मासुले मानिसमा अनेक रोग सार्न सक्छ, सचेत होऔं

मासुले मानिसमा अनेक रोग सार्न सक्छ, सचेत होऔं

दसैं सुरु भइसकेको छ । दसैं भन्नासाथ माछा मासु खाने चाडका रुपमा नै लिने गरेको पाइन्छ । तर माछा मासु खरिद गर्दा वा खसी बोका खरिद गर्दा त्यसको स्वास्थ्यतिर खासै ध्यान पुर्याउँदैनौ । यिनै सन्दर्भलाई लिएर काठमाडौं क्वारेन्टाइन कार्यालयका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. श्रीराम अधिकारीसँग लामो कुराकानी गरिएको थियो । प्रस्तुत छ, डा. अधिकारीसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको प्रमुख अंश । 

आजका दिनमा क्वारेन्टाइनका चुनौतिहरू के के देखिएका छन् ?

काठमाडौं भित्रिने बाटाहरू धेरै छन्, तर क्वारेन्टाइन बस्छ एउटा निश्चित ठाउँमा । अहिले यस सम्बन्धी नाकाहरू अस्थायी रुपमै भए पनि केही बढी नै खोलिएको छ । यसका साथै केही कर्मचारीहरूलाई हामीले अहिलेको खसी, बोका, राँगाको बजारमा पठाएका छौँ । निश्चय पनि केही बढी सक्रियता त यो बेलामा हुने नै भयो । 

सक्रियतासँगै चुनौति थपिनु अस्वाभाविक होइन । चुनौति प्रशस्त छन् । क्वारेन्टाइनका क्षेत्रमा प्रहरी प्रशासनले साथ नदिने हो भने क्वारेन्टाइनले एक्लै केही गर्न सक्दैन । स्थानीय प्रशासन, आम उपभोक्ताहरू, यसका स्टेक होल्डरहरूको सहयोग पनि आवश्यक छ । 

तथापि, यतातिर राजनीतिक चासो कहिले पनि देखिएन । सम्पूर्ण विकासको कुरा गरिन्छ, तर त्यो सडक निर्माण वा पुल निर्माण अथवा अरू विकास निर्माणको काम मात्रै त्यसमा गणना गरिन्छ ! प्रत्यक्ष जनताको स्वास्थ्यमा सरोकार राख्ने विषयमा राज्यको वा राजनीतिक दल र व्यक्तिले कहिल्यै चासो देखाएन । हेल्थ नै नरहे वेल्थ कहाँबाट रहला र ? हेल्थलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने हो राज्यले । तर त्यो आजसम्म भएको देखिएको छैन ।

मानिसमा आज जति पनि रोग लाग्ने गरेको छ, ती रोगहरूमा अधिकांशः पशुबाट सरेका रोगहरू नै छन् । चाहे ती एक कोषीय रोग हुन वा बहुकोषीय । यदि त्यसलाई रोक्न सकेनौँ भने त्यसले मानव स्वास्थ्य सुरक्षित हुँदैन । नत यो वातावरण नै सुरक्षित रहन्छ । न पशुपक्षी सुरक्षित रहन्छन्, नत बोटबिरुवा नै । 

सबैभन्दा पहिले राजनीतिज्ञले यतातिर चासो दिनुपर्ने हो । 

यो उदासिनता किन राजनीतिज्ञ र प्रशासकमा ?

पहिलो कमजोरी हाम्रै नै पो हो की ! समयमै हामीले यसलाई सबैका अगाडि उजागर गर्न सकेनौँ की ? हामी कहाँ जब भयावह स्थिति सिर्जना हुन्छ, त्यस पछि मात्रै मानिस त्रसित हुन्छन् । अनि सचेतनातर्फ लाग्छन् । त्यसबेला धेरै अबेला भइसकेको हुन्छ ।

‘हामी त गाईगोरु–भैसीसँगै खेलेका हुर्केका हाैं । हामी त्यति जमीनमा हुर्कियाैं । त्यहि गोठमा कैयन रात सुत्यौं । हामीले भयावह स्थिति कहिले पनि भोग्नु परेन । अहिले कहाँबाट भयावह अवस्था आउन सक्छ र ?’ यस्तो मानसिकता मानिसमा छ ! 

तर त्यो होइन । हाम्रो शरीरलाई प्रोटिन दिने सवालमा होस् वा भिटामिन दिने सवालमा होस्, चाहे हाम्रो शरीरलाई खाना दिने सवालमा होस् वा हामीलाई रोजगारी दिने सवाल होस्, हामीले खसी, बोका, राँगाको कुरा गर्दै आयाैं । तर यसबाटै विभिन्न किसिमका रोग पनि मानिसलाई लाग्न सक्छ भन्ने कुराप्रति हामीले विशेष ध्यान दिनु पर्दथ्यो, तर सकेनौँ । हामी यता तिर सम्बेदनशील हुनै सकेनौँ । राजनीतिज्ञ र प्रशासकले झन् यतातिर सोच्नु पर्ने थियो । तर सोच्दै सोच्नु भएन ! यता सोचेको भए सायद यो क्षेत्रमा यति सारो समस्या हुन्थेन होला । 

आज यस किसिमका समस्या बढेर आउनुको कारण के होला ?

वास्तवमा, आज वातावरणीय प्रदूषण बढ्दै गएको छ । यस कारणले नै हामीले थाहा नपाएका रोगहरू पनि बढ्दै गइरहेको छ । हिजोका दिनमा पनि यस्ता रोग थिए होलान्, तर पत्तो लागेको थिएन । अहिले मानिसको औषत आयु बढ्दै गएकोले पनि रोगहरू धेरै देखिँदै गएको हो । 

अहिलेको वातावरणीय प्रदूषण मानव स्वास्थ्यलाई हानी पुर्याउने खालको छ । हानीका लागि उपयुक्त समय हो कि भन्ने लाग्छ । जस्तै, कतै दूध पोखियो भने त्यसमा केही बेरमै ब्याक्टेरियाहरू सलबलाउँछन् । त्यस्तै कतै मासु खुला छोडिएको छ भने त्यो मासुमा रहेका कतिपय हानिकारक ब्याक्टेरियाका लागि अनुकूल समय हुन सक्छ । त्यस्तो खालको वातावरण विश्वमै बढिरहेको छ । हामी कहाँ पनि वातावरणीय प्रदूषण विद्यमान छ । 

यस प्रदूषणलाई हामीले नियन्त्रण गर्न सकेनौ भने मासुजन्य विभिन्न रोगहरू झनै बढेर जान सक्छ । यसको नियन्त्रण गर्न सकेनौ भने हामी कहाँ कहिल्यै नभएको रोग भित्रिन सक्छ । किनभने हामीले खसीबोका वा राँगाको ‘मुभमेन्ट’लाई नियन्त्रण गर्न त सक्दैनौँ । 

सामान्यतया भारत र चीनबाट खसीबोका, राँगा अनि च्याङ्ग्राहरू आयात भइरहेको देखिन्छ । विशेषगरी चाडबाडका बेला हजारौँको संख्यामा मासुका लागि भनेर खसीबोका, राँगा ल्याइन्छन् । यस्तो अवस्थामा कसरी तपाईहरुले चेकिङ गर्नुहुन्छ ?

यसमा मैले केही बोल्नैपर्ने हुन्छ । हामीले बिगत ६ महिनादेखि एउटा अभ्यास गरिरहेका छाँै । चाइनाबाट आउँदा त पशु निरोगिताको स्वास्थ्य सर्टिफिकेटसहित आउँथ्यो । उताको समस्या भनेको चाइनीज भाषा बुझ्न नसक्ने मात्रै हो । त्यसमा अनुवादका लागि समय लाग्न सक्थ्यो । 

भारतबाट आयात हुँदा भने केही खसीबोका, राँगा स्वास्थ्य सर्टिफिकेट बिना नै आइरहेको अवस्था हो । तर पनि त्यसलाई व्यवस्थापन गर्ने क्रममा हाम्रो पशु चिकित्सकहरू र पशु स्वास्थ्य सहायकहरूले तिनको चेक जाँच गरेर, रोग नभित्रियोस् भनेर, त्यसलाई निश्चित भ्याक्सीन दिएर, भित्र्याउँदै आएका थियौं । र अलि बढी नै रोगी देखिएका पशुलाई फर्काउने वा कब्जामा लिएर तिनलाई गाड्ने पनि गरिँदै आइएको थियो । 

तर पछिल्लो ६ महिना यता हामीले अन्तरराष्ट्रिय नियम कानुन बमोजिमको एसपीएस मेजर्स अनुसारको प्रमाणपत्र आधिकारिक निकायबाट जारी भएको अवस्थामा मात्रै पशु भित्रिन दिएका छौँ । हैन भने हामीले खसी, बोका र राँगा भित्रिन दिएका छैनाैं ।

अहिले हेल्थ सर्टिफिकेट सहितका खसी, बोका भित्रिएका छन् । तर राँगा र भैसीको हकमा भने अहिले पनि हेल्थ सर्टिफिकेट आउन सकेको छैन ।

हेल्थ सर्टिफिकेट आउँदैमा पशुमा रोग छैन भन्ने विश्वास गर्न सकिन्छ ?

मूल कुरो त, आफूलाई मात्रै नष्ट गर्ने खालको पशु रोग हो कि अरूलाई पनि नष्ट गर्ने खालको रोग हो ? त्यो विषयमा विशेष विचार पुर्याउनु पर्छ । यो खुट्याउन सक्नुपर्छ । कहिले काँही मानिसमा रोग लागे पनि रोगी देखिँदैनन् । कोही एकदमै रोगी देखिन्छन् । हो, त्यस्तै पशुमा पनि हुनसक्छ । बाहिरबाट हेर्दा कुनै कुनै पशु रोगी देखिन सक्छन् । पेट फुलेको, वा र्याल सिँगान चुहाइरहेको, अथवा खोकिरहेको, अनावश्यक रुपमा टाउको ठूलो भएको पशु देखिएको अवस्थामा त्यस्तालाई हामीले तत्कालै रोक्ने काम गर्दछौँ । किनभने त्यस्ता पशुको मासुले मानिसमा अनेकन रोग सार्न सक्छ । 

सामान्यतया पशु पक्षीको उद्गमस्थलमै चेक जाँच भइसकेको हुन्छ । कहिलेकाहीँ त्यसले मात्रै पुग्दैन । यदाकदा ढुवानीका कारण पनि स्वास्थ्य सम्बन्धी समस्या सिर्जना हुनसक्छ । कहिले काहीँ एक दुई वटा मेरेको देखेर त्यसमा जुनोसीस छ वा अरु कुनै रोग छ भनेर पत्ता लगाउन सकिँदैन । तर बढी नै पशुहरू मरेका छन् भने त्यसमा गम्भीर भएर समस्याको तहसम्म पुगेर छानबिन गर्नुपर्छ । र त्यसमा खराबी देखिए त्यहीँ रोक्नु पर्छ ।

कुनै पनि पशुपंक्षीको निकासी पैठारी गर्दा होस् वा आन्तरिक ओसारपसार गर्दा होस्, एउटा आधिकारिक दर्तावाल भेटेरेनरी डाक्टरले पशुको स्वास्थ्य जाँच गरेर सर्टिफिकेट बनाउनै पर्छ । स्वास्थ्य प्रमाणपत्रसहित ओसारपसार गर्नुपर्छ । हैन भने त्यो बैध ठहरिन्न । एक जिल्लाबाट अर्को जिल्लामा पठाउँदा पनि त्यो प्रमाणपत्र आवश्यक पर्छ । यस्तो अवस्थामा प्रहरीले पनि चनाखो भएर हेर्नुपर्ने हुन्छ, पशुलाई भेटेरेनरी डाक्टरले जाँच गरेको हो कि होइन ।

भारतीय प्रधानमन्त्री मोदीले कतिपय वस्तु भन्सारमा १० मिनेट भन्दा बढी नरोक्नु भन्ने कुरा गरेका थिए । यति सानो समयमा क्वारेन्टाईन चेकिङ गर्न सकिन्छ र ?

क्वारेनटाइनमा जहिले पनि चेकजाँच गर्ने भनेको छिटो नै गर्ने हो । तर त्यसका लागि निश्चित आधारहरू भने पूरा भएको हुनुपर्छ । अनिमात्रै त्यो चेकजाँच पूर्ण मानिन्छ । 

पहिलो त आधिकारिक पशु स्वास्थ्य सर्टिफिकेट हो कि होइन ? भन्ने हेर्नुपर्छ । पशुको उत्पतिस्थानमा कुनै पशुजन्य रोग फैलिएको छ कि छैन भन्ने जानकारी पनि चेकमा बस्ने मानिसलाई हुनुपर्छ । हरेक कुरामा अपडेट रहनु पर्छ । चिसोपना (चिलिङ्ग)को व्यवस्थापन नियमानुसार गरेको छ कि छैन, ढुवानीको गाडी पनि वैज्ञानिकरुपमा दुरुस्त छ कि छैन, पशुहरू मरेका छन् कि छैनन् सबैलाई ध्यानपूर्वक हेर्नुपर्छ । सबै नियम अनुसार छ भने त्यसले लिने समय भनेको १० मिनेट मात्रै हो । धेरै समय नै लाग्दैन । 

तर क्वारेन्टाइनले हेर्ने त्यति मात्रै होइन । पशुको उत्पतिस्थानमै पशु स्वास्थ्यका बारेमा राम्ररी प्रमाणित भएको हुनुपर्छ । त्यसले नियमानुसार एमआरएल लेभेल पूरा गरेको गरेको हुुुनुपर्छ । हैन भने, पशुपंक्षीलाई नियन्त्रणमा लिएर सबै चेक जाँच गरी आधिकारिक प्रयोगशालाबाट परीक्षण गरी पास हुनुपर्छ । यसका लागि प्रयोगशाला पनि ओ.आइ.ई. अर्थात् विश्व पशुस्वास्थ्य संगठनले ‘रेकोमेन्ड’ गरेकोे हुनुपर्छ । त्यसलाई मान्यता दिन सकिन्छ । अवैज्ञानिक तरिकाबाट गरिएको ल्याब जाँचलाई मान्यता दिन सकिँदैन । 

अहिले नेपालमा खाद्य तथा गुण नियन्त्रण कार्यालयमा मान्यताप्राप्त ल्याब रहेको छ । त्यसमा विश्वास गर्न सकिन्छ । 

नेपालमा चरन क्षेत्र प्रशस्तै छ । खसीबोकाका लागि आत्मनिर्भर हुन सक्ने स्थिति विद्यमान छ । कुखुरामा आत्मनिर्भर भइसकेको चर्चा पनि नचलेको होइन । तर पनि हामी कहाँ मासुका लागि पशु पक्षी आयात गरिँदै आइएको छ । किन ?

हामी प्राविधिक क्षेत्रका मानिसले यो विषयमा बोल्ने कि नबोल्ने मलाई थाहा छैन । तर कहिलेकाँही जनता भएर बोल्नु पर्ने हुन्छ । नेपालको महाभारत (चुरे उत्तरको पहाडी भाग) क्षेत्र बाख्रापालनका लागि उत्तम स्थानमा पर्दछ । त्यो क्षेत्र पशुपालनकै लागि बनेको क्षेत्र जस्तो मलाई अनुभव हुन्छ । त्यहाँ पशु विकासका लागि वृहत काम गर्न सकिन्छ ।

यदि उक्त स्थानमा खसीबोकाको उत्पादनमा ध्यान दिने हो भने त्यसले खसीबोकाका क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँछ । बाहिरबाट ल्याएको खसीबोकामा रोगसंँग लड्ने क्षमता त्यति देखिँदैन । तर नेपालका खसीबोकामा त्यो क्षमता धेरै हुन्छ । तर खै, यतातिर कहिले पनि कसैले सोचिदिएनन् !

केही वर्ष अघिदेखि अनुदान दिएर यो क्षेत्रको विकासका लागि काम गरिएको देखिन्छ । र पनि आत्मनिर्भर नै भइसक्यौँ भनेर भन्न सकिँदैन । कुखुरा र अण्डामा भने हामी आत्मनिर्भर भइसकेका छौँ भन्न सकिन्छ । 

तर पनि हाम्रा उत्पादन त्यति उन्नत देखिँदैन । हामी कहाँ चुकिरहेका छौँ त ?

हामी अझै कतिपय विषयमा कमजोर छौँ । पाँच सय गाई पाल्ने कुरो त गर्छाै । तर एक दुई जना भेटेरेनरी डाक्टर राख्ने वा पशु चिकित्सा सहायक राख्ने कुरामा हाम्रा पशुपालक किसानले त्यति ध्यान दिएको पाइँदैन ।

उता उत्पादनको प्राथमिक क्षेत्रमा नै कतिपय कारणले गर्दा पशु उत्पादन खराब भइदिन्छ । जस्तै, पानीमा कोलीफर्म ब्याक्टेरिया छ भने त्यसले गाई भैसीको दूधलाई पनि दुषित बनाउछ । मासुका लागि तयार गर्दै गरेको पशु पक्षीलाई पनि त्यो पानीले रोगी बनाउँछ । घरमै पनि तरकारीको बोक्रा र डाँठहरू खसीबोका, गाईभैसीलाई दिने चलन छ । जबकी तरकारीमा अधिकांश विषादी हालिएको हामीले समाचार मै पनि पढ्दै आएका हौं । त्यस्तो अवस्थामा खसीबोकाको मासु र गाई भैसीको दूधलाई कसरी शुद्ध र राम्रो भन्न सकिएला !? यस्ता धेरै समस्याहरू छन् ।

अर्को कुरो, सारा कुरा सफा छ । तर खाने बेलामा फोहोर हातले खाइदिँदा सफा तरकारी वा मासुको के नै अर्थ रह्यो र ! उमालेको पानी दिइन्छ । तर पानी राख्ने ग्लास सामान्य पानीले धोइपखाली गरिएको हुन्छ । पानीको सानो थोपामा पनि हजारौ किटाणु हुन्छ भनिन्छ । यो स्थितिमा पानी शुद्ध छ भन्न सकिन्छ होला र ?

दसैं सुरु भएको छ । माछामासुको व्यापार बढेको छ । आम उपभोक्ताले के गर्नुपर्ला ?

पशुपंक्षीमा विभिन्न रोग लागेका हुनसक्छ । मैले भने नि, ७० प्रतिशत रोगको कारण मासुबाटै हुने गरेको मानिन्छ । बढी मासु सेवन गर्नेहरूमा कोलेस्ट्रोल देखिन्छ । मासुको परिकार बनाउँदा पनि तेलमा मज्जाले फ्राई गरेर र मर–मसला हालेर बनाउने चलन छ । जुन मानव स्वास्थ्यका लागि हानिकारक हो । विदेशमा मासु नै खाए पनि उसिनेर मात्रै खाने चलन छ । त्यसैले ती स्वस्थ्य छन् । त्यसैले सकभर मासु खाँदा मसालेदार खानु भन्दा उसिनेर खाएको राम्रो हुन्छ । मासुलाई सकेको शुद्ध र हाइजिनिक बनाउन सक्नु पर्छ ।

कसरी चनाखो हुने हामीले ?

पशु पक्षीको हार्मोन चेक भएको छ कि छैन भन्ने आम उपभोक्ताले हेर्ने कुरो भएन । त्यसका लागि सरकारी निकायले नै हेर्नुपर्छ । त्यसका लागि विशेष किसिमको सरकारी नीति नै बन्नु पर्छ । जसले आधुनिक र स्वच्छ बधशालाको व्यवस्थामा जोड दिन्छ । 

यसका लागि हामी सामान्य मानिसले वैज्ञानिक बधशालाबाट मासु ल्याउनु पर्छ । राम्रो र सफा मासु पसलबाट मात्रै मासु किनेर खाँदा त्यसले शरीरलाई फाइदा पुर्याउँछ ।

मीले मासु खाँदा स्वच्छ र स्वस्थ मासु कहाँ पाइन्छ भनेर खोज्नु पर्छ । बाहिर भरखर काटेको खसीको मासुमा कति झिँगा र धुलो जमेको होला ? सोच्नुस् त । यस्तो मासु खानै हुँदैन । 

   
 

प्रतिकृया दिनुहोस
ad