site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मुस्कानको ‘मुस्कान’बाहक
Sarbottam CementSarbottam Cement

अक्षर काका


२०७१ फागुन ११ गतेको शीताम्य बिहान । कमलपोखरीका उज्ज्वलविक्रम थापा आफन्त बिरामी भेट्न वीर अस्पताल पुगेका थिए ।

देशकै जेठो, पुरानो अस्पताल । रोगी, बिरामीहरू निको बनाउने थलो । विडम्बना आफैं दीर्घरोगी थियो त्यो । मूलढोकाको सङ्घार छिचोल्नासाथ अमिलो–पिरो गन्ध नाकमा ठोक्किन आइपुग्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

दाहिने हातले नाकका दुवै पोरा टाल्दै सिँढी चढ्दै थिए । उनको कानमा खबर ठोक्किन आइपुग्यो– “वसन्तुपुर, झोँछेमा एकाबिहानै दुई स्कुले केटीलाई एसिड हानियो रे ! घाइतेलाई यही अस्पतालमा ल्याइएको छ !”

स्कुले किशोरीमाथि तेजाब आक्रमण ! उनको कान चनाखा भए । मनमा कौतूक मडारियो । स्तब्ध भए आँखा ।

Global Ime bank

उज्ज्वलका पैताला सिँढीमै रोकियो । फरक्क फर्किएर आकस्मिक कक्षतिर पुगे । भीडमा छेलिँदै घाइते नजिक पुगे ।

निधारमा तेजाबको बाछिटा परेकी सीमा तावाको माछाझैं छट्पटिँदै थिइन । सख्त घाइते सङ्गीता इन्तु न चिन्तु थिइन् । उनको अनुहार पाउरोटीझैं डमडम्ती फुलेको थियो । घाँटीमुनिको भाग जखम देखिन्थ्यो ।

छात्राद्वयको अवस्था देखेर उज्ज्वल अताल्लिए । हातगोडा लुलिए । मुटुमा सूल उठ्यो ।

उनले तत्काल गर्न सक्ने केही थिएन । न उनी घाउमा मल्हमपट्टी नै गर्न सक्थे । सान्त्वनाको दुई वचनले घाइतेहरूको पीडाले त्राण पाउँथ्यो ।

उज्ज्वल वीर अस्पतालबाट बाहिरिँदै गर्दा अस्पतालकै प्राङ्गणमा गाइँगुइँ सुने । बिरामी कुरूवामध्ये नै कसैले अर्काको कान फुकिरहेको थियो ।

“प्रेम सम्बन्ध थियो रे ! केटीले मन पराइनछे । बदला लिन तेजाब हानेछ !’’ 

“अपराधमाथि प्रेमको जलप !” उज्ज्वललाई भाउन्न छुट्यो । रिँगटा चल्यो । 

अपराधकर्मलाई प्रेमले औचित्य पुष्टि गर्ने चिन्तन देखेर दया पनि लाग्यो ।

निरुपाय हुँदै फर्किए उनी ।

अस्पतालबाट जति पर पैताला पुग्छन्, सीमा र सङ्गीताको आर्त अनुहारले उनलाई पछ्याइरहन्छ । मस्तिष्क दंश भइरहन्छ ।

घर आएर साथीभाइ, इष्टमित्र, नरनाता गुहारे । हात पसारे । केही रुपैयाँको जुगाड पनि भयो । थोरै सही, मल्महमपट्टिमा सघाउ पुर्‍याउन थाले ।

पहिलो दिन त तेजाबले त्यति जखम तुल्याएको लागेको थिएन । दोस्रो दिनको अवस्था झन् दर्दनाक थियो । त्यो हृदय विदारक क्षणको कल्पना गर्न पनि सक्दैनन् । उनको मनभित्र आतङ्कको भुमरी उठ्छ ।

“अरू जलनको पीडा आहतबाहेकले पनि अनुभूत गर्न सक्लान् एसिडको डाह, छट्पटी पीडितले बाहेक कसैले पनि अनुभूत गर्न सक्दैनन् । ठूलो पीडा–दुखाइ प्रशवलाई मानिन्छ । तर तेजाबको जलनको पीडा मापनै गर्न कठिन हुँदो हो,” तेजाबको डाह आफैं अनुभूत गर्न खोज्छन् उज्ज्वल ।

आततायी, बर्बर आक्रमणको केही समयपछि सङ्गीता–सीमा अखबारका पङ्क्तिबाट क्रमशः ओझेल पर्दै गए । उनीहरूका घाटा बस्न नसकेका घाउमा सरकारको आँखा पर्न छाड्यो । समाजले पनि खोजीनीति गर्न छाड्यो ।

अपराधी जीवन विक पक्राउ परेर जेल चलान भएपछि सङ्गीता र सीमाको घाउप्रति देश–दुनियाँ बेखबर छ ।

तर सङ्गीता–सीमाको पीडा चहर्‍याउन छाडेको छैन । बरु ‘अपराधी’झैं बर्कोले अनुहार ढाकेर हिँड्न अभिशप्त छन् । शरीरको घाऊ शरीरमै दबाएर बाँच्न ‘श्रापित’ छन् । रोजीरोटीका लागि भौंतारिइरहेका छन् ।
मृत्युलाई नजिकैबाट अनुभूत गरेकी सङ्गीताको पीडाले उज्ज्वलाई तेजाब डाह मेटाउन प्रेरित गर्‍यो । कलुषित स्वार्थ पूर्ति नहुँदा तेजाबजस्तो प्राणघातक रसायन छ्यापेर जीवन खाक तुल्याउने अपराधीहरूविरुद्ध लड्न हौस्यायो पनि ।

पाँचवर्षयता तेजाबको घातक डाह कम्ता गर्ने ओखतिमूलो बनेका छन्, उज्ज्वल !

आँखैअघि अस्ताइन् सम्झना
आगाको लप्काजस्तो तीव्र जलन क्षमताको एसिडमा सङ्गीता–सीमा तड्पिएको देखेर समाज दोषीविरुद्ध एकट्ठा भयो होला, सरकार पीडकप्रति आक्रामक भयो होला भन्ने उज्ज्वलले सोचेका थिए ।

तेजाबविरुद्ध देश सचेत भएकाले बिक्री–वितरण रोकिएला, छोरी–चेली तेजाबको भुङ्ग्रोमा पर्नु नपर्ला भन्ने उज्ज्वलको कल्पना थियो । 

तर एउटा अपराधले अर्को अपराध गर्न उत्प्रेरित गरेजस्तो पो भयो ! अपराधीले फितलो कानुनको फाइदा उठाउन थाले ।

आपराधिक मनोवृत्तिलाई नवीनतम् औजार मिलेजस्तो भयो । 

झोँछेमा बगेको निरपराध चेलीको आँसु नओभाउँदै रौतहटको चन्द्रनिगाहपुरमा उस्तै आपराधिक घटना दोहोरियो ।

२०७५ भदौ २७ गते तीजको दरखाने दिन एकाघरका दुईछोरी सम्झना दास र सुस्मिता दासमाथि तेजाब खन्याइयो । 

‘अनुचित प्रस्ताव’ नस्वीकारेको भन्दै ‘ठूलो बाबु’को साइनो लगाउने रामबाबु पासवानले उनीहरूमाथि जघन्य अपराध गरेका थिए ।

छोरीहरूमाथि के खन्याइएको हो सुरूमा गरिब परिवारले अन्दाज नै गर्न सकेन । उद्धार गर्ने बहानामा सुरूमै आइपुगेका तिनै पासवानले हतारहतार भनेका थिए– “अहो तेजाब पो खन्याएको रहेछ !”
तेजाबको ‘आगा’मा छट्पटिइरहेका सम्झना–सुस्मिताको चपुर अस्पतालमा उपचार सम्भव भएन । कीर्तिपुर अस्पताल ‘रेफर’ गरियो ।

तेजाब आक्रमणको समाचार उज्ज्वलको कानमा पनि पर्‍यो । उनी दौडँदै कीर्तिपुर अस्पताल पुगे । सम्झनाको शरीरको ३० प्रतिशत भाग जलेको थियो । जखम भएको थियो । १२ दिन मृत्युसँग सिँगौरी खेलिन् । ८ असोजका दिन हार मानिन् ।

आँखै अगाडि सम्झना अस्ताएको घटनाले उज्ज्वलको मन अमिल्लिइरहन्छ । दृष्टि धमिल्लिइरहन्छ । छातीमा पीडाको मुस्लो उठ्छ । 

“समाजले अझै तेजाबको डाह, छटपटी, आर्तनाद महसुस गर्न सकेन,” उनी मुर्मुरिन्छन् ।

विक्रम संवत् २०७५ भदौ १ देखि नयाँ फौजदारी अपराध संहिता कार्यान्वयनमा आएको थियो । त्यसपछिको घटना भएकाले तेजाब छ्याप्ने अपराधीविरुद्ध न्यायालय कठोर रूपमा प्रस्तुत होला भन्ने अपेक्षा थियो ।

सम्झनालाई तेजाबले निलिसकेको थियो । हात र घाँटीमा तेजाबले जखम बनाएको सुस्मिता पनि समाजमा फर्कन सकेकी थिइनन् । समाजको एउटा तप्काले उनलाई पनि ‘दोषी’ देख्थ्यो ।

अदालतले मर्म बुझ्ला र चाँडो मुद्दाको सुनुवाइ होला भन्ने अपेक्षा थियो ।

अहँ भएन !

सम्झनाको प्राण पखेरु उडेको १३ महिना बित्दा पनि मुद्दाको किनारा लागेको छै्रन । अपराधी पुर्पक्षका लाथि थुनामा छन् ।

सम्झनाको भौतिक जीवनको अवसान र सम्झनाले जीवनभर बोकी हिँड्नुपर्ने घाउखतको पुर्ताल कसरी हुन्छ ? दीनहीन दास परिवारले केही ठम्याउन सकेको छैन ।

उनीहरूका आँसुले भिजेका झरिला दिनहरू छोरीका लागि अदालत धाउँदै व्यतीत भइरहेको छ । यत्तिकैमा कहिले फिसिक्क प्राण जान्छ र न्याय भर्सेलामा पर्छ केही टुङ्गो छैन ।

“अदालतले अनुहारको खत र घाटा बसेको घाऊ हेरर मुद्दा फैसला गर्छ । न्यायमूर्तिहरूले तेजाबको जलन खप्न नसकेर अस्पतालका शैय्याबाट निस्कने चित्कार, क्रन्दन, आर्तनादादि पनि हेर्नु र अनुभूत गर्नुपर्‍यो । तबमात्र तेजाब छ्याप्ने अपराधीले कसुर बमोजिमको सजाय पाउँछ,” उज्ज्वलको बोलीमा एकाएक आक्रोश मिसिन्छ ।

जीउँदै जल्न अभिशप्त जेनी
राणाकाल र त्यस भन्दाअघिको चेतनाले बूढी आमा, कुप्री आमालाई जिउँदै चितामा हाल्यो । चन्द्र शमशेरले त्यो दारूण युगको अन्त्य गरे ।

त्यसपछि पनि आमा–छोरी–चेलीहरूको नियति बदलिएको छैन । चितामा जल्नु त पर्दैन तर आपराधिक प्रवृत्ति, मनोवृत्तिले उनीहरूमाथि आगो सल्काएकै छ । तेजाबजस्ता घातक रसायन हालेकै छ । कानुनी शासनको वकालत गर्ने राज्य–प्रणालीले त्यस्ता मनोवृत्तिको जरोकिलो उखेल्न सकेको छैन । तेजाबको भुङ्ग्रोमा परेर छोरीचेली मरिरहेका छन् । तर आपराधिक सोचको मृत्यु हुन सकेको छैन ।

कालोपुलकी जेनी खड्का भुजेललाई २०७६ जेठ १ गते आफ्नै श्रीमान्ले तेजाब हालिदिए । जबरजस्ती बिहे गर्न बाध्य तुल्याएकी जेनीले केही वर्ष श्रीमान्को प्रताडना सहिन् । कुटपिट सहिन् । जब उनको धैर्यको बाँध टुट्यो उनी एक्लै जीवन कटाउने निधोमा पुगिन् । 

त्यही रिसइबीले उनीमाथि तेजाब खन्याइएको थियो ।

जेनीका लागि उज्ज्वल ‘भगवान्’ सावित भए । चारचौरास हात चहारेर उज्ज्वलले सहयोगको जुगाड गरे ।

जेनी मृत्युको पोल्टाबाट त उम्किइन्, तर उनले न्याय पाउन सकेकी छैनन् । आफूमाथि अपराध भएको चार महिना व्यतीत भयो, मुद्दाको सुनुवाइ नै सुरू भएको छैन ।

“रक्स्याहा लोग्नेसँग बस्दिनँ बाहेक जेनीले केही भनेकी थिइनन् । त्यसको सजायँ तेजाब बेहोर्नुपर्‍यो । भाग्यवश भनौं, त्यतिबेला उनले आँखा झिम्क्याइन्, नत्र दृष्टि होइन, जीवन नै गुम्थ्यो । जेनीले जिन्दगीभर अतिशय डाह खपिरहनुपर्छ । यस्तो अक्षम्य कसुरमा पनि सुनुवाइ सुरू हुँदैन ! महिलाहरूको चाहिँ देश होइन यो ?” प्रश्न गर्छन् उज्ज्वल ।

“अहिलेसम्म मुद्दाको सुनुवाइ सुरू भएको छैन । फैसला हुनेबेलामा अदालतले जेनीको शरीरको खाटा बसेको घाऊ हेर्ने होला !” लामो उच्छ्वास छाड्छन् उज्ज्वल ।

कानुनले तोकेको सजायँअनुसार अपराधीले तीनदेखि पाँचवर्षसम्मको सजाय पाउँछ । पचास हजारदेखि तीनलाखसम्म जरिवाना तिर्छ । तर जेनीले जिन्दगीभर घाइते शरीर घिच्याइरहनुपर्नेछ ।

मुस्कानको मुस्कान खोज्दै उज्ज्वल
२० भदौका दिन घरमै थिए, उज्ज्वल । आकाशजस्तै मन पनि धुम्मिइरहेको थियो । सायद जेनीको पीडाले पिरोलेको हुँदो हो ।

उनले अर्को खबर सुने– “वीरगञ्जमा १४ वर्षीया किशोरीलाई स्कुल जाँदा बाटैमा तेजाब खन्याइयो ।”

तेजाबको भुङ्ग्रोले पिरोलिरहेको उनको मुटुमै एसिड परेजस्तो भयो ।

उनले तुरून्तै नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा फोन गरे ।

“हामीले उपचार गर्न सकेनौं, काठमाडौं रेफर गर्‍यौं,” मोफसलका ‘रेफरल अस्पताल’ देखेर केही क्षण रिस पनि उठ्यो उनलाई ।

तुरुन्तै रिस थामेर उनी कीर्तिपुर हानिए ।

मुस्कानलाई ल्याइपुर्‍याइएको थिएन । उनी कुरेर बसे ।

अपराह्नपख घाइते ल्याइपुर्‍याइयो । अकथनीय थियो मुस्कानको हालत । अवर्णनीय थियो उनको पीडा । दायाँ कानतर्फको भाग पूरै जलेको थियो । सीधा आँखाले हेर्नै नसकिने !

“किशोरवय पार नगरेकी मुस्कानको के अपराध थियो होला र !” मृत्युसँग पौंठेजोरी खेलिरहेकी उनको अवस्था देखेर उज्ज्वलको भक्कानो छुट्यो ।

उनी तुरुन्तै उपचारको तारतम्य मिलाउन लागे । खर्चपर्चको जोहो गरे ।

समयमै अस्पताल ल्याइपुर्‍याएकाले मुस्कान मृत्युको मुखबाट थुतिइन् । तर उनी पूर्ववत् अवस्थामा फर्किन सायदै सम्भव छ ।

“चिकित्सकले मुस्कानलाई मुत्युको मुखबाट त फर्काएका छन् । तर...!”

यति भनेपछि उनी अवाक् हुन्छन् । उनको अनुहारमा बाक्लो तुवाँलो लाग्छ । आँखामा सन्नाटा छाउँछ ।

“उनको कान बचाउन सकेनौं । जीवन बचाउन दायाँ कानलाई तिलाञ्जली दिनैपर्‍यो,” केहीबेरको मौनता तोड्छन् उनी ।

कानको बाहिरी भाग ताछेर फालिएकाले कृत्रिम कान हालेर सौन्दर्य फिर्ता ल्याउने उज्ज्वलको आश थियो ।

चिकित्सकले ‘मिल्दैन’ भनेपछि उज्ज्वल आफैंको कान्ति गुमनाम भएको थियो ।

तर मुस्कानको जीजीविषा देखेर उज्ज्वल कायल भएका छन् ।

दायाँ कान, घाँटी, आधा जीउ तेजाबले जखम तुल्याएकाले चौबीसै घण्टा चिकित्सकको निगरानीमा छिन् । एकदिन वार्ड, एकदिन आइसीयुमा सारिराख्नुपर्छ । अतिशय जलन छँदैथियो, कानको चोट थपिएको छ ।
तैपनि भन्छिन्– “आमा ! मलाई किन बेडमा सुताएको ? स्कुल जान दिनुपर्दैन ?”

“छिटो स्कुल जान दिनूस्, मलाई डाक्टर बन्नुछ !”

मुस्कानको बालसुलभ बोलीले उज्ज्वलको अनुहारमा रुञ्चेहाँसो छाउँछ । उनी मुस्कानको तेजाबले खाक तुल्याएको मुस्कान फिर्ता ल्याउने भगीरथ प्रयत्नमा लागेका छन् ।

मुस्कानको डाक्टर बन्ने सपनाले उज्ज्वलाई एकछिन पनि आराम गर्न दिएको छैन । एकदिन कीर्तिपुर अस्पताल पुगेनन् भने स्वास रोकिएझैं हुन्छ ।

मुस्कान खोज्न बलिउड
बेहोस, बेहोसैमा उज्ज्वलले एकदिन मुस्कानलाई सोधे– “तिमीलाई कुन कलाकार असाध्यै मन पर्छ ?”

तेजाबको जलनले आक्रान्त बनिरहेकी मुस्कानले नाम लिइन्, “हिरोमा वरुण धवन, हिरोइनतर्फ कृति सेनन ।”

रोहित सेट्टीकी ‘दिलवाले’की नायिका कृति सेनन र ‘स्टुडेन्ट अफ द इयर’बाट करिअर सुरू गरेका वरुण धवनसँग कसरी सम्पर्क गर्नु त ? उज्ज्वल केहीबेर असमञ्जसमा परे ।

बलिउडका चलचित्र निर्माता जुनेद मेमन उनको पुराना साथी थिए । जुनेदकै माध्यमबाट उनी कृति सेननसम्म पुगे । कृतिले मेहबुब स्टुडियोबाट मुस्कानलाई भिडियो सन्देश प्रवाह गरिन्– “म तिमीलाई माया गर्छु । आफ्नो ख्याल राख, तिमीलाई चाँडो निको हुनेछ !”

सन्देश पाएपछि मुस्कानको घायल अनुहार केही उघ्रियो । रुँदारुँदै थाकेको आकाशमा पुलुक्क घामले हेरेझैं । त्योभन्दा ज्यादा उज्ज्वलको अनुहार उज्यालियो ।

कृतिकै माध्यमबाट उनी वरुणसम्म पुगे । वरुणले पनि मुस्कानलाई सन्देश पठाए– “ म मुस्कानलाई सबै माया र प्रार्थना प्रेषित गर्न चाहन्छु । मलाई यसबारेमा थाहा दिएकोमा कृतिलाई धन्यवाद !”

उज्ज्वल बाहिरी घाऊ निको पार्न तल्लिन थिए । बलिउड कलाकारका प्रार्थनाले तेजाबको भित्री जलन निको पार्न मद्दत पुर्‍यायो ।

कृति र वरुणको सन्देशले मात्रै उज्ज्वलको चित्त बुझेन । बलिउडका विख्यात कलाकार अमिताभ बच्चन उज्ज्वल पढ्ने भूतपूर्व विद्यालयकै विद्यार्थी थिए, सेरहुड कलेज नैनीतालका ।

एउटै कलेजका भूतपूर्व विद्यार्थीको सम्बन्धका आधारमा अमिताभले उज्ज्वलको वचन हार्ने कुरै भएन । उनले सन्देश पठाए– “ मुस्कान ! तिमीमाथि जे भयो त्यो कसैलाई हुनुहुँदैन ।  तिम्रो देशको कानुनले अपराधीलाई पक्राउ गरी सजायँ दिनेछ ।”

अमिताभले उज्ज्वलको सेवाभाव र सामाजिक उत्तरदायित्वको मुक्तकण्ठले प्रशंसा पनि गरेका थिए ।

भूकम्पका बेला बलिउडका अर्का सुप्रशिद्ध कलाकार अक्षय कुमारले उज्ज्वललाई सहयोग गरेका थिए, राहत सामग्री जुटाउन । अक्षयले पनि मुस्कानलाई सन्देश पठाएर स्वास्थ्य लाभको कामना गरे । सान्त्वना प्रदान गरे ।

“के गर्दा मुस्कानको अनुहारबाट ओझेल परेको मुस्कान फिर्ता आउँछ र तेजाबको जलनविरुद्ध लड्न सक्छिन् भनेर उपायको खोजी गरिएको थियो । अर्को, मुस्कानको पीडालाई विश्वव्यापी बनाउन र यहाँको सरकारको चक्षु उघार्न पनि हाम्रो प्रयास सार्थक बन्यो,” उनी बलिउड पुग्नुको कारण बताउँछन् ।

बलिउडका कलाकारलगत्तै ‘भ्वाइस अफ नेपाल’का कोच एवम् गायक राजु लामा पनि पटकपटक कीर्तिपुर अस्पताल पुगेर मुस्कानको अनुहारमा मुस्कान ल्याउने प्रयत्न गरिरहेका छन् । अभिनेता राजेश हमाल, नेपाली क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्कालगायत विख्यात व्यक्तित्वहरू अस्पताल पुगेर सान्त्वना व्यक्त गरिरहेका छन् ।

शनैःशनै मुस्कानको अनुहार उज्यालिँदैछ ।

“सबैको हातेमालोले तेजाबजस्तो घातक रसायन छ्याप्ने कसुरविरुद्ध लड्न र तेजाब आक्रमणबाट जीवनभर घायल किशोरीहरूको खस्किएको मनोबल उकास्न बल पुर्‍याइरहेको छ,” उनी भन्छन् ।

तेजाबको पीडा हेर्न नसकेर अभियन्ता बन्न आइपुगेका उज्ज्वलसँग दुईवटा योजना छन् ।

पहिलो, उनी जीवनभर तेजाबले खाक तुल्याएका किशोरीहरूका लागि सञ्जीवनी बुटी बन्नेछन् । तेजाबपीडितहरूलाई समाजमा पुनःस्थापित गर्न सक्दो सहयोग गर्नेछन् । 

दोस्रो, तेजाबजस्तो घातक रसायन छ्यापेर जिउँदै आगामा धकेल्ने अपराधीहरूलाई जन्मकैदको सजायको व्यवस्था नहुञ्जेल उनका पैताला रोकिने छैनन् ।

“अनि मुस्कानका लागि ?”

प्रश्न सुन्नेबित्तिकै उनका आँखा विस्फारित हुन्छन् ।

“कक्षामा कहिल्यै दोस्रो हुन नजानेकी मुस्कानको शिक्षाका लागि मैले त्यति चिन्ता गर्नुपर्दैन, अस्पतालको शैय्याबाट उठून्, उनलाई चिकित्सक बन्न कसैले रोक्न सक्दैन,” यति भनेर उज्ज्वल मुस्कानको स्याहारमा जुट्छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  ०६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC