लण्डन । बीबीसीले सन् २०१९ का विश्वका एक सयजना प्रेरणादायक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । सो सूचीमा नेपालकी बोनिता शर्मा पनि परेकी छन् । बोनितालाई इन्नोभेटर (नवप्रवर्तक) का रुपमा व्याख्या गरिएको छ । उनले बालमृत्युदर घटाउन मद्धत गरेको जनाउँदै युनेस्को मलाला फन्ड फर गर्लस राइट्स टु एजुकेसनको फन्डिङमा उनले आफ्नै संस्था द सोसल चेन्ज मेकर्स एण्ड इन्नोभेटर्स (सोचाइ) सञ्चालन गरेको जनाइएको छ ।
सूचीमा स्वीडेनकी चर्चित किशोरी तथा वातावरणवादी अभियन्ता ग्रेटा थनवर्गदेखि अमेरिकाकी कान्छी अलेक्जेन्ड्रिया ओकासियो कोर्टेज पनि रहेका छन् ।
सूचीमा सिरियाको निर्माणमा संलग्न आर्किटेक्टदेखि नासाको मार्स हेलिकोप्टर परियोजनाका म्यानेजरसम्म रहेका छन् । त्यस्तै, माफियाको प्रतिवाद गरिरहेका राजनीतिज्ञ, खेलाडी, राजनीतिज्ञ, कलाकार, अधिकारकर्मी, शान्ति अभियन्ता, वातावरणवादी, लेखक, कानुनविद, मेयर, बक्सर, पत्रकार, कवि, सुमो रेस्लर, चिकित्सक, वैज्ञानिक, फिल्म निर्माता, डिजाइनर, कन्सल्ट्यान्टलगायतका पनि छन् ।