सञ्जीव उप्रेती
मुक्तिको क्षण नजिक हुँदाहुँदै पनि म मुक्त हुन सकिरहेको थिइनँ । जारलाई छप्काएर मुक्त हुनुको सट्टा म उसको थुतुनोलाई ट्वाल्ल हेर्दै बसेको थिएँ, आफ्नै बेइज्जतीको साक्षी बनेर । के म आफ्नै पीडामा आनन्द लिने स्वमतत्यागी त थिइनँ ? वा त्यस बेला कथाकार हुनुको यथार्थ मेरो निम्ति पुरुष हुनुको सत्यभन्दा बढी महङ्खवपूर्ण हुन पुगेको थियो ?
मैले जारको जीवनगाथा सुन्नुपर्ने बाध्यता थिएन । उसका भावना र विचारको विवेचना गर्ने आवश्यकता पनि थिएन । हो, लेखकहरूलाई पात्रका कथामा घोत्लिनुपर्ने, तिनका असल मात्र नभएर घृणित कृत्यलाई समेत संवेदनशील भएर बुझ्नुपर्ने, त्यस पछाडिका मनोवैज्ञानिक कारण केलाउनुपर्ने बाध्यता हुन्छ । तर त्यस बेला त म कथाकारमात्र थिइनँ, एउटा पुरुष पनि त थिएँ, जसकी पत्नीले परपुरूषलाई अँगालेकी थिई ।
मैले अति गरे पनि सीमासित मेरो छोडपत्र भएको थिएन । नेपाल छाडेर अमेरिका उडे पनि उसका हातहरू परपुरुषको गलामा बेरिन्छन् भनेर कहिल्यै कल्पनासम्म गरिनँ ।
मलाई आशा थियो, एक न एक दिन सीमा फर्केर आउनेछे र म ऊसित माफी माग्नेछु । हामी टौदह घुम्न गएको, माछालाई चारो खुवाएको अनि हामीबीच भएका मायाप्रीतिका कुरा स्मरण गराउनेछु । जसरी भए पनि फकाउनेछु । भन्नेछु, “तिमीले छोडेर गए पनि मैले तिमीलाई माया गर्न छाडेको छैन ।”
के उसले मलाई माफ गर्ली ? कलमले लेखेको मेटाउन सजिलो हुन्छ । तर मनमा कुँदिएका चोटका छाप ढुङ्गामा कुँदिएका भन्दा गहिरा हुन्छन्... अनि ती सब मेरै गल्तीका परिणाम थिए ।
भावुक लेखकबाट थुप्रै गल्ती हुने गर्छन् । मेरो नेपालीको एम.ए. डिग्रीले साहित्यप्रतिको अभिरुचि जगायो तर गतिलो जागिर भने कहिल्यै दिलाउन सकेन । सीमासितको विवाहपछि मनमा नयाँ पालुवा पलाए । तर स्थायी जागिर नभएको पीडाले घोचिरहन्थ्यो । हुन त सीमाले मलाई यस बारेमा कहिल्यै घोचपेच गरिन । न्युरोडतिर सपिङ गर्न जाँदा पनि हत्तपत्त आफ्नै पर्स झिक्थी । उसलाई मेरो पकेटबारे राम्रो जानकारी थियो । र, ऊ मलाई अप्ठ्यारो लाग्ला भन्नेबारे सचेत पनि थिई । तर म भने आफैंले खनेको मनको खाडलमा आफैं पुरिंदै गएँ ।
डिग्री झोलामा बोकेर जागिरको खोजीमा काठमाडौंका सडकसडक भौंतारिएँ । हिमाल, पहाड, तराईको सुन्दरता, देशको माया, बुर्जुवा संस्कृतिविरुद्धको व्यङ्ग्य, भ्रष्टाचारीप्रतिको रन्कोबारे थुप्रै लेख, कथा, कविता पनि लेखेें । केही पत्रपत्रिकाले प्रकाशन पनि गरे । तर आर्थिक स्थिति जस्ताको त्यस्तै रह्यो ।
एकातिर साहित्यकार हुनुको अहम् त अर्कोतिर कमाउ श्रीमतीको बेरोजगार पति भएको लज्जाबोधले किच्चिएको हीन भावना !
थुक्क बजिया !
आफैंलाई धिक्कार्दै हिंडेको म आफूजस्तै बेरोजगार लेखकहरूसँग पुतली सडकमा ठर्रा सुर्किन थालें । बेलाबेला प्रुफ–रिडिङबाट आएको पैसालाई सेकुवा, भुटन र ठर्रामा खर्चिन थालें । महिनाको एक दिन, त्यसपछि हप्ताको एक दिन गर्दै बिस्तारै दिनहुँ मात्न थालें । जति मात्तिने व्रmम बढ्दै गयो, त्यति नै सीमासँग झगडा पनि चर्किंदै गयो ।
म हरेक रात मातेर उग्र रूप लिई डेरा फर्किन्थें । सायद मेरो त्यो रूप देखेर ऊ दिक्क मान्थी । आत्तिन्थी । कहिले सुतेको बहाना गर्थी, त कहिले झगडा गर्न तम्सन्थी । तर उसले मलाई बुझ्न सकिन वा म अभिनयमा पोख्त थिएँ । किनकि बाहिर जति उग्र र निर्दयी देखिन्थें, भित्र उति नै काँतर बन्दै गएको थिएँ ।
साथीहरूले हानेका व्यङ्ग्यवाणले घाइते बनाउन थालेका थिए, “ओहो ! के छ कविजी ? कविको त मस्ती छ नि ! कमाउ श्रीमती छे । जागिर नभएर के भो र ! कविता फुरायो, अरूलाई सुनायो, छपायो र मोजमस्ती गर्यो । होइन त !”
एक जना हट्टाकट्टा अधबैंसे कवि थिए, आधी दर्जन सन्तानका बाउ । जग्गा दलालीको काम गरेर टन्न कमाएका थिए । उनका केही सौख थिए– नयाँ–नयाँ प्रेमिका बनाउनु, नेताहरूको दैलो चहार्नु, ठेकापट्टाका टेन्डर हसुर्नु र हिमाल, पहाड, मधेसबारेका चर्का राष्ट्रवादी कविता लेख्नु । यसबाहेक उनको अर्को सौख भनेको मातेपछि मलाई होच्याएर आनन्द लिनु ।
एक दिन त अचाक्ली भयो । मातेर लरबराउन थालेपछि भन्नु नभन्नु भने, “कमाउ स्वास्नीले कति दिन पालोस् कविलाई ? खोइ बिहा भएको तीन वर्षमा पनि बाउ बन्न सकिनस् । अब त सोध्ने नै बेला आएको छ, कतै तेरो हतियारले कामै नगर्ने त होइन ? त्यसै हो भने त सीमाजी एक दिन बेपत्ता, अनि कविज्यू एक्लै जाँड घुट्क्याउँदै वियोगका कविता लेख्न थाल्नेछन् ।”
असाध्यै झोंक उठ्यो । सालेको मुखमै ठर्राको गिलास बजारौंजस्तो !
तर, एक त पाको उमेरका अनि त्यसबाहेक धेरैजसो बिल तिर्ने पनि उनै । त्यसैले मुखसम्म आएका तथानाम गालीलाई घुटुक्कै निल्दै यतिमात्र भनें, “तपाईंको राष्ट्रवादबारे हामीलाई पनि थाहा छ । सत्ताअगाडि लम्पसार, नेताका चाटुकार, भूमाफियाका दलाल तर भट्टीमा बस्दा देशका लाल । तपाईंको राष्ट्रवादी पाखन्ड हामीले नबुझेको कहाँ हो र !”
राष्ट्रवादीलाई भूमाफियाको प्रसङ्गले खुत्रुक्कै पारेछ क्यारे ! ममाथि आइलाग्न खोज्दा आफैं लरबरिंदै भट्टीको भुइँमा पछारिए । कोही उनलाई भुइँबाट उठाउन थाले, कोही मेरो छेउमा आई, “मातेका छन्, केही छैन बिर्सिदेऊ” भन्न थाले । म पनि “हुन्छ नि त यस्ता मत्थुसँग के झगडा गर्नु” भनेर ढोकातिर के लम्किँदै थिएँ, भुइँबाट उठाएर कुर्सीमा पुनस्र्थापित गराइएका राष्ट्रवादी फेरि कुर्लिए, “स्वास्नीकै पैसामा घिच्ने, उसकै पेटीकोटभित्र लुक्ने मान्छेले त आत्महत्या गर्नु बेस !”
मेरो कन्पारो रनन तात्यो ।
“मुख सम्हालेर बोल् है जग्गाचोर !”, ढोकामै उभिएर जबाफमा गर्जें, “दरो झापड प¥यो भने बङ्गारा ठर्राकै ग्लासमा झर्नेछन् ।”
राष्ट्रवादी कुर्सीबाट उठ्न खोजे तर सकेनन् । बसेरै मुख छाड्न थाले ।
“तेरी स्वास्नी बैंकको हाकिमसँग सल्किएको हामीलाई थाहा नभएको हो र ! कहिले चोभार, त कहिले नागार्जुन, धुलिखेल... हाकिमले श्रीमतीलाई ओछ्याइसकेको पत्तो छैन । यस्ता नामर्दसँग के कुरा गर्नु ? भैगो, हुतिहारा सम्झेर माफ गर्छु ।”
सहन सकिनँ । भट्टीपसलबाट निस्केर धर्मराउँदै हिंडें ।
जुनेली रातमा सडक र परको टुँडिखेलसमेत झलमल्लै देखिन्थे । तर मनको अँध्यारो गहिरिंदै गयो । फोहोर फाल्ने कन्टेनरनिर ढल्केका माग्नेहरू गुनगुन गर्दै थिए । रानीपोखरीको डिलमा एउटा मत्थु सरकारविरुद्ध फलाक्दै थियो । ती सबै मिलेर मलाई नै गिजाएजस्तो लाग्यो ।
डेरा पुगुन्जेलमा रिसको लाभा पोखिन आँटेको थियो । सीमाले ढोका खोली । एकाएक ज्वालामुखी फुट्यो । तातो लाभाले दुवैलाई भतभत पोल्न थाल्यो... !
“फेरिमातेरआएको?”,सीमा झोक्किई,“यसरी कति दिन चल्छप्रेम ?”
बिर्सें मैले, हाम्रो प्रेम । बिर्सें विवाहअघि सँगै टौदह घुम्न गएको । माछालाई मुरै र मस्यौरा खुवाएको । चखेवा–चखेवीका जोडाहरू देखेर रमाएको । महिनौंसम्म थोरबहुत पैसा जोगाएर किनेको सुनको मसिनो औंठी अप्ठ्यारो मानेर दिंदा उसले, “औंठी सानो भएर के भयो, मेरा निम्ति आकाशको ताराभन्दा चहकिलो छ” भनेको । थाकेर घर फर्केका बेला अँगालो हालेर “जे–जस्तो छौ कवि, तिमी मेरो हौ, देशलाई तिम्रो कविता नचाहिंदा पनि मलाई चाहिएको छ” भनेको ।
त्यस रात मैले सबै बिर्सें, सम्बन्ध र मित्रताका कुरा । प्रेम र कर्तव्यका कुरा । प्रेमिल सम्बन्ध रिसको लाभामा खरानी भए ।
मेरो मनभित्र एउटै आवाज घन्किरह्यो । “नामर्द, नामर्द... अर्कासँग सल्केकी स्वास्नीको पैसामा मोज गर्ने नामर्द !”
अपमानको आगोमा घर, डेरा, सडक सबै जल्न थाले । आगोमा हामी दुवै झुल्सिन थाल्यौं । भाग्न खोजें तर सकिनँ ।
होस आउँदा विश्वास भएन ! सीमा घर छाडेर गइसकेकी थिई । मातेको बेला भएको गल्तीको यति ठूलो सजाय ! बुझ्नै सकिनँ, सीमाले कसरी मलाई चटक्कै छाडेर हिंड्न सकी !
पछिमात्र बोध भयो, रिसको झोंकमा मैले उसलाई नराम्रोसँग कुटपिट गरेछु... रक्ताम्य नाक र ओठ, नीलडाम परेको अनुहार !
छिमेकीले हकारे, “तिमी पढेलेखेको मानिस, कस्तो जङ्गली भाको । धन्न भाउजूले पुलिसमा रिपोर्ट लेखाउनु भएनछ । नत्र घरेलु हिंसाको अपराधमा जेलमा जाकिने थियौ ।”
पछि राष्ट्रवादीले त्यही भट्टीपसलमा भनेछन् रे, “कस्तो निर्मोही रहेछ, स्वास्नी कुट्ने । मोराको नाम मात्र प्र्रेम... !”
सीमालाई भेट्न खोजें, माफी माग्न खोजें तर उसले भेट्न चाहिनँ । फोनमा सम्पर्क गर्न चाहें तर फोन उठाइन । के ऊ मेरो रक्सीको लत र बेरोजगारी दुवैबाट आजित भइसकेकी थिई ?
ज्वालामुखी त त्यो रातमात्रै फुट्यो तर सायद लाभा धेरै दिनदेखि उम्लन थालेको थियो !
आत्मग्लानिले मलाई गाँज्दै लग्यो । खान–पिउन मन नलाग्ने । सीमासँग बिताएका प्रेमिल क्षणका सम्झनाले सधैं पछ्याइरहने । उसका आँखामा छचल्किएको प्रेमको स्मृतिले च्वास्सच्वास्स घोचिरहने । साथीभाइसित बोल्नसमेत मन नलाग्ने । आफैंसित झगडा गर्न मन लागिरहने । आफ्नै नामले गिज्याएजस्तो लाग्ने । प्रेम नै नरहेको मानिसको नाम कसरी प्रेम ?
सीमासित पहिलो भेट आकस्मिक भयो । बिछोडपछिको भेट पनि आकस्मिक नै हुन्छ भन्ने आशा थियो । सीमासित बिताएका दिन सपनाजस्ता लाग्न थाले ।
इन्द्रधनुषी सपनाबाट ब्युँझँदा जीवनमा न सीमा थिई, न प्रेम नै थियो । जीवन फुस्रो, रङ्गहीन भयो । अकस्मात् आफू नितान्त एक्लो भएँ ।
(बुकहिलले प्रकाशन गरेको आज सार्वजनिक हुने उप्रेतीको उपन्यास हंसको अंश ।)