पहिले ‘पैसा महंगो, समय सस्तो’ थियो, अहिले ‘पैसा सस्तो, समय महंगो’ छ

दीपकराज जोशी, प्रमुख कार्यकारी अधिकृत (नेपाल पर्यटन बोर्ड)

पहिले ‘पैसा महंगो, समय सस्तो’ थियो, अहिले ‘पैसा सस्तो, समय महंगो’ छ

सरकार यतिबेला नेपाल भ्रमण वर्ष २०२० को तयारीमा जुटेको छ । वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले यो कार्यक्रम अघि बढाएको हो । नेपालमा पछिल्लो परिवेशलाई आधार मान्दा भ्रमण वर्ष कार्यान्वयन निकै चुनौतीपूर्ण मानिन्छ ।

तर, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी भने उच्च मनोबलका साथ भ्रमण वर्षको लक्ष्य पूरा हुने दाबी गर्छन् । २०७२ पुसमा बोर्डको सीईओ नियुक्त जोशीको पर्यटन बोर्डमा १९ वर्षको अनुभव छ ।

नेपालको पर्यटन प्रवर्द्धन गर्न, नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन तथा गल्फ खेलको विकासका लागि बाह्रखरीले यही अक्टोबर २० मा सगरमाथा क्षेत्रमा गल्फ प्रतियोगिता आयोजना गर्दैछ ।

प्रस्तुत छ, भ्रमण वर्षको पूर्वसन्ध्यामा नेपालको पर्यटन प्रवर्द्धधन, अवसर तथा चुनौती र बाह्रखरी गल्फबारे बोर्डका सीईओ जोशीसँग रोविन पौडेलले गरेको कुराकानीको सम्पादित अंशः

हामी भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा छौं । यसको तयारी कहाँ पुग्यो ? कसरी मनाइँदै छ ?

भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि हामीले तीन–चारवटा पाटोमा कार्यक्रम केन्द्रित गरेका छौं । पहिलो कार्य हो प्रवर्द्धन, जसमा हामी आक्रामक रुपमा प्रस्तुत हुनुपर्ने छ । त्यो काम गरिरहेका पनि छौं । पर्यटनका मुख्य स्रोतमा भिजिट नेपाल २०२० को प्रि–लञ्चिङ गर्ने, थिम र मेसेजलाई प्रवर्द्धन गर्ने काम भइरहेको छ ।

दोस्रो देशभित्र भ्रमण वर्षको बारेमा जानकार गराउने । सामाजिक सञ्जालमार्फत् त्यो भएको छ । तर, मास मिडियामा भ्रमण वर्षको बारेमा अझै पर्याप्त रुपमा गइसकेको छैन । तिहारपछि त्यो पनि गर्छौं ।

तेस्रो, पर्यटन आतिथ्य तथा सेवामूलक उद्योग भएकाले यसको गुणस्तरमा ध्यान दिनुपर्ने छ । सोहीअनुसार गतवर्ष १० हजार जनालाई तालिम तथा अभिमुखीकरण दिएका थियौं । चौथो विदेशी मिडिया, ब्लगर, भ्लगर आदिलाई बोलाएर नेपालको पब्लिसिटी गराउने कार्य जारी छ ।

पछिल्लो वर्ष संख्या बढे पनि पर्यटकको वृद्धिदर भने घटेको छ । २५ प्रतिशतले बढेको पर्यटकको संख्या यसवर्ष १० प्रतिशतभन्दा कममा झरेको छ । अर्को वर्ष एक्कासि २० लाख कसरी पुग्ला ? लक्ष्यबमोजिम पर्यटक भित्र्याउन केही बाधा छैनन् ?

हाम्रो सबैभन्दा ठूलो समस्या गन्तव्य (नेपाल)सम्मको कनेक्टिभिटी नै हो । अहिले प्रवर्द्धन राम्रै छ, चासो पनि बढेको छ । तर, नेपाल आउनलाई एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्यसको गुणस्तरका कारण कनेक्टिभिटी समस्या छ । यसमा प्राथमिकताका साथ काम हुँदैछ । आशा गरौं, भ्रमण वर्ष सुरु हुनुअघि धावनमार्ग पुनस्र्थापना कार्य सम्पन्न हुनेछ । मुख्य रनवे पुनस्र्थापनाको काम सकिएको छ, साइडको पनि सम्पन्न भएपछि हाम्रो विमानस्थल २४ सै घण्टा सञ्चालन गर्न सकिन्छ ।

लुम्बिनीको निर्माणाधीन विमानस्थल पनि २०१९ को अन्त्यसम्ममा सक्ने र २०२० को पहिलो त्रैमासिकसम्ममा सञ्चालनमा ल्याउने योजना छ । यो दुईवटा कार्य सम्पन्न हुन सक्यो भने हामीलाई गाह्रो पर्दैन ।

होटलको क्षमता वृद्धि तथा हवाई तथा स्थलमार्गको सुधार र क्षमतालगायत अन्य आवश्यक पूर्वाधार व्यवस्थापन कस्तो छ । २०२० मा २० लाख पर्यटक आए भने हामी उनीहरुका लागि आवश्यक सेवा सुविधा दिन सक्छौं त ?

भर्खरै हामीले ग्याप स्टडी गरेका थियौं । जसअनुसार घुमाउन लाग्ने ठाउँहरु, क्रियाकलाप पर्याप्त देखिन्छ । अध्ययनले पनि आजको दिनमा नेपालले ५० लाख पर्यटक थेग्न सक्ने देखाउँछ । बाँकी रह्यो एकोमोडेसन अर्थात् बासस्थान (होटल–होमस्टे) को क्षमता । अध्ययनअनुसार नेपालमा वार्षिक २५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता आतिथ्य क्षेत्रको रहेको छ । 

हाम्रो सबैभन्दा ठूलो समस्या भने केनेक्टिभिटी र गन्तव्यसम्म जोड्ने सडक पूर्वाधार । यो दुइटा कुरा सुधार्नुपर्ने छ । तेस्रो सुधार्नुपर्ने कुरा भनेको आरामदायी यातायात सुविधा हो । पर्यटकलाई सेवा दिन गाडी तथा कार आवश्यकताअनुसार पर्याप्त छैनन् । भोलिका दिनमा पूर्वाधारमा सुधार आउनेबित्तिकै यसमा लगानी बढ्ने अपेक्षा गरिएको छ ।भ्रमण वर्षको अवधारणा तीनवटा आधारमा बनेको बताइएको थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०१८ मै सञ्चालनमा आउने, वाइडबडी जहाज पर्यटक भित्र्याउने सम्भावना भएका तीन ठूला गन्तव्य (स्रोत) मा उडान गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घण्टा सञ्चालनमा आउने । तर, हालसम्म तीन आधार विश्लेषण गर्दा अपुग देखिन्छ । यी चुनौतीलाई हामी कसरी सामना गर्छौं ?

हामीलाई थपिएको चुनौति तपाईंले भनेझैं नै हो । २०१८ मा २० लाख पर्यटकको कुरा आउँदा तपाईंले उल्लेख गरेका पूर्वाधार केही समयअघि सकिने प्रक्षेपण गरिएको थियो । तर, अहिलेसम्म पनि त्यो हुन सकेको छैन । तर, पछिल्लो १ वर्ष वा पछिल्लो २–३ महिनाको कार्यप्रगति हेर्दा आश गर्ने ठाउँ बनेको छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनका कारण पनि केही काम सुस्त बनेको थियो । अहिले हामीले योगेश भट्टराईलाई नयाँ पर्यटनमन्त्रीका रुपमा पाएका छौं । उहाँको जोश र उत्साह प्राथमिकताकै क्षेत्रमा बढी केन्द्रित छ ।

बाँकी रह्यो स्रोतबाट गन्तव्यसम्म पर्यटक ल्याउने । त्यो काममा हामी नयाँ वायुसेवा कम्पनीलाई प्रोत्साहन दिएर स्रोतबाट पर्यटक ल्याउन सक्छौं ।

भ्रमण वर्षको अर्को रणनीति हो, यो सीमित गन्तव्यमा बढी पर्यटक ल्याउन अफ सिजन वा लो सिजन पर्यटनको पनि आक्रामक प्रवर्द्धन गर्ने । पर्यटन गतिविधि कम हुने समयमा पनि सिजनमा झैं पर्यटक ल्याउन सक्यौं भने लक्ष्य टाढा छैन । यही पर्यटन पूर्वाधारमा बढी पर्यटक भित्र्याउने यो विकल्प हो ।

त्यो कसरी ?

खासगरी समर, विन्टर र मनसुनमा पर्यटकको संख्या निकै कम हुन्छ । यो तीनवटा सिजनमा पर्यटनको नयाँ आयाम थपेर प्रवर्द्धन गरेका छौं । उदाहरणका लागि समरमा भारत तथा बंगलादेश जस्तो बढी गर्मी हुने देशमा ‘गर्मी से बेहाल ? चलो नेपाल !’ जस्तो अभियान चलाएका थियौं । विभिन्न प्लेटफर्ममार्फत् यो अभियान गर्यौं । भारतको ओला क्याबमा प्रचारप्रसार गर्यौं । मनसुनको समयमा मध्यपूर्वी एशियामा नेपालको प्रवर्द्धन गर्यौं । कनेक्टिभिटी राम्रो भएका कारण पनि मध्यपूर्व नेपाली पर्यटनको लागि ठूलो बजार हो ।

लुम्बिनीको विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनी आउने पर्यटक लक्षित गरेर हामीले दक्षिणपूर्वी एशियामा पनि प्रवर्द्धन गरेका छौं । चीनमा जाडोको समयमा लामो बिदा हुने गर्छ । नेपालमा विन्टरलाई अफ सिजन भनिन्छ । तर, सो समयमा चीनमा जति जाडो नहुने भएकाले नेपालमा आकर्षित गर्न सक्छौं । हाम्रो रणनीति त्यही छ ।

काठमाडौंबाहिर हालसम्म चलेका नेपालका पर्यटकीय गन्तव्य पोखरा, चितवन र लुम्बिनीबाहेक अन्य गन्तव्य नेपथ्यमै छन् । ती गन्तव्यमा पर्यटकीय गतिविधि बढाउन केकस्ता योजना बनेका छन् ?

हामीले दीर्घकालका लागि एक सयवटा नयाँ क्षेत्र पहिचान गरेका छौं । त्यसमा संघ, प्रदेश र स्थानीय तहले सहकार्य गरेका छन् । त्योबाहेक उदाउँदा गन्तव्यको प्रवर्द्धनमा हामी लागिपरेका छौं । आशा गरौं नयाँ ठाउँमा पनि पर्यटकीय गतिविधि विविधीकरण हुँदै जानेछन् ।

सडक पूर्वाधार बढिरहँदा पदमार्ग विस्थापित भएका छन् । यसले गर्दा पनि नेपालमा ‘स्टे’ गर्ने दिन घटेको तथ्य बाहिर आउने गरेको छ । नेपाल आउने पर्यटकको बसाइ अवधि बढाउन पर्यटनका अरु आयाम के बन्न सक्छन् ? 

निश्तिच रुपमै भएका गन्तव्य र नयाँ गतिविधि थप्दा लेन्थ अफ स्टे बढ्छ । तर, यो कार्य चुनौतिपूर्ण छ । किनकी पहिलेभन्दा परिवेश फेरिएको छ । पहिले पर्यटकको हकमा ‘पैसा महँगो, समय सस्तो’ थियो । अहिले ‘पैसा सस्तो, समय महँगो’ बनेको छ । यसकारण पनि नेपालको हकमा मात्र नभएर संसारभर लेन्थ अफ स्टे घटेको छ । पैसा टन्नै भएपनि समय कम भएकाले एकैपल्ट लामो बिदामा हिँड्ने ट्रेन्ड घटेको छ । यसको मार हामीलाई परेको हो ।

अर्कातर्फ अहिले लेन्थ अफ स्टे घट्नुको कारण ‘एअर बीएन्डबी’ जस्ता प्लेटफर्म पनि हो । यसबाट कति दिन स्टे हुन्छ भन्ने रेकर्ड होटलमा भेटिँदैन ।

हामीले गन्तव्य र गतिविधिलाई विविधीकरण गर्न सक्यौं भने लेन्थ अफ स्टे बढ्छ । तर, संसारका अरु देशको तुलनामा नेपालको लेन्थ अफ स्टे बढी हो भन्ने कुरा सबैले जान्न जरुरी छ । नेपाल आउने पर्यटक औसतमा १२ दिन बस्ने गरेको प्रमाण हामीसँग छ, अन्य पर्यटकीय मुलुकमा ७ देखि ९ दिन रहेको छ ।

पर्यटन वर्ष २०११ को लक्ष्य पनि सोही वर्ष पूरा हुने सकेको थिएन । भ्रमण वर्ष पनि त्यस्तै हुने त होइन ?

भ्रमण वर्षलाई सफल बनाउन तीनवटा बलियो रणनीति तयार पारेका छौं । पहिलो, आक्रमक प्रवर्द्र्धन । सिजनको आक्रामक प्रचारमा विभिन्न औजार प्रयोग । दोस्रो, पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्ने । तेस्रो, अफ सिजनमा पनि सिजनको संख्याझैं पर्यटक भित्र्याउने । यसमा सबैभन्दा बढी प्राथमिकता दिनुपर्ने र चुनौति भोगिरहेको विषय पनि पूर्वाधार विकास नै हो ।एक दशकमा संख्यात्मक वृद्धिको लक्ष्य राखिए पनि गुणात्मक वृद्धि हासिल हुन सकेको छैन । पर्यटकको दैनिक खर्च नै घटेको छ । प्रतिव्यक्ति प्रतिदिन ५४ बाट ४४ डलर प्रतिदिन पुगेको छ । संख्या केहीले बढेको भए पनि अर्थतन्त्रलाई पुर्याउने योगदान उल्लेख्य छ त ?

संख्याको हिसाबमा हामी चनाखो हुनैपर्छ । हामीलाई थप मान्छेको भार चाहिएको होइन, हामीलाई खर्च गर्ने पर्यटक चाहिएको हो । जसबाट देशको अर्थतन्त्रमा पनि योगदान मिलोस् ।

संख्या भनिरहँदा हाम्रो ध्यान संख्यामा मात्र होइन । यदि संख्यामात्र हो भने हामी दैनिक भ्रमण, धार्मिक भ्रमणमा आउनेलाई पनि गन्न सकिनेछ । तर, हाम्रो इच्छा त्यो होइन । हामी २० लाख खर्च गर्ने पर्यटक भित्र्याउन चाहन्छौं ।

जहाँसम्म नेपालमा गर्ने खर्च घटेको तथ्यांक आएको छ, त्यसमा पूर्णता छैन । पछिल्लो समय बढेको डिजिटल भुक्तानीले लिकेज पनि बढाएको छ । उदाहरणका लागि, पहिले होटलको एउटा कोठा १०० सय डलरमा बिक्री हुँदा कमिसन र होटलले पाउने खुद रकम नेपालमै रहन्थ्यो । अहिले विदेशी बुकिङ एप वा अनलाइन प्लेटफर्ममार्फत् बुक गर्दा कमिसन नेपाल नभित्रिइ विदेशीको साथमा पुग्दछ । सोकारण पनि नेपालमा हुने दैनिक खर्च घटेको देखिन्छ । 

तर, सबैको जरो हाम्रो पूर्वाधारको क्षमतामै छ । पूर्वाधारको अवस्थामा सुधार ल्याउन नसकेसम्म हामीले सोचेजस्तो धेरै खर्च गर्ने पर्यटक ल्याउन गाह्रै हुन्छ ।

खर्चालु पर्यटक बढाउन केही योजना बनेका छन् ? अर्थात् हाइ–इन्ड टुरिजमको सम्भावनाका कारेमा पर्यटन बोर्डले के सोचेको छ ?

राज्यको चाहना नै हाइ–इन्ड पर्यटक भित्र्याउने हो । तर, हामीले हामीकहाँ मिश्रित रणनीति अवलम्बन गर्नुपर्छ । किनकी कतिपय गन्तव्यमा कम खर्च गर्ने पर्यटक जानै सक्दैनन् ।
प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्न ठूलो रकम तिर्नुपर्ने हुन्छ । तर, हामी खर्च गर्ने क्षमताअनुसार पर्यटकलाई भेदभाव गर्दैनौं । गन्तव्य छनौटका आधारमा पर्यटकले खर्च गर्छन् । त्यसका लागि हामीले पर्यटन उद्योगलाई नै सचेत राख्नुपर्ने हुन्छ ।

आन्तरिक पर्यटनका बारेमा बोर्डबाट केकस्ता प्रवर्द्धनात्मक कार्यक्रम अघि बढेका छन् ? भिजिट नेपाल २०२० मा उनीहरुको भूमिका के हुन्छ ?

आन्तरिक पर्यटन नै समग्र पर्यटनको आधार हो । ३–४ वर्षयता हामीले कल्पना गरेभन्दा बढी आन्तरिक पर्यटकीय गतिविधि बढेको छ । यसकारण नयाँ गन्तव्य उजागर भइरहेका छन् भने ती गन्तव्यमा लगानी पनि बढेको छ । उदाहरणका लागि रारामा पर्यटकको संख्या बढेको देखेर मुस्ताङ, सुर्खेत, इलाम, सुनसरीलगायत क्षेत्रमा होटल तथा पूर्वाधारमा लगानी बढेको देखिन्छ ।

भर्खरै बोर्डको बजेट आएको छ । बजेटको आकार घटेको छ । किन ?

हाम्रो आम्दानी गर्ने छुट्टै संयन्त्र छ । जसनुसार अघिल्लो वर्ष खर्च हुन नसकेको रकम अर्को वर्षका लागि क्यारि ओभर हुन्छ । अघिल्लो वर्ष धेरै खर्च हुन नसकेका कारण गत वर्षको बजेट धेरै थियो । तर, गत वर्ष करसमेत तिर्दा राम्रो खर्च भएपछि यसपाली खर्च हुने केही आधार कम भएको देखिन्छ ।

तर, हाम्रो आम्दानी सिर्जनाका हिसाबले कम भएको छैन ।

देश नै संघीय संरचनामा गइसकेको अवस्थामा पर्यटन बोर्डको संघीय उपस्थितिबारे केही योजना बनेको छ ?

बोर्ड अहिले संघीय संरचनामै छ । हाम्रो भूमिका नेपाललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउनका लागि रही आएको छ । पोखरामा रहेको क्षेत्रीय कार्यालयलाई अहिले गण्डकी प्रदेशका लागि प्रादेशिक कार्यालयको स्वरुप दिएका छौं । अन्य सातै प्रदेशमा प्रादेशिक कार्यालय खोल्नु पर्ने–नपर्ने आवश्यकता हेरेर तथा प्रदेश सरकारको समन्वयमा मात्र संघीय कार्यालय स्थापना गरिन्छ ।तपाईंको कार्यकाल पनि सकिन लागेको छ । आफ्नो कार्यकाल कस्तो रहेको मूल्यांकन गर्नुभएको छ ?

म निकै सन्तुष्ट छु । किनकी मैले जुन समय नेपाल पर्यटन बोर्डको नेतृत्व सम्हालें, सो समय नेपालको पर्यटन क्षेत्रको सर्वाधिक मनोबल घटेको समय थियो । भूकम्प र त्यसले पुर्याएको क्षति र नेपालको स्रोत तथा बजारमा नेपालबारे फैलिएको भ्रमले चारैतिर चुनौति खडा गरेको थियो । पर्यटक नेपाल घुम्न डराउँथे । नाकाबन्दीले गर्दा आपूर्तिमा केही सहजता सिर्जना गरिदियो । पर्यटकको संख्या ठूलो संख्या घटेको थियो ।

मैले सो अवस्था सुधार गर्न वार्षिक योजना नै बनाएर काम गरें । अहिले मलाई गर्व लाग्छ कि नेपालको पर्यटन बजार निकै सवल बनिसकेको छ । अनि संसारभर सन्देश गएको छ कि नेपाल घुम्न साँच्चै नै सुक्षित छ ।
मैले बनाएको कंक्रिट योजनाभन्दा बढी काम भयो, नतीजा सोचेभन्दा उत्तम छ । देशको सबै वातावरण हेर्दा एकैजनाले कायापलट गर्न सक्दैन । म सबै उपलब्धिको श्रेय मेरा सहकर्मीहरुलाई दिन्छु । तर, त्यो पर्याप्त छैन । गर्न पर्ने धेरै काम बाँकी छ ।

कसरी काम गर्नुभयो ?

भूकम्पलगत्तै संविधान जारी भएको थियो । सोहीवर्ष हामीकहाँ परिस्थितिले क्राइसिस नित्म्यायो । त्यसैले पहिलो वर्षलाई ‘इयर अफ सर्भाइभल’को रुपमा मनायौं । हामीले त्यो वर्ष दुईवटा काम गर्यौं । पर्यटन गतिविधिमा संलग्न नेपालको सबै स्टेकहोल्डरको एउटै भ्वाइस हो भनेर, ‘नेपाल अझै सुरक्षित छ’ भन्ने अभियान चलायौं ।

२०७३ लाइ हामीले घुमफिर वर्ष मनायौं । नेपाली डायस्पोरासँग काम गर्नुपर्ने बुझेर २०१७ मा भिजिट नेपाल युरोप इयर मनायौं । भिजिट नेपाल लेखेको स्टिकर आफ्नो गाडीमा टाँसेर युरोपमा रहेका नेपालीहरुले नेपालको प्रचार गर्नुभयो ।

डिजिटल प्लेटफर्मलाई फोकस गर्यौं । नेपालको इतिहासमा सबैभन्दा ठूलो मास मिडिया क्याम्पियन गर्यौं । करिब १२–१४ करोड रुपैयाँको अभियान गर्यौं । बीबीसी, रोयटर्स, ट्रिप एडभाइजर लगायत संस्थासँग सहकार्यका लागि खर्च गर्यौं ।

विदेशी मिडियालाई नेपाल ल्याएर नेपालको प्रचार गर्यौं । नेपालमै मार्टहरु आयोजना गर्यौं । यस्ता थुप्रै सुरुवात गर्यौं । जसकारण १० वर्ष अघि नै भेट्टाउनुपर्ने लक्ष्य चुनौतिका माझ पूरा गर्यौं ।

यसैकारण पनि यूएनडब्लुटीओ, पाटालगायत संस्थाले नेपालको पर्यटन वृद्धिदरलाई संसारको सर्वाधिक तीव्र भएको घोषणा गरे । संसारको पर्यटक वृद्धिदर ६ प्रतिशत रहँदा नेपालको हकमा वृद्धिदर २५ प्रतिशत रहेको छ । नतिजा राम्रो आयो तर वातावरण सोही थियो । पूर्वाधार भत्किएका थिए, कनेक्टिभिटी भताभुंग अवस्थामा थियो । अस्थायी सरकार, आवधिक निर्वाचन यही अवधिमा भयो ।

मैले पनि यही बुझें कि इमानदारितापूर्वक काम गर्ने हो भने नतीजा सधै सकारामक आउने रहेछ ।

प्रसंग बाह्रखरी एभरेस्ट गल्फतर्फ मोडौं । नेपालमा खेलकुद र पर्यटनको सम्भावनालाई कसरी नियाल्नुभएको छ ? गल्फ पनि पर्यटनको आधार कसरी बन्न सक्छ ? अर्थात् हाइ–एन्ड पर्यटनको ? संसारकै उच्च स्थानामा बाह्रखरीले आयोजना गर्न लागेको गल्फ प्रतियोगितालाई तपाईंले कसरी लिनुभएको छ ?

कुनैपनि व्यवसाय प्रवर्द्धनमा इभेन्टहरुको आयोजना संसारमै सबैभन्दा प्रभावकारी औजार बनेको छ । त्यसमा पनि पर्यटनमा त नगरी नहुने कुरा रहेछ ।

बाह्रखरी एभरेस्ट गल्फमा हामी सहकार्य गर्न लालायित हुनुको कारण छन् । पहिलो, संसारभर एभरेस्ट भन्नेबित्तिकै समाचार बन्छ । र यो प्रतियोगितामा एभरेस्टलाई नै पृष्ठभूमिमा राखेर गल्फ खेलिँदै छ । यसबिचमा विदेशी मिडियाका प्रतिनिधि नेपाल आउँदै हुनुहुन्छ । त्यतिखेर नेपाल र नेपालको पर्यटन सम्भावना संसारभर उजागर हुँदैछ । अर्को गल्फ विशेषगरी कर्पोरेट क्षेत्रमा लोकप्रिय खेल हो । गल्फमार्फत् हाइ–एन्ड पर्यटक गन्तव्यसम्म जान्छन् । यस्तो इनिसियटिभले खर्च गर्ने वातावरण बढाउँदै लैजान्छ ।

मलाई लाग्छ, यसले सकारत्मक सन्देश विश्वमाझ पुर्याउने छ । भिजिट नेपाल २०२० को भाव पनि ‘लाइफटाइम एक्सपियरेन्स’ रहेको छ । एभरेस्टमा गएर गल्फ खेल्नुजस्तो लाइफटाइम एक्सपियरेन्स के होला र ?
 

भविष्यमा कसरी सरकारी तथा निजी क्षेत्र मिलेर नेपालको हाइ–एन्ड पर्यटन प्रवर्द्धन गर्न सक्छन् ?

बोर्डले तीनवटा ‘क्लियरकट’ रणनीति लिएको छ । पहिलो, पूर्वाधारमा व्यापक सुधार ल्याउन सरकारदेखि निजीक्षेत्रले ठूलो काम गर्नुपर्छ । मिडिया, निजीक्षेत्र तथा पर्यटनका सरोकारवाला सबैले पहल गर्नुपर्छ । दोस्रो, प्रवर्द्धन गर्ने क्रममा हाइ–एन्ड पर्यटक भएको बजारमा पुग्नुपर्छ । अर्को, हाम्रो सेवा उद्योगलाई सचेत बनाउन जरुरी छ । यो उद्योगमा केही वर्ष समय व्यतित गरेको व्यक्ति उद्यमी बनिहाल्छ । यसकारण नयाँ जनशक्तिको अभाव छ भने नयाँ उद्यमीलाई व्यवसायबाट उच्चतम प्रतिफल पाउने सही तरिका जानकारी नहुन सक्दछ । नयाँ सेवा गर्ने तरिकले भन्दा आफूले काम गरेको स्थानमा आइरहने पर्यटकलाई आफ्नो संस्थामार्फत् सेवा दिलाउने चलन बढेको छ । यसले पर्यटकको खर्च समेत घटाएको छ । यसरी गन्तव्यको महत्व घट्न सक्छ ।

आम नेपालीले भ्रमण वर्ष सफल पार्न के गर्न सक्छन् ?

भ्रमण वर्ष सफल बनाउनमा आम सर्वसाधारणकै हात छ । सबै नेपालीले यो बुझ्न जरुरी छ कि नेपाल चाँडोभन्दा चाँडो समृद्ध हुने एकमात्र आधार पर्यटनमात्र हो । कम लगानीमा बढी प्रतिफल दिने, बढी रोजगारी सिर्जना गर्ने क्षेत्र हो यो । हामीसँग पर्यटनको विकल्प पनि छैन । हामीसँग अथाह सम्भावना भएको क्षेत्र हो ।

अरु उद्योगभन्दा पर्यटन फरक छ । कृषि, जलविद्युत्जस्तो यो क्षेत्रमात्र विकास गर्छु भनेर पर्यटन विकास हुँदैन । जस्तै पूर्वाधार विकास भए पर्यटकको संख्या बढ्छ । अन्य स–साना कुराले यो क्षेत्रलाई फरक पार्छ । इन्टरनेटको गति तीब्र भए पर्यटक बढ्छन्, लोडसेडिङ अन्त्य भएपछि पर्यटन क्षेत्रले कसरी लाभ लियो, त्यो त सबैलाई थाहा छँदै छ ।

त्यसैले सबैले जनस्तरबाटै पर्यटकलाई स्वागत गरौं, हाम्रो आतिथ्यता प्रदर्शन गरौं, सम्पदा जोगाऔं, घरआँगन सफा बनाऔं । तपाईंहरुले आफ्नो क्षेत्रबाट राम्रो भूमिका खेल्नुभयो भने पर्यटनका माध्यमबाट देश समृद्ध हुन्छ । यसमा दुईमत छैन ।

प्रतिकृया दिनुहोस
ad