site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दसैँको आध्यात्मिक पाटो 

नेपालीहरूको लागि दसैँ सामाजिक, पारिवारिक र आध्यात्मिकरूपले प्रमुख पर्व हो । सामाजिक सम्बन्ध, सुमधुरता, भातृत्व प्रेम, एक अर्कामा शुभेच्छा प्रदान गर्ने दृष्टिले र आफ्नो संस्कार एवं प्रचलनलाई जीवन्त राख्ने दृष्टिले पनि दसैँ आफैँमा महत्त्वपूर्ण अवसर हो । पारिवारिक जमघट, टाढा रहेका परिवारजनसँग पुनर्मिलन र परिवार प्रेम र आशिषसहितको पारिवारिक प्रेमले भरिपूर्ण पर्व हो दसैँ । अझ गहिराइबाट हेर्दा आध्यात्मिक गहनतालाई उजागर गर्ने पर्व पनि हो दसैँ । आध्यात्मिकतामा बाँच्नुको अर्थ हो आफ्नोभित्रबाट आफैँ सम्राट हुनु, आफैँमा पूर्णताको अनुभूति गर्नु, आफ्नो स्वभावको पहिचान गर्नु । 

वास्तवमा जो पनि अर्को दोस्रोजस्तो हुन चाहँदैन र आफ्नै स्वभावमा रमाउँछ भने त्यो आध्यात्मिक व्यक्ति हो । अद्वैत, जहाँ द्वैत छैन, सबैमा समानता देख्ने गुण छ त्यो नै आध्यात्मिकता हो । निर्भयता, संकल्प, स्वीकार र जागरण अध्यात्मका मापन हुन् । कुनै पनि व्यक्ति कुनै पनि वस्तु अर्कोसँग मागेर होइन आन्तरिक सम्पदाको पहिचान गरेर आत्मावान् भएर बाँच्न सक्छ भने उसलाई आध्यात्मिक रसले भरिपूर्ण मान्नुपर्छ । 

पारस्परिक निर्भरता सधैँ जरूरी छ मानिसको जीवनमा तर आफ्नोभित्र रहेको खजाना थाहा नपाएर बाहिर बाहिर खोज्दै हिँडेको हुन्छ भने उसलाई आध्यात्मिक ज्ञान छैन भन्ने बुझ्नुपर्छ । मानिस सुख, शान्ति, समृद्धि बाहिर खोजिरहेको छ तर ती सबै आफूभित्रै छन् भन्ने थाहा पाएको छैन । सहकार्य र सहचार्य बाहिर जरूरी देखिन्छ तर व्यक्ति बाहिरबाट गरिब देखिए पनि भित्र गरिब छैन । बाहिर भिखारी नै छ व्यक्ति भित्रबाट भने सम्पन्न छ । यसलाई देख्ने दृष्टि चाहिन्छ । दसैँ त्यो आन्तरिक सम्पदा, समृद्धि, देवत्व, प्रेम, करुणा, अहिंसा, ध्यान, साधना र आराधना जागृत गराउने पर्व पनि हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नवदुर्गा, शक्तिको उपासना र आराधनाको संदेश हो आफूभित्र रहेका नवरुपी रिपुहरूसँग सजग जागृत हुनु । काम, क्रोध, लोभ, मोह, ईर्ष्या, द्वेष, घृणा, अहिंसा र भयप्रति जागृत हुने शक्ति प्राप्त गर्नु शक्ति स्वरुपा दुर्गाशक्तिको आराधनाको संदेश हो । यी रिपुहरू व्यक्तिको बाहिरी अनुहारमा नदेखिन सक्छन् तर भित्र दबिएर बसेका हुन्छन् र ठीक मौकामा विस्फोट भएर सारा सकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छन् । सुमधुर सम्बन्धमा दरार ल्याई दिन्छन् र खुसी र सुखी जीवनलाई तहसनहस बनाइदिन्छन् । भित्र के हुनुपर्थ्यो, के बसेको छ त्यसलाई रेचन गरेर फाल्ने र साधनामा डुब्ने एउटा अवसर हो नवरात्रि । रात्रि अर्थात् अन्धकाररूपी तत्त्व जहाँ प्रकाश छैन । 

भित्ररहेका अन्धकाररूपी तत्त्वलाई नष्ट गरी प्रकाशमय बनाउने अवसरलाई संकेत गर्छ नवरात्रिले । बाहिरको अन्धकारलाई त दियो जलाएर प्रकाशमय बनाउन सकिएला तर भित्रको अन्धकार मेट्न थोरै सजगता, सहजता, साधना, ध्यान, आराधना र जागरण चाहिन्छ । यी गुणहरू मानिसभित्र लुकेका सम्पदा हुन् र यी जागृत हुनासाथ जीवनमा शान्ति, प्रेम, करुणा, भातृत्व र सहयोगी भावनाको विकास हुन्छ । अनि आनन्दित जीवन बाँच्न मद्धत पुग्दछ । 

Global Ime bank

नवरात्रिभर सबेरै उठेर शक्ति पीठको दर्शन गर्न जानुको अर्थ हो ( शरीरमा आलस्य छैन स्फूर्ति प्रकट भएको छ । सहजता र आन्तरिक ऊर्जा प्रवाहित भएको छ । प्रतिकूलताप्रति ख्याल छैन । जताततै अनुकूलताको अनुभूति भएको छ । परिस्थितिप्रति द्विविधा छैन सबै सुबवधा महसुस भएको छ । मानसिकरूपमा शान्ति, प्रशन्नता र प्रफुल्लता व्याप्त छ । आन्तरिक रपमा चित्त शुद्धि र सात्विक वातावरणको आभास छ । मन्दिर र शक्तिपीठ गएर पनि शरीर आलस्य छ, मन अस्थिर छ, द्विविधा छ, चंचलता छ भने के अर्थ रहला रु मन्दिर गएर के रूपान्तरण आयो बोध गर्न नसक्दासम्म मन्दिर जानुको तात्त्विक अर्थ पनि त रहँदैन । जब यिनको अनुभव हुन थाल्छ तब थाहा हुन्छ शान्ति, सुख, आनन्द मन्दिरमा होइन आफूभित्र नै हुँदारहेछन् । 

अस्तित्वगतरूपमा एकात्मकता र एकरूपताको पहिचान हुनसक्नु र त्यसमा आनन्द लिनसक्नु आध्यात्मिकताको सार हो । कुनैपनि सम्बन्ध, उत्सव, कर्म र परिणामलाई सतहबाट होइन गहिराइबाट हेर्न जान्नु आध्यात्मिकताको बोध हो । देवीको उपासना र आराधनाले सद्चरित्र, सदाचार, नैतिकता र इमान वृद्धि गर्न सकेमात्र सार्थक हुनेछ । किनभने यी गुणहरू नै अध्यात्मका प्राण हुन्  । शक्तिपीठ र मन्दिर र जान्छौं तर  एक आपसमा पारस्परिक सहयोग, न्याय, उदारता, शील, संयम र संवेदना जागृत हुन सकेन भने पनि हाम्रो परिश्रम र समय त्यसै खेर गएको मान्नुपर्छ । कुनै दार्शनिक मान्यता, अध्ययन, मनन र पारायणबाट मात्र आध्यात्मिकता प्रष्फुटन हुन सक्तैन । तिनलाई ग्रहण गर्ने ग्रहणशीलता र प्रमाणिकता घटित भएको अवस्थामा मात्र अध्यात्मको सुगन्ध फैलिन्छ । त्यसैले नवदुर्गाभर गरिने पूजापाठ र आराधना ‘बहिर्पूजा धमाधम’ मात्र नभएर आन्तरिक गुणलाई उजागर गर्न सक्ने हुनुपर्छ ।

नवदुर्गाभरी हाम्रा रिपुहरुलाई नष्ट गर्ने प्रयासपछि दसौं दिन अर्थात् विजया दशमीको दिन ठूलाबडाबाट अक्षता, जमरा र आशीर्वाद ग्रहण गरिन्छ । अक्षता अर्थात् क्षत नहुने, अब ठूलाबडा मान्यजनको आशीर्वाद र शुभेच्छाले कुनै पनि राम्रा र उपयोगी कुरा क्षय९नष्ट० हुँदैनन् र यसले जीवनभर सकारात्मक ऊर्जा र भरोसा प्रदान गर्छ । शुद्ध माटोमा जौ छरेर उमारिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ । उम्रेको जौ औषधीय गुणले पनि युक्त आयुर्वेदिक उपचारको माध्यमको रूपमा प्रयोग गरिन्छ । जमरा पिसेर बनाएको झोल नियमित सेवन गर्ने हो भने उच्च रक्तचाप, क्यान्सर, पेटको रोग , छालाको रोग , वायुविकार तथा मधुमेह लगायतका रोगीलाई लाभ मिल्छ भनिन्छ । त्यसैले समृद्धिको प्रतीक जमरा पनि मानव स्वास्थ्यका लागि हितकारी मान्दै जमरा र अक्षता लगाउने प्रचलन वैज्ञानिक र आध्यात्मिक दुवै अर्थमा महत्त्वपूर्ण छ । मान्यजनको आशीर्वाद र मार्गनिर्देशनले कुनै पनि कार्य र सम्बन्धलाई खण्डित, क्षय अर्थात् विभाजन गर्दैन भन्ने ठूलो विश्वास छ । त्यसैले त विभाजन, खण्डित र नाश हुने ऊर्जाप्रति विजय प्राप्त गर्ने शक्ति मिलोस् भनी विजयादशमीको प्रसाद ग्रहण गरिन्छ । 

अक्षतारूपी प्रसाद ग्रहण गरेपछि सम्बन्ध, सम्पत्ति, मित्रता, सम्पन्नता र वैभव कहिल्यै क्षत हुँदैनन् भन्ने विश्वास लिइन्छ । देवी दुर्गाको प्रसादस्वरूप निधारमा लगाउने रातो अक्षता मानिसको आस्था, मर्यादा, संस्कृति र पहिचानको सङ्केत पनि मानिन्छ । रातो रङ्गलाई शक्ति, प्रेम, उत्साह र सुरक्षाको प्रतीक पनि मानिन्छ । त्यसैले दसैँलाई जति मौलिक पर्व मानिन्छ त्यति नै आध्यात्मिक पर्वका रूपमा पनि महत्त्वका साथ हेरिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १९, २०७६  ०६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC