site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चन्द्रिका
Sarbottam CementSarbottam Cement

मानसी


ऊ व्यस्त छे रे । फुर्सदमा मेरो प्रेम ? उसको सार्वजनिक जीवन छ, मेरो प्रेम निर्जीव ?

हुन त म पनि व्यस्त छु । तर उसका लागि जति पनि छ समय । नढाँटी भन्दा समय निकालेको छु, व्यावसायिकता कटाएर ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रेम नै त के भनूँ ! ऊ र मबीच झन्डै १५–२० वर्षकै अन्तर होला उमेरमा । “म प्रेम गर्छु” भन्ने उसले पनि त सोचेकी हुनुपर्‍यो !

“प्रेमका लागि उमेर मिल्नुपर्दैन र ?” सायद उसले सोचेकी हुनुपर्छ । मेरा लागि त मात्र प्रेम ! प्रेम !! प्रेम !!!

Global Ime bank

म ऊसँग सहकार्य, सहयात्राको कोसिसमा छु । अन्तरङ्ग कुरा गर्न चाहन्छु । सीमाहीन, बेपर्वाह समय बिताउन चाहन्छु । मतलब, म उसलाई मन पराउँछु । निकै आत्मीय लाग्छे ऊ मलाई— शीतल, शान्त, स्निग्ध... । कोही किन यति साह्रो मायालु हुन्छन् हँ ? सहृदयी, आनन्ददायी ! उसको सम्झनाले मात्र पनि पुलकित हुन्छु । मेरो अन्तस्करणमा कताकता आनन्द सवार हुन्छ । अनुहारमा मुस्कान छाउँछ । सिमलको भुवा जस्तो, कस्तो कस्तो ! मनै फुरूङ्ग ! व्याख्यै गर्न सक्तिनँ म । काँक्रो जसरी छाती चिर्न मिल्ने भए हेर्न हुन्थ्यो, उसलाई देखाउन हुन्थ्यो मेरो मनभित्र ऊप्रतिको चाह । बैंसालु प्रेम होइन, म उसलाई प्रौढ माया गर्छु । वासनात्मक होइन, आत्मिक प्रेम गर्छु । साँच्ची, प्रेमको पनि वर्गीकरण हुन्छ र ? सुनेको छु— प्रेममा डुबेका जोडी सधैं युवा हुन्छन्, जुनसुकै उमेर र अवस्थामा !

हुन त तन्नेरीमा पनि ममा यस्तो अनुभूति भएन । “मान्छे एक पटक गहिरो प्रेममा पर्छ” भन्थे । साँच्ची रहेछ । तर एकपक्षीय कि दुईपक्षीय ? पक्ष जे भए पनि मेरो प्रेम सही हो । तर ऊ मान्ली ? ऊप्रतिको मेरो लगाव प्रेम नै हो ? होइन भने मन किन यति हुरूक्क भएको ? केका लागि ? साथ र सहकार्य ? बिलकुल होइन । दोस्रो बिहे ? हैट्, मजाकको कुरा किन आउँछ मनमा !
प्रेमको प्राप्ति विवाह हुन सक्तैन । कैयौं प्रेम यस्ता छन्, जो विवाहबिनै जीवन्त छन्, अमर छन् । हो, म त्यस्तै जीवन्त प्रेम खोजिरहेछु ।
यसमा उसको प्रतिक्रिया के आउला हँ ?

सायद ऊ बेमज्जाले हाँस्छे वा अनुहार मलिन बनाउँछे होला । अथवा मलाई बेहिसाब गाली गर्ली, “लाहुरे गाउँका परिवार बिगारेर पुगेन ? अब आफ्नै परिवार बिगार्न लाग्यौ ? मेरो करिअरमाथि आँखा लाएको ? मेरो राजनीतिक यात्रामा अवरोध सिर्जना गर्न कोसँग कति गाँठ लियौ ? तिमीहरु त गाँठबिना काम गर्दैनौ, होइन र ?”
एउटा ग्रामीण घरेलु मुद्दाको प्रसङ्गमा उसले भनेकी थिई, “तिमीहरु पीडित र पीडक दुवै पक्षबाट बिचौलियामार्फत पैसाको बिटो लिएर मुद्दालाई दुहुनो गाई बनाइरहन्छौ । “वकिलकै कारण ८० प्रतिशत मुद्दाको फैसला समयमा हुन नसकेको” आरोप छ, न्यायालयतिर । घरझगडा, अंश मुद्दा, पारपाचुके, साधारण लेनदेन जस्ता मुद्दा बढ्नुमा प्रमुख हात तिमीहरुकै छ । सल्लाह र सहयोग माग्न आएका मान्छेलाई मुद्दा हाल्न उक्साउँछौ । अनि बर्सौंसम्म मुद्दाको फैसला नगराउन मिलेमतो गर्ने... तिमीहरुमा लुकेका रङ त कतिकति... ।”

०००

पहिलो भेटमै आफ्नो औकात देखाई उसले— पूर्वमन्त्री, पूर्वसांसद, पूर्वविद्यार्थी नेता, पूर्व टोल नेता, पूर्वराजदूत, पूर्वसचिव, पूर्वन्यायाधीश आदिको नाम लिँदै । सायद वर्तमान ओहदाको नाम नलिन ऊ निकै सचेत थिई वा वर्तमानको ठेक्का सबै आफ्नै ठान्थी । आफन्त पर्नेको पारपाचुकेका लागि दायर मुद्दाको फैसला समयमा नगराएको अर्थात् नगराउन दबाब दिएको आरोप थियो उसको ।
“मन्त्री, सचिव, न्यायाधीश छँदा पो फूर्ति, केही गर्ने हैसियत, पद खोसिएपछि उही सर्वसाधारण, उही फुटपाथे । मेरो यो कुर्सी पेसा नछोडुन्जेल मेरै हो,” जुरूक्क उठेर कुर्सी देखाउँदै मैले जवाफ दिएको थिएँ । “मुद्दाको फैसला बहस गर्ने वकिलको हातमा होइन, सिङ्गो अदालत, बेन्च तोक्ने मुख्य न्यायाधीश र इजलासमा बस्ने न्यायाधीशहरुको हो” भन्ने दिव्यज्ञानका साथ पहिलो भेटको बिदाइ गरेको थिएँ मैले । 
आगोको त्यो लप्को पछिल्ला दिन ‘चिनीलहरो’मा परिणत हुँदै आयो । सम्झनाले मात्रै पनि शीतलता ल्याउने गरेको छ, शरीरमा । फेरि आगो बल्न थाल्यो भने ? उही रणचण्डीको स्वरुपमा उत्रिई भने ? उफ् !

०००

दुवै हातले दुई चल्लीसँगै आँखीभौं थिच्यो । बिस्तारै दायाँ हातको चोरी औंला र बूढी औंलाले दाहिने र देब्रेतिरबाट निधारको छाला सोहोरेर नाकमाथि ल्यायो । सम्पूर्ण स्मरणहरु अनुहारमै थोपरिए जसरी दुवै हातले सर्लक्क सोहोरेर चिउँडोसम्म लग्यो । मिल्ने भए सिँगानजसरी फालिदिन्थ्यो, मनको पीडा ।

ऊ जता पनि त्यो युवतीको मायालु स्वभाव मात्र देख्छ । स्मरण मात्रै गर्नु छ । अर्थात्, अरु सबै छोड्यो, सायद अब उसले उसैको स्मरणमा मात्र डुब्नु छ ।
“यति साह्रो नेगेटिभ हुनुपर्ने के छ र ? आई लभ यू टू” भन्दै अङ्कमाल पनि त गर्न सक्छे ! अन्तःस्करण कुतकुतियो— मनको लड्डु घिउसँग खाए जस्तै । अनुहारमा मीठो स्मृति दौडियो तुरून्तै । 
दाहिने हातले चिउँडो अड्यायो, अनि मन्द मुस्कुरायो ।

०००

“हजुरलाई त के नि, हामी जस्ता कैयौं राजनीतिज्ञहरुसँग निकटता होला । तर मेरो चाहिँ हजुरसँग कस्तो कस्तो, ‘वेभ’ मिले जस्तो ।” पहिलो पटक वारेसनामा बनाउँदाको त्यो समय सम्झन्छु— पछि मलाई साथीहरुले जिस्क्याएका थिए, “वकिल पनि क्या ह्यान्डसम फेला पारेको ! युवराज नै भएर आयो कि क्या हो !” एक दिन तेस्रो भेटको स्मरण सुनाएकी थिई ।

कहिलेकाहीँ यस्ता टिप्पणी र जिस्क्याइले पनि आनन्द दिँदा रहेछन् । म हाँसें मात्रै । अनुमतिबिना नै मेरो अन्तस्करणले यस्ता धेरै टिप्पणी सुन्न चाहिरहेथ्यो । तर उसले पनि आफ्ना अभिव्यक्ति निकै फारू गरेकी थिई ।

“....साह्रै स्मार्ट देखिनुभएको थियो !” फेरि प्रसङ्ग कोट्याई उसले । 
अगाडिको भनाइमा व्यङ्ग्य बुझेर होला, अनुहार अलि अमिलो भए पनि अन्तस्करण बिस्तारै खुल्दै थियो । मलाई ‘विशेष’ सम्झिएकोमा खुसी पनि लाग्यो । तर अनुहारतिर खासै झल्काइनँ, मनमै सीमित गरें ।
अरु नेता जनतामारा, ऊ अलि विशेष । फेरि अरु भ्रष्टाचारी छन्, ऊ सदाचारी । सायद ऊ ‘आम’ राजनीतिज्ञमा पर्दिनँ । हुन त मेरो मनले चाहेर पनि हुन सक्छ, उसको सादा जीवन र सदाचारीपन !
तर उसले आफूलाई होइन, मलाई ‘आम’मा राखी । ऊसँग त म जस्ता कैयौं ठोक्किन आएका छन् । भविष्यमा पनि आउनेछन् ।
ऊसँग को ठोक्किए, को ठोक्किएनन् ? कसको सहकार्य कति लामो र कसको छोटो भयो ? हिजो को थिए, भोलि को हुन्छन् ? मेरो सरोकारको विषय होइन । बस्, मेरो प्रेम शाश्वत छ । उसका अगाडि सर्वस्व बिर्सन्छु म ।

उसको अनुपस्थितिमा यादहरु सलबलाउँछन् । छोप्छन् मलाई । गम्लङ्ङ अँगालो हाल्छन्, उछार दिँदैनन् एकैछिन ।
यो मृगतृष्णा केका लागि ? न्यायो स्पर्श ?
हातसम्म मिलाउन पाएको होइन । सधैं टाढैबाट दुई हात जोर्दै आउँछे । यस्ता पनि नेता रे ! कम से कम हात त मिलाउनु नि ! मुद्दा फैसला भएको दिन त हात मिलाउँछे होला भन्ने ठानेको थिएँ । नमस्तेमै टार्छे बा ! बढेको मेरो हात निरस भई फेरि सतर्कमा बस्यो ।
हिजो पनि त्यस्तै भयो— न भेटमा हात मिलाई, न त छुट्टिने बेलामा ।
मोबाइलमा तय भएको स्थानमा पुगिसकेकी थिई ऊ, मभन्दा पहिले । 
हतारहतार म पुग्दा कुर्सीबाट उठी । नमस्कार गरी । अनि नब्बे डिग्री मिलाएर दुई हात परको कुर्सीमा बसाई मलाई ।
उसकै साइडमा बसाएको भए के जान्थ्यो त्यसको ? मैले छुँदैमा जातै जाने त होइन होला ! निकै रिस उठ्यो । तर म चुपचाप बसें । ऊ पनि बोलिन ।
केही समय मौनता छायो ।
मेनु हेरेर एउटा खाना र एउटा खाजा मगाएँ ।
“तपाईंको प्रेम विवाह ?”
“किन ?” मलाई उसको जिज्ञासा अनौठो लाग्यो । तर वास्तवमै अनौठो थियो कि थिएन, म अलमलिएँ ।
“नाइँनाइँ, कुराकानीको बाटो नि । के गर्नु त ? अक्सर यस्तै त हो कुराकानी, होइन ?” मतिरै प्रश्न तेस्र्याई उसले ।
म फिस्स हाँसें ।

