिन नसकेको ।

अर्को कुरो, यसको कताकता सम्बन्ध राजनीतिक सङ्क्रमणकालसँग पनि छ । ट्रान्जिसन पिरियडले एउटा गलत म्यासेज के दियो भने, आफू गलत छु भनेर नहेर्ने, तर अरुमा दोष खोज्ने ! समयले यही नै सबैलाई सिकाइदियो ।  देशका हरेक ठाउँमा देखिएको नमिठो सत्य हो । मधेसमा त झन् बढी देखिएको छ । 

मेरो घरअगाडिको नाला फोहोर छ भने त्यो फोहोर सफा गर्नुभन्दा  राज्यले बजेट पठाएन त्यसैले फोहोर जम्यो भन्ने मानसिकता हामीले पाल्दै आएका छौं । यो खराब आचरण हामीलाई ट्रान्जिसन पिरियडले सिकाइदिएको हो ! हामी जब विश्लेषणभन्दा मूल्याङ्कनमा बढी विश्वास गर्न थाल्छौं, त्यसले हाम्रो अध्ययन र अभ्यासलाई कमजोर बनाइदिन्छ । मूल्याङ्कनले सन्तुष्टि दिइरहेको हुन्छ भने किन विश्लेषणतिर ध्यान दिने ! यो सिङ्गो मुलुकमै देखिएको यथार्थ हो । अहिले पनि दोषी खोज्ने बानी छ सर्वत्र । मधेसमा पनि यो बानी छ । अध्ययनको संस्कार यसैकारण पनि कमजोर र फितलो हुँदै गएको हो ।

यो महोत्सवले नयाँ पुस्ताका साहित्यकारहरूलाई कस्तो प्रभाव पार्ने देख्नुहुन्छ ?
मलाई विश्वास छ, केही न केही प्रभाव अवश्य पनि पार्छ । विभिन्न व्यक्तित्वको प्रवचन र कुराकानीलाई जब म हेर्छु त्यसले मलाई पढ्न प्रेरित गरिरहेको हुन्छ । मलाई लाग्छ, मेरो अध्ययन पुगेको छैन । जब म केही सिक्ने तरखरमा रहेको हुन्छु भने मेरो पुस्ता र मपछिको पुस्ताले पनि यता पक्कै ध्यान दिनेछन् । मलाई विश्वास छ, तथापि त्यो विश्वासमा जोखिम पनि छ ! जोखिम त मौल्नैप¥यो नि ! जोखिम नमोल्ने हो भने त केही गर्नै सकिन्न । फेस्टिभलबाट अहिलेका युवा पुस्ताका साहित्यकारहरूले केही त अवश्य पाउनुहुनेछ । यसपटक सयमा दसले मात्रै पनि यतातिर सोचिदिनुभयो भने यसलाई म सफल भएको मान्छु ।

साहित्यमा पछिल्लो समय जनकपुर फितलो देखिएको हो ?
मधेसतिर के सोच हावी छ भने, मेरो कलाकृति, मेरो अभिव्यक्ति, मेरो साहित्यले राष्ट्रिय स्तरमा स्थान पाउँदैन ! यो विभेदको सोच हो । जब कि, यता राजधानीमा नेसनल मिडियाका व्यक्तिले मधेसमा लेख्ने मान्छे नै छैनन् भन्दै आएका छन् । हो, केही न केही ग्याप त छ ! जुन ‘कनेक्ट’ भइरहेको छैन । सम्भवतः लिटरेचर फेस्टिभल, जनकपुर संस्करणजस्ता कार्यक्रमले दुवै पक्षबीच रहेको ग्याप मिलाउन सेतुको काम गर्नेछ । यस कार्यक्रममा जनकपुर पुग्नुहुने साहित्यकारले मधेसका लेखक भेटनुहुन्छ । उताकाले पनि यताबाट गएकाहरूलाई भेटेर आफ्नो कुरा बताउन सक्नुहुन्छ । सम्बन्ध बढाउन सक्नुहुन्छ । 

को को आउँदैहुनुहुन्छ महोत्सवमा ?
यो जनकपुरका लागि पहिलो संस्करण हो । पोखराको आठौंं संस्करण हो भने जनकपुरको पहिलो । त्यसैले हामीले धेरै ठूलो सोचेका छैनांै । त्यसैले यो इभेन्टमा त्यस किसिमका प्रोफाइल भएका व्यक्तित्वलाई यहाँ देख्ने अपेक्षा हामी गर्न सक्दैनौं । तथापि, केही कार्यक्रममा हामीले सुधीर शर्मा, चन्द्रकिशोर, दीपेन्द्र झा, सीके लाल, गगन थापा, सुनैना ठाकुर, श्यामवदन श्रेष्ठलगायतलाई ल्याउँदैछौं । यसमा नेपाल र भारतका चिनिएका साहित्यकारहरूको पनि उपस्थिति गराउने हाम्रो सोच छ । १२ वटा सेसन छ बहसका लागि । कतिपय त डिजाइन पनि भइसकेका छन् । 

के के हुँदैछ त्यसो भए ? 
हामीले तीन दिनमा १२ वटा सेसनको तयारी गरेका छौं । उद्घाटन, समापन र साङ्गीतिक कार्यक्रमहरूबाहेकको हो त्यो १२ वटा । हामीले सूची तयार गर्दैछौं । त्यो केही समयपछि सार्वजनिक गर्नेछौं । हामीले गार्गीको नाटक ‘याज्ञवल्क्य’ जानकी मन्दिरको ओपन ब्याकड्रपमा गर्न खोज्दैछौं । चुरे संरक्षण पनि बहसको एउटा विषय बनाएका छौं । मधेसको कला–संस्कृति र मिथिला चित्रकला पनि हाम्रो विषयमा परेको छ । अनि राजविराज, जनकपुर, वीरगञ्जका मेयरलाई ल्याएर विकासको खाका कसरी कोर्ने भन्ने विषयमा पनि छलफल गराउँदै छौं ।

साहित्य र पपुलर विषय दुवैलाई साथै लैजाने प्रयासमा हामी छौं । अर्को एउटा सेसन पनि राखेका छौं, ‘मधेसको हिमाल’ । पक्कै पनि त्यसले सबैलाई तान्ने छ । यसबाहेक केही पुस्तकको विमोचन गर्ने तयारी पनि छ ।

तपाईं फेस्टिभलको मात्रै नभएर नेपाल भ्रमण वर्ष २०२० को प्रदेश नम्बर २ संयोजक पनि हुनुहुन्छ । यो साहित्यिक महोत्सवले २ नम्बर प्रदेशको पर्यटन प्रवद्र्धनमा कस्तो प्रभाव पार्ला ?
पक्कै पार्छ । यो फेस्टिभल भ्रमण वर्षका लागि पनि सहयोगी बन्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ११, २०७६  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC