उड्न छाडे चङ्गा

उड्न छाडे चङ्गा

काठमाडौं । पारिलो घामले दसैंलाई स्वागत गरिसकेको थियो । के केटाकेटी के बूढाबूढी, दसैंले छपक्कै छोपिसकेको थियो । घरका छत र खुला ठाउँमा चङ्गा उडाउने केटाकेटीको घुइँचो देखिन्थ्यो । पारिलो घामले चङ्गा उडाउने केटाकेटीलाई साथ दिइरहेको थियो । त्यो घाममा घुम्नुको मजै बेग्लै थियो । त्यसैले नरेन्द्र श्रेष्ठ (फोटो पत्रकार) ले साथीलाई भनेँ, “घुम्न जाऊँ ।” 

साथीसँगै उनी ललितपुर भैंसेपाटीको पल्लो छेउ पुगे । खोकनाको छेउमा रहेको त्यो पारिलो खुला ठाउँमा चङ्गा उडाउने केटाकेटीको घुइँचो थियो । आकाशमा उनीहरुले उडाएका चङ्गैचङ्गा थिए । साथीहरुले फोटो खिच्न थाले । नरेन्द्रले भने त्यही दिन क्यामेरा बोकेका थिएनन् । साथीले खिचिसकेपछि उनले त्यही क्यामेरा चङ्गै चङ्गाको भीडले भरिएको आकाशतर्फ क्यामेरा फर्काए । 

आकाशमा उडिरहेका चङ्गा हेरिरहेका बच्चा र रुखभरि अड्किएका चङ्गाको फोटो खिचे । तर त्याे फाेटाे हरायाे । उनी क्यामेरा बोकेर फेरि त्यही ठाउँ पुगे जहाँ उनले पहिला फोटो खिचेका थिए । 

उफ् ! चङ्गाले डम्म भरिएको रुख नाङ्गै थियो । जम्मा एउटा चङ्गा र तीन जना केटाकेटी मात्रै पो छन् । त्यही एउटा चङ्गा भए पनि खिचेर कुँडिएको मन बोकेर नरेन्द्र फर्किए ।

तर त्यही फोटो ‘हिट’ भयो । आजकल दसैं आउँदा प्रायः त्यो फोटो धेरैले प्रयोग गर्छन् । तर, नरेन्द्र स्वयंलाई भने त्यो फोटोले उति धेरै आकर्षित गर्न सकेन । उनी भन्छन्, “त्यो तस्बिर आफैंमा राम्रो र धेरैले खिच्न नसक्ने फोटो हैन । आज पनि त्यस्तो तस्बिर जसले पनि खिच्न सक्छ । अहिले पनि दसैंको बेला जुनसुकै ठाउँमा पनि त्यस्तो फोटो जोसुकैले खिच्न सक्छ । तर, साथीको क्यामेराबाट खिचेको तस्बिर भने निकै राम्रो थियो । त्यो तस्बिर आजसम्म पनि मैले भुल्न सकेको छैन । क्यामेराको लेन्सबाट बाहेक त्यो फोटो मैले आजसम्म देखेको छैन ।”

संयोगवश मंगलबार दिउँसो फोन गर्दा उनी भैंसेपाटीको त्यही ठाउँ पुगेका रहेछन् । अर्को संयोग त्यस्तै तस्बिरको खोजीमा । तर न उनले दिनभरी घुम्दा आकाशमा चङ्गा देखे, न केटोकेटी नै । त्यतिमात्रै पनि होइन । नरेन्द्र भन्छन्, “न त्यो रुख नै छ, न चौर नै । घरैघरले भरिएछ मैले खिचेको तस्बिरको पृष्ठभूमि त ।” 

पछिल्ला केही वर्ष यता चङ्गाको तस्बिर खिच्न नपाएको उनी गुनासो गर्छन् । नरेन्द्रले चङ्गा उडाउन प्रयोग गरिने धागो बलियो बनाउन प्रयोग गरिने ‘माजा’को तस्बिर खिच्ने पनि निकै प्रयास गरे । तर कतै पनि फेला पार्न सकेनन् । 

“बजारमा पाइने रिडिमेट धागो काटिने भएकाले माजा लगाएर धागोलाई बलियो बनाएर उडाउने चलन थियो । त्यसका लागि न्युरोड र ठमेलमा माजा बेच्न राखिन्थ्यो तर त्यो कति खोज्दा पनि भेटिएन,” नरेन्द्र भन्छन्, “चङ्गा नै देखिन छोड्यो, माजाको युनिक फोटो खिच्ने त रहर मात्रै हुने भयो ।”

काठमाडौंका रैथाने केदारमान सिंह श्रेष्ठ चङ्गासँग जोडिएको पुरानो घटना सुनाउँछन् । “राणाकालमा चङ्गामा एन्टी राणा म्यासेज लेखेर चङ्गा उडाउने गरिन्थ्यो । जसले चेट भएको चङ्गा पाउँथ्यो, त्यसले राणा विरोधी म्यासेज पाउँथ्यो,” अग्रज पत्रकार सिंह भन्छन्, “आफू विरुद्ध म्यासेज लेखेर चङ्गा उडाएको पाइएपछि राणाहरुले चङ्गा नउडाउन उर्दी नै लगाए । तर कल्चरसँग जोडिएका कारण चङ्गा नउडाउन राणाले दिएको उर्दी पनि काम लागेन ।”  

मनोरञ्जनको वैकल्पिक माध्यम भेटिएकाले चङ्गा उठाउने चलन कम भएको उनको अनुमान छ । “सायद टेलिभिजन, मोबाइल जस्ता मनोरञ्जनका साधन भेटिएकाले पनि होला,” सिंह भन्छन्, “अर्को कुरा धागो, लट्टाई र चङ्गा महङ्गो भएर पनि चङ्गा उडाउने संस्कृति हराउँदै गयो ।” 

काठमाडौंमा आधुनिक संरचनाको विकास र त्यसको अव्यवस्थासँगै चङ्गा उडाउने संस्कृति हराउँदै गएको अग्रज पत्रकार भैरव अर्याल बताउँछन् । अग्ला घर, बिजुली र इन्टरनेटका अव्यवस्थित तार तथा पोलका कारण चङ्गा उडाउने चलन हट्दै गएको उनको भनाइ छ । 

“अव्यवस्थित तार तथा अग्ला बिल्डिङ नै चङ्गा उडाउने संस्कृति लोप हुँदै जानुको मुख्य कारण हो,” अर्याल भन्छन्, “पानी परेको वर्ष दसैंमा चङ्गा उडाउन सकिँदैन थियो । बाँकी वर्षमा चङ्गा नउडेको वर्ष कुनै दसैं हुँदैनथियो ।”

नौ दशक अगाडि चङ्गा उडाएको याद भैरवसँग ताजै छ । भक्तपुरको दधिकोटमा बस्दा समकालीनहरुसँग चङ्गा उडाउने प्रतिस्पर्धा नै गर्थे उनी । “चङ्गामा पुच्छर हालेर उडाउने कि नहाली उडाउने भन्ने प्रतिस्पर्धा हुन्थ्यो । पुच्छर हालेर उडाउने भन्दा नहाली उडाउने बहादुर हुन्थ्यो,” भैरव भन्छन्, “चङ्गामा ग्वाँख (चङ्गाको सन्तुलन मिलाउन दुबैतिर हालिने कागज) हालेर उडाउँथ्यौं । ग्वाँख हाल्दा राम्रोसँग उड््छ भन्ने थियो ।” 

चङ्गा काट्नेमा केटोकेटीहरुबीच प्रतिस्पर्धा हुने गरेको उनी सम्झिन्छन् । धागोमा माला लगाउने चलन थियो । माला लगाएको धागोले माला नलाएको धागोलाई अक्सर काट्ने गरेको उनी सम्झिन्छन् । 

“चङ्गा जति धेरै काट्न सक्यो त्यो नै बहादुर हुन्थ्यो साथीभाइका बीचमा,” भैरव भन्छन्, “अहिले त चङ्गा उडाउने संस्कृति नै हराएर गयो ।” 


 

नरेश फुयाँल

प्रतिकृया दिनुहोस
ad