“केही विशेष थियो कि ?” मैले गरेको प्रस्तावमै तय भएको थियो, भेटघाट । उसले खास कारण जान्न चाही ।
सुरूका तीन पटकबाहेक अरु भेटघाट मेरै प्रस्तावमा हुने गरेका थिए । तर साह्रै थोरै समयका लागि । नेता न परी । खास एजेन्डाका लागि अचानक मिलाइएको समय । मात्र एक कप कफी । 
“त्यत्तिकै, खास होइन । सँगै कफी पिऊँ भनेर । अस्ति म्यासेज मात्रै आयो, यसो... ... ।”
“ए ए ए”, पूरै दन्तलहर देखाएर हाँस्तै भनी, “जनताका लागि । एकमुष्ट सबैका लागि पठाउँदा हजुरलाई पनि गयो होला । के गर्ने, यस्ता हरेक पर्व र सन्दर्भ विशेषलाई ख्याल गर्नुपर्छ हामीले । यस्तोमा “शुभकामना !” भनेन भने... फेरि भोट र निर्वाचनसँग लगेर जोडिहाल्छन् विषयवस्तुलाई । गाह्रो छ नि हजुर !” मैले आफ्नो भनाइ नसक्तै उसले रोकेर सोही गतिमा प्रस्ट पारी, “फेरि अहिले त सब नर्मल भइसके नि यस्ता कुरा । सबैले सबैलाई “ह्याप्पी भ्यालेन्टाइन्स डे” भन्छन् । यो विशेष प्रेमीप्रेमिकामा मात्रै सीमित रहेन अब ।”
“म तिमीलाई प्रेम गर्दिनँ” वा “तिमी मेरो प्रेमी होइनौ” भनेर स्पष्ट पारी उसले । उसको भनाइलाई मैले यसरी नै बुझें, उसका लागि म पनि मात्र जनता !
“फेरि तपाईंको उमेरऽऽ २०–२५ कै फरक होला, हैन ? बढी भनें कि ? मलाई त्यस्तो केही हेक्का थिएन ।” मोबाइल म्यासेज र भ्यालेन्टाइन्स डेको सन्दर्भको अज्ञानतासँगै उसले सजिलै प्रेमलाई उमेरको सीमा लगाइहाली । अर्थात् ठूलै बारले छेकी ।
मैले उसलाई हेरिरहें ।

“...साँच्ची कति वर्ष हुनुभो, हजुर ?”
“हन, यो उमेरको विषय कताबाट आयो ?” आफूलाई निकै जवान प्रमाणित गर्ने उसको धृष्टता मलाई चित्त बुझेन । अन्तस्करणको अव्यक्त असन्तुष्टि अलि फरक ढङ्गले जताउँदै प्रसङ्ग बदलें, “म पनि व्यस्त, हजुर झनै व्यस्त । फेरि हजुरको त क्षेत्रै त्यस्तो— आतिथ्य, उद्घाटन, भाषणभूषण, भेटघाट, बैठक, संसद्, भ्रमण, डेलिगेसन... ।”
“हो, बिहान एउटा अन्तर्वार्ता थियो । त्यसपछि मिटिङ । जिल्लाबाट साथीहरु आएका छन् । एक जना साथीलाई यहीँ बोलाएकी छु । अहिलेसम्म खाना खाने समय मिलेको छैन, फेरि अर्को बैठक भ्याउनु छ, २ः०० बजे संसद्...,” ऊ बोल्दाबोल्दै हाम्रो टेबलमा एउटा खाजा र एउटा खाना आइसकेको थियो । उसले साथीका लागि केही बेरमा खाजा ल्याउन निर्देशन दिई ।
“यसो अलि लामो समय बसेर अन्तरङ्ग कुरा गरौं भन्ने हुन्छ नि, त्योचाहिँ नमिल्ने के ! झन् हाम्रापछाडि त पत्रकारहरुको दृश्यअदृश्य घेरा— कहाँ, कसरी जालमा पार्ने भनेर । हाम्रो समाजमा राजनीतिज्ञहरुको छवि राम्रो छैन नि । एउटा पत्रकारको टार्गेटमा परियो कि चट् ! कहाँ, कसरी, कहिले फसिने हो, थाहै हुँदैन । सांसदहरुको तेलकाण्ड, घरभाडा, गाडी सुविधा, भ्रमण, पिए, उँगाइ, निदाइ, भोज, पार्टी... कति हो, कति जालहरु पनि । हालै सार्वजनिक एक उच्च अधिकारीको फेदटुप्पो काटिएको भिडियो । उफ्, के कुरा गर्नु, कुरा गरिसक्नु छैन । सो डेन्जर ! हामी अहिले डेन्जर जोनमा हिँडिरहेछौं । बाहिरी मुलुकमा यस्तो हुँदैन । हुन त कतिपय मुलुकमा त्यस्ता स्क्यान्डलहरु आइरहेका हुन्छन् । तर पदीय हैसियतभन्दा चारित्रिक कुरा साह्रै डेन्जर ! अझ हामी महिलाका लागि त... । अरुको नजरमा गिराएर प्रतिस्पर्धाको दौडमा पछि पार्ने सबैभन्दा सजिलो औजार हो, चारित्रिक आरोप— सो सिरियस, सो डेन्जर ! मिडियामार्पmत विपक्षी उत्रने चलनै भइसक्यो राजनीतिमा !”
मलाई आदर्श लाग्यो उसका कुरा । खाजा खाएको पनि मेसो पाइनँ । भाषणसँगै उसले खाना पनि खाइसकी ।
“हामी निकै डेन्जर जोनमा हिँडिरहेछौं । म त सार्वजनिक व्यक्ति... ।”
“के सार्वजनिक मान्छेको मन हुँदैन ? के ऊभित्र हृदय छैन ? के उसका नितान्त निजी विचार र चाहना हुँदैनन् ? सधैं स्टार होटलमा मात्रै किन ? न्युरोडको पानीपुरी खाने रहर हुँदैन ? कुनै पार्क वा बगैंचामा चराका चिरबिरसँगै एकछिन मन बहलाउने चाह हुँदैन ?” उसले कोर्न खोजेको सतर्कताको सीमारेखासँग औधी आक्रोशित भएँ म ।
फेरि पनि किन चुप भएँ म ? थाहा छैन । ऊ त्यस्तै विषय फलाक्तै गई, मैले सुनि मात्र रहें । 
ऊसले घडी हेरी । मैले बुझें, उसको कार्यकर्ता आउने बेला भयो ।
बिल तिरें र जुरूक्क कुर्सीबाट उठें । 
“हजुर बस्ता हुन्छ । सँगै निस्कौंला नि । उहाँ हाम्रै जिल्लाको हो । खास फरक पर्दैन ।”
“होइन, म अलि हतारमै छु । हजुरहरु आरामले कुराकानी गर्नुहोला,” अलि कडै बोलें ।
“आज पहिलो पटक अरु कसैले पैसा तिरेर खाजा खाएँ मैले,” मुस्काउँदै भनी, “थ्याङ्क्स अ लट !”
“मेरो हैसियतलाई कि प्रेमलाई यो सम्मान ?” जे होस्, म मक्ख । उसिनेको आलुको बोक्रा जसरी आक्रोशको आवरण उत्रियो, तुरून्तै । मुस्कुराउँदै भनें, “यो समय र अवसरका लागि आभारी छु । थ्याङ्क यू !”
रहस्यात्मक लाग्यो प्रतिक्रियामा उसले छोडेको मुस्कान । मेरो अन्तस्करणमा काउकुतीको कुस्ती चल्यो । मन्द मुस्कानसहित बाहिरिएँ ।
म उसलाई धेरै कुरा सुनाउन चाहन्थें । सुनाउँछु भनेरै आएको थिएँ । तर सबै गुजुल्ट्याएर आफैंसँग फर्काएँ । अनुहारमा मुस्कान पोतिए पनि भित्र कताकता नरमाइलो महसुस हुन छाडेको थिएन ।
यसअघि पनि त्यस्तै भयो— केके भन्छु भनेर सोचें । तर भन्नै सकिनँ ।
केही त पक्कै हुनुपर्छ । कस्तरी लजाएकी थिई, ऊ अघिल्लो भेटमा । बिदाइको मुस्कानलाई यसअघिको भेटसँग तुलना गरें । सधैं सारीमा सजिने ऊ त्यस दिन प्यान्ट र टिसर्टमा थिई । शिरदेखि पाउसम्म ‘ब्ल्याक’ । टकटक हिलको आवाज । कालो चस्मा टाउकोमा । छरिएका केशराशि बेपत्तासँग सलसलाइरहेका । 
“मान्छे ढाल्ने ड्रेसअप छ त हजुर ?”
फरासिली मान्छे, भन्न भ्याइहाली, “हो र ? लौन !” बस्नै लाग्दा उसले जिन्सको ज्याकेट मिलाई । केश सुमसुम्याई । बडो होसियारीसाथ ओठलाई चलायमान बनाई । लिपस्टिक पुछिन्छ भन्ने डर हुँदैनथ्यो भने आफ्नै ओठ आकार आकारमा टोक्थी सायद— अहिलेका तरूनीहरुले छँदाखाँदाका राम्रा ओठ बाङ्गो पारेर सेल्फी खिचेजसरी ।
“अनि के छ ?”
“गज्जब !”

सामान्य सोधपुछपछि केही बेर शान्त भयो वातावरण । वरपरका टेबल हेरी । ब्यागबाट झिकेर मोबाइल हातमा लिई । फेरि बसाइ अलिकति मिलाए जस्तो गरी कुर्सी घ¥याकघुरुक पारी । 
म मात्र उसलाई हेरिरहेको छु । न मलाई वरपरका टेबलका मान्छेको वास्ता छ, न त परिस्थितिको ।
“उसले के चोर्दै छे ? मेरो मन ?” चोरले जस्तै पल्याकपुलुक हेरिरहेकी छ, यताउता ।
म भने एकोहोरिएको छु, “मेरो प्रेमको क्यानभासमा रहेकी उसलाई अरुले चोर्छन् कि ?”
चोर्ने को होला ? उसको मनको बाकस कत्तिको बलियो होला ? चाबी कत्रो होला ? फुटाउन पाए ? तर कहाँ सजिलो छ र मन चोर्न ? टेबलमुनिबाट खाम दिएर प्रमाण जुटाए जस्तो सजिलो हुन्छ र मनको प्रमाण जुटाउन ? घण्टौं बयान लिए जस्तो सजिलो पनि छैन, मायाको बकपत्र तयार पार्न ! अधिवक्ताको सट्टा प्रेमवक्ता भएको भए... । 
“खास केही थियो ?” उसले त्यस दिन पनि उही प्रश्न दोहो¥याई ।
“यसरी कार्यकर्तालाई गर्ने तयारी चाउचाउवाला प्रश्न मलाई किन ?” म भित्रभित्रै पिल्सिएँ । तर भनें, “त्यत्तिकै, जस्ट भेटघाट, लामो समय भएको थियो । यसो सम्झेको नि ! कहिलेकाहीँ यस्ता भेटघाटले फ्रेस बनाउँछन् । आनन्द ल्याउँछ नि मनमा— निरन्तरतामा क्रमभङ्ग ।” 
“यी त सब भन्ने कुरा न हुन्,” विश्वास गरिन उसले । 
“हो है ? रामकृष्ण ढकालको गीत जस्तै— यी त सब भन्ने कुरा न हुन् ।”
“अँ, लाइक, त्यस्तै,” आँखा जुधाएर हाँसी र बिस्तारै तल्लो ओठको छेउ टोकी । 
दुख्यो कि ? मेरा आँखीभौं खुम्चिए । सतर्क भएँ । 
फेरि सम्झें— मैले टोकेको हो र ? 

टेबलको मोबाइल समाती । घ्याच्च पारी र चोरी औंलाले स्क्रिन सारी । खै के हेरी कुन्नि ? फेरि उसै गरी बन्द गरी । अनि पहिलाको भन्दा अलिकति ठाउँ सारेर राखी । फेरि बसाइ अलिकति मिलाई ।
“जरूर उसको मन छचल्काएको छु मैले ।” म भित्रभित्रै विजयोत्सव मनाउन थालें, “नभए किन यति अस्थिर छ ऊ ।” पहिलाको भेट जस्तो सहज उपस्थिति थिएन उसको ।
“राजनीतिज्ञहरु सयौं आउँछन् । मैले, हाम्रो टिमले काम गरिदिन्छौं । जस्ट कामको मात्रै सम्बन्ध तर हजुरसँग... आई डन्ट नो, आस्था अलि फरक छ । म माया गर्छु । हामी माया गर्छौं । मतलब मेरो टिमले नै हजुरलाई माया गर्छ ।” रोक्तारोक्तै फुत्किएका भावनाका थुँगालाई जेनतेन सम्पादन गरी ठाउँमा ल्याएँ ।
टेबलमा राखेको मोबाइल अन गरी । स्क्रिन सारी । अनि फेरि घ्याच्च पार्दै स्क्रिन अफ गरी । फेरि उसै गरी मोबाइल राखी र पुलुक्क मतिर हेरी, “मलाई साझा मान्छे बनाएकोमा धन्यवाद ! खुसी छु, तपाईंहरुको संंयुक्त माया पाउन सफल भएकोमा ।” चलबलाई । दायाँपट्टिको ब्याग अलिकति सारी । बसाइको पोजिसन मिलाई । फेरि मोबाइल त्यसै गरी हातमा लिई र घ्याच्च पारी । स्क्रिन सारी, अनि फेरि बन्द गरी ।
कति स्वतन्त्र छ्यौ तिमी ? खुसी लाग्छ, तिम्रो स्वतन्त्रता देख्ता । तिम्रो खुलापनको प्रेमी हुँ म । यत्तिका अन्डरस्ट्यान्डिङ आपसमा ? ऊ अहिले मलाई साथ दिइरहेकी छ । यो यथार्थ जानकारी छ उसको लोग्नेलाई ? उसको स्वतन्त्रतादेखि भित्रभित्रै पिल्सिएँ म । धन्यवाद पनि टक्य्राएँ उसको लोग्नेप्रति ।
कुराकानी टुङ्गोमा पुग्न पाएन । अर्थात्, बिनामेसै सुरू भएको म उसै गरी अन्त्य भएँ । मन भने उकुसमुकुस भइरह्यो ।
अर्डरअनुसारको खाजा आयो— चिकेन मःम ।
कार्यालयबाहिरको पहिलो भेटमा हामीले स्प्रिङ रोल खाएका थियौं ।
बडो सतर्कतासाथ खाएकी थिई उसले, पूर्ण होसियारीमा । सतर्कता वा होसियारीको कारण थियो, सायद लिपस्टिक । खाइसकी । उसको लिपस्टिकले कत्ति पनि बाटो छाडेन । उसका ओठ अहिले पनि उस्तै थिए लालित्यमय ।

“तपाईंको लिपस्टिक लगाउने तरिका खुब मनपर्छ मलाई । साह्रै आकर्षक । जस्ताको तस्तै दिनभर । पक्कै पनि ब्रान्डेड हुनुपर्छ । कुन ब्रान्ड लगाउनुहुन्थ्यो कुन्नि ? मैले कस्तो ल्याएँ खै !”
म सामान किन्न जान्ने मान्छे होइन । तर किनकिन सपिङ सेन्टरकै सेल्स गर्ललाई सोधेर किनेको थिएँ, उसलाई गिफ्ट दिन । त्यसैबारे प्रतिक्रिया खोजें ।
“राम्रो ब्रान्ड रहेछ । म त्यति महँगो ब्रान्ड पनि लाउँदिनँ । सकेसम्म राम्रो त लाउने हो । तर ब्रान्डमा खासै सचेत छैन... ।”
उसले आफूले लाउने दुईतीन ओटा ब्रान्ड पनि भनेकी थिई । तर मैले मेसो पाइनँ ।
उफ् ! मेरो मनलाई नराम्रोसँग चिमोटेर गई ऊ फेरि । यसरी चिमोटेपछि “ऐया” सुन्नु पर्दैनथ्यो ? बेइमान !
मेरा पछाडि धेरै लाग्थे । एक कप कफीका लागि मरिहत्ते गर्थे । म बालै दिन्नथें । सँगै खाजा खाने, सँगै फिल्म हेर्न जाने अवसर पाउनुलाई भाग्यमानी ठान्थे केटीहरु । दर्जन । दर्जन त के, त्योभन्दा बढीको लस्कर । तर म भने एउटीका लागि ज्यानै फालिरहेछु । त्यो पनि ५० को दशकमा ।
यो कस्तो तार हो यादको । न कतै जोडिएको छ, न साँघुरो, न त लुरो । एकनास । सब कुरा बिर्साइदिने ।
निर्विकल्प ऊप्रतिको लगाव बढिरहेछ । आनन्द र आर्तनाद एकसाथ कसरी ? स्मृतिले आनन्द दिएको छ, क्षीण सम्भावनाले आर्तनाद ! यस्तो पनि कहीँ प्रेम हो ? हर्ष, उमङ्ग, उत्साह, ऊर्जा दिनुपर्ने होइन प्रेमले ? रात निकै छिप्पिइसक्यो तर निद्रा खै ?
बिस्तारै आई ऊ । कोमल पदचापसँगै छेउमा बसी । घाँसको मुठी पारेजसरी चरप्प अँगालो हाली । बिस्तारै टाउको ल्याएर छातीमा टाँसी । मैले सुमसुम्याएँ । उसको बढेको श्वासप्रश्वासले निस्पट्ट रातमा एकनासको सङ्गीत दिइरह्यो । धोको पुग्ने गरी चुम्बन गरें, केही बाँकी राखिनँ । 
धत् ! दुई परेली नजोडिईकनै मान्छेले सपना देख्छ यसरी ?
उफ्, कस्तो कल्पना ?
दाहिने फर्किएँ । श्रीमती मस्त निद्रामा थिई । स्मृति पनि किन यस्तो पीडादायी हँ ?

प्रेम विवाह गरेको पतिसँग पारपाचुके गर्न आएकी युवती रोएको सम्झिएँ । प्रेमको निसानी छोडेर बेपत्ता भएको कथित प्रेमी सम्झिएँ । दैनिक श्रीमान्को चड्कन सहेर बसेका कतिकति गृहिणी सम्झिएँ । सामाजिक सञ्जालमा प्रेमको बकसपत्र गरेका जोडीले आफ्नै अगाडि त्यो पत्र च्यातेको सम्झिएँ । अनेक घटना एकसाथ सलबलाइरहे निरन्तर ।
अनेक रङ्गतरङ्गको घेराबाट थकित मनले फेरि निश्चय ग¥यो— कस्तो सम्झौता प्रेमबिनाको ! भोलि नै तिमीले भेट्नुपर्छ मलाई । तिमीप्रतिको मेरो खास अजेन्डा ‘मेरो प्रेम’को सम्बोधन हुनुपर्छ तुरून्तै ।
तर अजेन्डाविहीन लाग्नेछ उसलाई मेरो प्रस्ताव— सर्वसाधारणका अजेन्डा, उद्योगीका अजेन्डा, व्यापारीका अजेन्डा, किसानका अजेन्डा, कलाकारका अजेन्डा, पत्रकारका अजेन्डा... ...। अनेकताभित्रै गुजुल्टिएर खुम्चिएको उसको राजनीतिक अजेन्डाभित्र खै मेरो प्रेमको अजेन्डा ?
तर प्रेम शाश्वत हो । यसबाट टाढिन सक्तिनौ तिमी । डेन्जर जोनबाट सुरक्षित क्षेत्रमा आउनैपर्छ तिमीले । राजनीति तिम्रो ठेक्का हो र ? कि पेवा ?

०००

पत्रिका ल्याउनेले बेल बजायो । आँखा झिमिक्क नगरी कटेछ सिङ्गो रात ।
आज मन्त्रिपरिषद् विस्तार हुँदै पत्रिकाको हेडलाइनसँगै उसको मुटु काँप्यो । मनको तरेलीका लहर थाम्न सकेन सायद । अघि बढ्न नसकेर सँघारमै बस्यो थचक्क । तरङ्गका अनेक लहर ज्वारभाटामा परिणत भए, मन नलगाई पढ्यो— सम्भावित मन्त्रिमण्डलको सूचीमा झल्कियो— रातभरि मनमा अनेक तरङ्ग छचल्काउने चन्द्रिका शर्मा !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ११, २०७६  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC