तनहुँ । जिल्लामा तीन वर्षको अवधिमा हराएका ४८८ जना महिला तथा बालबालिका फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयमा ५१३ महिला तथा बालबालिका हराएको निवेदन परेपछि प्रहरीको सहयोगमा ४८८ महिला तथा बालबालिका फेला परेका हुन् ।
आर्थिक वर्ष २०७४-७५ मा २५६, ०७५-७६ मा २२८ र चालू आर्थिक वर्ष ०७६-७७ मा २९ जना महिला तथा बालबालिका हराएको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । प्रहरी उपरीक्षक सिलवालका अनुसार आव ०७४-७५ मा २५६, ०७५-७६ मा २२२ र ०७६-७७ मा १० जना महिला तथा बालबालिका फेला परेका छन् ।
सिलवालका अनुसार ०७४-७५ मा हराएकामध्ये छ र ०७६-७७ मा हराएकामध्ये १९ जना अझै पनि फेला पर्न सकेका छैनन् । “विसं ०७४-७५ मा हराएको निवेदन परेकामध्ये सबैलाई फेला पार्न सक्यौँ, हराइरहेका अन्य महिला तथा बालबालिकाको भने खोजी कार्य जारी छ”, प्रहरी उपरीक्षक सिलवालले भने । कतिपयले हराएको निवेदन दिए पनि फेला परेपछि कार्यालयमा जानकारी नगराउने भएकाले तथ्याङ्कमा महिला तथा बालबालिका फेला नपरेको देखिएको हुनसक्ने प्रहरी उपरीक्षक सिलवालले बताए ।
प्रहरी कार्यालयका अनुसार चालू आवमा २१ महिला, चार बालिका र चार ज्येष्ठ नागरिक हराएको निवेदन परेको छ । त्यसमध्ये पाँच महिला, तीन बालिका र दुई ज्येष्ठ नागरिक गरी १० जना फेला परिसकेका छन् भने १६ महिला, एक बालिका र दुई ज्येष्ठ नागरिकको खोजी भइरहेको छ । - रासस