केबलकारको सम्भावना र व्यवसायीको भूमिका

रामचन्द्र शर्मा

नेपाल भौगोलिक, वातावरणीय, जैविक र पर्यावरणीय हिसाबले अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील क्षेत्र हो । यसलाई उपयोग गर्नु, विकास गर्नुका साथै जोगाउनु पनि हाम्रो कर्तव्य हो । वातावरणको  विकास र रक्षा गर्न रोपवे, केबलकार, स्काइ वे प्रविधिलाई हाम्रो यातायतको विकल्पको साधनका रुपमा विकास गर्नु उपयुक्त देखिन्छ । यातायात विकासको लागि हाम्रो भूगोलमैत्री साधन रोपवे नै हुनसक्छ । रोपवेले वातावरणमा शून्य प्रतिकूल प्रभाव पार्छ भने प्रदूषण न्यूनीकरण गर्न शतप्रतिशत भूमिका खेल्छ । दुर्घटना शून्यको हाराहारीमा पुर्‍याउन सक्छ । 

भौगोलिकरुपमा जमिन कटान गर्दा हुनसक्ने पहिरोको जोखिम रोकथाममा झन्डै शतप्रतिशत योगदान गर्न सक्छ । निर्माण लागतमा पनि तुलनात्मकरुपमा धेरै सस्तो पर्छ । मर्मत, सम्भार एवं सञ्चालन खर्चमा समेत तुलनात्मकरुपमा कम लागत लाग्छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष यो वातावरण मैत्री छ । यसले देशको व्यापार घाटा कम गर्न र विद्युतीय इन्धन उपयोग गरी राष्ट्रलाई व्यावसायिक दृष्टिबाट महत्त्वपूर्ण योगदान दिन सक्छ । यति धेरै सकारात्मक गुण एवं विशेषता बोकेको यातायातको साधनको निर्माण आजको आवश्यकता हो । यो यातायत एवं पारवहनको आधुनिक विकल्पका रूपमा विकासको नयाँ बाटो हुनसक्छ । 

केबलकार निर्माणको प्रक्रिया र यसको प्रविधिको विकासमा देशका कुनाकुनामा छलफल चलिरहेको छ । लगानीकर्तासमेत यस क्षेत्रमा गरेको लगानीबाट राम्रो नाफा आर्जन गर्न सकिन्छ भन्ने मानसिकतामा छन् । सबै वातावरण हेर्दा अबको दशक केबलकार, रोप वे, स्काइ वे निर्माणको दशक बन्ने आकलन गर्न सकिन्छ । देशमा यस्तो प्रविधिको चर्चा भइरहँदा नेपाली निर्माण व्यवसायीहरुले अब यस क्षेत्रको निर्माणमा आफ्नो संलग्नताको विषयमा सोच्ने, बुझ्ने र अध्ययन गर्नुपर्ने समय आएको छ । हरेक व्यवसाय समय र परिस्थितिअनुसार आफूलाई उभ्याउन सक्ने गरी तयारी हालतमा राखिराख्नु पर्छ । त्यही व्यवसायीकोे बुद्धिमत्ता हो । विकासको लहरलाई बुझ्नु र प्रविधिको उपयोग गर्नु उसको क्षमता पनि हो ।

व्यवसायीको भूमिका

सबैभन्दा पहिला व्यवसायीहरुले आफनो क्षमता चिन्न सक्नुपर्छ । साँगुरो घेराबाट उठेर फराकिलो बाटोमा दौडिने साहस गर्नु जरुरत छ । त्यही बाटोबाट नै नयाँ संसारमा पुग्न सकिन्छ भन्ने गम्भीर बुझाई राख्नुपर्छ । निर्माण क्षेत्रमा गुण्डागर्दीको ‘ट्याग’ सधैँ जोडिएर आउने गर्छ । यो दागलाई नयाँ सोच, सीप र क्षमताले हटाइदिनु पर्छ ।

रोप वे निर्माणको ज्ञान नहुँदा देशमा अब निर्माण ठेक्काको लागि बाह्य मुलुकबाट निर्माण कम्पनीहरु ल्याउनै पर्ने बाध्यता छ । अब स्वदेशी व्यवसायीले आँखा खोल्नै पर्छ । हामी कुवामा भ्याकुताको लडाइँमा हैन संसार सजाउने अभियानमा गोलबद्ध हुँदै त्यसको गुणात्मक प्रतिफल लिने समय समात्नुपर्छ । केबलकार निर्माणका लागि तालिम केन्द्रहरु निर्माण गरौँ, दक्षता र ज्ञानसहितको जनशक्ति उत्पादन गरौँ । अन्तर्राष्ट्रिय कम्पनीहरुसँग प्रारम्भिक अवस्थामा सहकार्य गरेर काम सिक्ने रणनीति अपनाऊँ । 

रोप वे निर्माणमा कसरी आत्मनिर्भर हुन सकिन्छ भनेर रणनीतिक योजना बनाउदैँ समग्र रोप वे निर्माणमा स्वदेशी निर्माण व्यवसायीको संलग्नता सुनिश्चित गर्ने तयारी गर्नुपर्छ । यस्तो तयारीले निर्माण व्यवसायलाई मर्यादित बनाउँछ । यस कार्यबाट स्वदेशी पँुजीलाई देशमा राखी राख्न सक्ने महत्त्वपूर्ण भूमिकासमेत खेल्न सक्छ । निर्माण व्यवसायीले लगानी, सीप, क्षमता र तालिमद्वारा यस क्षेत्रको विकासमा आफनो गम्भीर भूमिकामा आफूलाई अब उभ्याउन सक्नुपर्छ । अन्तर्राष्ट्रिय कम्पनीहरुसँग प्रतिस्पर्धा गर्ने मानसिक तयारीमा लाग्नु अपरिहार्य भइसकेको छ ।

केबलकारका प्रकारहरू 

१. मोनो केबल नन लाइनर कर्भ सिस्टम – यो पछिल्लो प्रविधि हो । सहरी इलाका र पहाडी इलाकामा कर्भ गर्न यो प्रणालीको प्रयोग गर्न सकिन्छ । 

२. चियर लिफ्ट सिस्टम                                                                                                                                          

यो साहसिक पर्यटनको लागि पहाडी, हिमाली क्षेत्रमा प्रयोग गर्न सकिने रोप वे सिस्टम हो । यो मोनोकेबल इन्डलेसन सिस्टममा दुई जनासम्म यात्रु बस्न मिल्ने कम लागत पर्ने प्रणाली हो । 

३. मोनो केबल डिटाचेवल सिस्टम 

यो पहाडी इलाकामा अहिले संसारभर प्रयोग भइरहेको आधुनिक यात्रुवाहक केबलकार हो । नेपालमा यसको सम्भावना धेरै देखिन्छ । 

४. बाइ केबल गोन्डोला सिस्टम 

यो दुईवटा रोप वे मा क्याबिनमा २५÷३० जना प्यासेन्जर राखेर सेवा दिनसक्ने प्रविधि हो । यसको संचालन लागत धेरै पर्छ।

५. जिक ब्याक टाइप मोनोकेबल ट्राम वे

ट्रामको सिस्टममा धेरै प्यासेन्जरहरु एकैपटक (१६० जनासम्म) ओसारपोसार गर्न सक्ने प्रकारको सिस्टम हो । यो जुन वेमा जान्छ त्यही वेमा फर्कने विशेषताको सिस्टम  हो । यो हावामा जगिने (विन्ड प्रुफ) पनि हुन्छ । 

६. जिग लेग मोनोकेबल सिस्टम 

यो विकेबल जिगलेग जस्तै हो यसको रोप वेमा २ वटा क्याबिन जोडेको हुन्छ । छोटो दूरीका लागि यो उपयोगी हुन्छ । 

७.῝ फ्युनिटल ओ एम सि ( डबल रोप मोनोकेबल टाइप ) 

यो पछिल्लो आधुनिक प्रविधि हो । प्रतिघन्टा ६ हजार यात्रु बोक्न सक्ने यो केबलकार २ वटा रोप वेमा डिटाचेवल सिस्टममा संचालित हुन्छ । पहाडी हावा चल्ने इलाकामा यसको प्रयोग गर्न सकिन्छ । पोखराबाट मुक्तिनाथसम्म जान यसै प्रविधिको उपयोग गर्न सकिन्छ ।

नेपालमा निर्माण भएका केबलकारहरु

१. मनकामना केबलकार :                                                                                        

धार्मिक यात्रा गराउने उद्देश्यले निर्माण गरेको मोनो केबल डिटाचेबल सिस्टमको केबलकार हो । यो नेपालको सफल परियोजना हो । 

२. चन्द्रागिरी :                                                                                              

पर्यटकीय हिसाबले निर्माण भएको र धार्मिक पर्यटनसँगै प्रर्वर्धन गर्न खोजेर निर्माण भएको देखिन्छ । यो पनि मोनो केवल इन्डलेस सिस्टममा निर्माण भएको केबलकार हो ।

३. कालिन्चोक भगवती :                                                                                

यो धार्मिक पर्यटनमा केन्द्रित छ । नेपालको छोटो केबलकारको रुपमा लिन सकिन्छ । यो स्वस मोडेलमा जिक लेग सिस्टमबाट निर्माण भएको केबलकार हो ।    

निर्माण प्रक्रियामा रहेका केबलकारहरु : 

१. पोखराको अन्नपूर्ण केबलकार                                                                                          

यो पर्यटकीय हिसाबले पोखरा सेदी बगरदेखि सराङकोटसम्म निर्माण भईरहेको केबलकार हो । यो जापानी कम्पनीले निर्माण गरेको मोनो केबल डिटाचेबल सिस्टमको फरक विशेषताको केबलकार हो ।

२. बन्दिपुर केबलकार                                                                                            

यो बन्दिपुरको पर्यटन प्रवर्धनका लागि बनाउन लागिएको साहसिक पर्यटन (एड्भेन्चर टुरिज्म)को शैलीमा निर्माण भइरहेको फरक विशेषताको परियोजना हो । मोनो केबल डिटाचेबल रोटेटिङ सिस्टममा निर्माण भईरहेको छ । यो डुम्रको ठुलढुङ्गा (तनहुँ) देखि बन्दिपुरसम्म १ हजार ६०० मिटर लामो हुनेछ । यो परियोजनामा ठूलो व्यावसायिक कम्पेलक्सभित्र केबलकारको स्टेसन हुन्छ । डबल टिकटको व्यवस्था भएको यो परियोजनाको व्यावसायिक भवनभित्र नौ तलामा भ्यु टावर हुन्छ जस्ले हिमाललाई नजिक ल्याएर देखाइदिन्छ । ब्यांक्वैट हल, स्पोर्ट र बिजनेस हल ६० कोठासहित होटल र निर्माणाधीन केबलकारबाट होटलमा जाने संसारमै नयाँ मज्जा यो केबलकारले दिन्छ भने ओपन गन्डोलाको सुविधा एवं २ वटा पारदर्शी सिसाको क्याबिन राखेर पर्यटन प्रवर्धन गर्ने योजनामा यो केबलकार बनिरहेको छ । यो पर्यटन पूर्वाधार युक्त केबलकार परियोजना हो । निजी, सामुदायिक, सहकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनमा १ अर्ब २८ करोडको लागतमा यो निर्माण भईरहेको छ ।  
३. पञ्चासे केबलकार : 
यो फरक विशेषता बोकेको धार्मिक, जैविक, पर्यावरणीय र सांस्कृतिक, पर्यटकीय केन्द्र निर्माणको लक्ष्य बोकेर बनाइएको देश विकासमा रणनीतिक महत्त्व राख्ने बहुहितग्राही परियोजना हो । एधार अर्ब ३८ करोडको लागतमा निर्माण हुने गण्डकी प्रदेशको ‘ड्रिम प्रोजेक्ट’ पर्यटन पुर्वाधारयुक्त बृहत्तर गुरुयोजनामा निर्माण हुदैँछ । सामुदायिक, निजी, सरकारी, सहकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनमा लगानीको अवसर समुदायलाई दिइएको छ ।

यो परियोजना धार्मिक, पर्यटन र यातायतको दृष्टिकोणले पोखरादेखि पर्वतको चित्रेसम्म बिस्तार हुनेछ । यो स्थानीय स्रोत र साधनको उपयोग स्थानीय लगानी द्वारा स्थानीयले गर्नुपर्छ र समाजलाई औद्योगीकरण गर्नुपर्छ भन्ने भावनामा तयार गरिएको परियोजना हो । यो परियोजनामा पोखरा घाँटीछिनामा ड्राइभ स्टेसन, सिधाने गाउँमा  इन्टरमिडिएट ट्रान्जिट स्टेसन – पञ्चासे पिक सेकेन्ड स्टेसन पंञ्चासे लेक लक्षित डेस्टिनेसन स्टेसन र बिस्तार गरी पर्वतको चित्रेसम्म स्टेसन राख्ने गरि फरक डिजाइनमा तयार पारिएको केबलकार सिस्टम हो । यसको लमाइ ८.५ किलोमिटर हुनेछ । केन्द्र तथा प्रदेश सरकारले केबलकारको सम्भावना विषयमा गम्भीर अध्ययन गरेर अन्य परियोजनासमेत सार्वजनिक गर्ने तयारीमा छन् ।

अन्त्यमा, नेपालको भूबनोटअनुसार केबलकारको ठूलो सम्भावना छ । नेपालजस्तो देशमा धेरै लागतका परियोजनाभन्दा कम खर्चिला परियोजना थोरै लागतमा सुरक्षा र गुणस्तरमा ध्यान दिएर बनाउन सक्नुपर्छ । यसले लगानीकर्ताको पनि हित गर्छ र सेवाग्राहीहरुको समेत हित गर्छ । राष्ट्रको उन्नतिमा पनि ठोस योगदान दिन सक्छ । यस क्षेत्रकोे निर्माण र विकासका लागि निर्माण व्यवसायीको ठूलो भूमिका हुन्छ । अब व्यवसायीहरुलाई प्राविधिक र आर्थिक हिसाबले पनि उच्च मनोबलयुक्त बनाउनुपर्छ । यसो गर्न सकियो भने व्यवसायीहरुको भूमिका सार्थक बन्न सक्छ र उचित प्रतिफल पनि लिन सक्छन् । 


 

प्रतिकृया दिनुहोस
ad