काठमाडौं । नेपाली कांग्रेस रौतहटका सभापति कृष्णप्रसाद यादवले प्रतिनिधिसभा सदस्य (सांसद) मोहम्मद अफताव आलम पक्राउको विरोधमा पार्टीले जिल्लामा कुनै प्रकारको आन्दोलन नगरेको दाबी गरेका छन् ।
बम विस्फोटमा परेका घाइतेहरुलाई इटाभट्टामा जलाएर मारेको आरोपमा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद आलमलाई प्रहरीले पक्राउ गरेपछि आइतबार भने विरोधमा नाराबाजी गरेको उनले स्वीकार गरे ।
आलमलाई प्रहरीले आइतबार बिहान रौतहटको राजपुर नगरपालिकाको इद्रिस चोकबाट पक्राउ गरेपछि कांग्रेसका नेता–कार्यकर्ताहरुले रिहाईको माग गर्दै नारावाजी गरेका थिए ।
तर, सोमबार भने कांग्रेसका कुनै पनि नेता–कार्यकर्ताहरु सांसद आलमको रिहाईको माग गर्दै आन्दोलनमा नगएका जिल्ला सभापति यादवले दाबी गरे । बाह्रखरीसँगको टेलिफोन कुराकानीमा उनले भने, “आज (सोमबार) पार्टीको कुनै आन्दोलन कार्यक्रम छैन । हामी संयमित छौं । आ–आफ्नो घरमा बसिरहेका छौं ।”
उनले कांग्रेसले कानुनी राज्यमा विश्वास राख्ने भन्दै सांसद आलमलाई जोडिएको घटनाको निष्पक्ष छानविन गरिनुपर्ने माग गरे । सभापति यादवले कांग्रेससँग प्रतिशोध साँध्न सांसद आलमलाई पक्राउ गरेकोसमेत दाबी गरे । “यो धेरै पुरानो मुद्दा हो । हामी सुनिरहेका छौं, सरकारले रिभेन्जका रुपमा लिएको छ,” उनले भने, “कांग्रेसको मनोबल गिराउन उसले अलमलाई पक्राउ गरेको हो ।”
यो पनि पढ्नुस्