site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विवादमुक्त राजसंस्थाको पक्षमा छु
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


डा. तुलसी गिरी जिन्दगीको उत्तराद्र्धमा थिए । नेपाली राजनीतिको चर्चित पात्र र बौद्धिक व्यक्ति कहलिएका उनको अन्तरवार्ता लिने निर्णय गरे जीवराम भण्डारीले । उमेर र स्वास्थ्यका कारण उनी सगरमाथा टेलिभिजनको कार्यालयमा आउन सक्ने अवस्था थिएन । त्यसैले जीवराम आफ्नो ‘क्रु मेम्बर’सहित डा. गिरी निवास पुगे । समसामयिक राजनीतिसँगै भर्खरै ढलेको राजसंस्थाका बारेमा उनले आफ्नो विचार राखे । अन्तरवार्ता सकियो । ‘क्रु मेम्बर’सहित जीवराम बिदावारी भए । 

बीच बाटोमा आइपुेपछि जीवरामको मोबाइलमा डा. गिरीको फोनको घण्टी बज्यो । डा. गिरीले विषय र सन्दर्भ तोकेर भने, “भण्डारीजी... ती कुराचाहिँ डिलिट गरिदिनु है ।” 

Prabhu Bank
Agni Group
NIC Asia

आग्रह आयो । पत्रकारको धर्म पनि हो– स्रोत व्यक्ति तथा स्रोतले उल्लेख नगरिदिनु भनेको कुरा प्रकाशन वा प्रशारण नगरिदिनु ।

भने, “हुन्छ”

Global Ime bank

सगरमाथाको कार्यालय आए । भेट्रान पूर्वराजनीतिज्ञ तथा पूर्वप्रधानमन्त्रीको अन्तरवार्ता । मनमा उत्साह पनि थियो । भलै डिलिट गरिदिनु है भनेका प्रसङ्गले मन केही खिन्न पनि भएको थियो । तर पनि उनी सम्पादनमा बसे ।

सम्पादन गरिरहेका बेला फेरि फोन बज्यो । फोन थियो, उनै डा. गिरीको । जीवरामको मनमा शङ्का उब्जियो । फेरि केही डिलिट गर्नुपर्‍यो भन्ने पो हुन् कि ! 
फोन उठाए । 

डा. गिरीले भने, “भण्डारीजी त्यो पूरै अन्तरवार्ता नबजाउनु होला । डिलिट गरिदिनुस् है ।”

डा. गिरीले जीवरामसँगको त्यो अन्तरवार्तामा राजाका केही कमजोरीबारे बोलेका थिए । राजतन्त्र समाप्त हुनुको कारण बताएका थिए । राजाले आफूले दिएको सल्लाहलाई नजरअन्दाज गर्दा पनि राजतन्त्र ढलेको उनले उक्त अन्तरवार्तामा खोलेका थिए । त्यसैले गिरीले अन्तरवार्ता दिए पनि अन्तिम समयमा आएर प्रशारण नगर्न भने । 

अन्तरवार्ता नै नबजाउन आग्रह गरे । 

गर्ने के ?

“मैले चाहेको भए त्यो अन्तरवार्ता बजाउन पनि सक्थेँ । तर मैले पत्रकारिताको धर्म सम्झिएँ । त्यो अन्तरवार्ता प्रशारण नगर्दैमा आमदर्शकमा त्यो नकारात्मक असर वा अवसरबाट बञ्चित हुने अवस्था थिएन । त्यसैले मैले त्यो अन्तरवार्ता नै प्रशारण गरिनँ,” जीवराम भन्छन्, “प्रशारण मात्रै नगरेको होइन । अर्काइभमा पनि राखिनँ । डिलिट नै गरिदिएँ ।” 

कारण ?

“म भोलि सगरमाथामा रहन्छु कि रहन्न के थाहा ? म निस्किएपछि त्यसको मिसयुज नहोस् भनेर डिलिट नै गरिदिएँ,” उनी स्पष्ट पार्छन् ।

० ० ०

डा. केबी रोकाया स्कुले जीवनमा अब्बल विद्यार्थी थिए । डा. बाबुराम भट्टराई, उपेन्द्र देवकोटाको एसएलसीको ब्याचका टप टेन भित्रै पर्थे उनी । 

पुल्चोक क्याम्पसका प्रमुखसमेत भइसकेका उनी मानव अधिकारका क्षेत्रमा पनि संलग्न भए । तत्कालीन माओवादीलाई अन्तरराष्ट्रियकरण गर्न उनले लबी गरे । उनले त्योबेला माओवादीलाई आतङ्कारी होइन भनेर अन्तरराष्ट्रियजगत्मा चिनाउने प्रयास गरेका थिए । क्रिस्चियन धर्मको पनि प्रचार गर्थे । उनीप्रति जीवरामको धारणा नकारात्मक थियो । 

एक दिन कसैले उनलाई भन्यो– डा. केबी रोकायमा १८० डिग्रीको परिवर्तन आइसकेको छ । पछिल्लो धारणा बदलिएको छ । माओवादीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आइसकेको छ । अन्तरवार्ता लिन सक्नुहुन्छ । 
अन्तरवार्ता सुरु भयो । उनी त फरक्कै फर्किसकेका रहेछन् । उनले अन्तरवार्तामा भने– एक, मैले माओवादीलाई अन्तरराष्ट्रियकरण गरेँ । युरोप, अमेरिकामा माओवादीको अनुकूल यिनीहरु आतङ्कवादी होइनन् भनेर मैले ठूलो अपराध गरेछु । यो मेरो जीवनकै ठूलो गल्ती भयो । 

दुई, हिन्दू राष्ट्र कायम नभएसम्म नेपालको आफ्नो पहिचान हुँदैन । धर्म निरपेक्ष नेपाल सापेक्ष छैन । 

तीन, कुनै न कुनै रुपमा नेपालमा राजाको उपस्थिति हुनुपर्छ । 

डा. रोकायामा आएका यस्ता परिवर्तनबारे पहिलोपटक आमरुपमा कुरा बाहिर आयो । क्रमशः बीबीसीलगायत अन्तरराष्ट्रिय सञ्चारमाध्यममा उनको नयाँ विचारले ठाउँ पायो । उनको जिन्दगीको दोस्रो इनिङ्सको विचार प्रवाह सुरु भयो । 

० ० ०

डा. जगमान गुरुङ । संस्कृतिविद्को नाताले जीवरामले गुरुङलाई आफ्नो टक सोको अतिथि बनाए । उनी ज्योतिष विद्यामा पनि पारङ्गत थिए ।

जीवरामले गुरुङलाई प्रश्न गरे– तपाईं गुरुङको छोरा, संस्कृतको कुरा गर्नुहुन्छ, ज्योतिष विद्याको पनि कुरा गर्नुहुन्छ । तर नाक चुच्चो भएका, टुप्पी ठाडो पारेका ब्राह्मण समुदायलाई पो यो विद्यामा समाजले पत्याउँछ त !

उनले भने– तपाईं बाहुनको छोरो । के लुगा लगाएर यो सोमा आउनुभएको छ ? टाइसुटमा हुनुहुन्छ । एउटा नेपाली टोपी पनि लगाउनुभएको छैन । म गुरुङको छोरो । अर्थात् मतवाली । म दौरासुरुवाल, कोट र टोपीमा आएको छु ।

डा. जगमानको कुराले यति छोएछ जीवरामलाई, त्यसयता उनले खुसी मनले टाइ कहिल्यै लगाएका छैनन् । टीभी व्यवस्थापनले टाइ लगाइदिए हुन्थ्यो भन्ने चाहन्छ । उनी जगमानलाई सम्झिन्छन् ।  

० ० ०

जीवराम टक सोबाट आफ्नो परिचय स्थापित गरेका पत्रकार हुन् । दैनिक टेलिभिजन टक सो चलाउनु उनको विशेषता जस्तै बनेको छ । दिनहुँ अन्तरवार्ता चलाउनु त्यत्ति सहज छैन । एक, विषयलाई न्याय गर्ने व्यक्तिको खोजी र छनोट । दुई, विषयवस्तुप्रतिको आफ्नो ज्ञानको गहिराइ । 

थुप्रै त्यस्ता अन्तरवार्ता छन्, जसमा जीवरामले महसुस गरेका छन्– मेरो अध्ययन यो विषयमा फितलो भयो । 

विडम्बना ! विषयको छनोटदेखि व्यक्तिको चयन मात्रै होइन, अतिथिलाई फोन गरेर आफैं डाक्नुपर्छ । आफूले अन्तरवार्ता लिन लागेको विषय र अन्तरवार्ता दिन आउने व्यक्तिको उक्त विषयमा संलग्नता र ज्ञानबारे पनि आफैं खोजी अध्ययन गर्नुपर्छ । एक्लै ।

जीवरामले टक सोमा विश्वमा आफ्नो चम्किलो छवि बनाएका पत्रकार लारी किङलाई सम्झिए । हरेक विषयमा अन्तरवार्ता लिँदा त्यसमा देखिने उनको जानकारी सम्झिए । 
अनि उनले भने, “के लारीले मैले जस्तै हरेक विषयमा एक्लै काम गर्छन् होला ?”   

ऊसँग रिसर्चका लागि कति जनाको समूह होला ? स्टुडियो पसेपछि उसलाई प्रश्न र प्रतिप्रश्नका लागि सहयोग हुन्छ कि हुँदैन ? 

प्रश्न जीवरामसँगै छ । उत्तर पनि उनीसँग छ ।

तर नेपालमा एक्लै सबै काम गर्नुपर्छ । अनि कसरी आउँछ अपेक्षित गुणस्तर ? नेपाली सञ्चारगृहका व्यस्थापनप्रति उनी असन्तुष्ट देखिन्छन् ।

यद्यपि, जेजति भइरहेको छ र जुन बाटोमा नेपाली पत्रकारिता हिँडिरहेको छ, आशा गर्ने ठाउँ रहेको उनको मूल्याङ्कन छ । “विगतको तुलनामा बढोत्तरी भइरहेको छ । कारण प्रविधिको सहजता र त्यसको अभ्यास । विषयगत शिक्षामा सहज पहुँचले बढोत्तरी भइरहेको छ,” जीवराम भन्छन्, “तर आमसञ्चारमा जसरी फ्रि एन्ड फेयर सूचना प्रवाह हुनुपर्ने हो त्यो लगानीकर्ता, पत्रकार स्वयम् तथा दबाब समूहको तागतका कारण समाचार ट्विस्ट भएको देखिन्छ ।” 

तर यसमा निरन्तर सुधारको गुञ्जायस भने रहेको जीवरामको मूल्याङ्कन छ ।  

० ० ०

टेलिभिजनमा टक सो हेरिने समय थियो । महत्वाकाङ्क्षी व्यक्ति आउन रुचाउँथे । कोही सीधै भन्थे । कोही घुमाएर । अनि कोहीचाहिँ अरुमार्फत् ‘लौ न एक पटक’ भन्न लगाउँथे । अन्तरवार्ताका लागि स्वयम् चाहना राख्ने राजनीतिज्ञ बढी हुन्थे । त्यसो त व्यापारी पनि कहाँ कम हुन्थे र ! अनुहार टेलिभिजनमा देखाएर त्यसलाई भजाएर खानेहरुको पनि लामो लर्को हुन्थ्यो । जीवराम भन्छन्, “यस्ता व्यक्ति तथा समूहबाट पत्रकार सधैं जोगिनुपर्छ । अन्यथा न कार्यक्रमको वेट रहन्छ, न पत्रकारको ।”

करिव तीन दशक भयो पत्रकारिताको यात्रा प्रारम्भ भएको । ३० वर्षे यात्रामा कहिले उकाली कहिले ओरालीको यात्रा । प्रचण्डदेखि वामदेवसम्मको समाचार सम्झिए उनले । समाचार त घटनाक्रम जस्तो थियो त्यस्तै लेखेका थिए । तर सह्य भएन उनीहरुका कार्यकतालाई । धम्की दिन्थे । थर्काउँथे । भन्थे, “समाचार लेख्दा अलि होस् गरेर लेख्नू ।” 

कहिले सीधै, कहिले घुमाएर मनोवैज्ञानिक त्रास सिर्जना गर्न खोज्थे । तर उनी हच्किएनन् । 

माओवादीमा द्वन्द्वको धङधङी मेटिसकेको थिएन । एमालेमा दम्भ कायमै थियो । परिणाम दिलको कुनै एक छेउमा त्रास भने सिर्जना हुन्थ्यो । बत्तीसपुतलीबाट बिजुलीबजारसम्म हिँडेरै जान्थे उनी । कहिलेकाहीँ मनमा चस्का भने पस्थ्यो, कसैले केही गरिहाल्यो भने ! 

मनले भन्थ्यो– ‘छोराहरुको पखेँटा लागिसकेको छ । केही फरक पर्दैन । मन बलियो बनाउँथे जीवराम अनि हरेक दिन बिहान करिब डेढ घण्टा हिँडेर घर–अफिस गर्थे । दिउँसो भएपछि मात्रै हो जीवरामले गाडी चढ्ने । 

० ० ० 

ओखलढुङ्गातिर फर्किन्छन् उनी । जसले उनलाई जन्मायो । अतीत सम्झिन्छन् । रुम्जाटार हो उनको गाउँ । बुवा (बलभद्र भण्डारी) जजमानी पुरोहित । चल्तापूर्जा, धेरैले गन्नेमान्ने । 

भोलामान सिंह बस्नेत पञ्चायतका सहायक मन्त्री थिए । ‘रेडियो नेपाल’ले उनको नाम फुकिरहन्थ्यो । ‘गोरखापत्र’ले उनको नाम र तस्बिर छापिरहन्थ्यो । आफैंले देखे–चिनेको व्यक्तिको त्यो ख्याति देखेर बुवा लोभिएका रहेछन् । जीवरामलाई भने, “मान्छे भनेको भोलामान सिंह जस्तो सबैले चिन्ने, रेडियो, पत्रिकामा आउने खालको हुनुपर्छ ।” 

त्यो भनाइ जीवरामको मनमा गढ्यो, समाजको लब्धप्रतितिष्ठित मान्छे हुुनुपर्छ । समाजका सामान्य मानिसको भन्दा अलि माथिल्लो तहको व्यक्तित्व निर्माण गर्नुपर्छ । 

०३९ सालमा एसएलसी दिए । उच्च शिक्षाका लागि बाटो खुल्यो । बुवाले इच्छा व्यक्त गरे– न्यायाधीशको । कारण, सबैले मान्ने, इज्जतपूर्वक पैसा कमाउने पेशा न्यायाधीश हो भन्ने उनको बुझाइ थियो । 

बुवाको भनाइ । जो आज्ञा ! 

०४० मा रुम्जाटारबाट काठमाडौंका लागि हवाईजहाज चढे जीवराम । राजधानीमा कानुन पढ्न ल कलेज थियो । भर्ना भए आईएलमा ।

जीवराम खर्चको स्रोत सुनाउँछन् । प्रविधि सुलभ नभइसकेको समयतिर फर्किन्छन् ।  

सञ्चोविसञ्चो समेटिएको हातले लेखेको चिठ्ठी हुलाक हुँदै हप्तौं लगाएर आउँथ्यो । आफूले पठाउने तरिका पनि त्यही थियो । घरबाट महिनावारी खर्च भनेर एक हजार रुपैयाँ आउँथ्यो । पढ्ने, बस्ने, घुम्ने सबै त्यही हजार रुपैयाँले पुर्‍याउनुपथ्र्यो ।  

दुई वर्षमा आईएल सकियो । एक दिन उनलाई खबर आयो– गाउँबाट प्लेनमा कोही गाउँले आउँदैछन् । उनीसँगै आउँदैछ सञ्चोविसञ्चोको खबर लिएर चिठ्ठी पनि । अनि उनले हात लगाउने छन् एक महिनाको खर्च हजार रुपैयाँ । आफन्तले दिएको चिठ्ठी खोले जीवरामले । अक्षर पोतिएको कागज मात्रै देखियो । पैसा थिएन । उत्साह क्षणभरमै धुलिसात भयो । पढ्दै जाँदा ती अक्षरले पनि उनलाई गाली पो गरिरहेका थिए ! 

जस्तै ?

खुल्छन् जीवराम, “आईएल पास गरिसकेपछि पनि हामीले घरबाट तँलाई पैसा पठाउनुपर्छ ? सँगैका दुनियाँका छोराले कमाउन थालेको कति भइसक्यो, तँलाई भने घरबाटै पैसा खेप्नुपर्ने ? अब आफैं कमा र पढ्...।”
तत्काललाई ती अक्षरहरु रुखो लागे पनि लुप्त सन्देश रुखो थिएन । आफ्नो खुट्टामा उभिनुपर्छ । सतिसाल झैं, अभावमा पनि हमेसा खडा हुन सक्नुपर्छ भन्ने थियो ।  

पर्‍यो समस्या । गुजारा त गर्नैपर्‍यो । खोज्नुपर्ने भयो जागिर । होम ट्युसन सुरु गरे । दालभात त्यसैले जोहो हुन्थ्यो । 

उद्देश्यले कोल्टे फेर्‍यो । न्यायाधीश होइन अधिकृतको रहरले फणा फिँजायो । बीएलमा भर्ना नभई बीएड भर्ना भए । डेढ वर्ष भएको थियो बीएड सुरु गरेको । मामाका छोराले साफ गाली गरे । बीएड पढेर गर्ने के ? उनको गालीको सार सङ्क्षेप थियो ।  

हँ ! बीएडको बाटो समाउँदा भविष्य साँच्चै अध्यारो पो छ कि ? 

मथिङ्गल हल्लियो । 

डेढ वर्ष पढिसकेको बीएडको बाटोमा पूर्णविराम लगाए । र, फेरि सुरु गरे बीएल ।  

० ० ०

बीएड पढ्दै थिए जीवराम । ०४४ साल थियो । काम के भन्दा पनि सहज कामको खोजीमा थिए । रामप्रसाद आचार्यसँग उनको चिनजान थियो । उनले जीवरामलाई पुर्‍याए ‘हिन्दू’ दैनिकमा । 

पवन थापा ‘कुन्तल’ सम्पादक थिए । जीवरामको काम समाचार लेख्ने थियो । समाचारको कुनै क्षेत्र थिएन । तर विशेषतः राजनीतिक समाचार लेख्न लगाउँथे । 

समय पञ्चायतको थियो । दलहरु प्रतिबन्धित थिए । प्रतिबन्धित काङ्ग्रेस, कम्युनिस्टलाई भेट्थे । सम्पर्कसूत्र पहिल्याउँदै मसालसम्म पुग्थे । समाचार लेख्थे । जीवरामले कानुनका दफा र उपदफा केलाए पनि ‘हिन्दू’मा, उनी पत्रकारिताको कखरा सिकिरहेका थिए । 

उनलाई याद छ, समाचार त उनी बाक्लै लेग्थे । छापिन्थे पनि, तर बाइलाइन पाउन डेढ महिना लागेको थियो । जीवरामको वानइलाइन बोक्ने समाचार कुन थियो ? बिर्सिसक्यो जीवरामको दिमागले । 

सहज कमाइको खोजी थियो । ‘हिन्दू’ प्रवेश । तर पत्रकारिता त्यो पनि ४० को दशकको सुरुआती कालखण्डको । पत्रकारितामा केवल सोखले मात्रै टिक्न सकिन्थ्यो । आम्दानीको जोहो अन्तै कतैबाट गर्नुपर्ने !

पत्रकारिता व्यावसायिक थिएन । मिसन पत्रकारिताकै बोलावाला थियो । पत्रकारितालाई स्वतन्त्रता चाहिएको थियो । लगानीकर्ताले प्रजातन्त्र प्राप्तिका लागि आआफ्नो पत्रिकालाई समर्पित गरेका थिए । पञ्चायतका पक्षधरहरु दरबारको वकालत गर्थे । 

“दुइटा अवस्था थिएः एक, पाए पनि थोरै पाइन्थ्यो । दुई, समाचार स्रोतको अनुकूल बनेर उसबाट फाइदा लिने चलन थियो,” तत्कालीन पत्रकारिताको यथार्थ नढाँटी कहे जीवरामले, “हामीलाई त यतिसम्म भनिन्थ्यो, आफैं म्यानेज गर्नुस् न कतैबाट ।” 

‘हिन्दू’ मा उनी मासिक छ सय रुपैयाँ थाप्थे ।

दुई वर्षको ‘हिन्दू’को बसाइमा जीवरामले बीएल पास गसिरसकेका थिए । परिपक्वता आइसकेको थियो । 

एक दिनको घटना, जीवराम सिंहदरबारभित्र हिँड्दै थिए । गन्तव्य थियो– कृषि मन्त्रालय । 

बाटोमा भेटिए बालकुमार नेपाल । सोधे, “कता ?” 

जीवराम: कृषि मन्त्रालयअन्तर्गत विभागमा नियुक्तिको कुरा चलिरहेको छ । त्यसैले त्यतै जान लागेको ?” 

बालकुमार: ‘समकालीन’ साप्ताहिकमा एक जना पत्रकार चाहिएको छ, तपाईं काम गर्नुहुन्छ ?

जीवराम: जनार्दन आचार्य (सम्पादक)सँग मेरो चिनजान पनि छैन । के भन्नुहोला ?

बालकुमार: हैन केही भन्नुहुन्न । मैले चिनेको छु । म भन्छु । 

दिनहुँ नयाँनयाँ मान्छेसँगको भेट । उच्च पदस्थहरुसँगको उठबस । उमेर पनि त्यस्तै । मनमा केही अहमता थियो । महत्वाकाङ्क्षाले पनि काम ग¥यो । लाग्न थालेको पत्रकारिताको  लतले पनि सायद काम गर्‍यो ।
परिणाम जीवराम पुगे जनार्दनकोमा । काम सुरु भयो ‘समकालीन’मा ।

“त्यो बेला उहाँले मलाई महिनाको १० हजार रुपैयाँ दिनुभएको थियो,” त्यो बेला आफूले पाएको तलब सुनाउँदा अहिले पनि जीवरामको अनुहारमा खुसीका तरङ्गहरु झुल्कन्छन् । 

संवाददाताका रुपमा ‘समकालीन’ प्रवेश गरेका जीवराम पछि त्यही पत्रिकाको सम्पादक बने । 

समकालीनको एउटा समाचार सम्झिए उनले– रविन्द्रनाथ शर्मा अर्थमन्त्री थिए । जीवराम ‘समकालीन’का सम्पादक । उनले समाचार लेखे, सुन तस्करीको । समाचारको सार थियो, अर्थमन्त्री नै सुन तस्करीमा संलग्न छन् । 

मन्त्री आफैंले फोन गरेर जीवरामलाई भने, “स्वर्णनाथ के आधारमा लेख्नुभयो ?”

जीवराम: तपाईंहरु टनका टन सुन नेपाल प्रवेश गराइरहनुभएको छ ।

रविन्द्रनाथ: स्रोत के हो तपाईंको ? 

जीवराम: पत्रकारले आफ्नो स्रोत त कहाँ खुलाउँछ र मन्त्रीज्यू ?

रविन्द्रनाथ: त्यस्तो त हैन । तर के रहेछ, हामी चेक गर्छौं । 

जीवराम: तपाईं आफैं निर्णायक हुनुहुन्छ, कसरी चेक हुन्छ मन्त्रीज्यू ?

तर सोही विषयमा तत्कालीन राजा वीरेन्द्रबाट रविन्द्रलाई सोधनी भयो । उनी अख्तियारको छानबिनमा तानिए । सामाजिक बहिष्कारमा परे । उनलाई चिन्नेहरुले खिसिट्युरी गरेको पछि उनी आफैंले भनेको जीवराम सुनाउँछन् । 

करिब ६ वर्ष काम गरेपछि ‘समकालीन’ बन्द भयो । पाइला अघि बढे ‘स्पेस टाइम’ दैनिकतर्फ । सह–सम्पादकको जिम्मेवारी थियो । तीन वर्ष काम गरेपछि जीवराम पुगे कार्यकारी सम्पादकका रुपमा ‘राजधानी’ दैनिक । ‘राजधानी’ आन्तरिक समस्यामा थियो । चित्त बुझेन जीवरामलाई । त्यसैले छ महिनामै उनले हात हल्लाए ‘राजधानी’लाई ।

० ० ०

‘राजधानी’ पछि जीवरामलाई अफर आयो, ‘नेपाल टेलिभिजन’बाट । तत्कालीन सञ्चार मन्त्री डा. मोहम्मद मोहसिनले नै जीवरामलाई बोलाएर भने, “नेपाल टेलिभिजनमा दलीय आधारमा काम हुँदोरहेछ, तपाईं गएर केही सुधार गरिदिनुपर्‍यो ।”   

मन्त्री आफैंले बोलाएका थिए । जीवरामले त्यसलाई अवसर पनि सम्झिए । दुर्गानाथ शर्मा नेपाल टेलिभिजनको महाप्रबन्धक थिए । 

नेपाल टेलिभिजन पुगेपछि उनले अनुभव गरे, “त्यहाँ सुधारको कुरा त परै जाओस् । नन्पोलिटिकल मान्छेलाई काम गर्ने वातावरण नै रहेनछ ।”

दरबार हत्याकाण्ड भयो । नयाँ राजा आए । जीवरामले नेपाल टेलिभिजनमा आफूअनुकूल वातावरण पाए । उनको केही सक्रियता बढ्यो । कारण दरबाररियासँग जीवरामको समीपता थियो ।

तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गर्ने अवस्था आयो । जीवरामको सक्रियता झनै बढ्यो । नेपाल टेलिभिजनमा धेरै पत्रकार काङ्ग्रेस, एमाले निकट थिए । त्यसैले विश्वास जीवराममा ठोक्किन आइपुगेको थियो । राजतन्त्रको सहयोगमा उनले आफ्नो भूमिका निर्वाह गरे । काङ्ग्रेस, एमाले निकटका पत्रकार त्यो समय सक्रिय हुन रुचाएनन् । त्यही नै अवसर बन्यो जीवरामका लागि । 

राजा ज्ञानेन्द्र पछि हट्नुपर्ने समय आयो । राजा ‘स्टेपडाउन’ हुनु भनेको नेपाल टेलिभिजनबाट जीवराम हट्नु पनि थियो । त्यो परिस्थिति आउनुअघि नै जीवरामले राजीनामा दिएर बाटो सहज गरिदिए । 

० ० ०

‘नेपाल टेलिभिजन’ पछि जीवराम पुगे ‘नेसनल टेलिभिजन’ । जिम्मेवारी बहन गरे समाचार प्रमुख र प्रबन्धकको समेत । कार्यकारी निर्देशक थिए– नीर शाह र दुर्गानाथ शर्मा । 

रमा सिंहको नाममा रहेको लाइसेन्स किनेर ‘नेसनल टेलिभिजन’ ‘अनएयर’ भएको थियो । त्यसमा ‘कि रोल’ जीवरामकै थियो । उनीहरुका मालिक थिए– युनुस अन्सारी । 

उनीहरुले हल्ला सुनेका थिए– युनुस नक्कली नोटका कारोबारी हुन् । जीवरामले प्रहरी र सेनाका अधिकृतहरुलाई सोधे, उनीहरुले हो जस्तो सङ्केत दिए ।

जीवरामले नीर शाह र दुर्गानाथ शर्मालाई भने, “युनुस अन्सारीलाई प्रहरी र सेनाले नक्कली नोटका कारोबारी भन्ने सङ्केत गरेको छ, उहाँकोमा हामी काम गरिरहेका छौं त !”

शाह र शर्मासँगको संवाद सुनाउँछन् जीवनराम, “हामीले बैङ्क टु बैङ्क तलब बुझेका छौं । हामीलाई के फरक पर्छ र जेसुकै हल्ला भए पनि !’’ हाम्रो तलब एभरेस्ट बैङ्कमा जान्थ्यो ।

“नक्कली नोट कारोबारीको अभियोगमा युनुस अन्सारी पक्राउ परे,” जीवराम पहाड घर रुम्जाटार पुगेका बेला उनको मोबाइलमा सुनेको हल्ला पुष्टि गर्दै फोन आयो । 

नैतिकताका आधारमा उनले त्यहीँबाट टेलिभिजनको समाचार प्रमुख र प्रबन्धकको पदबाट राजीनामा लेखेर पठाए । 

० ० ०

‘नेसनल टेलिभिजन’को अध्याय समाप्त भयो । त्यसपछि उनी आइपुगे समाचार सल्लाहकार र कार्यक्रम प्रस्तोताका रुपमा ‘सगरमाथा टेलिभिजन’ । साढे सात वर्ष भयो ‘सगरमाथा टेलिभिजन’को यात्रा सुरु गरेको । सँगै केही वर्षयता उनी डिजिटल पत्रिका खबरहबडटकममा प्रधान सम्पादक पनि रहेका छन् । 

तीन दशकको यात्रामा थुप्रै सञ्चारगृहमा पुगे । कहिले सहज त कहिले नागबेली बाटोको यात्रा । कानुनमा स्नातक उनलाई धेरैले कुरैकुरामा प्रश्न गर्थे, “सर हजुरको मास्टर्सचाहिँ कुन विषयमा हो ?”

पत्रकारितामा लामो अभ्यास गरेर एउटा पहिचान बनाइसेकेको अवस्थामा पनि पत्रकारितामा मास्टर्स छैन भन्दा असहज महसुस हुन्थ्यो । त्यसैले उनले निकै पछि पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चारमा मास्टर्स गरे । 

० ० ०

हामीले जीवरामलाई सोध्यौं– तपाईंलाई राजावादी पत्रकार भन्छन् नि !

उनले नहिच्किचाई भने, ‘‘मलाई यसमा कुनै आपत्ति छैन । नेपालको भूराजनीतिक अवस्थाले पनि राजनीतिक शक्ति सन्तुलन गर्न नेपालमा अनिर्वाचित, सर्वसम्मत तर कम विवादित संस्था हेड अफ दि स्टेट चाहिन्छ भन्ने मेरो मान्यता हो ।’’ यसका लागि उपयुक्त निकाय उनी राजसंस्थालाई नै देख्छन् । 

पूर्वीय संस्कारमा धार्मिक हिसाबले पनि राजालाई मानिने भएकाले राष्ट्रको सर्वोच्च पदमा राजा हुनुपर्छ भन्न जीवरामलाई सोच्नै पर्दैन । सबैभन्दा माथि राजा छ र उसले गल्ती गर्दैन भन्ने बेलायती मान्यताको पक्षमा रहेका उनी भन्छन्, “विवादमुक्त राजसंस्थाको पक्षमा छु । यो मान्यताबाट म आज पनि च्युत छैन ।” जीवरामले जसको पक्षमा वकालत गरे, अर्को शक्ति आउँदा रङ्ग बदलेर छेपारे चरित्र देखाएनन् । आफ्नो मान्यतामा अडिग रहिरहे । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC