site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
कमजोरी देख्दादेख्दै अगाडि बढ्नुपर्दा दुःख लाग्छ 
Sarbottam CementSarbottam Cement

नेपाली चलचित्र उद्योगमा हेमराज बिसी क्रियाशील निर्देशक हुन् । भारतीय चलचित्र उद्योगमा करिब सात वर्ष काम गरेका उनले ‘होस्टल’, ‘गाजलु’, ‘जेरी’, ‘सम्बोधन’ लगायतका चलचित्र निर्देशन गरे । उनले निर्देशन गरेको चलचित्र ‘घामण शेरे’ रिलिजको तयारीमा छ । नेपाली चलचित्र उद्योगमा वर्किङ कल्चर नै भित्रिन नसकेको बताउने हेमराज साउन्डमा लगानी नै नभएको गुनासो गर्छन् । एकातिर दक्ष जनशक्तिको अभाव अर्कोतर्फ सुविधा सम्पन्न स्टुडियोको अभाव रहेको उनको भनाइ छ । ‘सम्बोधन’लाई छोड्ने हो भने ‘घामड शेरे’ सम्म आइपुग्दा उनले पुरानो ट्रयाक चेन्ज गरेका छन् । हेमराजसँग ‘घामड शेरे’सँगै समग्र नेपाली चलचित्रको सेरोफेरोमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँललले गरेको कुराकानीको अंशः 

चलचित्र निर्देशनमा १८० डिग्रिको परिवर्तन देखियो नि !
१८० डिग्रीको परिवर्तन चाहिँ म भन्दिन । किनभने अधिकांशले मलाई ‘होस्टल’, ‘गाजलु’, ‘जेरी’ ‘ब्रेक अप’ बाट चिन्नुहुन्छ । तर ‘होस्टल’ पछि मैले ‘सम्बोधन’ नामक चलचित्र निर्देशन गरेको थिएँ । त्यो सोसल ड्रामा थियो । जब मैले ‘सम्बोधन’ बनाएँ, त्यसपछि मैले फिल गरेँ, ममा पूर्ण परिपक्वता आइसकेको छैन कि सोसल ड्रामाका लागि । त्यसैले मैले लभ स्टोरी नै गरेँ । सोसल ड्रामामा जति सामाजिक जिम्मेवारी बहन गर्नुपर्छ लभ स्टोरीमा त्यति जिम्मेवारी उठाउनु पर्दैन । ‘होस्टल’, ‘जागलु’, ‘जेरी’, ‘ब्रेक अप’ बनाइरहेको मान्छे जसले ‘सम्बोधन’ हेरेको छैन, यसले परिवर्तन देख्छ । 

‘सम्बोधन’लाई छोड्ने हो भने तपाईंले सधैँ चकलेटी फेस नै लिनुभयो । कारण बजार नै हो ?
कस्तो कथा भन्ने हो, त्यसले क्यारेक्टर निर्धारण गर्ने हो । लभ स्टोरी जानरा सपनाको संसार हो । यस्तो कथामा दर्शकलाई पर्दामा हेर्दा वाह ! यो चाहिँ हिरो हो भन्ने फिल गराउनु पर्छ । यो चाहिँ हिरो नै हो भन्ने अनुभूत गराउनु पर्ने भएकाले त्यस्तो अनुहार रोज्नु परेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

वास्तविकताको नजिक पुगेर चलचित्र बनाउन तपाईं जत्तिको निर्देशकले पनि सोच्नुपर्ने अवस्था छ ?
यसलाई म अवस्था भन्दिनँ । आ–आफ्नो रोजाइको कुरा हो । मलाई भोेली लभ स्टोरी नै बनाउन मन लाग्यो भने बनाउन सक्छु । अब म सोसल ड्रामामा मात्रै बनाउँछु भन्ने होइन । इमान्दार भएर कुरा गर्ने हो भने चलचित्र उद्योग व्यावसायिक पनि भैरहोस् । र त्यही समय फरक खालको बाटोमा चलचित्रलाई हिँडाउन पनि सकियोस् भन्ने हो । हाम्रो आफ्नै फ्लेभर र टेस्ट प्रदान गर्न सकिन्छ कि भन्ने चाहना हरेक मेकरमा हुन्छ । जबकी हामी अन्तर्राष्ट्रिय बजारमा जान सकौं । अन्तर्राष्ट्रिय बजारमा जाने समय घर्किन लागिसक्यो । 

अहिले हरेक देशका आआफ्नै तरिकाका चलचित्र अन्तर्राष्ट्रिय बजारमा पुगिसकेको छ । जुन देशमा चलचित्र उद्योग छ भन्ने नै धेरैलाई थाहा थिएन, ती देशहरु पनि आफ्नै टेष्ट बोकेर विदेशी बजारमा गइसकेका छन् । हामीले पनि त्यसरी नै सोच्ने बेला आइसक्यो । हामीलाई बजेटको अभाव छ । हाम्रो बजार सानो छ । तर त्यो भनेर एक्सक्युज गर्न पाउँदैनौं । फरक कथा र फरक प्रस्तुति लिएर आउनुपर्छ । 

Global Ime bank

‘घामड शेरे’को कथा भन्न मन लाग्नुको कारण बलियो स्टोरी बोकेको चलचित्र बनाउने रहर नै हो ?
बलियो मात्रै होइन, कति कथाहरु साँच्चै रमाइला र हृदयविदारक पनि हुन्छन् । ‘घामड शेरे’ मलाई पहिला नै भन्न मन लागेको थियो । ‘होस्टेल’ भन्दा अगाडिको स्क्रिप्ट हो यो । 

‘घामड शेरे’को आइडिया भन्न मिल्छ ?
निम्नवर्गिय परिवारको एक पुरुष खाडी गएर फर्किन्छन् । घर फर्किएपछि ऊ पहाडबाट तराई झरेर जग्गा किन्छ । दुःखले आर्जेको जग्गा बगाएपछि उसको जिन्दगीमा आएको उतारचढाव नै ‘घामड शेरे’को कथा हो । बलियोसँगै मनबाट भन्न मन लागेको कथा हो यो मलाई । राजनीतिक, सामाजिक तथा आर्थिक व्यङ्ग्य गरिएको छ । धेरै गम्भीर पनि होइन र कमेडी पनि हैन । डार्क ह्युमरभित्र रहेर निर्माण गरिएको छ । 

आफैंले बलियो ठानेको कथा भन्न चाहिँ बजारका चल्तिका अनुहार (स्वस्तिमा र निश्चल) नै लिनुभयो । कारण ?
इमान्दार भएर भन्छु, निर्माताले पैसा लगाइसकेपछि उसले रिस्क लिन चाहँदैन । हाम्रो जस्तो व्यापारिक बजारमा हाइ रिस्क जोनमा बसेर कसैले पनि चलचित्र बनाउन चाहँदैन । कलाकार छनोटको कुरा गर्दा बजारमा भइरहेका कलाकारमध्ये आफ्नो कथामा को योग्छ छ, सोचिन्छ । भइरहेको कलाकारले मानेन, डेट मानेन अथवा उसले स्क्रिप्ट चित्त बुझेन भने मात्रै नयाँ अनुहार खोज्ने हो । 
‘घामड शेरे’को कुरा गर्दा चल्तीका अन्य कलाकार पनि थिए । हामीसँग निश्चल र स्वस्तिमाबाहेक अन्य कलाकार प्राय नयाँ नै छन् । 

नयाँ कथा नयाँ अनुहारमार्फत् भन्दा दर्शकले बढी विश्वास गर्छन् भन्ने छ नि ! 
पुरानो र नयाँ भन्दा पनि व्यावसायिक बजारमा कति क्यारेक्टर हामी निर्देशक र स्वयम् कलाकारले नचाहँदा नचाहँदै पनि स्टोरियोटाइप कास्ट गर्दिसक्छ । यसलाई ब्रेक गर्न कलाकारले माथिल्लो तहको मेहनत गर्नुपर्छ होइन भने स्टोरियोटाइपकास्ट ब्रेक गर्न गाह्रो पर्छ । स्टोरियो टाइपकास्ट ब्रेक गर्ने रिस्क लिने कि नयाँ तर दक्ष पात्र भेटिन्छ भने त्यो नै किन नलिने भन्ने हो । 

तपाईंले माथि भन्नुभयो, नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजार खोज्न ढिलो भइसक्यो । कारण कमजोर कथा, फितलो प्रस्तुति अथवा बेच्नै जानेनौं ?
तीनवटै कारण हो । असाधारण चलचित्र बनाउनु भयो भने त्यसलाई बेच्नै पर्दैन । त्यसले आफैं मार्केट खोज्छ । त्यस्तो चलचित्र आफैँ खोज्छ विदेशी बजारले । बाहिरको लेवलको चलचित्र बनायौं भने त्यसलाई भने ‘पुस’ गरेरै बेच्नुपर्छ । 

हाम्रा चलचित्र कमजोर छन् भनेर सबैले स्वीकार गर्नुहुन्छ । कमजोर हुनुका कारण केके हुन् ?
धेरै छन् । चलचित्र एक जनाको आइडियाले मात्रै राम्रो बन्दैन । टिम वर्क चाहिन्छ । निर्देशक र अभिनेता राम्रो भएर मात्रै हुँदैन । समग्र टिम नै राम्रो चाहिन्छ । हामीले जति नै राम्रो भनेर बनाएका चलचित्र पनि अन्ततः कमजोर नै छन् । 

हामीले भिजुअल राम्रो खिच्न थालिसक्यौं । तर अडियोमा हामीले कति पनि काम गर्न सकेका छैनौं । अडियोलाई कहिल्यै पनि हामीले प्राथमिकता दिएनौं । जति भिजुअलको महत्व छ, त्यति नै अडियोको पनि महत्व छ भन्ने हामीले बुझेनौं । भिडियोको पाँच प्रतिशत बजेट मात्रै अडियोमा लगानी गरिरहेका छौं । 

सिङ्क साउन्डमा काम गर्नुपर्छ भन्न खोज्नुभएको हो ?
सिङ्क साउन्ड मात्रै पनि होइन । डबिङमा पनि । राम्रो काम गर्न सकिन्छ । सिङ्क साउन्डमा काम भएको छैन । फोलीको काम हुँदैन । बाहिर सिङ्क साउन्ड, फोली, डविङ, ब्याकग्राउन्ड, फाइनल मिक्सको काम फरकफरक स्टुडियोले गर्छ । पाँच छ वटा स्टुडियोका काम एउटै स्टुडियोले गरिरहेको छ । भीएफएक्सको महँगो खर्च हामी धान्न सक्तैनौं । अडियोले जति फिल्मलाई उठाउन सक्छ, नेपाली चलचित्र त्यसमै चुक्छ । 

मेकरले बुझ्दैनन् कि निर्देशकको कलात्मकताको अभाव हो ?
थाहा छ, तर विकल्प छैन । हामीले भिजुअलमा धेरै खर्च गरिसकेका हुन्छौं । अडियोमा आइसक्दा निर्माताको पैसा सकिसकेको हुन्छ । अर्को कारण यो थाहा पाउँदा पाउँदै दक्ष कामका लागि दक्ष जनशक्ति र स्टुडियो पनि छैन । फोली गराउन चाहेको खण्डमा खोइ स्टुडियो ? साउन्डमा किन खर्च गर्नुपर्यो भन्ने प्रवृत्ति छ । अडियन्सले कहाँ थाहा पाउँछ र भन्ने मानसिकता छ । अडियन्सले थाहा पाउँछ कि पाउँदैन भन्दा पनि हाम्रो चलचित्रमा कमजोरी छ कि छैन भन्ने हो । कमजोरी देख्दा देख्दै पनि अगाडि बढ्नुपर्छ । त्यस्तो अवस्थामा साह्रै दुःख लाग्छ । 

हामीसँग वर्किङ कल्चर कमजोर हो कि दक्ष जनशक्तिको अभाव हो ?
दुइटै हो । वर्किङ कल्चरको कुरा गर्दा हामी मध्ये धेरैलाई त थाहै छै चलचित्रको काम कसरी गरिन्छ ? त्यो थाहा भएको भए सायद नयाँ कुरा केही आउँथ्यो होला । साउन्डमा सुधार आउँथ्यो होला । मैले जस्तै अरुले पनि भन्थे होला । 

दक्ष जनशक्तिको कुरा गर्दा हामीसँग अभाव छ । विकल्पबिहिन अवस्थामा हामीले काम गरिरहेको अवस्था छ । 

बलिउडका ठूला फिल्म र हलिउडका फिल्ममा स्क्रिप्ट लेखनबाटै साउन्ड डिजाइनरलाई सँगै राखिन्छ, त्यो वर्किङ कल्चर हाम्रोमा कहिले सुरु होला ?
मैले पनि नचाहँदै नचाहँदै त्यो काम गरिरहेको छु । सुरुमा रिलिज डेट तोकेर सुटिङमा जान्छु । यो ट्रेन्ड ब्रेक गर्नुपर्छ । त्यो कल लिन म पनि किन सकिरहेको छैन भने आधाभन्दा धेरै
पैसा मार्केटबाट लगाइसकेको हुन्छ । त्यस्तो अवस्थामा म जवाफदेही हुनुपर्छ उनीहरुप्रति । त्यसको असर अन्ततः प्रक्रियाबद्ध हिसावले काम गर्न सकिँदैन । 

यसको कारण हामीले चलचित्रलाई कला होइन,व्यापारको रुपमा लिएका छौं ?
चलचित्र व्यापार पनि हो । तर व्यापार मात्रै होइन भन्ने चाहिँ बुझ्नुपर्छ । कतिलाई आर्ट हाउस चलचित्र मनपर्छ, कतिलाई कमर्सियल चलचित्र मनपर्छ । मेकरलाई जता जान पनि फुट छ । तर जहाँ काम गर्ने हो त्यहाँ इमान्दार भएर काम गरौं भन्ने हो । 

आर्ट हाउस मुभीले हाम्रो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजान सक्छ ?
सक्छ । अन्तर्राष्ट्रिय उदाहरण लिए पनि त्यही नै हो । तर चलचित्र उद्योगमा दुइटै मुभी बन्नुपर्छ । चलचित्र उद्योग स्थिर र सफल छैन भने त्यस्तो अवस्थामा धेरै आर्ट मुभी बन्दैनन् । हाम्रोमा चार पाँच महिना लगातार चलचित्र चलेनन् भने चलचित्र उद्योगमा संकटकाल लाग्ला जस्तो हुन्छ । बजार स्थिर भएपछि प्रयोग हुन थाल्छ । र त्यहाँ आर्ट मुभी बन्न थाल्छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC