जेब्राक्रस
(उपन्यास: तर्कना शर्मा)
साहित्यका विभिन्न विधामा कलम चलाउने तर्कना शर्माको पछिल्लो साहित्यिक कृति हो ‘जेब्राक्रस’ । उपन्यासकार तर्कनाले समालोचना तथा पुस्तक समीक्षा पनि गर्दै आएकी छन् । उनले कविता तथा गीतमा पनि उपस्थिति जनाएकी छन् ।
उनका सिर्जनामा समाजका विभिन्न वर्गलाई स्थान दिएको पाइन्छ । ‘जेब्राक्रस’ उपन्यासमा पनि उनले समाजका विभिन्न पक्षहरूलाई प्रस्तुत गरेकी छन् ।
साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको २४४ पृष्ठको यस उपन्यासको मूल्य ३९५ रुपैयाँ राखिएको छ ।
हङकङभित्र
(नियात्रा: क्रान्ति सुब्बा)
लेखक क्रान्ति सुब्बा धेरैअघि कविता लेखनमा सक्रिय थिए । नेपालमा रहँदा उनको संलग्नता पत्रकारितामा पनि रहेको थियो । लामो अन्तरालपछि उनले नियात्रा–सङ्ग्र्रह पाठकहरूमाझ पस्किएका छन्, ‘हङकङभित्र’ नामका साथ ।
बेलायती सेनामा कार्यरत गोर्खालीहरूको सम्बन्ध हङकङसँग नजिक रहेको छ । त्यसैले पनि हङकङ र नेपालीको सन्दर्भ अनि सम्बन्धलाई यस पुस्तकले जोड्ने प्रयास गरेको छ, नियात्राका माध्यमबाट । नियात्रा भनिए पनि यो सङ्ग्रहमा लेखक क्रान्तिले नेपाली गोर्खालीहरूको बाहुल्य रहेको हङकङभित्रका विभिन्न विषयहरूमाथि खोतल्ने प्रयास गरेका छन् ।
लेखक क्रान्तिका अनुसार नियतिले उनको कर्मभूमि हङकङ बनाएकोले उनले पनि कर्मभूमिका बारेमा दुई–चार शब्द कोर्ने प्रयास गरेका छन् । यस कृतिमा उनले हङकङको उत्पत्तिकालदेखि हालसम्मको विकासक्रमका अतिरिक्त त्यहाँको जीवन, नेपालीहरूको अववस्थालाई वर्णन गर्ने प्रयत्न गरेका छन् ।
संस्कृतिसँगको सहकार्यमा रविना राईले प्रकाशनमा ल्याएको ३४० पृष्ठको यस पुस्तकको मूल्य ३५० रुपैयाँ राखिएको छ ।
घाम
(लघुकथा: शुषमा मानन्धर)
कथा र लघुकथामा निरन्तर सक्रिय लेखक शुषमा मानन्धरको नयाँ लघुकथा–सङ्ग्रह हो ‘घाम’ । एक दशकदेखि लघुकथालगायत विभिन्न साहित्यिक विधामा कलम चलाउँदे आएकी शुषमाको गत वर्ष एउटा कथा–सङ्ग्रह पनि प्रकाशित भइसकेको छ ।
बालकथा, हाइकु, कथा र लघुकथाका कृतिहरु प्रकाशित गरिसकेकी शुषमाको ‘घाम’ छैठौं कृति हो । उनको संयुक्त लघुकथा–सङ्ग्रह र संयुक्त हाइकु–सङ्ग्रह पनि प्रकाशित छ ।
शुषमाको पुस्तक ‘घाम’मा समाजका विकृति–विसङ्गतिका साथै जीवनका विभिन्न स्वरुप प्रस्तुत छन् । यस लघुकथा पुस्तकमा उनका ४१ लघुकथाहरू सङृगृहित छन् ।
शब्दार्थ प्रकाशनले बजारमा ल्याएको ९२ पृष्ठको यस सङ्ग्रहको मूल्य २२५ रुपैयाँ राखिएको छ ।
छायाँको लस्कर
(संस्मरण: केआर खम्बु)
केआर खम्बु प्राध्यापनका क्षेत्रमा लामो समय बिताएका व्यक्ति हुन् । यद्यपि, यी प्राध्यापक मात्रै होइनन्, यिनी राजनीतिज्ञ पनि हुन् । यिनी झापा आन्दोलनको प्रारम्भिक समयदेखि नै होमिए । त्यसैले उनको सङ्गत बाम आन्दोलनका हस्तीहरूसँग पनि घनिष्ठ रहेको उनको हालै प्रकाशित संस्मरणात्मक पुस्तक ‘छायाँका लस्कर’बाट थाहा हुन्छ ।
उनको आँखाको क्षमतामा ह्रास आएपछि लेखिएको यो पुस्तकले प्राध्यापक–डाक्टर केआर खम्बुको जीवनका बारेमा मात्रै बताउँदैन, झापा आन्दोलनको इतिहासलाई पनि प्रस्तुत गरेको छ । उनको सारा जीवन क्रान्ति र प्रज्ञाको दोसाँधमा बितेको पुस्तक पढ्दा थाहा पाइन्छ ।
खम्बु लिखित ‘छायाँको लस्कर’मा पाँच भागमा संस्मरणहरू प्रस्तुत गरिएका छन् । उनको बाल्यकाल, शिक्षा र राजनीतिक गतिविधि, कलेज जीवन, विश्व–विद्यालय जीवन र निजी जीवनका विविध पक्षहरू समेटिएका छन् । उनको यस पुस्तकमा उनको राजनीतिक रस, झापा आन्दोलन र त्यसमा जोडिएका विभिन्न व्यक्तित्व (केपी ओली, सीपी मैनाली, मदन भण्डारी, मोहनचन्द्र)हरूका बारेमा पनि खोलिएको छ ।
पब्लिकेसन नेपा–लयद्वारा प्रकाशित ३७० पृष्ठको यस संस्मरणात्मक पुस्तकको मूलय ५४५ रुपैयाँ राखिएको छ ।