site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिनियाँले सपना देखेर हुँदैन, नेपाल बनाउने सामर्थ्य हामीसँगै हुनुपर्छ
Ghorahi CementGhorahi Cement

नेपाल–चीनबीच सम्बन्ध मूलतः टङ्कप्रसाद आचार्यका पालादेखि सुरू भएको हो– सन् १९५५ देखि । विशेषतः सरकार–सरकारबीचमा । त्यसको पाँच वर्षपछि सन् १९६० मा चिनियाँ दूतावास नेपालमा स्थापना भयो ।
नेपाल–चीनबीच दुई सरकार, दुई देश र दुई विचारधारामात्रैको सम्बन्ध होइन । बुद्ध धर्म–दर्शनको निकै ठूलो प्रभाव चीनमा छ । इतिहास उत्खनन गर्दा, मञ्जुश्री चीनको पञ्चशील पर्वत (उथाइसान)बाट आएर नेपाल चोभारको गल्छीबाट उपत्यकाको पानीको निकास खोलेको र बस्ती बसाएको मिथकीय मान्यता, किंवदन्ती छँदैछ ।

कलाकार अरनिको (सन् १२४५–१३०६)ले चीनमा दुईवटा श्वेत चैत्य निर्माण गरेका छन् । सन् १२६२ को अन्त्यतिर चीन पुगेका प्रशिद्ध शिल्पकार अरनिकोले बेइजिङको मध्यसहर तियान मेन स्क्वायर अघिल्तिर बनाएको सेतो चैत्य अद्यपर्यन्त छँदैछ । त्यसपछि उनले उथाइसानमा अर्को श्वेत चैत्य बनाए । र, उनको निधन उतै भयो ।

सियानको बाओजीमा एउटा ‘फामेन टेम्पल’ छ । त्यहाँ बुद्धको औंलाको हड्डी अस्तुका रूपमा राखिएको छ र भीमकाय बुद्धमूर्ति स्थापना गरिएको छ । नेपालमा फायसान र हुयेनसानको चर्चा निकै हुन्छ । उनीहरू चीनबाट रेशमीमार्ग हुँदै अफगानिस्तान, पाकिस्तान, भारत हुँदै लुम्बिनी आएको, केही प्रामाणिक बौद्ध–सामग्रीहरू उनीहरूले सुरक्षित गरेको, लुम्बिनीलाई बुद्धको जन्मस्थलका रूपमा स्थापित गर्ने र संसारभर फिँजाउने काम गरेको किंवदन्ती समेत विद्यमान छ ।

Agni Group

बुद्ध धर्मलाई प्रचार गर्ने सन्दर्भमा पनि चिनियाँहरूको यथेष्ट योगदान छ । तिब्बत, सिचुवानको अमेसान, बेइजिङ, साङ्सीको सियान, बाओजी र उथाइसानमा बुद्धिजम, खासगरी शाक्यमुनि बुद्धसँग सम्बन्धित निकै ठुल्ठूला संरचना, प्रचार–प्रसार गरिएको पाइन्छ । यसले पनि नेपाल–चीनको सम्बन्ध आयामिक छ भन्ने बुझाउन पर्याप्त हुन्छ ।

पहिले तिब्बतका राजकुमार स्रङचङ गम्पोसँग नेपालकी राजकुमारीको विवाह भएको किंवदन्ती पनि छँदैछ । यसले पनि नेपाल–चीनको सम्बन्धको ऐतिहासिकता पुष्टि गर्छ ।

Global Ime bank

आधुनिक सन्दर्भमा सरकार र देशको स्तरमा सन् १९५५ र दूतावास स्तरमा सन् १९६० देखि सम्बन्ध अविराम अघि बढेको छ । 

नेपाल–चीन सम्बन्ध त्रिआयामिक छ । पहिलो बुद्धिजमको आयाममा । दोस्रो, औपचारिक सरकारी आयाममा । तेस्रो, विचारधाराको तहमा ।

चिनियाँ क्रान्तिको संसारव्यापी प्रभाव छ । माओत्सेतुङले अक्टोबर १ सन् १९४९ मा तियान मेन स्क्वायरबाट चिनियाँ क्रान्ति सम्पन्न भएको, चीन मुक्त भएको विजयको शङ्खनाद गरे । त्यसको प्रभाव संसारभर पर्‍यो । सीधा प्रभाव नेपाललाई पनि पर्‍यो ।

तिनताका चीनको अध्यक्ष नेपालको पनि अध्यक्ष भनेर चर्चा हुन्थ्यो । भारतको नक्सलवादी (नक्सलाइट) मुभमेन्टमा पनि यही चर्चा हुन्थ्यो ।

नक्सलवाबीको प्रभाव झापा आन्दोलनमा पनि पर्‍यो । झापा विद्रोहले पनि केही समयसम्म यही मान्यता बोक्यो ।

माओत्सेतुङ विचारधारा चिनियाँ क्रान्तिले विकास गरेको मौलिक विचारधाराका रूपमा संसारभर प्रभाव विस्तार गर्‍यो । नेपालमा विक्रम् सम्वत् २०१८–१९ पछि ठूलो महाविवादमा नेपालको कम्युनिस्ट आन्दोलन फस्यो । तिनताक कम्युनिस्ट आन्दोलनको दुई धुरी बन्यो । एउटा चीन, अर्को रुस । रुसी धुरी राष्ट्रिय प्रजातन्त्रबाट प्रभावित रह्यो । केशरजङ राजमाझी, विष्णुबहादुर मानन्धर, कृष्णराज बर्मा ती धुरीमा एकट्ठा भए ।
चिनियाँ ध्रुवमा मूलतः पुष्पलाल श्रेष्ठ, मोहनविक्रम सिंह, झापा आन्दोलन र चौथो महाधिवेशनको धारा रह्यो ।

पछि प्रचण्डको नेतृत्वमा माओवादका रूपमा स्वीकार गर्ने काम भयो । तिनताका माओवादी आन्दोलन पेरुको कम्युनिस्ट पार्टीले विकास गरेको शाइनिङ्ग पाथबाट बढी प्रभावित हुँदै माओवाद र प्रचण्ड पथीय विचारधाराको बाटो पकडेको यो पुस्तालाई अवगत नहुने कुरै भएन । अहिले चीन सी जिनपिङको नेतृत्वमा तीन महत्त्वपूर्ण कालखण्ड पार गर्दै अघि बढिरहेको छ ।

सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । त्यसको २९ वर्षपछि क्रान्ति सफल भयो । सन् १९४९ देखि सन् १९७६ सम्म माओत्सेतुङ नेतृत्वमा रहे । सन् १९६० आसपासको समय चीनका लागि बडो त्राशदीपूर्ण थियो ।

क्रान्ति सम्पन्न भएको नयाँ चीनमा पनि मानिसहरू भोकभोकै मर्न अभिशप्त थिए । त्यसरी मर्ने हजारौंै होइन, लाखौंको सङ्ख्यामा थिए । विम्बमा आँधीपछिको भयानक सन्नाटाको अवस्था थियो । 

किसान बाहुल्य । पिछडिएको उत्पादन सम्बन्ध । गरिबी । दारिद्रता चीन आफैँभित्र रुमलिइरहेको पनि थियो । आन्तरिक समस्या चीनको मुख्य समस्या भयो ।

रिस उठेकाजतिलाई चुच्चे टोपी लगाइदिने । जनकारवाही गर्ने । श्रम शिविरमा पठाउने । पदच्युत गर्ने काम मात्रै भयो । पद्धति, थिति बसाउने काम भएन । उत्पादन सम्बन्धको विकास गर्ने, उत्पादन र उत्पादकत्व बढाउने काम भएन ।

वास्तवमा भन्ने हो भने माओत्सेतुङ स्वयम् खराबहरूको घेराबन्दीमा परेका थिए । च्याङ चिन, लिन प्याओ र ग्याङ अफ फोरले माओत्सेतुङलाई एक किसिमले कब्जा गरेर पार्टीलाई तर्क, छलफल, बहस विमुख बनाउँदै लगेका थिए । र त, चिनियाँ क्रान्तिपछिको एक दशक कालो अध्यायका रूपमा चित्रित छ ।

सन् १९७६ पनि देङ स्याओपिङको नेतृत्वमा चीनले नयाँ बाटो पक्ड्यो । 

देङ स्याओपिङको नेतृत्वमा चीनले फड्को मार्‍यो । तथापि उनलाई पनि तहसनहस पार्ने प्रयास नभएको होइन । सन् १९७९को तियान मेन स्क्वायर घटनाका रूपमा परिचित छ । विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए । त्यो चीनको कम्युनिस्ट सत्तालाई ध्वस्त पार्ने अन्तरराष्ट्रिय डिजायनको कडी थियो । देङले सामना गरे । चीन चार सुधारको बाटोमा जबरजस्त हिँड्यो ।

विदेशी पुँजीलाई खुला गर्ने । बाह्यरूपमा खुलापन, आन्तरिक सुधार । एक राष्ट्र दुई प्रणाली । कार्यकारीको अवधि निर्धारणको बाटोमा देङले चीनलाई हिँडाए ।

देङ आफू राष्ट्रपति भएनन् । आफू प्रधानमन्त्री भएनन् । उपप्रधानमन्त्री र पार्टीको महासचिव भए । पार्टीको सैन्य आयोगको प्रमुख उनी जीवनको उत्तरार्द्धसम्म रहे ।

चीनलाई थितिमा हिँडाउन महत्त्वपूर्ण योगदान दिए । आधुनिक चीन निर्माणको जग देङ नै हुन् । “हामी खुलापन, सुधार आदि छलफलमा धेरै नअलमलिउँ, यतिखेर चिनियाँ जनताका लागि बिरालो कालो होस् यो सेतो, त्यसले मुसा समात्नुपर्छ,” उनको मान्यता थियो ।

देङपछि ज्याङ जमिन, हु चिन्ताओ हुँदै सी जिनपिङसम्म आइपुग्दा चीनले आफ्नो छविलाई निकै माथि उठाएको छ ।

दुई मुख्य कारणले चीन आजको विन्दुमा छ । पहिलो, उत्पादन सम्बन्ध । दोस्रो, बजार । उत्पादनसम्ममा चीनले गुणात्मक फड्को मारेको छ । बजार विश्वव्यापी बनाएको छ । विश्वभर बजार भएकाले चीनलाई कसैले चाहेर पनि उपेक्षा गर्न सक्दैन । संसारमा सबैभन्दा बढी विदेशी मुद्रा सञ्चित गर्ने, सबैभन्दा बढी उत्पादन–उद्योग भएको मुलुक, संसारमा सबैभन्दा बढी निर्यात गर्ने मुलुक, विश्वकै सबैभन्दा ठूलो सैन्य तागत आदि रेकर्ड चीनकै खातामा छन् ।

अहिले चीन अमेरिकालाई टक्कर दिँदै विश्वकै पहिलो अर्थतन्त्र बन्ने होडमा छ । पूर्वाधार विकासमा चीनले संसारलाई तिलस्मी, जादुयी कथाजस्तो लाग्ने प्रगति गरेको छ । जादुमय सहर बनाएको छ । छुङछिङ, साङ्घाइ, बेइजिङ, गोङजाउ, सान्ताउ, छेन्दु, सियान आदि त्यसका उदाहरण हुन् ।

अहिले चीन विचारधाराका हिसाबले पनि उत्तिकै अगाडि आइरहेको छ । अहिले चीनले विकास गर्न खोजिरहेको सी विचार माओत्सेतुङ, देङकै हाराहारीमा आउनुपर्छ र त्यसले दर्शन, सिद्धान्त, व्यवहार र राजनीतिक क्षेत्रमा उठेका प्रश्नहरूको सम्बोधन गर्नुपर्छ । सी विचारधारा कसरी अघि बढ्छ, विश्व त्यसको पर्खाइमा छ ।

तथापि, राष्ट्रपति सीले आफूलाई माओत्सेतुङ र देङकै हाराहारीमा उभ्याइसकेका छन् । बलियो, दृढ र सुझबुझ नेताका रूपमा अन्तरराष्ट्रिय रूपमा आफ्नो प्रतिष्ठा र नेतृत्व क्षमता प्रदर्शन गरिसकेका छन् ।

आजको चीनको घरेलु यो अवस्था, अन्तरराष्ट्रिय रूपमा यो प्रभाव र सामथ्र्यकै स्थितिमै हामीले दुई देशबीचको सम्बन्ध र अन्तरराष्ट्रिय स्तरमा चीनको हैसियतलाई चिन्ने, बुझ्ने र नेपालले लाभ उठाउने काम गर्नुपर्छ ।
सी जिनपिङको भ्रमणमार्फत चीनले के–के दिन्छ, के–के समझदारी हुन्छ भन्ने चर्चा सुनिन्छ । दुई सार्वभौम देशहरूका बीचमा कसले के दिने र कसले के माग्ने भन्ने महत्त्वपूर्ण कुरा होइन । चीन र नेपालको सम्बन्ध फगत लेनदेनको पनि होइन । आसन्न भ्रमण दुईदेशको आपसी हित प्रवद्र्धनको कुरा हो । नेपाल–चीनको सम्बन्ध समस्यारहित छ । त्यसलाई विस्तारित गर्नु नै आजको आवश्यकता हो । दोस्रो, चीन लामो समयदेखि नेपालको विकासमा सहयोग गर्दै आएको, साझेदारको भूमिका निर्वाह गर्दै आएको देशको हो । यो भूमिकालाई अझ बढाउनुपर्छ ।

यो सम्बन्धलाई केवल पाँच हजार त्रिपाल, कुनै रेल्वे नेटवर्क, कुनै विश्वविद्यालय स्थापना, बाटोघाटो निर्माणमा सीमित गरिनु हुँदैन । चीनको राजधानी बेइजिङमा जति जनसङ्ख्या छ, नेपालको सिङ्गो जनसङ्ख्या त्यही हाराहारी हो । हामीले हाम्रो देश बनाउने क्षमता आफैं प्रदर्शन गर्नुपर्छ । चीन, भारत, युरोप, अमेरिका, जापान, कोरिया सबैको सहयोग, सद्भाव लिने सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ । हामी आफैंसँग योजना भएन, सपना भएन भने चिनियाँको सपनाले हुँदैन ।

नेपाल ड्रिमले मात्रै नेपालको विकास सम्भव छ । चाइना ड्रिमले नेपालको हित चिताउन सक्छ तर विकास होइन ।

नेपाल–चीन समस्यारहित सम्बन्धलाई यहाँको पूर्वाधार विकास, नेपालको संरचना, संस्थागत पद्धतिको विकासका लागि सदुपयोग गर्न सक्नुपर्छ । हाम्रो कूटनीतिक सम्बन्धका आधारमा अन्तरराष्ट्रिय मञ्चमा मिलेर प्रस्तुत हुनुपर्ने कयौं मुद्दाहरू हुनसक्छन् ।

चीनलाई अलि आशाको नजरले नागरिकले हेरिरहेकोचाहिँ चीनले अहिले पाँच सय किलोमिटर प्रतिघण्टाको वेग भएको बुलेट ट्रेन परीक्षण गरी प्रयोगसमेत गरिसकेको छ । सिङ्गो चीन उच्च गतिको ट्रेन सञ्जालमा जोडिइसकेको छ । कम्तीमा पनि तीन सय किलोमिटर प्रतिघण्टाका दरले रेल दौडिइरहेका छन् ।

चीनले अहिले ५० वटा अन्तरराष्ट्रिय विमानस्थल बनाइरहेको छ । भर्खरै बेइजिङमा अत्याधुनिक स्टारफिस एअरपोर्ट सञ्चालनमा ल्यायो । पूर्वाधार विकासका हिसाबले संसारले चीनलाई टक्कर दिन सक्दैन । त्यसको सामथ्र्य सुरूङ मार्गमा होस्, या द्रूत मार्गमा होस्, या हवाइमार्गमा हामीले लाभ उठाउन सक्छौं ।

अहिले काठमाडौं– सियान तिब्बत एयरलाइन्सले उडान भरिरहेको छ । काठमाडौं– छेन्दु सिचुवान एयरलाइन्सले उडान भरिरहेको छ । काठमाडौं– ग्वाङ्जाउमा चाइन साउदर्नले उडान भरिरहेको छ । काठमाडौं– कुनमिङमा चाइना इस्टर्नले उडान भर्छ । नेपाल एयरलाइन्सले पनि उडान भर्छ । 

हामी चीनका महत्त्वपूर्ण ठाउँँमा कनेक्टिभिटीका हिसाबले पनि नजिक बन्दै छौं । काठमाडौं– बेइजिङ हिमालयन एयरलाइन्सले उडान भर्ने प्रक्रिया अघि बढेको छ । भारतका मुख्य सहरको हाराहारीभन्दा अझ बढी कनेक्टिभिटी चीनसँग छ । भारतसँग कलकत्ता, दिल्ली, मुम्बइमा नियमित छ ।

वर्षेनी दुई लाखको हाराहारीमा चिनियाँ पर्यटकहरू नेपाल आउँछन् । यो सङ्ख्या निकै बढाउन सकिन्छ । सदावहार होइन । चीनको राष्ट्रिय दिवस र नयाँ वर्षमा करोडौं चिनियाँहरू बाह्य घुमफिरमा निस्कन्छन् । त्यसको संरचनागत टुर अपरेटरहरूको तहमा सम्बन्ध जोड्ने र सरकार–सरकारका बीचमा सम्बन्ध विकास गर्नुपर्छ । पहिला कति सहयोग, कति छात्रवृत्ति प्रदान गर्ने भन्ने मात्रै कुरा उठ्थ्यो । अहिले ती सँगसँगै चीनबाट नेपालमा कति पर्यटक पुग्ने भनेर सरकार–सरकारका बीचमा छलफल हुनुपर्छ ।

सरकारी तवरबाट पहलकदमी भइसकेपछि चीन परिणाम निकाल्ने देश हो । जनस्तरबाट भन्दा सरकारको योजनाबाट त्यहाँ धेरै कुरा हुन्छ । 

ज्याङ जमिनपछि राष्ट्रपतिको तहमा चीनबाट नेपालमा कुनै भ्रमण हुन सकेको थिएन । हु जिनताओको कार्यकाल भ्रमण नगरी सकियो । सी जिनपिङको पहिलो कार्यकालमा पनि नेपाल भ्रमणको साइत जुरेन । तसर्थ पनि सीको आसन्न भ्रमण धेरै हिसाबले महत्त्वपूर्ण छ । नेपालका तर्फबाट दुवै राष्ट्रप्रमुख डा. रामवरण यादव, विद्यादेवी भण्डारीले चीनको भ्रमण गरिसक्नुभएको छ । ती भ्रमण नै राष्ट्रपति सीको भ्रमणको आधार हुन् ।

नेपाल चीन पक्षधर, भारत पक्षधर या विरोधीका रूपमा नभई दुवै देशबीच सन्तुलित सम्बन्ध विकास गर्ने सामथ्र्य राख्नुपर्छ ।

नेपाल चीनको विरोधी हुन सक्दैन । भारतको पनि हुनसक्नैन । कुनै अमुक देशको मात्रै पक्षधर भएर नेपालको अन्तरराष्ट्रिय मर्यादा र सामथ्र्य कमजोर हुन्छ ।

हाम्रा दुवै छिमेकी देश र अरू मित्र राष्ट्रहरूले आफ्नो पक्षधर बनाउने कोशिश पनि सम्भवतः गर्दैनन् । यसर्थ सीको सन्निकटको भ्रमणले नेपाल–चीनको समस्यारहित सम्बन्धको गोरेटोलाई विशाल राजमार्ग बनाउने र विस्तार गर्ने, सङ्घीय गणतन्त्र नेपालका नयाँ पद्धति विकास गर्ने प्रयास अघि बढिरहेको छ । विकास, अनुशासन, मर्यादा, पद्धति कायम गरिसकेको, उत्पादन सम्बन्धका हिसाबले पनि समाजवादी उत्पादन कायम गरिरहेको, पुँजीवादको चरम विकास गरेर आफ्नो विशेषतासहितको समाजवादलाई दह्रिलो, बलियो बनाउन लागिपरेको चीनसँग मार्क्सवादी विचारधाराको तहबाट पनि सम्बन्धलाई अझ मजबुत बनाउन सक्छौं ।

कारण– दुईदेशकै सत्तारूढ दलहरू संयोगले कम्युनिस्ट पार्टी रहेका छन् । यद्यपि दुवै कम्युनिस्ट पार्टी अलग–अलग विचारधारा, शासन सत्ता सञ्चालन गर्ने वैधता अलग–अलग छ । चिनियाँ कम्युनिस्ट पार्टीले क्रान्तिको वैधता प्राप्त गरेको छ । नेकपाले चुनावमार्फत वैधता हासिल गरेको छ । शान्ति, विकास र समृद्धिका लागि दुवै देश पारस्परिक विश्वासका साथ हातेमालो गर्दै अघि बढ्नु आजको अपरिहार्य आवश्यकता हो ।

(चिनियाँ राष्ट्रपतिको आसन्न भ्रमणका सन्दर्भमा नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापासँग अक्षर काकाले गरेको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC